Translate

Tuesday, September 2, 2008

आगोका फूलहरु

तातो धुवाँहरु पलाउँछन् मुना बनेर
कोपिला लाग्छन् झिल्काहरु
आगोका फूलहरु फुल्दछन् अनि
तिमीले रोपेको बिरुवामा

 
गुम्स्याउँछन्, पोल्छन्, जलाउँछन्
बेलाबेला त सहनै नसक्ने गरि
तै पनि त्यो सब सहनै पर्ने
उखेलेर फ्याल्न पनि नमिल्ने
आगोका फूलहरु फुल्ने
तिमीले रोपेको यो बिरुवा

साह्रै गहिरो गाडेको छ जरा
यो पापी मायाको बिरुवाले
मेरो कलिलो, मलिलो  मुटुमा
यो कस्तो बोट रोप्यौ तिमीले
सहूँ भने सहन नसक्ने
उखेलूँ भने आफ्नै मुटु
हजारौं चिरा भै छरपष्ट हुने 

म संगै रहने, मलाई नै पोल्ने
मेरा नजीकका यी साथीहरु
अलिअलि गरि मलाई
जलाइ जलाइ रहने, खरानी बनाइरहने
यो मायाको झाङ्गेको बोट अनि
यसमा फुलेका आगोका फूलहरु

3 comments:

  1. aago ka hun ki prem ka hun-yee phol haru? prem ko yagya ma prawalit aago ka phol haru.

    ReplyDelete