Translate

Sunday, December 28, 2008

हामीले हामीलाई नै माया नगरे

पर्दा खुल्छ अनि स्टेजमा बत्तीहरु घरिघरि मधुरो,घरिघरि तेज हुन थाल्छन्। सङ्गीत बज्न थाल्छ र नाच शुरु हुन्छ। यहाँसम्म त कुरो साधारण नै लाग्छ नि हैन? दर्शकहरुका आँखा स्टेजमा सङ्गीतको लय र तालमा हल्लिरहेका मानव आकृतिसंग रमाइरहेका हुन्छन्। अनि शुरु हुन्छ गीतको बोल। एउटा सी ग्रेडको हिन्दी चलचित्रको तथाकथित आइटम नम्वर,

"नथनी उतारो सम्भल के पिया........."

झट्ट सुन्दा तपाईंहरुलाई बामदेवजीले बक्रदृष्टि लगाएका डान्स रेष्टुरेण्टहरु मध्ये कुनै एकको वर्णन जस्तो लाग्छ तर यो वर्णन केही दिन अघि राजधानीको एउटा नाम चलेको विद्यालयको अभिभावक दिवसको हो।

सानासाना कक्षाका विद्यार्थीहरुका अभिभावकहरु आमन्त्रित उक्त कार्यक्रममा पाँच कक्षाका बालबालिकाहरु यो गीतमा नाच्दै थिए। ती कलिला विचरा बालबालिकाहरु जसलाई आफूले नाचिरहेको गीतको अर्थ पनि थाहा थिएन।

मलाई यो देख्दा साह्रै नरमाइलो लाग्यो। एक त नेपाली गीतसङ्गीतको कुरामा अलि बढी नै सम्वेदनशील भएको कारणले पनि मलाई त्यो देख्दा कस्तोकस्तो लाग्नु स्वाभाविकै थियो। यति धेरै गीतहरु हाम्रै भाषामा हुँदाहुँदै हिन्दी गीतमा किन नचाउनु पर्ने बाध्यता हो। अर्को कुरा कस्तो गीत हो र त्यसको अर्थ के हो भन्ने समेत पनि नसोची बालबालिकालाई यसरी नचाउनुलाई मैले हेलचक्र्याँइ बाहेक अरु केही मान्न सकिंन। विद्यालयका वरिष्ठ शिक्षक र सहायक प्रधान अध्यापकहरुलाई मैले यसबारे सोद्धा उहाँहरुले आफूलाई त्यो गीतको अर्थ थाहा नभएको भनेर एकदमै साधारण हिसाबले गैर जिम्मेवारीपूर्ण उत्तर दिएर पन्छिनुभयो। उहाँहरुको भावमा गलतीवोधको सानो अवशेषसम्म पनि थिएन। मलाई यस्तो लाग्यो,मानौं यो कुनै गुनासो गरिरहनुपर्ने कुरा नै थिएन। उहाँहरुको त्यो निर्विकार प्रतिकृया देख्दा एक छिन त मलाई कतै म नै चाहिने भन्दा बढी भावुक भएको त हैन भन्ने पनि सोच्न वाध्य बनायो।

अब एकछिन त्यो भन्दा केही दिन अघिको अर्को कुरा गरौं। एउटा नेपाली चलचित्रले ५१ दिन मनाएको अवसरमा आयोजित कार्यक्रममा म सहभागी हुन पुगेको थिएं। समयमा पुग्ने कुलतको सिकार भएको नाताले निकै बेर कुर्नु त पर्ने नै भयो। हलभित्र अचानक लाउडस्पीकरमा हिन्दी फिल्मको गीत बज्न थाल्यो। मलाई अचम्म पनि लाग्यो,किन त्यहाँ त्यही नेपाली फिल्मको गीत बज्न सक्दैन जसको सफलता मनाउन हामी सबै त्यहाँ भेला भएका थियौं। सम्बन्धित निर्मातालाई पनि त्यो कुराले केही फरक परेको जस्तो मलाई लागेन। निकै बेर पछि मैले नै सहन नसकेर मुखै फोरेर भनेपछि मात्र त्यहाँ नेपाली गीतले पालो पायो। मलाई किन टाउको दुखेको होला भनेर मैले बुझ्न सकिंन।

यी बाहेक हामी पिकनिक,पार्टी,बिहेवारी जताततै हिन्दी गीतहरुले नेपाली गीतलाई ओझेलमा पारेको देख्छौं। आमसंचारका माध्यमहरु विशेष गरेर एफ एममा हिन्दी सङ्गीतको वर्चस्व कायम भएको देखिन्छ। कार्यक्रम संचालकहरु जिब्रो फट्कारी फट्कारी हिन्दी अभिनेताका पुङ न पुच्छरका व्यक्तिगत कुराहरु सुनाउँछन्। नेपाली मान्छेका मोवाइल फोनका रिंगटोनहरु ध्यान दिएर सुन्नुभएको छ भने त्यहाँ पनि धेरैजसो हिन्दी गीतहरु नै बज्ने गरेका हुन्छन्। दूर संचार लगायतका सेवा प्रदायकहरुले हिन्दी गीतहरु सीआरबीटीमा उपलव्ध छन् भनेर गर्वका साथ विज्ञापन गर्ने गर्दछन्। मन्दिरमा भजनको पनि त्यही नै ताल हुन्छ।

