Translate

Tuesday, July 7, 2009

यस्तै छ,

वेद र मन्त्रका जापहरू
दबिसके विवाद र आरोप मुनि
देवालयका घण्टी र आरतीका स्वरहरू
सुनिन छाडेका छन् अचेल
असुरहरूका अट्टहासमा
हरदिन बन्द र हडतालले
अलमलिएको यो सहर

यस्तै छ,
काठमाण्डौको आन्दोलन जस्तै छ
अचेल मेरो जिन्दगी

मगजै शून्य हुने चर्का आवाजहरू
नारावाजीले निलिसक्यो क्वाप्पै
तारावाजीका मधुरा गीतहरूलाई
टिठलाग्दो प्याँप्याँ-प्रेसर हर्नका
टेबुल ठोकिएका कर्कश
सङ्गीतबिहीन थापहरू
प्रतिध्वनि-असन्तुष्टिका

यस्तै छ,
काठमाण्डौको कोलाहल जस्तै छ
अचेल मेरो जिन्दगी

बाटो काट्छ फुत्त कसैले
रातो बत्ती मिचेर
देब्रेबाट उछिन्छ कोही
कोरिएला कोरिएला गर्दै
चमकचमक - 'हाइबिम'हरू
तिरमिर आँखाहरू
विपरित दिशाबाट बत्तिंदै
ठोकिएला ठोकिएला गर्दै
आउँछन् अनियमित अन्तरालमा
'रंग साइड'मा हुत्तिंदै
अनियन्त्रित सवारीहरू

यस्तै छ,
काठमाण्डौको ट्राफिक जस्तै छ
अचेल मेरो जिन्दगी

असरल्ल - लथालिङ्ग थुप्रिएका
कागज, प्लाष्टिक
र पोलिथिनका अवशेषहरू
सोहोरसाहार पार्दै
डुङ्गुरडुङ्गुर मिल्किएका
काम न काजका टुक्राटाक्रीहरू
तपतप चुहिएका अवसादहरू
धैर्यको डोकोमा भरभार गर्दै
कतै टाढा लगेर मिल्क्याउन
जब पुग्छु कतै परसम्म
हडताल भैरहेको हुन्छ
'डम्पिङ्ग साइट'मा

यस्तै छ,
काठमाण्डौको कसिंगर जस्तै छ
अचेल मेरो जिन्दगी

1 comment:

  1. गजब कविता ।
    साँच्चै जिवन यहाँ यस्तै नै छ।
    अस्तब्यस्त नै छ ।

    ReplyDelete