Translate

Sunday, January 19, 2014

चाहेका कुरा, पाएका कुरा (टिच फर..)

१२३ चाहेका कुरा, पाएका कुरा (टिच फर..)

अघिल्लो हप्ता भर्खरै ए लेवल्समा पढ्न थालेकी मेरी छोरीले एउटा कुराको लागि अनुमति माग्न आई । टिच फर नेपाल भन्ने संस्थाले एउटा सार्थक कार्यको आयोजना गर्न लागेको रहेछ । यस अन्तर्गत अमेरिकाबाट केही विद्यार्थीहरु यहाँ आउन लागेका रहेछन् । तिनकै संख्यामा यहाँका विद्यार्थीहरु पनि समावेश भएको एउटा टोली भौतिक पूर्वाधार नभएको कुनै एउटा गाउँमा जाने र त्यहाँको विद्यालयका लागि भवन र पुस्तकालय बनाउनका लागि काम गर्ने योजना थियो त्यो । त्यस टोलीमा सहभागी हुनेहरुबाट एक जना विदेशी र एकजना स्वदेशी बच्चाहरु त्यहीं गाउँमा प्रति घर दुइ जनाका दरले बास बस्ने र खाने अनि चार दिनसम्म श्रमदान गर्ने कुरो थियो त्यो । र, त्यसका लागि विद्यार्थीहरुले अलिकति शुल्क पनि आफै तिर्नु पर्ने रहेछ । मेरी छोरी त्यसका लागि बडो उत्साहित थिई । मैले पनि सोचें, यो उसका लागि रोचक र धेरै कुरा देख्नेसिक्ने अवसर हुन सक्छ । आफ्नो देशलाई चिन्नका लागि पनि उसलाई यो अनुभवले सघाउँछ । जन्मेदेखि सहरमा मात्र बसेकी उसका लागि त्यहाँको भोगाइ र बसाइ निकै सार्थक हुनसक्छ । 

धादिंग जिल्लाको मोटरबाटोले नछोएको सिम्ले नामक गाउँमा तीन चार घण्टा ठाडो उकालो चढेर उनीहरु पुगे । त्यहाँ कुनै एउटा थुम्कोमा मात्र मोबाइलको टावर समात्ने र भनेको बेला बिजुली बत्ती नपाइने हुनाले नियमित सम्पर्कमा रहन पनि सम्भव थिएन । चार दिन त्यहाँ बसेर उनीहरुले एउटा थुम्का खन्ने, सम्याउने, माटो र ढुंगा तलदेखि बोकेर निर्माण स्थलसम्म पु¥याउने अनि भित्तामा रंग लगाउने र चित्रकला बनाउने जस्ता कामहरु गरे । कठीन शारीरिक परिश्रम नगरेका उनीहरुका लागि गाउँको घरमा बस्नु, त्यहाँको रहनसहन र जीवनशैलीसंग आफूलाई ढाल्नु र दिनभर विद्यालय निर्माणको काममा खट्नु अनौठो त हुने नै भयो । साथै पहिलोपटक अमेरिकाबाट नेपाल आएका आफ्नै उमेरका विद्यार्थीहरुसंग सहकार्य पनि रोचक कुरा थियो । पाँचौ दिन काठमाण्डौ फर्कंदा मेरी छोरी थकित र गलित त थिई तर उत्साहित पनि थिई । उसले ती चार दिनमा निकै नयाँ र नौला कुराहरु देखेर, भोगेर, सिकेर आएकी थिई । तुलनात्मक रुपमा सहरमा बस्नुभन्दा निकै भिन्न र कठीन जीवनशैलीको अनुभूति सलएर आएकी उसले मलाई भनी,
“यो चार दिनले मलाई धेरै कुराहरु सिकायो । हामीले आफूसंग के छैन भनेर गुनासो गर्नु भन्दा पनि आफूसंग के छ भन्ने कुरामा बढी खुसी हुनसक्नु पर्ने रहेछ भन्ने मलाई लाग्यो ।” 