हिन्दी सङ्गीतसंग मेरो कुनै खानदानी शत्रुता छैन। म आफै पनि हिन्दी गीत र उर्दू गजलहरु सुन्छु। महदी हसन,तलत महमूद,किशोरकुमार,आशा भोंसले र अन्य थुप्रै त्यस्ता कलाकारहरु मलाई मन पर्छन्। कला र कलाकारको जात,देश र धर्म हुँदैन भनेर म आफै बारम्बार भन्ने पनि गर्छु। मेरो गुनासो कति मात्र हो भने,जवसम्म हामीले व्यवहारमा हाम्रो गीत सङ्गीतलाई माया गर्देनौं, तबसम्म त्यसको विकास हुन गाह्रो हुन्छ। हिन्दी अंग्रेजी गीतहरुलाई हामीले प्रश्रय नदिएर केही हानि पुग्दैन। उनीहरुका श्रोताहरुको एउटा ठूलो जमात छ तर हाम्रो गीतसङ्गीतको लागि त जे हौं त्यो हामी नै हौं। तर हामी कहिले श्रोताहरुको स्वादलाई,कहिले श्रष्टाहरुको सिर्जनाको स्तरलाई अनि कहिले सम्बन्धित निकायको उदासीनतालाई दोष थोपरेर पन्छिन्छौं। आफूले भने के गरिरहेका छौं भन्ने कुरामा अलिकति पनि ध्यान दिंदैनौं।

हरे,हामीले कहिले हाम्रो गीतलाई माया गर्न सिक्ने?

(१२ पौष २०६५ को कान्तिपुर दैनिकमा प्रकाशित)

5 comments:

  1. केही दिन अघी माइसन्सार ब्लग मा तपाईंको यो आर्टिकल पढेकी थिए । हाम्रो नेपाली गीत संगीत प्रती हाम्रा शिक्षालय हरु -हाम्रो समाज ले देखाएको उदा सिनता र लापर्बाही प्रती चिन्तित भएर लेखिएको यस् लेख ले हाम्रा अभिभाबक हरु , समाज का सचेत नागरिक हरुलाई केही सोच्न घच्घच्याउने हुँदा मन मनै यस्तो गहन लेख हाम्रा खबर पत्रीका हरु मा पनि छापिए हुन्थियो भन्ने कामना गरेकी थिए । अस्ती कान्तिपुर को बिचार स्तम्भ मा यो लेख देखे ,मन सन्तोष भो ।
    आगामी दिन हरुमा पनि यसरी नै समाज का तिक्तता हरु लाई तपाईंको आँखाले पढिरहोस् -कलम मार्फत तपाईंको मनमा उठेको असन्तोष पोखियोस तपाईंको खेस्रामा ।
    ----------------
    " चिन्तनशिल आँखाहरुले पढिदियोस हाम्रो समाज लाई "
    --------
    तिम्रो चिन्तनशिल माथिङगल
    भाबनात्मक मन
    दुख्दै
    छर्प्रस्टिएका आशु रुपी शब्द हरु
    समाज लाई पढ्ने तिम्रो आँखा
    ~~~~
    थुप्रै सस्क्रिती र ईतिहास बोकेर
    उभिएको हाम्रो समाज
    मा नौ एउटा किताब को स्बरुप
    जहाँ
    अछ्यरै अछ्यर हरुको समूह छ
    ह्र्स्ब - दिर्घ नमिलाइेको
    अशुद्द अर्थात मिसाइेको
    केरमेर पारीएको
    अब
    केरकार गर्नु छ - थ प् था प् गर्नु छ
    अछ्यर -शब्द - हरफ हुँदै
    सिङ्गो सुन्दर किताब स्बरुप समाज को
    जगेर्ना गर्नु छ ---
    त्यसैले ,
    तिम्रो र तिम्रो जस्ताइ सबै
    चिन्तनशिल माथिङ्गल
    र चेतनशिल आँखाहरुले
    पढिदेओस हाम्रो समाज लाई
    औल्याइदेओस त्रुटी हरुलाई ।

    ReplyDelete
  2. धन्यवाद बाहेक अरू केही भन्नै आएन यतिखेर‍

    ReplyDelete
  3. kya antakshari yaha between a reader and blogger ;)

    ReplyDelete
  4. 'धन्यबाद' को उर्जाले
    धन्य हुँदै
    धप धप
    धपक्क
    धप्प
    बलिरहेकी छु म ।
    ~~~~
    २००९ को शुभ कामना हिर्दय देखी नै ।

    ReplyDelete
  5. Let the world be heaven
    No hell
    No criminal
    No jail
    Joy and Peace
    No fear
    May dream come true
    HAPPY NEW YEAR

    ReplyDelete