Translate

Wednesday, October 5, 2016

करेली नोट

नेपाल साप्ताहिकको मेरो स्तम्भ "बायाँ फन्को"बाट


केही दिन अघिको कुरो हो, एउटा पसलमा किनमेल गरेर पैसा तिर्न म पालो कुरिरहेको थिएँ । मेरो अघि एक जना पैसा तिर्दै थिए । साहूजीले उनको हिसाब गरेर बाँकी पैसा फिर्ता गरे । ग्राहकले आफ्नो हातमा परेका केही नोटहरु हेरेर अमीलो मुख लगाए । नाकमुख खुम्च्याउँदै उनले भने,  
“हरे साहूजी, कस्तो गन्हाउने र झुत्रो नोट दिनुभाको होला । छुन पनि घीन लाग्ने । अलि नयाँ र राम्रो नोट दिनुस् न ?” 
साहूजीले पनि हाँस्दै उत्तर दिए, 
“अब मैले नोट छाप्ने हैन क्यार । मैले पनि तपैंजस्तै अरु ग्राहकले जे ल्याएर दिए त्यही दिने त हो नि । यस्तै आउँछ म के गरुँ ?”
“यो सय रुप्याँको नोटले त नयाँ सय रुप्याँको नोट पनि आउँदैन होला ।” झुत्रा नोटहरु खल्तीमा कोच्दै ती ग्राहक विदा भए ।  
हेर्दा साधारण भए पनि स्वदेशी मुद्राको जतनको बारेमा किन तपाईँ हामीले कहिले पनि ध्यान दिएका छैनौं होला ? हामी सबैले थोत्रा नोटहरु बोकेका छौं । हरेक दिन नयाँ देखि अति झुत्रा नोटहरु हाम्रो हातमा पर्छन्, जान्छन् । तर दशैंतिहारको बेला प्रयोग गर्न, दक्षिणा दिन वा तास खेल्नका लागि मात्रै हामीलाई नयाँ नोटको खोजी हुन्छ । त्यस्तो बेला बैंकहरुमा नयाँ नोट लिनेहरुको लाइन लाग्छ र थामिनसक्नुको भीड हुन्छ । अरु बेला हामीलाई नोटको अवस्था कस्तो छ भन्ने खासै मतलब हुँदैन । हामी आफै पनि नोटलाई खासै जतन गरेर बोक्दैनौं । कच्याककुचुक पारेर दोबारेर तेबारेर, थचारेर, पछारेर हामी बडो निर्दयतापूर्वक नोटहरुसंग व्यवहार गर्छौं । तर विदेशी मुद्राको हकमा भने हाम्रो आनीबानी ठ्याक्कै उल्टो हुने गर्छ । भारत जाने बेलामा भारु वा अन्य मुलुक जाने बेला डलर वा यूरो हात प¥यो भने हामी त्यसलाई सकेजति जतनका साथ संचय गर्छौं । मानिसहरुसंग रहेका विदेशी मुद्रा बीस वर्ष अघिका नै किन नहुन् भर्खर छापाखानाबाट निस्केर आएको जस्तो चिल्लो हुन्छ ।  

हामीलाई आफ्नो नोटको मात्रै किन माया नलाग्ने त ? अन्तिम सास बाँकी रहेकासम्म टेपले, गुँदल,े भातले वा कुनैकुनै त ह्याण्डिप्लाष्टले समेत पाँचतिर टाँसेका नोटहरु पनि बजारमा चल्ने भएको हुनाले हामीलाई त्यसको जतन गरिरहन जाँगर नचलेको हो त ? कि राष्ट्र बैंकमा लगेपछि नम्बरमात्र चिनियो भने जस्तोसुकै थोत्रो नोटको साटो पनि नयाँ नोट पाइन्छ भन्ने आश्वासन यसको पछाडिको कारण हो ? हुन त संसारका अरु मुलुकमा पनि नोट पुरानो भएपछि त्यसको साटो अरु नयाँ नोट छाप्ने चलन हुन्छ । तर, हाम्रा नोटहरुको अकाल मरण हुने क्रम सम्भवतः त्यो भन्दा कैंयौं गुना बढी हुन्छ । यहाँ नेर नोटहरुका औसत आयु कति हुनुपर्छ भन्ने मान्यता हो भन्ने कुरा पनि महत्वपूर्ण हुनसक्छ । यसै सन्दर्भमा राष्ट्र बैंकका यससंग सम्बन्धित एक वरिष्ठ अधिकृतसंग मैले एक दिन जिज्ञासा राखेको थिएँ ।  

साना नोटहरुको औसत आयु १ देखि २ वर्ष हुन्छ अनि ठूला नोटहरु ५ वर्षसम्म बाँच्नुपर्छ भन्ने राष्ट्र बैंकको मान्यता रहेछ । तर आजसम्म कुनै पनि नोट आफ्नो जीवनकाल पूरा गर्न सफल भएको रहेनछ । हामीले तिनीहरुको वाल्यावस्था वा युवा अवस्थामै हत्या गर्दारहेछौं । काटिएका, च्यातिएका र झुत्रा बनाइएका ती मृत नोटहरुको दाहसंस्कार पश्चात विस्थापन गरेर तिनको साटो नयाँ नोट छाप्ने क्रममा वार्षिक रुपमा कति खर्च हुन्छ होला भन्ने पनि मलाई जिज्ञासा भयो । ठ्याक्कै त्यसको छुट्टै आँकडा नभए पनि झण्डै १० करोड रुपैंया यसका लागि राज्यको ढुकुटीबाट अनावश्यक खर्च हुने रहेछ । त्यो भनेको कुनै सानो रकम होइन । अझ विशेष गरेर खर्च नै गर्नु नपर्ने कुरामा । यसलाई बचाउन सक्यो भने त्यति पैसाबाट अरु थुप्रै आवश्यक, सकारात्मक र रचनात्मक कामहरु गर्न सकिन्छ । १० करोड रुपियाँले कति जनालाई शिक्षा प्रदान गर्न सकिएला ? कति जना मानिसको जीवन बचाउन सकिएला, कतिवटा एम्बुलेन्स संचालन गर्न सकिएला, कति ठाउँमा बाटो, पानी वा बत्ती पु¥याउन सकिएला भन्ने सोचको विषय हो ।  

केही समय अघि शायद यही नोट व्यवस्थापनका लागि भनेर प्लाष्टिक जस्तो कुनै पदार्थको नोट प्रचलनमा ल्याउने प्रयोग गरिएको थियो । तर त्यसको आयु झनै छोटो हुन पुग्यो । तसर्थ हामीले अलिकति जतन गरिदिने हो भने त्यो १० करोड सबै नभए पनि त्यसको निकै ठूलो भाग बचाउन सकिने रहेछ । हुन त आजकल संसारभर धेरै भन्दा धेरै कार्डको प्रयोग हुने गरेको र हामी पनि बिस्तारै त्यसतर्फ सकृय भैसकेको छौं । यसले पनि कालान्तरमा यो दुरुपयोगलाई कम गर्न अवश्य हियोग गर्ने नै छ । तर त्यतिन्जेलका लागि मैले चाहिँ जानी नजानी नोटलाई कुच्याउने वा गलत तरिकाले चलाउने काम बन्द गर्ने प्रण गरेको छु । नोटलाई जीवनदान दिन तपाईँहरु पनि प्रयास गर्नुहुन्छ कि ?  

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment