Wednesday, September 24, 2008

साइकल चढ्ने राष्ट्रपतिले पढाएको पाठ

दक्षिण कोरियाका राष्ट्रपति साइकल चढेर निवासबाट आफ्नो कार्यालयतिर जाँदै गरेको फोटो सोमवारको एउटा पत्रिकामा छापिएको रहेछ। त्यो फोटो मलाई प्रेरक लाग्यो। कुनै पनि राष्ट्रले उन्नतिको जग खन्ने काम सानासाना कुरा, सोच र क्रियाकलापहरुको सामूहिक प्रयास र तिनको कार्यान्वयनबाट नै शुरु हुन्छ। हामीले खै कहिले सिक्ने त्यो कुरा? हामी त एकैपटक ठूलाठूला कुराहरु सोच्छौं, चमत्कारको आश गर्छौं अनि त्यो पूरा नभएपछि एकआर्कालाई दोष लगाएर गफै मात्र गरेर बस्छौं। 

 
अनुशासन, विलासितामा कटौति, कठोर परिश्रम र समयको सदुपयोग बिना कुनै पनि राष्टरुले उन्नति गर्न सकेको छैन र सक्तैन पनि। तर यी सबै कुराहरु त कुन चराको नाम हो भन्ने पनि हामीलाई थाहा छैन। नियम कानून मान्यो भने त हामी सानो मान्छेमा गनिन्छौं। कतै लाम बस्नु पर्यो भने त्यो हामीलाई असह्य हुने गर्दछ। नियम मान्ने भनेको सानातिनाले हो भन्ने रोगी मानसिकताबाट हामी ग्रस्त छौं। विलासिताको कुरामा त हामी झनै अगाडि छौं। रिन काटेर भएपनि हामी आफूलाई आवश्यक नभएका विलासिताका सामग्रीहरु प्रगोग गर्छौं। अनि नरमाइलो कुरा के भने अचम्मको कुराहरुलाई हामी status sumbol बनाउने गर्छौं। प्रिपेड मोवाइलको नम्वर हुनेलाई पोष्टपेड हुने भन्दा सानो मान्छौं। कसैले पनि आफ्नो सुविधा अनुसार कुनै चीज प्रयोग गरेर अनावश्यक खर्च बचाउन सक्छ तर त्यो हिसाबले हामी अरुको क्रियाकलापलाई हेर्दैनौं। मोटरसाइकल चढ्नेलाई कार चढ्नेले हेप्नैपर्छ अनि साइकल चढ्नेलाई मोटरसाइकलले पेल्नै पर्छ।  
 
काठमाण्डौं उपत्यकाको एक छेउबाट अर्को छेउ सम्म पुग्न पनि १४, १५ किलोपमटर भन्दा पर कुनै ठाउँ छैन। साधारणतया हामीले ५,६ किलोमिटर भन्दा बढी हिंडडुल गर्न पर्दैन। यो अवस्थामा हामीले हिंडेर, साइकल चढेर वा सार्वजनिक सवारी साधन चढेर काम चलाउने हो भने यो रिनमा डुबेको देशको कति रकम जोगाउन सकिन्छ भनेर हामी सोच्दैनौं। तर हाम्रो समाज यस्ता मान्यताहरुले ग्रसित मान्छेहरुले भरिएको छ, जो हरेक कुरालाई status sumbo संग जोड्दछन्, आफू पनि बोक्रे आडम्बरमा बाँच्दछन् र अरुलाई पनि निरुत्साहित गर्दछन्, हेयको दृष्टिले हेर्दछन्। यस्तै प्रसंगमा कुरा चल्दा एकजना गायकले सार्वजनिक सवारी साधन चढ्यो भने आफ्नो बेइज्जत हुन्छ भन्ने फोस्रो धाक लगाएको मलाई सम्झना छ।  
 
दक्षिण कोरियाका राष्ट्रपति संधै साइकल चढेर कार्यालय जाने हुन् वा त्यो फोटो खिच्ने दिनमात्र चढेका हुन्, त्यो त मलाई थाहा छैन तर हामीले त्यो तसवीरबाट प्रेरण लिएर आजै एउटा निर्णय गर्न किन नसक्ने? सुरुवातमा हप्ताको एकदुइ दिन मात्र भए पनि कार वा मोटरसाइकल छोडेर हिंड्ने, साइकल चलाउने वा सार्वजनिक सवारी साधन प्रयोग गर्ने र यो क्रमलाई सकेसम्म बढाउँदै लैजाने। जतिसुकै लामो यात्राको पनि थालनी एउटा पाइलाबाटै हुन्छ। मैले बारम्बार भन्ने गरेको collective effort को सानो प्रयासको सुरुवात यो हुन सक्छ। म यो प्रयासको थालनी गर्न चाहन्छु, कसकसले मलाई साथ दिने हुन्, त्यो हेर्न पनि रमाइलो नै हुनेछ।  
हेरौं, म कत्तिको सफल हुन्छु।

एकै टेकमा तीन अन्तरा

कान्तिपुर कोसेलीमा प्रकाशित बम्बै, २०...... गति रोधक पुढे आहे सडकको किनारामा ट्राफिकको सूचना गाडिएको बोर्डमा मराठीमा लेखिएको थियो, ...