उसको यो भनाइले मलाई पनि एकपटक सोच्न वाध्य बनायो । हुन पनि हो नि । हामी सबै नभएका कुराहरुको गुनासोका थैलीहरु बोकेर बाँचेका हुन्छौं । आफूले पाउन नसकेका उपलव्धिका बारेमा हामी कल्पिन्छौं र महत्वाकांक्षाहरुका पछिपछि कुद्छौं । यो कुदाइ बडो अचम्मको हुन्छ । एउटा उपलव्धि राम्ररी हात नपर्दै हाम्रा लिष्टमा अरु नयाँ कुराहरु आइसेको हुन्छन् । डेरामा बसुन्जेल मानिसलाई दुइ आनामै बनेको टहरो भए पनि आफ्नो घर होस् भन्ने लाग्छ । त्यो केही गरी पूरा भयो भने केही समयमै मानिसलाई त्यो साँघुरो लाग्न थाल्छ । त्यो भन्दा टूलो र राम्रो घरको सपना देख्न थाल्छ मानिस । बेरोजगार मानिसलाई जस्तै भए पनि कुनै जागीर वा सानै प्रतिफल दिने व्यवसाय जति महत्वपूर्ण हुन्छ, त्यो प्राप्त गर्नासाथ उसका आवश्यकताहरु बढ्दै जान्छ र ऊ अझै ठूलो फड्को मार्ने तिर आफ्नो ध्यान केन्द्रित गर्न थाल्छ । गलत तरीकाले पैसा कमाउन सिकेकाहरुको त झन् कुरै अर्कै हुन्छ । हजारको भ्रष्टाचार गरेर कोही मान्छे उम्क्यो भने उसलाई लाख र करोडको आँट आउन थाल्छ । सम्वन्धका कुराहरुमा पनि मानिसको यस्तै मानसिकता हुन्छ । आफ्नो कुरा बुझ्ने मानिसबाट दिनहूँ बढीको अपेक्षा राख्छ मानिसले । यस्तो बेलामा अर्को मानिसको पनि आफू प्रति त्यही अपेक्षा हुन्छ भन्ने बेलाबेला उसले बिर्सन्छ । त्यही नै कालान्तरमा गएर गुनासाहरुका जटिल पोका बन्न पुग्छ । साथीसाथी, बाबुछोरा, दाजुभाइ, प्रेमीप्रेमिका, लोग्नेस्वास्नी, हाकिमकर्मचारी, नेताकार्यकर्ता र देशदेशका सम्वन्धहरुमा तिक्तता त्यही कारणले उत्पन्न हुने गर्छ ।

मेरी छोरीले चार दिन गाउँमा बसेर आउँदा अनुभव गरेको कुरा हामी सबैको लागि उपयोगी हो कि हैन ? गुनासोले मानिसलाई नकारात्मक र निराशावादी मात्र बनाउँछ । आत्मसन्तुष्टिले त्यसको विपरित सकारात्मक र आशावादी बनाउँछ । मान्छेलाई आफ्नो प्रगतिको सीमा कति हो र कतिमा आफू सन्तुष्ट हुने भन्ने नै थाहा हुँदैन । मान्छेको प्रगति वा दुर्गति दुबैको कारण यही नै हो । हरेका मान्छेका आफ्नै सीमा हुन्छन् तर अधिकांश समयमा हामी त्यो आफूलाई भन्दा अरुलाई हेरेर निर्धारण गरिरहेका हुन्छौं । मानिसलाई सन्तुष्टि भन्ने कुरा किन कहिले पनि हुँदैन ? सन्तुष्ट हुन नसक्ने प्रवृत्ति मानिसको लागि वरदान हो कि अभिशाप ? हामीमा पाएको कुराभन्दा बढीको चाहना नहुने भएको भए हामी बढी खुसी हुन्थ्यौ कि हुन्नथ्यौं होला ? 

त्यसको अर्थ उन्नति र प्रगतिको चाहना नै नराख्नु भन्ने हैन । तर आफूले केही कुराको चाहना गर्नु अघि त्यो कुरा आफ्नो लागि आधारभूत आवश्यकता हो कि हैन भन्ने सोच्ने हो भने धेरै अनावश्यक सपनाका पछाडि कुद्नुबाट आफूलाई बचाउन सकिन्छ । 
चाहना त हरेक मानिसका अलगअलग हुन्छन् । कुन हाम्रा लागि हुन्, कुन हैनन्, फरक त्यतिमात्रै न हो ।

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment