Translate

Sunday, May 26, 2013

काग र कोइली

बायाँ फन्को १०८

बिहानी भनेको श्रृष्टिको अनुपम र अद्भूत क्षण हो । 

ठूलाठूला ज्ञानी महात्माहरुले पनि यो समयलाई ब्रम्ह मुहूर्त भनेर उल्लेख गरेका छन् । बिहानी किन पनि महत्वपूर्ण हो भने यसले नयाँ दिन ल्याउँछ । अँध्यारोलाई पन्छाएर हाम्रो वरिपरि उज्यालोको किरण छर्छ । रात निष्कृयताको परिचायक हो भने बिहानी जागरुकताको । सक्रियताले उपलव्धि ल्याउँछ, उपलव्धिले आत्मसन्तुसष्टि । बिहानी हुने प्रकृया पनि बडो सुन्दर हुन्छ । चाँडै उठ्ने हुनाले म हरेक बिहानीको आनन्न्द उठाउँछु ।

केही दिन अघि त्यस्तै एक बिहानीको कुरा हो, आकाश बल्ल तीन पत्रे रंगमा पोतिएर खुल्दै थियो । अलि परको सामुदायिक वनमा चराहरु चिरबिराउन थालिसकेका थिए । म आँखा चिम्लेर तिनीहरुको स्वरमा रमाइरहेको थिएँ । हरेक चराका स्वरमा आ–आफ्नै मिठास थिए । कोइली, भङ्गेरा र धोबीचरी संगै मैले ठम्याउन नसक्ने अरु चराहरुको कोरस बडो मीठो सुनिँदै थियो । अचानक त्यो कोरसमा मिस्सिएर एउटा काग पनि कराउन थाल्यो । एकै प्रकारका स्वरहरुको माधुर्यमा अभ्यस्त हुन लागेका मेरा कानमा अचानक सुनिएको त्यो कर्कश आवाज नराम्रोसंग बिझायो । यो कागलाई पनि किन यही बेला कराउनु परेको होला ? मलाई रिस पनि उठ्यो । तर अभिव्यक्तिको स्वतन्त्रताको उपभोग गर्दै काग पनि कराइ नै रह्यो । अरु कागहरु पनि उसलाइ साथ दिन थाले । एकाग्र भएर सुनिरहँदा केही बेरपछि मलाई एउटा अचम्मकोे अनुभूति भयो । मलाई कागको स्वर अअिलि गर्दै कर्कश लाग्न छोड्यो । अझै केही बेर अभ्यस्त भएपछि त म त्यसको आनन्द पो लिन थालें । कागको स्वर कर्कश हुन्छ भन्ने स्थापित मान्यताको घेराभन्दा बाहिर निस्केपछि मात्र त्यसको मिठास सुनिंदो रहेछ । 

हरक चराको स्वर, रुपरंग र आनीबानीजस्तै श्रृष्टिले आफ्ना हरेक सिर्जनालाई फरक बनाएको हुन्छ । ती सबैका आ–आफ्नै विशिष्टता र पहिचान हुन्छन् । सोच्दै जाँदा लाग्यो, यदि सबै सिर्जना एकैनासका भएका भए संसारमा रोचकता भन्ने कुरै रहँदैनथ्यो । सबैलाई सबै थोक कहाँ दिएको छ र यो रहस्यमयी रचयिताले ?

कागलाई हामी सुन्दरताको विपरित आँखाले हेर्छौं, कागको स्वरलाई कर्कश भन्छौं, कागलाई अपशकुनसंग जोड्छौं । तर, कागका विशेषताहरु के हुन् भनेर केलाएर हेर्दैनौं । हालसालैका अनुसन्धानबाट थाह भए अनुसार कागमा हुने ‘इन्सेफलाइजेसन कोटेन्ट’का कारण कागको मष्तिस्क संसारका सबैभन्दा बढी तीक्ष्ण प्राणीहरुको वर्गमा पर्छ । चिम्पान्जी पनि त्यसैका कारणमानिसको सबैभन्दा नजीक मानिन्छन् । हामीले कर्णकटु भनेर स्थापित गरेको कागको स्वरमा कति धेरै आयाम हुन्छ र त्यसबाट कागले भिन्न प्रकारका सञ्चार गर्छ भन्ने हामीलाई थाहै हुँदैन ।

मानिस र अरु प्राणीको कुरा गर्दा पनि हरेकका आ–आफ्नै विशेषता हुन्छन् । यो कुरा बिर्सेर हामी जससंग जे छैन, त्यससंग त्यही कुराको अपेक्षा किन गर्छौं ? त्यसो हुँदा उससंगका महत्वपूर्ण पक्षसंग नजिकिनबाट हामी वञ्चित भइरहेका हुन्छौं । यसै कारण मान्छेका सम्बन्धहरु बन्ने वा भत्कने हुन्छन् । आफू सन्तुष्ट वा असन्तुष्ट हुनुमा पनि त हाम्रो यही मानसिकताले काम गरिरहेको हुन्छ नि होइन र ?
डाक्टर बनोस् भन्ने आशा गरेर हुर्काएको छोरो अरु केही बनिदियो भनेर आजन्म गुनासो गर्ने मानिसहरु हाम्रै समाजमा छन् । अझै पनि कुनै बालबालिकालाई तिमी भोलि गएर के बन्ने भनेर सोध्यो भने साधारणतया धेरैले डाक्टर वा इन्जिनियर नै भन्छन् । बाबु आमाले अलिअलि बुझ्ने भएको बेलादेखि नै चिलिममा खाँदीखाँदी तमाखु भरेको जसरी तिनको मगजमा त्यही नै भरेका हुन्छन् । तर, हरेक बालबालिका हुर्केर कहाँ डाक्टर वा इन्जिनियर बन्न सक्छन् ? अनि उनीहरुका बाबुआमा मात्रै होइन उनीहरु आफै पनि हीन भावनाले ग्रस्त भएर आफूलाई धिक्कारिरहन्छन् ।

त्यति मात्र नभइ बेलाबेलामा साथीभाइ, प्रेमीप्रेमिका, लोग्नेस्वास्नी, दाजुभाइ जस्ता सम्बन्ध पनि यही मानसिकताको शिकार बनिरहेका हुन्छन् । हामी आफूले चाहे अनुसार अरुले व्यवहार गरुन्, आफूले जे चाह्यो, अरुले त्यही बुझून्, आफूले चाहेजस्तो जीवनशैली अरुको होस् भन्ने सोचले ग्रस्त हुन्छौं र त्यो पूरा भएन भने आफै दुःखी हुन्छौं । तर कहिले पनि आफ्ना सोच र चाहनालाई दोष दिँदैनौं । हरेक मानिसलाई ऊ जे हो, जस्तो हो, त्यही र त्यस्तै रुपमा स्वीकार्न हामीलाई किन गाह्रो लाग्छ ? मैले त्यस बिहान काग पनि कोइलीको स्वरमा किन कराएन भन्ने मात्रै सोचेको भए त्यसले मलाई नै असर गथ्र्यो, अरु कसैलाई होइन । किनभने कागले चाहेर पनि कोइलीको स्वर निकाल्न सक्दैन ।

त्यस्तै मान्छेका पनि आआफ्नै सीमा हुन्छन् । देशको राजनीतिलाई हेर्ने हो भने पनि यो कुरा छर्लङ्गै हुन्छ । रमाइलो त के भने बारम्बार आफूलाई असफल र नालायक भनेर प्रमाणित गरिसकेकाहरुसंग अझै पनि हाम्रा अपेक्षाहरु छन् । ती अफिलताका लागि अरु कुनै काल्पनिक र आफूलाई भुलाउने कारण खोजेर तिनमा विश्वास गरेर बसेका छौं आज हामी ।
हामी कागहरुबाट कोइलीको अपेक्षा गरेर बसेका छौं ।

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment