Monday, July 15, 2019

आकाशमा फाइट

सन् १९८० को दशक  । पाटनका साँगुरा गल्लीहरू  ।
आकाशे नीलो रङको कमिज र गाढा नीलो रङको पाइन्ट लगाएका पाँच जना स्कुले विद्यार्थीहरूले एउटा गल्लीबाट अर्को गल्ली चहारिरहेका थिए । उनीहरूको काँधमा स्कुलको झोला थियो । उनीहरूले आआफ्नो रुमाल मुखमा मास्क बनाएर लगाएका थिए । तर, सूर्यबहादुर थापालाई गलत प्रमाणित गर्नचाहिँ होइन । उनीहरूले त कसैले चिन्ला भनेर मुख छोपेका थिए । किनभने उनीहरू स्कुल छोडेर भागेका थिए, एउटा महत्त्वपूर्ण खोजीमा । त्यति महत्त्वपूर्ण खोजी मानव सभ्यतामा अर्को दुईपटक मात्र भएको हुनुपर्छ । त्यसअघि कोलम्बसले अमेरिका खोज्दा अनि, अहिले नेपालीले समृद्धि र सुशासन खोज्दा । 

कोलम्बसले त अमेरिका भेट्टाइसकेका थिए । अहिलेका हामी सर्वसाधारणले खोजेको कुरा र त्यतिबेला ती आलाकाँचा बालकहरूले खोजिरहेको कुरा अझै फेला परेको थिएन । घाममा हिँड्दाहिँड्दा बालक बबूराहरू असिनपसिन भइसकेका थिए । उनीहरूको अनुहार रातोपिरो भइसकेको थियो । तैपनि उनीहरू निराश थिएनन् । बगलामुखी मन्दिरबाट देब्रे बाँकटे हानेर त्यतिबेलाको अशोक सिनेमाहलतिर निस्कने अर्को धागोजस्तो गल्लीमा पनि खोजेको कुरा नपाएपछि एउटा फुच्चे अलि निराश भयो । त्यो फुच्चे म थिएँ ।
‘तँलाई पक्का थाहा भएको हो नि बलभद्र ?’ मैले बलभद्रलाई पुलुक्क हेर्दै सोधेँ ।
बलभद्र गम्भीर थियो । उसैको नेतृत्वमा हामी स्कुलबाट भागेर पाटनका गल्लीहरूमा हराइरहेका थियौं । बलभद्र, सधैं परीक्षामा पहिलो हुने मेधावी छात्र । अरू कुरामा पनि अब्बल । उसको एउटा कमजोरी थियो । त्यसकै कारण हामी यसरी पाटनमा अनुहार लुकाएर भौंतारिइरहेका थियौं । बलभद्र अमिताभ बच्चनको ठूलो प्रशंसक । हुन त हामी सबै पनि अमिताभका पंखाहरू थियौं । तर उसको तुलनामा होइन । कतिसम्म भने, एक दिन वर्षको अन्तिम परीक्षा भइरहेको बेला कसैले जिस्केर अमिताभ बच्चनको निधन भयो भनिदिँदा उसले आफूले लेखिरहेको उत्तरपुस्तिका नै च्यातेर हिँडेको थियो । बलभद्रलाई अमिताभ बच्चनको बारेमा के मात्र थाहा थिएन होला र ? अमिताभ बच्चनको हजामको नाम हकिम कैरोनवी र मेकअप गर्ने मान्छेको नाम दीपक सावन्त हो भन्ने गूढ ज्ञानहरू उसैले हामीलाई दिन्थ्यो । हामीले स्कुलबाट भाग्ने दिन बिहानै उसले भनेको थियो, ‘बुझिस् केटा हो ? हिजो लावारिस आइपुग्यो रे । आज पाटनमा पक्कै देखाउँछ ।’
उसलाई कुनै विश्वस्त सूत्रले भनेको रहेछ । उसलाई अब हुटहुटी भइसकेको थियो । हामी सबै पनि उत्तेजित हुनु स्वाभाविकै थियो । उसैले तेस्रो कक्षापछिको पन्ध्र मिनेटको ब्रेकमा पछाडिको पर्खाल नाघेर भाग्ने योजना बनाएको थियो । एउटा नाथे सिनेमा हेर्नका लागि त्यत्रो परिभ्राट गरियो होला भन्ने कुरा अहिले सुन्दा उदेकमर्दो सुनिएला । सिनेमा हेर्नु भनेको आज पो कुनै दुर्लभ कुरो होइन । प्रविधिले छोटो समयमा मारेको लामो र अविश्वसनीय फड्कोले आजकल घरैमा, अझ हातैमा सिनेमा ल्याइदिएको छ । युट्युब, नेटफ्लिक्स र टोरेन्टजस्ता चामत्कारिक आविष्कारहरूले धेरै कुरा परिवर्तन गरिदिएका छन् । तर, ईस्वी संवत्को असीको सुरुआत र त्योअघिको समय यस्तो थिएन । चार–पाँचवटा थोत्रा हलहरूमा थोत्रा भइसकेका हिन्दी सिनेमा हेर्ने बानी परेका काठमाडौंवासीहरूका लागि सिनेमा हेर्नु भनेको चाड हुन्थ्यो । केटाकेटीहरूका लागि त मायावी कुरा । त्यसैले अचानक भित्रिएको भिडियो प्रविधि ठूलै वरदान सावित भएको थियो । अनि त्यसले त्यतिबेलाको समाजका धेरै थोक परिवर्तन गरिदिएको थियो ।
...
त्यतिबेला काठमाडौंमा भित्रिएको भीसीआरलाई चलनचल्तीमा भिडियो डेक भनिन्थो । त्यो प्रविधिले सानोतिनो सांस्कृतिक क्रान्ति नै ल्याएको थियो । भिडियो डेक अलादिनको चिरागजस्तो दुर्लभ र महँगो भएको हुनाले मानिसले सहज रूपमा घरघरमै राख्न सक्दैनथे । त्यसैले कहिलेकाहीं चार–पाँचवटा परिवार मिलेर चौबीस घण्टाका लागि डेक र टीभी मनिटर भाडामा ल्याउथे। जसको घरमा बैठककोठा सबैभन्दा ठूलो हुन्थ्यो, प्रदर्शनीस्थल त्यही चुनिन्थ्यो । त्यसबापत भाडामा उसको भाग अलि कम गर्ने प्राजातान्त्रिक प्रविधि स्वतःस्फूर्त लागू र मान्य हुन्थ्यो ।
त्यसका लागि हप्तौं अघि योजना बनाइन्थ्यो । जति बढी मानिसले थाहा पाए, त्यति नै सिनेमा हेर्न भीडमा ओइरिन्छन् भनेर त्यस योजनालाई गोप्य राख्न सक्ने जति कसरत गरिन्थ्यो । जति गोप्य राखे पनि फलानोको घरमा अर्को हप्ताको फलानो दिन डेक ल्याउँदै छन् रे भन्ने कुरा कताकताबाट ‘भाइरल’ भइहाल्थ्यो । फलतः सिनेमा हेर्ने बेलामा आयोजक, प्रायोजक, तिनका आमन्त्रित पाहुना र नबोलाए पनि केही भन्न नमिल्ने इष्टमित्र तथा नातेदारहरूको हूलले हाउसफुल हुन्थ्यो । होहल्ला र करतल ध्वनिका साथ जसरी पर्वको रूपमा भिडियोमा सिनेमा हेरिन्थ्यो, त्यसले दसैंको महत्त्वलाई समेत पछि पार्ला भन्ने खतरा उत्पन्न हुन थालिसकेको थियो ।
बीस इन्चको मनिटर भनेको त्यो बेला अजंगको लाग्थ्यो । भिडियो डेक र स्क्रिन ओसारपसार गर्न यति सुरक्षा र सावधानी अपनाइन्थ्यो, बेलायतको संग्रहालयबाट कोहिनूर हीरा कतै प्रदर्शनका लागि लग्नुपरे पनि त्यति गरिन्नथ्यो होला । ती यन्त्र चलाएर सिनेमा देखाइदिने मान्छे पनि सँगै आउँथ्यो । भनिरहनु नपर्ला, त्यहाँ उसको ओहदा अरू सबैको भन्दा उच्च हुन्थ्यो । उसलाई बीचबीचमा स्पेसल चिया, नास्ता खुवाउनुपर्थ्यो । उसले ती जिनिसको आफ्नो ज्यानको भन्दा बढी माया गर्थ्यो । विशेष गरेर फुच्चाफाच्चीलाई त तिनको दुई फिट नजिक पनि पर्न दिंदैनथ्यो । कोठाको क्षमताभन्दा पाँच गुना बढी मानिसहरू गुन्द्रुक जसरी खाँदिएर एकअर्काको कार्बनडाइअक्साइड अनुलोम विलोम सेवनगर्मी भएर अरू उसिनिए पनि उसका र ती यन्त्रका लागि पंखाको बन्दोबस्त गर्नुपर्थ्यो ।
त्यसरी भाडामा ल्याएको जिनिसको पूर्ण सदुपयोग गर्न वीर नेपालीहरूले पाँच–सातवटासम्म सिनेमा लगातार हेरेर भ्याइदिन्थे । त्यस्तो बेला टोलछिमेकका परिवारहरूको रातै जागाराममा बित्थ्यो । त्यतिबेला कसैले गिनिज बुकवालाहरूलाई सम्पर्क गर्न जानेको भए धेरै पहिले नै विश्वले चिनिसक्नेथ्यो नेपाल ।
म्याराथन सिने प्रदर्शनको क्रममा बीचमा थकाइबाट बच्न केही बेरचाहिँ विश्राम हुन्थ्यो । तर त्यो विश्राम मानिस नभै यन्त्र थाक्ला भनेर त्यसको आरामका लागि हुन्थ्यो । ‘धेरै तात्यो भने यसले रिलै खाइदिन्छ ।’ डेकले रिल खान नपाउने त्यो समय मानिसले अन्नपात खानेमा सदुपयोग गरिन्थ्यो । सबै आआफ्नो घर गएर भोजनग्रहण गर्थे र फेरि हतारिंदै भेला हुन्थे । अर्को सिनेमा सुरु भइहाल्थ्यो । अलि ढिलो आइपुग्नेहरू थ्याच्च बस्नासाथ छेउछाउकाहरूको कानमा साउती गर्न थाल्थे, ‘कथा कहाँ पुग्यो ? गीत त छुटेको छैन नि ? कतिवटा फाइट गयो ?’
दर्शकहरूको सिनेमाप्रतिको अथाह भोक झनै बढ्न थालेपछि बिस्तारै मानिसहरू भिडियोमा सार्वजनिक रूपमा सिनेमा देखाएर पैसा कमाउन पल्किए । विशेषगरेर पाटन, बौद्ध, पुरानो ठिमी र भक्तपुरका अलि भित्री गल्लीहरूमा यो व्यवसाय फस्टाउन थालेको थियो । सुकुलमा खाँदाखाँद गरेर बसेर पसिना बगाउँदै पाँच रुप्याँ तिरेर नयाँ–नयाँ सिनेमा हेर्न दर्शकहरूलाई कुनै गुनासो हुँदैनथ्यो । ती स्थानहरूमा हिन्दी, अंग्रेजी र कतैकतै त नीलो चलचित्र पनि देखाइन्छ भनिन्थ्यो ।
सन् पचासी छयासीतिर त मखनपछाडिको एउटा गल्ली ‘आर्ट गल्ली’ को नामले प्रख्यात भएको थियो । त्यहाँ ‘आर्ट’ सिनेमा मात्र देखाउने एक प्रबुद्ध र चेतनशील भिडियो प्रदर्शक थिए । उनी त्यहाँ नसिरुद्दिन शाह, ओम पुरी, शबाना आजमी र स्मिता पाटिलजस्ता कलाकारहरूका वैकल्पिक धारका सिनेमाहरू खोजीखोजी ल्याएर देखाउँथे । नेपाली दर्शकहरूको सिनेमाचेत र बौद्धिकस्तर ह्वात्तै उकास्नका लागि उनको योगदान अतुलनीय छ ।
त्यतिबेला ‘आर्ट’ फिल्म हेर्ने मानिसलाई बुद्धिजीवी भनिन्थ्यो । त्यही लोभमा पनि मानिसहरू त्यहाँ झुत्ती खेल्थे । केही नबुझेर बोर भए पनि बाहिर निस्कँदा छाती फुलाएर गमक्क परेर चारैतिर हेर्दै निस्कने एउटा वर्ग नै सिर्जना भएको थियो । एकपटक लौ न त बुद्धिजीवी हुनुको अनुभव कस्तो हुँदो रहेछ भनेर आलोकाँचो उमेरको फुच्चे म पनि त्यस्तै विद्वान्को साथ लागेर त्यहाँ पुगेको थिएँ । त्यस दिनको आर्ट सिनेमा दुई घण्टासम्म एकतमास एउटा लुरे ख्याउटे मानिसले सुंगुरलाई खोला वारपार गराइरहने परेछ । पाँच–सातपटकसम्म अब त केही होला कि भन्दै हेरिरहें तर एक घण्टापछि पनि त्यही त्यही क्रम चलिरहँदा आर्ट बुझ्न नसक्ने अज्ञानी म आफैं सुंगुर जसरी ठस्ठस् आवाज निकाल्ने भइसकेको थिएँ । तैपनि आर्ट फिल्मको बीचमा उठेर हिँड्ने मूर्खमा दरिन पनि मलाई मन थिएन । त्यत्रो बेर त धैर्य गरिसकियो, अब त त्यो सुंगर गोठालो कस्सो नथाक्ला भनेर मनलाई सम्झाउँदै म अन्त्यसम्मै टिकें । त्यो सिनेमा हेरेर बाहिर निस्कँदा त्यतिबेला मैले मनमनै भनेको थिएँ— बुद्धिजीवी हुने उमेर अलि भएको रहेनछ । होस् बरु फाइट र डिस्को डान्स नै ठीक ।
भिडियो देखाउने ठाउँहरूमा सानासाना फुच्चेहरू गल्ली बाहिर बसेर सिनेमाको कराइकराइ प्रचार गरेर दर्शकहरूलाई आकर्षित गर्ने चलन थियो ।
‘ल भयंकर डरलाग्दो हरहर मुभी ।’
‘ल ल फाइटै फाइट । मिथुनको एक्सन सिनेमा ।’
‘ब्रुस लीको कम्फु कराँते ।’
‘वारको फिलिम वारको फिलिम ।’
‘हँसाउने फिलिम हँसाउने फिलिम ।’
अधिकांश भिडियो गल्लीहरूमा देखाइने सिनेमाहरू एक्सन, लडाइँ, हरर वा फुहड कमेडी नै हुन्थे । व्यापारीहरूले बेच्ने नै त्यही हो, जुन कुराको बजारमा माग हुन्छ । हाम्रो सिनेमाको रुचि त्यो बेला त्यस्तै थियो । अझै पनि त्यस्तै नै छ । भिडियो गल्लीका कलिला हकरहरूलाई दर्शकहरूले सोध्ने प्रश्न हुन्थ्यो, ‘टेलर (ट्रेलर) देखाउँछ ?’
टेलर भन्नाले मूल सिनेमा सुरु हुनुअघि साँघुरा कोठामा दर्शक चाङ लगाउने क्रममा देखाउने अर्को कुनै सिनेमा बुझिन्थ्यो । किनभने कुनै पनि सिनेमाको निश्चित प्रदर्शन समय हुन्न्थ्यो । जतिबेला मान्छे भरिए, त्यति बेला नै सिनेमा सुरु । त्यसैले टेलरको अवधि पनि निश्चित हुन्नथ्यो । जति मिनेट देखाएर जुनै बेला पनि बन्द हुन सक्थ्यो । कोहीकोही भायमानीले चाहिँ टेलरको नाममा अर्को सिनेमा झन्डै पूरै नै पनि हेर्न पाउँथे ।
एउटाले कुनै कामबाट अलिकति कमायो भने सबै जना त्यसैमा होम्मिएर त्यो व्यवसाय नै ध्वस्त बनाउने नेपालीहरूको राष्ट्रिय चरित्र अनुसार— भनिन्थ्यो, त्यतिबेला कतिले त चलिरहेको ट्याक्सी, जग्गा वा घरै बेचेर पनि भीसीआर र टीभी किनेका थिए रे । भिडियो देखाउने क्रम र स्थानहरू बढ्न थालेपछि प्रशासनले तिनलाई गैरकानुनी भन्न थाल्यो । त्यसैले बेलाबेला प्रहरीले छापा मारेर ती सामानहरू जफत गर्न थाल्यो । तर खुलेआम नभए पनि लुकीछिपी त्यो काम चली नै रह्यो । बाघको जिब्रोले रगत जो चाखिसकेको थियो ।
....
योभन्दा केही वर्षअघि मनोरञ्जनको स्वर्णकालको सुरुआतको बेला त्यस दिन बलभद्रले अमिताभ बच्चनको नयाँ सिनेमा आइपुग्यो रे भन्ने खबर ल्याएको थियो । तसर्थ हामी आफैं लावारिसजस्तो भएर पाटनको गल्लीमा लावारिस खोज्दै थियौं । दुई घण्टा बढी हुन लागिसकेको थियो, ‘लावारिस’ भेटिएको थिएन । हामी तेस्रो पिरियडपछिको पन्ध्र मिनेटको ब्रेकमा स्कुलबाट भागेका थियौं । अहिले अब पाँचौं पिरियड सुरु हुने बेला भइसकेको हुनुपर्छ । पाँचौं पिरियड हेड सरको हुन्थ्यो । उनले कहिलेकाहीं बीचमा हाजिरी लिन्थे । आज पनि लिएको भए हामी भागेको थाहा भइसकेको हुनुपर्छ । त्यसरी भाग्ने अथवा अघिल्लो दिन अरू खुराफात गर्नेहरूलाई भोलिपल्ट एसेम्बलीमा अघिल्तिर बोलाएर सारा विद्यार्थीको सामु पिँडुलामा केनको लठ्ठीले पूजा–प्रसाद चखाउने चलन थियो ।
मेरो पिँडुला चिलाउन थाल्यो । प्यासले तालु त उहिले नै सुकिसकेको थियो, अब त भोकले आन्द्रा पनि रोटेपिङ खेल्न थाल्यो । छेवैमा एउटा नेवारी खाजा घरले चुनौती दिइरहेको थियो । बाहिरैसम्मै राँगाका परिकारहरूको हरहर बासना आइरहेको थियो । सिनेमा हेर्न भनेर खाजा नखाएर राखेको पैसाको पनि त सदुपयोग भइरहेको थिएन । मैले सिनेमाको साटो खाजा खाने प्रस्ताव राखें । बलभद्र झोक्कियो, ‘कस्तो मुला फलान्थोक रहेछ । एक दिन खाजा नखाएर तँ मर्छस् ? पख् न लावारिस भेटिन्छ कतै न कतै ।’
ऊ त ‘फर्स्ट ब्वाई ।’ उसको कुरा माथि पर्ने नै भयो । तर त्यो जाँचको उत्तरपुस्तिका थिएन जहाँ सधैं उसकै कुरा मात्र सही होस् । निकै बेर प्रयास गर्दा पनि बच्चन साहब भेटिएनन् । भेटिए धरम पाजी । एउटा गल्लीको मुखमा हाम्रै उमेरको फुच्चे कराइरहेको थियो, ‘ल ल प्रोफेसर प्यारेलाल प्रोफेसर प्यारेलाल । ब्रुस लीको टेलर फ्रीमा ब्रुस लीको टेलर ।’
बलभद्रले आँखा चम्काउँदै भन्यो, ‘अब यही प्रोफेसर प्यारेलाल भए पनि हेरौं ।’ मलाई पटक्कै मन लागेन । मलाई त छ्वेला कचिलाले बढी तानिरहेको थियो । त्यसमाथि बल्लबल्ल शिक्षकहरूबाट भागेर प्रोफेसरको चंगुलमा किन फस्नु ? भनें, ‘हेर्नु र ? नामै त त्यस्तो छ ।’
जालमा परेको माछो फुत्कन लाग्यो भन्ने सोच्दै फुच्चेले हतारहतार उत्तर दियो, ‘नाम मात्र झुर हो । फिल्म त खतरा छ खतरा । फाइटै फाइट छ । प्रिन्ट पनि राम्रो छ । धमेन्द्र र जिना तामाङ हिरो हिरोनी । डाँकुचाहिँ गब्बर सिङ ।’
