Translate

Sunday, February 25, 2024

जलदेवता शरणं

 केही दिन अघिको कुरा हो। रात चकमन्न थियो। भूतले खाजा खाने बेला भएको थियो। संसद्कोे अधिवेशन चलिरहेको बेला सांसदज्यूहरू दिउँसै निदाए जसरी मानिसहरू निन्द्रादेवीको अँगालोमा फ्वाँफ्वाँ भइरहेका थिए। अचानक फाफुराको निन्द्रा खल्बलियो। अर्ध निन्द्रामा फाफुराले चाल पायो, फाफुरी उसकोे नौनीजस्तो मुलायम कुहिनाको हाडको चुच्चोले फाफुराका करङहरूमा जलतरंग बजाउँदै रहिछ। फाफुराको निन्द्रा खुलेको थाहा पाएर उसले मोहक स्वरमा साउती गरी, “उठ फाफुरा, पति हुनुको दायित्व पूरा गर।”

फाफुरा उसको आदेश पालना गर्न जर्‍याकजुरुक उठ्यो। अचेल हप्ताको दुई पटक रातिको साढे १२ बजे र एक पटक बिहान ब्रम्हमूहूर्तमा फाफुरीले फाफुरालाई यसैगरी पति हुनुको दायित्व पूरा गर्नका लागि उठाएरै छोड्छे। चाहे जुनसुकै बेला निदाएको होस्, जतिसुकै मिठो निन्द्रामा किन नहोस्, फाफुराले पति हुनुको दायित्व पूरा गर्नका लागि नउठी सुख्खै पाउँदैन। त्यति गरेन भने फाफुरालाई पनि मुगुतिर पठाइदिन्छु भनेर उसले उर्दी जारी गरिसकेकी छे। अब तपाईंहरूको मगजले पक्कै केही खुराफाती कुरा नै सोचेको होला, त्यसैले त आँखा सन्काउँदै तपाईंहरू फाफुरालाई प्रश्न गर्न तयार हुनुभएकोे छ, “आधा रातमा यसरी कुन दायित्व पूरा गर्न तँलाई उठाउँछे हँ फाफुरा?”

गणतन्त्र आएपछि आममानिसको जीवन सहज हुन्छ, देशको कुनाकुनामा सम्वृद्धिको सूर्योदय हुन्छ भन्ने तपाईं–हाम्रो आशामा हिमालको चिसो पानी खन्याए जसरी तपाईंहरूको आशामा पानी खन्याउँदै फाफुरा भन्न चाहन्छ– मोटर चलाउनू, पानी तान्ने प्रयास गर्नू। किनभने हप्ताको दुई दिन राति साढे १२ बजेदेखि र एक पटक बिहान ४ बजेदेखि केही समयका लागि खानेपानी संस्थानले हाम्रो टोलको धाराको लाइनमा पानी छोडिदिने दिन हो। बेला न कुबेला यसरी आउने भनेर यातना दिने पानीका लागि एकैजनाले निन्द्रा खराब गर्न सकिन्न भनेर फाफुरा र फाफुरीले महिनैपिच्छे पालैपालो उठ्ने प्रजातान्त्रिक तालिका बनाएका छन्। त्यसैले त्यो पानी मोटर लगाएर तान्ने पतिको दायित्व पूरा गर्न फाफुरा उठ्ने गर्छ।

अब हेर्नुस्, जलस्रोतको धनी यो देशमा धाराको पानी ‘छोडेको’ बेलामा पनि त्यसलाई मोटर लगाएर नतानिकन पाइपबाट टंकीसम्म पानी आउँदैन भन्ने त तपाईंहरूलाई थाहै होला। हुन त ‘पानी आउने दिन’ भन्नुभन्दा ‘पानी आउने सम्भावना भएको दिन’ अथवा ‘पानी आउने भनिएको दिन’ भन्नु बढी उपयुक्त हुन्छ। किनभने योे मुलुकमा सरकार कति समय टिक्छ, कुन चाहिँ सचिव कुन चाहिँ भ्रष्टाचारको कुरामा कति बेला खोरमा जाकिन्छ भन्ने कुराजस्तै पानी पनि भनेको बेला, भनेको दिन आउँछ भन्ने निश्चित हुन्न। तर पनि ‘तिमी आउँछ्यौ भन्ने आशैआशमा’ भन्ने गीत कन्दै रात बिरात मोटर चलाउन फाफुरा उठ्नै पर्छ। तर संसारमा तीन वटा कुरा कुन बेला आउँछ भन्ने कसैले भन्न सक्दैन। भुईंचालो, मानिसको काल र धारामा पानी। 

भोलि विज्ञानले प्रगति गरेर भुइँचालो र काल ठ्याक्कै कुन बेला आउँछ भन्न सकिएला तर पानी कुन बेला आउँछ भन्ने कसैको बाउबाजेले भन्न सक्दैन। साढे १२ बजे आउने भनिएको पानी कहिले १० बजे नै आउन थालेको हुन्छ, कहिले १ बजेबाट आउन थाल्छ, कहिले २ बजे आउँछ भने कहिले आउँदै–आउँदैन। फेरि हप्ताको दुई दिन भने पनि ठ्याक्कै त्यही दुई दिन भन्ने हुँदैन। कहिले पानी आएको तीन दिनपछि चौँथो दिनमा, कहिले दुई दिनपछि तेस्रो दिनमा त कहिले पाँच दिनपछि छैठौँ दिनमा फेरि पानी आउन सक्छ। अथवा एक हप्ता पूरै नआउन पनि सक्छ। 

धाराको पाइपमा पानी नभनेको बेला आउने र भनेको बेला नआउने किन हुन्छ भन्ने कुराको पछाडि ठूलो रहस्य हुँदोरहेछ जुन फाफुराले निकै हण्डर खाएर पत्ता लगाएको छ। पानीको कुरा सोच्दासोच्दा २४ घण्टा नै छरछिमेकीमा कसैले मोेटर चलाएको हो कि भनेजस्तो आवाज फाफुराको कानमा आउन थालिसकेको छ। केही महिनाअघि फाफुरीले पनि कानमा त्यस्तै आवाज आइरह्यो भनेर गुनासो गरेपछि तीन जना डाक्टरलाई देखाएको कुरा फाफुराले सम्झियो। पहिलोले टन्सिलको, दोस्रोले माइग्रेनको र तेस्रोले यो डिप्रेसनको लक्षण हो भनेर मनोचिकित्सक कहाँ जान सुझाएको थियो। तर पानी तान्न उठ्ने पालो सकिएपछि फाफुरीको त्यो समस्या बन्द भएर आफ्नो शुरू भएपछि फाफुरालाई कारण थाहा भयो। 

अघिल्लो हप्ता पनि तोकिएको कुनै रात कुनै समय पानी आएन। नभनेको अरू रात पनि कुनै छिमेकीको मोटर चलेको जस्तो तर्कनाले बीचबीचमा ब्युँझँदै फाफुरा तल झरेर मोटर चलाउन गइरह्यो। तर पानी त आर्थिक सम्वृद्धि, विकास, पूर्वाधार निर्माण वा १२ कक्षा सकेर पढ्न बाहिर गएका विद्यार्थीजस्तो भयो– ज्यान गए नआउने। यही ताल हो भने कुन दिन फाफुरा ‘पानी बहुला’ भएछ र हातमा कतारोे लिएर ‘पानी आयोे...’ भन्दै टोेलमा नांगैै कुदिरहेको देख्नुभयोे भने पनि अचम्म नमान्नुहोला।

यस हप्ता पनि पानी आएन भने घरमा खाना पाक्दैन, लुगा सफा हुँदैन, शौचालय गन्हाउन सक्छ भनेर फाफुरीले बेलैमा सचेत बनाइसकेकी थिई। त्यसैले त्यस रात त पानी आओस् भनेर पशुपतिनाथ गुहार्दै फाफुरा तल मोटर राखेको ठाउँतिर गयो। मोटर चलाएपछि पनि ढुक्क भएर बस्न कहाँ पाइन्छ र! पानी आएको बेलामा पनि मूत्रनलीमा दीर्घ विकार भएको पिसाबको रोगीले लघुशंका गरे जसरी तुरुक्क आउँदै लुरुक्क लुक्दै, फेरि तुरुक्क आउँदै र तप् तप् गर्दै पाइपबाट झर्ने गर्छ। त्यो हिसाबले त बरु कुनै दिन मेलम्ची आयोजन पूर्ण होला तर ८–१० हजार लिटरको भूमिगत टंकी पूरै भरिँदैन भन्ने फाफुरालाई थाहा छ। 

यसो १००–५० लिटर पानी खसेछ भने पनि कान्छा भनेर सम्बोधन गरिएका रुद्रमणिले अरुणा लामाका लागि आकाशबाट सुनको तारा खसाइदिए बराबर मान्नुपर्छ। फाफुरा त्यस दिन पनि मोटर चलाएर पानीको टंकीको ढक्कन खोलेर पानी झरे नझरेको हेर्न थाल्यो। तर पटकपटक संसद्कोे अधिवेशन जसरी मोटर चलाउँदै र बन्द गर्दै गर्दा पनि जसरी जति संसद् चले पनि अर्थहीन हुन्छ, मोटर चलेको पनि अर्थहीनै भयो। न त्यता केही ठोस कुरा आउँछ, न यता कुनै तरल कुरा आयो। उताजस्तै फुस्सफुस्स हावा मात्रै आइरह्यो। त्यस दिनकोे निन्द्रा पनि फोकटमा खराब भयो भनेर विरक्त मान्दै फाफुराको मुखबाट निस्क्यो, “हे भगवान।”

कुन बेला कसैले बोलाउला भनेर जलदेवता पानीको ट्यांकीमा ढुकेर बसेका रहेछन् क्यार। हातमा तीन वटा बञ्चरोे बोकेर प्रकट भइहाले; सुन, चाँदी र फलामको। ङिच्च हाँस्दै जलदेवताले भने, “ल भन् बालक, यी तीनमा तेरो बञ्चरो कुन हो?” 

पानी नआएर पारा तातिरहेको फाफुराले जलदेवतालाई खाउँला जसरी हेरेर भन्यो, “संसार कहाँबाट कहाँ पुगिसक्यो। तपाईं अझै उही दन्त्यकथाको युगमा हुनुहुन्छ। के जहिले पनि कुनै दाउरेले बञ्चरो हराएर मात्रै तपाईंलाई गुहार्छ?”

फाफुराको रौद्ररूप देखेर जलदेवता एकछिन झस्किए, अनि मीठो स्वरमा सोधे, “त्यसो भए तिमीले यो रातको बेला मलाई किन सम्झिएका हौ त फाफुरा? भन म तिम्रा लागि के गर्न सक्छु?”

कांग्रेसको साधारण सदस्यको अगाडि प्रकट भएर देउवाले के माग्छस् भन्दा उसको जस्तो गति हुन्छ, देउताले प्रकट भएर सोद्धा फाफुरा त्यति नै पुलकित भयो। पानीको संकट टर्ने भयो भनेर ऊ द‌ंग पर्‍योे। उसले हात जोडेर भन्यो, “प्रभु यो सरकारले यसै पनि पञ्चामृत जसरी पानी बाँड्छ। त्यो पनि भनेको बेला र भनेको समयमा आउँदैन। हुनेखानेले त ट्यांकरको पानी मगाउँछन्। तर फाफुराजस्तो श्रमजीविले त २२–२५ सय रुप्याँ पर्ने ट्यांकरको पानी किनेर चलाउन सक्दैन। लौन जनि गरेर पानी आउने दिन र समयको सही जानकारी दिनुपर्‍यो प्रभु।”

जलदेवताले खुइय्य गर्दै लामो सास फेरेर ओठ लेप्य्राए। अनि आफ्नो शिर दायाँबायाँ हल्लाउँदै रुन्चे स्वरमा भने, “यो त मैले पनि ठ्याक्कै यसो हो भनेर भन्न सक्दिनँ फाफुरा।”

जलदेवताले समेत त्यसो भनेपछि फाफुराको रहे–सहेको आश पनि मर्‍यो। उसले सोध्यो, “तपाईं जलदेवतालाई नै थाहा नभए कसलाई थाहा हुन्छ त भगवान?”

जलदेवताले भने, “यो कुरा चाचालाई मात्रै थाहा हुन्छ। उनैले मात्र भन्न सक्छन्।”

चाचा! जलदेवताको पनि चाचा को रहेछ? उसले सोध्यो, “तपाईंको चाचाको नाम चाहिँ के भगवान हो? कहाँ भेटिनुहुन्छ उहाँ? जनि गरेर त्यति पनि बताइदिनु भए हुन्थ्यो।”

जलदेवताले हाँस्दै भने, “तिमीले कुरा बुझेनौ फाफुरा। उनी मेरा चाचा होइनन्। उनी नेपाल जगत्का चाचा हुन्। चाचा भनेको खानेपानी संस्थानको एक कर्मचारीका प्रजाति हुन्। चाचा, अर्थात् चाबी चालक। कुन ठाउँमा कुन बेला र कसरी पानी पठाउने वा नपठाउने भन्ने कुरा उनीहरूकै हातमा हुन्छ। तसर्थ तिमीले आफ्नो एरियाका चाचालाई भेटेर, उनलाई के चढाएर कसरी हुन्छ प्रसन्न बनाएपछि एउटा खुफिया समूहको सदस्यता पाउनेछौ। तिमी खुफिया समूहको सदस्य नहुन्जेल तिम्रा पितृका सात पुस्ताले पनि कुन बेला पानी आउँछ भनेर भन्न सक्दैनन्। खुफिया समूहको सदस्य भइसकेपछि मात्र तिमीलाई ह्वाट्सएप् वा भाइबरको एउटा समूहमार्फत कुन दिन र कुन बेला पानी आउँछ भन्ने जानकारी प्राप्त हुनेछ। अरूले थाहा पाएर फोकटमा तान्लान् भनेर दिन र समय फरकफरक हुने गर्छ। खानेपानी संस्थानले औपचारिक रूपमा निष्काशन गरेको तालिका हात्तीको देखाउने दाँत मात्र हो। तिमीजस्ता मूर्खहरू त्यसको आधारमा निन्द्रा खराब गरीगरी पानी आउला भन्ने आशमा बिरामी पर्छौ। अब कुरा बुझेको हो फाफुरा?”

“यो त गैरकानूनी काम भएन र जलदेवता? आम नागरिकले खानेपानी संस्थानलाई पानीको लागि शुल्क तिरिसकेपछि त भनेको समयमा पानी पाउनुपर्ने होइन र?”

“तिमी नेपालमा बसेर के कानूनी, के गैैरकानूनी, के नियमानुसार हुनुपर्ने र के नहुनुपर्ने भन्ने कुरा गर्दैछौ फाफुरा? यहाँ कुन कुरामा नीति नियम र कानूनअनुसार काम भएको छ र तिमी मेरो पोर्टफोलियोवाला पानीमा मात्र समस्या देख्छौ? हो जसरी पहिले बिजुलीको कृत्रिम अभाव सिर्जना गरेर इन्भर्टर र ब्याट्री व्यवसायीसँग मिलेमतोेमा केही मानिसहरूले कुर्कुस्त कमाए, उद्योेगपतिहरूलाई छुट्टै फिडरबाट बत्ती पोसेर १८–१८ घण्टा तिमीहरूलाई अँध्यारोमा राखे, त्यसै गरी पानीमा पनि कृत्रिम अभाव सिर्जना गरेर ट्यांकर तथा मिनरल भनिने जार तथा बोतलका पानीवालाहरूसँग मिलेर यो शहरलाई काकाकुल बनाइरहेका छन्। तिमी विचार गर त, ठूला कलकारखाना, होटल, रेष्टुराँ, गाडी सर्भिसिङ वालाहरूका लागि चाचाहरूलाई मासिक हजार–पन्ध्र सय रुपियाँ चढाउनु कुन ठूलो कुरा भयो! झन् तिम्रो घर वरिपरि कुनै ठूला हाउजिङहरू छन् भने त तिमीले बुझिहाल, मोटो पाइप जोडेर त्यहाँ पानी लगिएको हुन्छ। अनि अरूले थाहा पाउने समयबाहेकका समयमा त्यहाँ पानी छाडिएको हुन्छ। तिमीहरूजस्ता कीराफट्याङ्ग्राहरूको घरतिर मसिनो पाइपमा कहाँबाट कति पानी जान्छ आफैँ सोच। तिम्रा वरिपरिका टाठाबाठा घरेलु प्रयोगवालाहरूले पनि ट्यांकरलाई २२ सय रुप्याँ तिर्नूभन्दा चाचालाई चारपाँच सय रुप्याँ बुझाउनु फाइदाजनक भयो कि भएन त?”

जलदेवताको कुरा सुनेर फाफुराको तेस्रो आँखा खुल्ने र सातैवटा चक्र जागृत हुने एकैपटक भैहाल्यो। उसले भन्यो, “ओहो, भनेसि त यी चाचा भन्ने कर्मचारी त मालामालै होलान् नि हैन र?”

जलदेवताले भने, “तिम्रो कुरा सही हो। चाचाहरूलाई आफ्नो तलब त भुसुना बराबर। तर तिमीले चाचालाई चढाएको दक्षिणा सबै उसैले मात्र कहाँ खान पाउँछ र? त्यसको भाग माथि कहाँकहाँसम्म बाँडिन्छ तिमी सोच्न पनि सक्दैनौ। हेर फाफुरा, मेरै आँखाअघि यो सब भइरहेको छ। तर के गर्नु! कलियुग भएको हुनाले मैले पनि टुलुटुलु हेरिरहने बाहेक अरू केही उपाय छैन। त्यसैले मैले तिमीलाई दिनसक्ने सल्लाह यही हो। तिम्रो इलाकाको चाचा कोहो पत्ता लगाऊ र उसैैको शरणमा जाऊ। तिम्रा सारा दुःख उनैले हर्नेछन्। योभन्दा बढी म पनि तिमीलाई सहयोग गर्न सक्दिनँ।”

यति भन्दै सोझासाझा जनताको बचत बटुलेका सहकारी सञ्चालक सरह जलदेवता अलप हुँदा भए। 

फाफुराले यही कुराको नालीबेली फाफुरीलाई सुनायो। उसले सोधी, “चाचालाई खोज्न कहिले जाने त?” फाफुराले प्वाक्क भन्यो, “भतिजा।”

फाफुरी वाल्ल परी। फाफुराले हाँस्दै अर्थ्यायो, “भतिजा भनेको भरे तिर जाउँला।”

अनि त्यसपछि फाफुराको मिशन शुरू भयो– चाचाको खोजी। कोलम्बसलाई भारत खोज्ने भनेर अमेरिका पुग्न जति गाह्रो भएथ्यो होला, चाचा खोज्न फाफुरालाई त्योभन्दा बढी गाह्रो भयो। बीचमा त उसले हार मानेर मिशन परित्यागै गर्न लागेको थियो। तर त्यति जाबो पत्ता लगाएर सेटिङ गर्न पनि नसक्ने हुतिहारा भनेर फाफुरीले फाफुराभित्रको पुरुषलाई नै चुनौती दिन थालिसकेकी थिई। 

बल्लबल्ल पाँचसात जनाको पछि लागेर फकाइफुल्याइ गरेर एउटा किराना पसलको साहुजीका माध्यमबाट फाफुरालाई चाचाको फोन नम्बर प्राप्त भयो। त्यसमा सम्पर्क गर्ने चार दिनको अथक प्रयासपछि बल्लबल्ल चाचाले फोन उठाए र भेट्नका लागि भोलिपल्टको एउटा ठाउँ तोकेर समय दिए। उनले बोलाएको ठाउँ भनेको मूल सडकमा उनले चाबी घुमाउने प्वाल भएको ठाउँ थियो। फाफुरा त्यहाँ पुग्दा उनी फलामको एउटा लामो लौरो सडकको प्वालमा घुसारेर घुमाउँदै थिए। आजको २१औँ शताब्दी र आर्टिफिसियल इन्टेलिजेन्सको युगमा पानी वितरण र नियन्त्रण गर्ने त्यो अत्याधुनिक र वैज्ञानिक प्रविधि देखेर फाफुरा चमत्कृत भयो। एक पटक यस देशको नागरिक भएकोमा गर्वले फुलेर उसको ढुक्कुरे छाती २८ बाट ३० इन्चीको भयो। 

नासालाई मात खुवाउने प्रविधिबाट कतैको पानी बन्द गरिसकेपछि चाचाले राणा शासनको बेला जुद्धशमशेरले र अहिले दाइभाउजूले आफ्नो द्वारमा माथा टेक्न आएको ‘फरियादी’लाई हेरे जसरी फाफुरालाई हेर्दै भने, “ल भन्नुस् के भयो?”

फाफुराले पनि पाएको मौकामा तारानाथ स्टाइलमा रटटटटटट धारामा पानी नआएर साह्रै दुःख पाएको गुनासो चाचाको पाउमा पोखिहाल्यो। साथै आफ्नो घर भएको सडकको व्यहोरा पनि। चाचाले दयालु आँखाले फाफुरालाई हेरे, एकछिन गम खाए, दुई पटक जति हुम्...हुम् गर्ने वाणी कण्ठबाट निकाले। फाफुरा तपस्या सफल भएपछि प्रकट भएका महादेव भगवानले कुन बेला तथास्तु भन्लान् भने जसरी प्रतीक्षा गरिरह्यो। 

केही बेर सोचेर ठूलै उपकार गरे जसरी चाचाले भने, “ल ठीक छ। मैले बुझेँ। तालिकाअनुसार त त्यो एरियामा हिसाबले भोलि बिहान ४ बजे पानी आउनुपर्ने हो। तर म त्यो टाइममा खोल्दिनँ। आजै राति ११ बजे खोलिदिन्छु। तपाईं त्यो बेलामा चेक गरेर हेर्नुस्। मजाले पानी तान्नुस्। बाँकी कुरा त्यसपछि गरौँला।”

नभन्दै त्यस रात ११ बजे तालिकामा नभएको बेला फाफुराको मोटरले पानी तान्यो। लगभग तीन घण्टासम्मै मजाले पानी आयो। पानी आउन बन्द भएको एकै छिनमा चाचाको फोन पनि आयो। फाफुराले चाचालाई आभार प्रकट गर्‍यो र फेरि पानी आउने कहिले र कसरी थाहा हुन्छ भन्ने जिज्ञासा प्रकट गर्‍यो। चाचाले भने, “जहाँबाट तपाईंले मेरो नम्बर पाउनुभएको हो, त्यही पसलमा जानुस्। बाँकी कुरा तिनै साहुजीले गर्नेछन्।”

ती साहुजी चाचाका ‘बुकिङ तथा कलेक्सन एजेन्ट’ रहेछन् भन्ने कुरा फाफुरालाई थाहा भइहाल्यो। त्यहाँ गएर चाचाको मासिक सेवा शुल्क बुझाएपछि आफूलाई पनि खुफिया समूहको सदस्यता प्राप्त हुने अनि कुन बेला पानी आउने हो– भाइबरमा खबर आउने हुन्छ भन्ने पनि उसले बुझिहाल्यो। यसरी अन्ततोगत्वा सरकारले खटाइखटाइ दिने धाराको पानीजस्तो साधारण कुरा पनि सहज रूपमा प्राप्त गर्नका लागि लडाउनुपर्ने तिगडम र गर्नुपर्ने जुगाडबारे ढिलै भए पनि पत्ता लगाएरै छोडेकोमा फाफुराले आफ्नो ढाडमा आफैँलाई धाप मार्दै भन्यो, “जय होस् तँ बज्याको।”

अनि त्यसकोे साथै आफू यति महान देशको यति महान नागरिक भएकोमा नाकको छाला खुइलिने गरी आफैँले आफूलाई लोप्पा खुवाउँदै फाफुराले घोक्रो स्वरमा नेपाली हुनुको मूलमन्त्र र गौरवगाथा गायो, “म त झिल्के यस्सै राम्रो–यस्सै राम्रो, उस्सै राम्रो नेपाली हुनाले।”

डल्ला फाल्ने र मुंग्रो घुमाउनेका लागि

एकथरि मान्छेहरूले गएको राजतन्त्र खोज्न थाल्दा पनि तपाईंहरूले चाहिँ यत्रो समय बेपत्ता भएको फाफुराको खोजीनीति गर्नुभएन। योे देख्दा बरो फाफुराको घुँडाबाट जति आँशु बगे त्यति त चाडबाडमा मन्त्री तथा नेताहरूको घरमा स्कच र सिंगल माल्ट पनि बगेन होला। केही शुभचिन्तकहरूले चाहिँ फाफुरा खाडीतिर गुल्टियो भन्ठान्नुभएको रहेछ। उसलाई अझ धेरै माया गर्ने केही आफन्तले त बज्या उहिले नै बाकसमा लमतन्न सुतेर आइसक्यो पनि भन्ठान्नुभएको रहेछ। उसको आरिस गर्नेहरूले ‘मुलङ्खारे अमेरिका तिर पलायन भयो र सामाजिक सञ्जालमा कुनै केटीको नाममा चिप्रा पनि नपुछ्दै देशको चिन्ता गरिरहेको होला’ पनि भन्नुभएछ। 

तर यो फाफुरा कसरी अमेरिका जाओस् र! न त उसको अनुहार भुटानी शरणार्थी जस्तो छ, न कुनै कांग्रेसी ठूला नेतासम्म उसको पहुँच छ। बलियोबांगो उमेरमा यसो जुलुससुलुसमा पुलिसलाई ढुंगा हान्न गएको भए, कुनै नेताका लागि खुुँडा खुकुरी बोकेको भए पो। सुर बेसुर जेमा पनि दुईचार वटा गीत कराउन जानेको भए, वा नाकमुख बंग्याएर तथाकथित कमेडी गर्न जानेको भए पनि ‘कलाकार’ भन्दै विदेश गएर लुक्ने अवसर प्राप्त हुन्थ्यो होला। ती सब योग्यता बटुल्नुको साटो फाफुराले त जीवनका उर्जामय उमेर लेख्ने र पढ्ने कुलतमा फसेर बितायो। उसले जानेको भनेकै फाइँफुट्टी हाँक्ने हो तर त्यसमा पनि देशका ठूला नेताहरूले उसको पेटमा लात्ती हानिदिए। यति ठूला फाइँफुट्टीबाज भएर निस्के, बबुरो फाफुराको त त्यो दोकान पनि बन्द भयो। 

उसो भए अहिले यत्रो पछि के खान आएको भनेर तपाईंहरू भेलु बाजे र देउवा जसरी पारा चढाएर सन्किनु हुन्छ भने त्यो स्वाभाविकै हो। योभन्दा पनि लामो समय चुप बसेँ भने फाफुरालाई तपाईंहरूले चटक्कै बिर्सनुहोला भनेर ऊ आएको छ। 

तपाईंहरूलाई थाहै छ, फाइँफुट्टी फुराउन परेपछि ऊ रत्नपार्कमा गएर टोपीले मुख छोपेर सुत्ने गर्छ। अहिले त झन् पारिलो घाम प्यारो हुने बेला। त्यसैले फाफुरा रत्नपार्कमा लमतन्न परेर जनकपुरको कार्यक्रममा मोदीको छेउमा देउवा निदाएजस्तै र्‍याल चुहाएर के झपक्क भएको थियो, उसकोे उर्वर खप्परमा केही कुरा आएर ड्यांग ठोक्कियो। ‘आइया...’ भन्दै उठेर उसले आफ्नो खप्पर छाम्यो। त्यहाँ खप्रओको गफ, बाराभको राष्ट्रप्रेम, पुकदाको अहिंसा र राचपौको सादगीभन्दा पनि ठूलो टुटिल्को उठिसकेछ। अलि पर क्रिकेट खेलिरहेका केही ठिटाहरूले मच्चाएको बलले आएर उसको खप्परमा चौका हानेको रहेछ। फाफुरा उनीहरूलाई हेरेर तार सप्तक सुरमा चिच्यायो, “याँ मान्छे सुत्ने ठाम्मा आएर क्रिकेट खेल्ने हो?”

उताबाट पनि त्यही सुरमा एउटा टिठो करायो, “रत्नपार्कलाई तपाईंले संसद भवन भन्ठान्नुभो कि क्या हो दिउँसै सुत्न?”

फाफुरा अवाक भयो। 

ठिटोले खुइय्य गर्दै भन्यो, “के गर्नु अंकल, राज्यले एउटा गतिलो खेलमैदान बनाइदिएको छैन। दुईचार आना घडेरी काटेर शहरभरि कतै खुल्ला ठाउँ बाँकी राख्या छैनन्। कहाँ गएर खेल्नु त?”

फाफुराको मगजमा अचानक झिलिक्क फाइँफुट्टी हाँक्ने विषय आइहाल्यो, क्रिकेट। उसले बल उनीहरूतिर हुर्‍याउँदै त्यसले आफ्नो टाउकामा हिर्काउनेलाई गोलीगाँठोदेखि नै आशिक दियो, “जय होस् तँ बज्याको।”

हुन त अब अहिले सबै नेपाली क्रिकेट विज्ञ भएको बेला ‘तँ मुला फाफुरालाई क्रिकेटबारे के थाहा छ र’ भन्नुहोला। फाफुराले जति पनि क्रिकेट नबुझ्याहरूले क्यान कि के जाति संस्था त हाँक्न सक्छन् भने फाफुराले नाथे फाइँफुट्टी हाँक्न नसक्नु?

ओलीबाले जति क्रिकेट उसले पनि बुझेको छ, डल्लो फाल्ने र मुंग्रोले बजाउने त हो नि। अरु के जान्नु पर्‍यो र! त्यति नाथे डल्लो फालेको र मुंग्रो घुमाएको भरमा हिजोका चल्ला आजका फुलहरू नाम र दाम कमाइरहेका छन्। खासमा तिनका काम र कुरा देखेर हाम्रा नेता, मन्त्री तथा सरकारको कन्सिरीका रौँहरू तात्नुपर्ने हो। तर त्यसो नभई उनीहरू पनि यिनकै लहलहैमा लागेको देख्दा फाफुरा जिल्लाराम परेकोे छ। त्यसैले ऊ यो फाइँफुट्टी सरकारमा भएका र अरु नेताहरूका आँखा खोल्नका लागि हाँक्दैछ। 

मान्यवर,
डल्ला फालेर र मुंग्रो हल्लाएर आज यिनीहरू ढुंगा हानेर ‘पावर’मा आउनुभएका तपाईंहरूलाई टक्कर दिने हुन लागिसके। पहिलेपहिले सम्चार भन्या तपाईंहरूका मात्र हुन्थे, जताततै मिडियामा तपाईंहरू मात्रै छाउनुहुन्थ्यो। चोेकचोकमा घरघरमा तपाईंहरूकै बकम्फूसे कुराहरूको मात्र चर्चा हुन्थ्यो। तर अचेल ती सबै ठाउँमा तिनीहरू छाउन थालेका छन्। हुँदाहुँदा अन्तर्राष्ट्रिय जगतमा पनि तिनका नाम सुनिन थालेको छ। त्यसो हुनका लागि तिनले के गरेका छन् भन्नुस् त! के ती ठेट्नाहरू तपाईंहरूको भाषणमा ताली ठोक्न आएका छन्? के तिनले तपाईंहरूले आह्वान गरेको जुलुस र आन्दोलनमा ढुंगामुढा गर्न गएका छन्? के तिनले तपाईंहरूलाई सत्तामा पुगेर अकुत आर्जन गर्न झिंगाको टाउको जति पनि सहयोग गरेका छन्? छैनन्। 

तिनले त डल्ला फाल्ने र मुंग्रो घुमाउने बाहेक केही गरेका छैनन्। त्योसँग तपाईंहरूले नयाँ नेपाल बनाउन, गरिब र सर्वहाराको उत्थान गर्न, नेपालीको मुहार फेर्न, देशलाई स्वीट्जरल्यान्ड बनाउन गरेको नरसंहार, रक्तपात, आन्दोलन, बन्द र तोडफोडजस्ता गौरवशाली कार्यको कुनै तुलना हुन सक्छ? तर त्यो सब भुलेर तपाईंहरू त हामीजस्ता मुर्ख जनताहरूको लहैलहैमा लागेर घरी तिनैलाई पुरस्कार दिने कुरा गर्नुहुन्छ, घरी रंगशाला बनाइदिने भन्नुहुन्छ। नसक्ने कुरा किन गरिरहनू? नागढुंगा–नौबिसे सडक बनाउन नसकिरहेको बेला, पोखरा जाने र भैरहवा जाने बाटो बनाउन नसकिरहेको बेला एकैपटक सिंगै रंगशाला बनाउने आँट गर्नुहुन्छ? कसले पत्याउँछ र त्यो कुरा?

फेरि, त्यो काम गर्ने तपाईंहरू को हो र भन्या? आफ्नो काममा ध्यान दिनुस् न। बरु, भ्यू टावर बनाउनुस्। आआफ्नो गाउँ वा क्षेत्रमा एकएक वटा हवाईअड्डा बनाउनुस्, सामाजिक सञ्जाललाई कसरी नियन्त्रण गर्ने भन्ने नियम बनाउनुस्। रंगशाला नाथे त हास्य कलाकारहरूले बनाइहाल्छन् नि। 

तर तपाईंहरू चाहिँ उल्टै तिनीहरूलाई नगद पुरस्कार दिने भनेर टाउकामा चढाउँदै हुनुहुन्छ। तपाईंहरूकै सिको गरेर जौ पानी कम्पनीलगायत पनि लिलाम बढाबढ गर्न थालेका छन्। यसरी पनि चल्छ? यसैगरी मत्याएको हुनाले अब उनीहरूको माग त झनै बढ्न थालेको छ। अब तिनलाई क्रिकेट खेल्न फ्लड लाइट कि के जाति चाहियो रे। अनि तपाईं २७ करोडको ठेक्का निकाल्नुहुन्छ। हुन त, त्यसमा कति करोड त घुम्दैफिर्दै तपाईंहरूकै आसेपासेहरूका गोजीमा आउने होला, त्यो फरक कुरा। तर मूल कुरो, किन चाहियो यिनलाई फ्लड लाइट? 

टुकीको बत्तीमा पढेर सन्दुक रुइत संसार हल्लाउने डाक्टर बने। उनलाई त चाहिएन फ्लड लाइट! ए बाबा अझ महाभारत पढाइदिनुस् न एकपटक तिनीहरूलाई। अर्जुनले धनुर्विद्यामा महारथ हासिल गर्न अँध्यारोमै तीर चलाउने अभ्यास गरेका थिए। त्यसैले आकाशमा घुमिरहेका माछाको छायाँ पानीमा हेरेर त्यसको आँखामा तिर गाड्न सक्थे। त्यतिमात्रै नभई, अर्जुनले महाभारतै जितेर देखाए। अर्जुनलाई चाहियाथ्यो फ्लड लाइट? यिनीहरूलाई चाहिँ डल्ला फ्याल्न र मुंग्रो घुमाएर १० वटा देशले खेल्ने खेल जित्न सुविधा चाहियो, रंगशाला चाहियो, यो चाहियो, त्यो चाहियो रे। के ख्याँसेका छन् यिनले भन्नुस् त?

एकपटक आफ्नो गौरवशाली यात्रालाई फर्केर हेर्नुस् त, यो देशलाई हरितन्नम बनाउन तपाईंहरूले कति दुःख गर्नुभएको छ! जात, धर्म, वर्ग र अनेक कुरा गरेर फुट हाल्दै यो अवस्थामा ल्याउनुभएको छ। चारैतिर निराशा व्याप्त गराउनुभएको छ। अर्थतन्त्र डाँमाडोल बनाउनु भएको छ। धमाधम देश छोडेर भाग्ने बनाउनुभएको छ। तर तपाईंहरूले यत्रो वर्ष लगाएर, त्यति धेरै विदेशी मुद्रा खाएर, पचाएर विभाजन गर्न खोजेको जनतालाई यिनीहरूले फेरि एउटै डोरीमा बाँधिरहेका छन्। उनीहरूलाई न जातले, न धर्मले न तपाईंहरूले छरेका अरु कुनै कलहको बीउले केही असर गर्छ। यिनले त तपाईंहरूको महान क्रान्तिको अवमूल्यन गरिरहेका छन्। त्यत्रो मिहिनेतमा पानी खन्याइरहेका छन्। 

तपाईंहरूले यिनका लागि माखा नमार्दा पनि यिनीहरू जितमाथि जित निकाल्दै जनतालाई खुशी हुने कारण दिइरहेका छन्। जनता खुशी भए भने, एकजुट भए भने तपाईंहरूको धन्दापानी चौपट भएन? कसमाथि गर्ने राज? यी तपाईंका रैतीहरूलाई खुशी हुने अधिकार छ? नभएको कुरा दिन खोज्ने यिनको यत्रो हिम्मत? हेर्नुस् त, आजभोलि तपाईंहरूका भाषण सुन्न मान्छे पाउन गाह्रो भइसकेको छ, हो कि होइन? कति ठाउँमा माइकसमेत नसमाती लोप्रे कान लगाएर पुच्छर लुकाएर फर्किनुपरेको कुरा बिर्सनुभयो? तर यी नाथे भुराहरूले चाहिँ एउटा चौरीमा डल्लो फालेको र मुंग्रो घुमाएकोे हेर्न हजारौं जनता उर्लेर जान्छन्, त्यो पनि टिकट काटीकाटी। न तपाईंहरूले त्यहाँ राम्रो बस्ने ठाउँ बनाइदिनुभा’छ, न त पिसाब फेर्न एउटा गतिलो ठाउँ नै छ। तर पनि लघु, मध्यम र दीर्घशंका रोकेर बाँदर जसरी रूखका हाँगाहाँगामा तुर्लुंग झुन्डेर तपाईंका भोटरहरू त्यहाँ दिनभर रमाएको देख्दा अब पनि तपाईंको आत्मा नरोए कहिले रुन्छ? उल्टै लाजै नमानी बेलाबेला तपाईंहरू आफैँ त्यहाँ जानुहुन्छ। त्यहीँ तपाईंहरूलाई ती जनता ‘मुर्दावाद’ भन्दै नारा लगाउँछन्। केही गरी खेल हार्‍यो भने तपाईंहरूलाई नै पनौती, लोदर र अरु नामले दोष लगाउँछन्। यति सबै हुँदा पनि तपाईंहरूमा अलिकति पनि ईख पलाएको छैन? 

त्यसैले फाफुराले भनेको कुरा ध्यान दिएर सुन्नुस्। यिनलाई बेलैमा नियन्त्रण गरिहाल्नुस्। नत्र नाथे र्‍याप हान्ने त हो भनेर, अनि टीभीमा कुर्लंदैमा के ख्याँस्छ भनेर तपाईंहरूले हेपेकाहरू आज तपाईंहरूकै नाकमा नत्थी हाल्ने भैसकेका हो कि होइन? भोलि यिनीहरू पनि थपिएलान्। बेलैमा सचेत हुनुस्। त्यसैले फाफुरा आज यो फाइँफुट्टीमार्फत हाम्रा देशका तपाईं नेता, मन्त्री, क्यान र सरकारलाई केही महत्त्वपूर्ण सुझावहरू दिन चाहन्छ। त्यो पनि माकुनेले भनेजस्तो, बिनाढेउवा के।

जति निजी क्षेत्रहरूले गैरजिम्मेवार ढंगले अनेकौँ नगद पुरस्कारको लोभ देखाएर मत्याएका छन्, सरकारले त्यति नै दण्डको डर देखाएर यी खेलाडीहरूलाई अत्याउन सक्नुपर्छ। यो सन्तुलन मिलाउन सक्नुभएन भने भोलि तपाईंहरूको लागि घाँडो हुन्छन् यिनीहरू। तसर्थ यिनीहरू टी–ट्वेन्टी विश्वकप खेल्न जानुअघि नै निम्न बमोजिमका घोषणा अविलम्ब गरिहाल्नुुस्। त्यसको दीर्घकालीन फाइदा म तपाईंहरूलाई फाइँफुट्टीको अन्त्यमा बताउँला। 

दफा १. डल्ला फ्याँक्ने अर्थात्, बलरहरूका लागि
उपदफा १.१

डल्ला फ्याँक्नेहरू (जसलाई यसपछि बलर भनिनेछ) ले फ्यालेको डल्लामा विपक्षी खेलाडीले बनाएको प्रत्येक रनका लागि अब उप्रान्त जरिबाना लगाइनेछ। अर्थात विपक्षी खेलाडीले एक रन लिएमा निज बलरले १ हजार, त्यसैगरी दुई रन लिएमा ३ हजार, तीन रन लिए ५ हजार, चौका प्रहार भए १० हजार र छक्का हाने २० हजार रुपैयाँ सरकारलाई बुझाउनेछ। 'वाइड' तथा 'नो बल'का लागि पनि खेलाडीलाई ५ हजार रुपैयाँ थप दण्डित गरिनेछ। यदि त्यो नो बलमा चौका प्रहार भए चार गुना र छक्का प्रहार भए छ गुना अतिरिक्त शुल्क तिर्नुपर्नेछ। यसले खेलाडीलाई संयमित र नियन्त्रित भएर डल्ला फ्याँक्न अभिप्रेरित गर्नेछ। अरु देशकाले त्यति गर्नका लागि छुट्टै बलिङ प्रशिक्षक राखेर थप खर्च गरेका हुन्छन्। हामी त्यो खर्च बचाउने मात्र नभइ तपाईंहरूले सुकुटी बनाइसक्नुभएको राष्ट्रको ढुकुटीलाई अलिकति भए पनि भरथेग गर्न सक्षम हुनेछौँ।

दफा २. क्षेत्ररक्षक अर्थात् फिल्डिङ गर्नेहरूका लागि
उपदफा २.१
विपक्षी खेलाडी रन लिनका लागि कुदेको बेला निजलाई ‘आउट’ गर्ने अवसरको सिर्जना भएको अवस्थामा डल्ला टिपेर तीनवटा लौरोमा हिर्काउँदा लगाउन नसकेको खण्डमा डल्ला फ्याल्नेलाई ५ हजार रुपैयाँका दरले जरिबाना गरिनेछ। यदि, त्यो ‘ओभर थ्रोे’ भएको अवस्थामा १० हजार रुपैयाँ दण्ड हुनेछ। ओभर थ्रोका कारण चौका वा छक्का भएमा दफा १ को उपदफा १.१ मा उल्लेखित अनुसारको थप जरिबाना लाग्नेछ। यसका अतिरिक्त त्यस्ता गैरजिम्मेवार खेलाडीलाई मैदानमा ‘स्टम्प’को साटो पशुपतिको आर्यघाटमा भएको कलीको मूर्ति जसरी घुँडाघुँडासम्म गाडेर अरु खेलाडीहरूलाई ‘डाइरेक्ट थ्रो’ र ‘हिट’का लागि अभ्यास गराइनेछ।। त्यस्तो बेला कुनै ‘प्याड’ वा ‘गार्ड’ प्रयोग गर्न दिइने छैन। 

उपदफा २.२
विपक्षीको मुंग्रोबाट उछिट्टिएर हावामा उडेर आएको डल्लालाई भुईंमा खस्नुअघि समात्ने क्रममा (जसलाई यसपछि ‘क्याच आउट’ गर्ने भनिनेछ) असफल भएको खण्डमा निज क्षेत्ररक्षकलाई २५ हजार रुपैयाँ जरिबाना गरिनेछ। त्यस्ता खेलाडीलाई अरेली काँडा बिछ्याएको चौरमा नांगो खुट्टा दौडाउने पनि गरिनेछ। 

उपदफा २.३
यिनका गल्तीले आउट नभएको विपक्षी खेलाडीले तत्पश्चात् बनाएका हरेक रनमा निज क्षेत्ररक्षकलाई प्रति रन २ हजार रुपैयाँ, अर्धशतक बनाए ५० हजार र शतक वा सोभन्दा बढीका लागि १ लाख रुपैयाँ छेर भालु छेर गराइनेछ। 

उपदफा २.४
तर हाम्रो देश नेपाल प्रजातान्त्रिक र गणतान्त्रिक मुलुक भएका कारण निज क्षेत्ररक्षकले मनग्य प्रयास गरेको अवस्थामा जस्तै, ‘डाइभ’ लगाउँदा वा उफ्रँदा असाधारण शारीरिक क्षमताको प्रदर्शन भएमा केही छुट दिन सकिनेछ। त्यसका लागि योग्य हुन घुँडा वा कुहिना दर्फराएको, गोलीगाँठा मर्किएको, हात वा खुट्टा भाँचिएको हुनुपर्छ। सोको प्रमाण भिडियो रेकर्डिङसहित सरकारले स्वीकृत गरेको चिकित्सकको सिफारिस, १० रुपियाँको हुलाक टिकट टाँसेको सरकारले तोकेको ढाँचाको निवेदन पेश गर्नु पर्नेछ। सबै कुरा ठीक साँचो ठहरिएमा जरिबानाको बढीमा २५ प्रतिशत छुट दिने निर्णय मन्त्रिपरिषद्को बैठकले दुईतिहाइले पास गरेर सम्माननीय राष्ट्रपतिज्यूकहाँ लालमोहरको लागि पठाइनेछ।

उपदफा २.५
मैदानको पुछार (जसलाई यसपछि ‘बाउन्ड्री लाइन’ भनिनेछ) मा रहने क्षेत्ररक्षकका आलस्यका कारण हुने चुकले चौका वा छक्का भएमा प्रतिचौका ५ हजार र प्रतिछक्का १० हजार रुपैयाँ जरिबाना गराइनेछ। उपदफा २.२ मा व्यवस्था गरिएको जरिबाना दण्ड र उपदफा २.३ मा उल्लेख गरिएको छुटको व्यवस्था तिनै उल्लेखित शर्तहरूका साथ यहाँ पनि लागू हुनेछ।

दफा ३. मुंग्रो घुमाउने अर्थात्, ब्याटरहरूका लागि
उपदफा ३.१
विपक्षीले फालेको हरेक बलमा कम्तीमा एक रन बनाउन नसकेको अवस्थामा प्रतिडट बल १ हजार रुपैयाँका दरले जरिबाना गरिनेछ। ‘एलबीडब्लू’ भएर आउट भए ५ हजार रुपैयाँ जरिबाना हुनेछ। ‘क्लिन बोल्ड’ भएको अवस्थामा भने निम्नानुसार हुनेछ–

  • एउटा स्टम्प उडेको अवस्थामा १० हजार रुपैयाँ 
  • दुइटा स्टम्प उडेमा २० हजार रुपैयाँ
  • कथंकदाचित तीनवटै स्टम्प उडेमा ५० हजार रुपैयाँका दरले दण्ड शुल्क बुझाउनु पर्नेछ

यसैगरी, क्याच आउट तथा रन आउट भएमा ५ हजारका दरले जरिबाना गरिनेछ। जाबो ६६ फिट पनि दौडेर पार गर्न नसकेर रन आउट हुने खेलाडीलाई खेलपश्चात् नागार्जुनको वनमा लगेर एक महिनासम्म दैनिक नेपाल प्रहरीका तालिमप्राप्त कुकुरहरूलाई पछि लगाएर दौडाइनेछ। जसले गर्दा आगामी खेलहरूमा त्यस्ता गल्ती दोहोरिन पाउने छैनन्।

दफा ३.२
विपक्षीले फालेको डल्ला मुंग्रोले रोक्न नसकेर नलीखुट्टोमा लागेर आउट भएमा (जसलाई यसपछि एलबीडब्लू भनिनेछ) निज खेलाडीलाई ५ हजार रुपैयाँ जरिबानाका साथै सोही खुट्टाको पिँडुलामा पानीले भिजाएको सिस्नु ५० देखि १०० पटक झ्याम्झ्याम् प्रहार गरिनेछ। 

दफा ३.३
यसबाहेक अरु साधारणतया प्रचलनमा नभएका तौर तरिकाहरू जस्तै ‘म्यानकान्ड’ वा ‘टाइम आउट’ भएको अवस्थामा सोही अनुसार हेरेर ५ देखि १० हजार रुपैयाँ जरिबाना तथा सुहाउँदो भौतिक कारबाही हुनेछ। 

दफा ३.२
खेलाडीले राम्रो खेलेर निजी क्षेत्रबाट कमाएको पुरस्कार रकममा सरकारलाई बुझाउनुपर्ने करकट्टी पश्चात हुन आउने रकमभन्दा खराब खेलेर तिर्नुपर्ने जरिबाना बढी भएको अवस्थामा फरफारक रकम उनीहरूको जाथजेथा, घरघडेरी र पुस्तैनी सम्पत्ति लिलाम गरेर उठाइने छ। ती पनि नभएको खेलाडीलाई राजनीतिक पार्टीहरूको जुलुश र आन्दोलनमा भाडामा ‘सप्लाई’ गरेर रकम असुलउपर गरिनेछ।

दफा ४. हारको अवस्थामा टोलीलाई हुने सामुहिक दण्ड
अब अन्त्यमा प्रश्न उठ्छ सामूहिक दण्डको। क्रिकेट टीम खेल भएको हुनाले व्यक्तिगत रूपमा मात्र खेलाडीलाई दण्डित गर्नु न्यायोचित हुँदैन। तसर्थ हाम्रा उत्तर कोरियाली कामरेडहरूले विश्वकप फुटबलको बेला कायम गरेको गौरवशाली प्रथाबाट अभिप्रेरित हुनु समयको माग हो। हारेको टीमलाई उनीहरूले कोइलाखानीमा श्रमदान गर्न पठाएको उदाहरण फाफुरा यहाँनिर स्मरण गराउन चाहन्छ। दुर्भाग्यवश हाम्रो देशमा त्यस्ता कुनै खानी छैनन्। तर अहिले देशको प्रदेशैपिच्छे नयाँ क्रिकेट मैदानहरू घोषणा भएको अवस्थामा सम्पूर्ण टीमलाई ती मैदान र रंगशालामा श्रमदान गर्न लगाइनेछ। आफैँले खेल्ने खेलका लागि यो योगदानले उनीहरूलाई अझ जिम्मेवार बनाउनेछ। त्यसरी जरैदेखि चिनेको मैदानमा अरु देशका आगन्तुकहरूसँग खेल्दा हाम्रा खेलाडीहरूको प्रदर्शन अझ सशक्त हुनेछ। 

अब फाफुराका प्रिय पाठकहरूलाई लाग्ला यी सबै त अलि अधिनायकवादी नियमहरू भए। फाफुरा के भन्न चाहन्छ भने, कुनै पनि कुराको दीर्घकालीन असरलाई हेरेर मात्र मूल्यांकन गरिनुपर्छ। हेर्नुस्, कुनै पनि कुरा सफल भएको अवस्थामा दिने भनिएको पुरस्कारले जति अभिप्रेरित गर्छ, त्यति नै असफल भएमा दिइने दण्ड र जरिबानाले मानिसलाई चनाखो बनाउँछ। पुरस्कार र दण्डको सही सन्तुलन हुनुपर्छ। डर नभएको मानिसको भर हुँदैन, जे पनि गर्न सक्छ। 

तसर्थ, यी नियमहरूको कडाइका साथ पालना गरेको अवस्थामा हाम्रा खेलाडीहरू बढी सतर्क र जिम्मेवार भएर खेल्नेछन्। त्यसो भएपछि यिनीहरूले जित्नेछन्, अनि त्यो जितको सबै श्रेय तपाईंहरूले लिन पाउनुहुनेछ। तपाईंहरू यो खेलको उत्थानका लागि त्यो दिन चाहिँ नछोड्नुहोला, जसमा तपाईंहरू पोख्त हुनुहुन्छ। तीन करोड नेपालीलाई त्यही दिएर भुलाउन सक्नुभएको छ भने नाथे २२–२५ खेलाडीलाई किन नसक्नू?

आश्वासन।