सुविधासम्पन्न हेडक्वार्टरमा बसेर स्विच थिचेको भरमा बदमासी गर्ने ‘हाई–टेक’ खलनायक नै किन नहोस्, दर्शकका लागि ऊ डाँकु नै हुन्थ्यो । अनि जिनत अमानलाई मानिसहरूले जिना तामाङ बनाएर नेपालीकरण गरेका थिए । धन्य हिन्दुस्तानीहरूलाई त्यो थाहा थिएन । नत्र उनीहरूले ‘जिनत वाज बोर्न इन इन्डिया’ भनेर अभियान चलाउनुपर्थ्यो होला । त्यसबेला काठमाडौंका हलमा धमेन्द्रका सिनेमा चल्दैनथे । नेपालीबारे अपमानजनक टिप्पणी गरेको ‘रे’ भन्ने हल्लाका कारण धर्मेन्द्रको सिनेमा चलायो भने हलमा आगो लगाइन्छ भन्ने अर्को हल्ला चलेको थियो जसको सत्यता कसैले जाँचेको थिएन । उग्र राष्ट्रवादसँग कसैले जोरी खोज्ने कुरा पनि भएन । त्यति ठूलो राष्ट्रवाद पाटनका साना गल्लीहरूमा छिर्न सक्दैन रहेछ । त्यसैले हलहरूमा प्रवेश निषेध गरिएका धर्मेन्द्र पाटनका गल्लीहरूमा निर्बाध घुम्न सक्ने रहेछन् । वर्जित फल खाने इच्छा हामी मानव प्रजातिको पुर्ख्यौली लोभ नै भइहाल्यो । धर्मेन्द्रको सिनेमा, साथमा जिना तामाङ । अरू के चाहियो र ? फुच्चेले अन्तिम मोहपाश फ्याँक्यो, ‘आकाशमा फाइट पनि छ ।’
फाइट, त्यो पनि आकाशमा ! हाम्रो आँखा च्यातियो । बलभद्रले भन्यो, ‘आकाशमा फाइट रे ? गफ दिन्छस् मुला ?’
फुच्चे उत्साहित भएर भन्न थाल्यो, ‘माकस्सम । धमेन्द्र र गब्बर सिङ प्लेनबाट हाम्फालेर आकाशमा फाइट खेल्छ ।’
अब त मैले पनि नाइँनास्ती गर्ने केही कारणै बाँकी रहेन । हामीले त्यही सिनेमा हेर्ने निधो गर्‍यौं । सबैको २० रुपैयाँ लिएपछि फुच्चेले साँघुरो गल्लीभित्रको चोकतिर लग्यो । उसले हामीलाई त्यो चोकबाट फेरि एउटा घरको मुनि कुप्रेर अर्को चोकमा पुर्‍यायो । चारैतिर जोडिएका पुराना घरहरू थिए । कुनाको एउटा घरको छिंडी हुँदै अँध्यारो र ठाडो भर्‍याङ चढेर हामी तेस्रो तलामा पुग्यौं । त्यहाँ मटानमा केही मानिसहरू पहिले नै बसिसकेका थिए । हामी पनि एउटा कुना च्यापेर बस्यौं । नभन्दै टेलर चलिरहेको थियो । ब्रुस ली बिरालो कराएको जस्तो आवाज निकालेर आफूभन्दा डेढ गुना ठूलो मान्छेको छातीको भुत्ला उखेल्दै थियो । हामी सबै भुलेर ब्रुस लीको किकमा रमाउन थाल्यौं । केही बेरमै मटान भरियो अनि सुरु भयो ‘प्रोफेसर प्यारेलाल’ । जसै फिल्म अघि बढ्दै गयो, हामी सबैलाई प्रतीक्षा थियो आकाशमा खेल्ने फाइटको । प्लेनबाट हाम्फालेर कसरी फाइट खेल्ने होला ? तर त्यो दिन हाम्रो ग्रह दशा खासै राम्रो रहेनछ । सिनेमा आधाउधी मात्रै के सकिएको थियो, अचानक मटानमा वास्तविक गब्बर सिङको प्रवेश भयो । स्याँस्याँ गर्दै ऊ कराउन थाल्यो, ‘ढिंरेहरू आउन लाग्यो ढिंरे । रेड हान्यो । भाग भाग ।’
रेडको नाम सुन्नासाथ मभित्रका सातो र पुत्लो भन्ने जुम्ल्याहा दाजुभाइ पिलाटस पोर्टर जसरी उडे । सिनेमा देखाउन मान्छे बिजुलीको फुर्तीले उठ्यो, झ्याप्पै टीभी र डेक बन्द गर्‍यो अनि प्लगमा जोडेका तारहरू छिनाउँलाजस्तो गरी लुछेर अलग पार्न थाल्यो । त्यतिन्जेलमै दुई जना बाँदर जसरी झ्यालबाट टाँसिएको अर्को घरको बार्दलीमा पुग्न भ्याए । हामीले कुरा बुझ्दानबुझ्दै उनीहरुले सकी नसकी टीभी र डेकलाई उतापट्टि पास गरिसकेका थिए । जुन दक्षता र गतिमा त्यो काम भएको थियो, त्यो हेर्दा यस्तो लाग्थ्यो मानौं उनीहरूले यस्तै आपतकालीन अवस्थाको लागि पटक पटक आकस्मिक पूर्वाभ्यास गरेका थिए । अथवा यो उनीहरूको बेलाबखत गरिरहने नियमित काम हो । हेर्दाहेर्दै डेक, टीभी र सिनेमा प्रदर्शकहरू गायब भइसकेका थिए । अब पालो दर्शकहरूको थियो । उनीहरू पनि ठेलम्ठेल गर्दै टाप ठोक्न थाले । हामी यो आकस्मिक परिस्थितिबाट हतप्रभ भएर के गरौं के जस्तो भएका थियौं ।
‘भाग् मुला । सुनेनस् ? पुलिसले रेड हान्यो रे,’ बलभद्र करायो । हामी पनि हूलमा मिस्सिएर त्यही चोरबाटो कुलेलम ठोक्यौं । डर र उत्तेजनाले मेरा गोडा काम्न थालिसकेका थिए । बार्दलीबाट अर्को घर, अर्को घरको भर्‍याङबाट हाम्फाल्दै तल ओर्लेर चोकमा निस्केर फेरि आएकै बाटो बाहिर मूल गल्लीमा पुगेपछि मात्र हामी स्याँस्याँ गर्दै रोकियौं । न पूरा सिनेमा हेर्न पाइयो, न आकाशमा खेल्ने फाइट ।
‘अब के गर्ने ?’ कसैले मरेको स्वरमा सोध्यो । ‘मूलाहरूसँग पैसा फिर्ता लिनुपर्छ,’ बलभद्रले भन्यो । हामी अलि पर सियाँलमा गएर बस्यौं । त्यसको केही समयमा छापा मार्न छिरेका प्रहरीहरू बैरंग चिठ्ठीको खामजस्तो भएर बाहिर निस्के । भुइँमा कटबाँस बजार्दै एक जना प्रहरी बर्बरायो, ‘भागे सालाहरू ।’ सिकार उम्किएकोमा उनीहरू थक्कथक्क र निराश देखिन्थे । हामी आफूसँग नगद संकलन गर्ने त्यो फुच्चे वा माथि देखिएका प्रदर्शक दाइहरूलाई कुरेर बस्यौं । तर उनीहरू कसैको कुनै अत्तोपत्तो थिएन । निकै बेर भएपछि मैले भनें, ‘जाऊँ अब । घर जान ढिला हुन्छ ।’
योभन्दा राम्रो विकल्प अरू कसैसँग थिएन । हाम्रो पैसा डुबिसकेको थियो । हामी सबै लोप्रे कान लगाएर केही नबोली पाटनढोकातिर लाग्यौं । हामी भागेको थाहा भएको भए भोलिपल्ट स्कुलमा हुने दुर्गतिको पीर त आफ्नै ठाउँमा छँदै थियो । त्यो दिन छुटेको आकाशमा खेलेको फाइट आजसम्म पनि हेर्न पाइएको छैन ।
अँ बरु, युट्युबमा भेटिएला नि ‘प्रोफेसर प्यारेलाल’ । खोजेर हेर्नुपर्ला ।

प्रतिक्रिया:

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment