Tuesday, February 24, 2009

सिंगो आकाशको अर्थ

२०६५ फाल्गुण ११ गते नेपाल साप्ताहिकमा मेरो स्तम्भ "बायाँ फन्को" मा प्रकाशित

"मैले सिंगो आकाश कहिल्यै पनि देख्न पाइनँ," केही दिनअघि गीतकार तथा संगीतकार भीम विरागले कुरैकुरामा भन्नुभएको यो वाक्यले भित्रैसम्म नराम्ररी हल्लाइदियो । कुरा भाग लगाएर बेचेको खसीको मासुबाट सुरु भएको थियो । केही दिनअघि भीम विराग दाइलाई भेट्न गएका बेला निस्केको प्रसंग हो यो । उहाँलाई खसीको मासु मन पर्छ भन्ने थाहा भएकाले कुरैकुरामा मैले आफ्नो घरछेउमा भाग लगाएर बेच्ने खसीको मासुको प्रसंग कोट्याएको थिएँ ।

भाग लगाएको मासुमा अलिअलि सबैथोक पारिएको हुन्छ । अलिकति फिलाको मासु, अलिकति ह्याकुला, अलिकति आन्द्राभुँडी, सबैथोकले भाग मिलाइएको हुन्छ । मन पर्ने कुरा पनि, मन नपर्ने कुरा पनि सबैको समान मात्रा भाग लगाइएको हुन्छ । यो लिन्छु र यो लिन्न भन्न पाइँदैन । मान्छेको जीवन पनि त्यस्तै एउटा भाग हो भन्ने मलाई पहिलेदेखि नै लाग्थ्यो । हाम्रो नियतिमा पनि त प्रेम-घृणा, मिलन-विछोड, हाँसो, आँसु, उमंग-वेदना, जीत-हार, उपलब्धि-असफलता अनि उकाली-ओराली सबैथोकको अलिअलि भाग हुन्छ । मान्छेले म यो भोग्छु र यो भोग्दिनँ भन्न कहाँ पाउँछ र ? उहाँकै गीतका हरफहरू पैँचो माग्ने हो भने,

फूलै फूल मात्र पनि हैन रै'छ जीवन

काँडाबीच फुल्ने फूल रै'छ जीवन ।


यही कुरा सुनाउँदा भावुक हुँदै भन्नुभो, "त्यो अलिअलि सबैथोक भएको मासुलाई जसरी हामी आ-आफ्नो रुचि र स्वाद अनुसार पकाएर खान्छौँ, जीवन पनि त त्यसै गरी बाँच्छौँ नि ! म पनि त्यसरी नै ७४ वर्ष बाँचिसकेछु ।" १४ वर्षको उमेरमा खुट्टा र त्यसका कारण ढाडले दिएको समस्याका कारण कति वर्ष त उहाँले ओच्छ्यानमा मात्र बिताउनुभो । त्यसपछि उपचार भएर उठ्न हिँड्न सक्ने भएपछि पनि कहिले सोझो उभिन सक्नुभएन । उहाँले थप्नुभो, "मैले कहिल्यै पनि सिंगो आकाश देख्न सकिनँ । कहिलेकाहीँ सोच्छु, कसरी यत्रो लामो समय बिताएँ होला ? अनि लाग्छ, गीतसंगीतकै कारण म अहिलेसम्म पनि बाँचेको हुनुपर्छ ।"

भीम विराग दाइले थपेका कुराहरू निकै पछिसम्म पनि मनमा खेलिरहे । उहाँले के साँच्चै सिंगो आकाश नदेख्नुभएको हो त ? अहँ, पटक्कै होइन । अरू मान्छेले भन्दा बढी आकाश उहाँले देख्नुभएको छ । देख्नुभएको मात्र होइन, आफ्ना गीतसंगीतको क्षितिजसम्म उघारेर हामीलाई देखाइदिनुभएको छ । बरु सिंगो आकाश नदेख्ने त अरू धेरै मान्छेहरू छन्, यो संसारमा । शरीर सीधा भएर गर्धनलाई ठाडो बनाएर हेर्दा एउटा कुनादेखि अर्को कुनासम्म फैलिएको नीलो रंग जुन हामीले देख्छौँ, के त्यही नै मात्र आकाश हो ? के त्यो देख्नु मात्र आकाश देख्नु हो ? होइन, प्रत्येक मान्छेले आफ्नो दायित्व र कर्तव्यको सिंगो आकाश देख्न सक्नुपर्छ । चाहे त्यो मान्छे प्रशासक होस्, कर्मचारी होस्, व्यापारी होस्, राजनीतिज्ञ होस्, मजदुर होस्, पत्रकार होस्, सुरक्षाकर्मी होस्, सर्वसाधारण वा परविारको मूली होस्, सबैको आ-आफ्नो सिंगो आकाश हुन्छ र उनीहरूले त्यो देख्न सक्नुपर्छ ।

के हामी सबैले त्यो दायित्वको सिंगो आकाश देखेका छौँ त ? हेर्ने प्रयत्न गरेका छौँ ? त्यो देखेको भए के आज हामी अहिले अर्कै अवस्थामा हुने थिएनौँ ? हाम्रो विडम्वना भनेकै के भने हरेक कालखण्डमा देशको जिम्मा लिनेहरूले त्यो आकाश हेर्ने प्रयास गरेनन् । त्यसो गरेका भए जनतामा वितृष्णा उत्पन्न हुने थिएन । आजका लागि मात्र नसोचेर भोलिका लागि पनि केही गरििदएको भए हामी झन्झन् पछाडि घिसि्रनु पर्ने नै थिएन । आफू सम्पन्न हुनेहरूले त्यससंगै अरूका लागि पनि केही बाटोहरू खोलिदिएका भए हामीजस्ता आममान्छेले विकल्पका लागि प्रयोगहरू गर्नुपर्ने नै थिएन ।

विकल्पको खोज भनेको रहरभन्दा बढी आवश्यकताले जन्माउने कुरा हो । प्रयोग भनेको असन्तुष्टिको गर्भमा हुर्कने भ्रूण हो । कुनै पनि प्रयोग किन नहोस्, त्यसबाट खोजेजस्तो सकारात्मक परिणाम आउन पनि सक्छ, नआउन पनि । तर, एउटा प्रयोगले परिणाम आएन भने मान्छे अर्को प्रयोग गर्न बाध्य हुन्छ । अनि, कहिलेकाहीँ एकपछि अर्को प्रयोगको जालोमा गुजुल्टिएर मान्छेले अरू केही गर्ने फुर्संदै पाउँदैन । एउटा बाटो नपाएर अर्को बाटो पहिल्याउने क्रममा कहिलेकाहीँ मूलबाटो नै बिराउने अवस्थामा पनि पुग्छ मान्छे ।

अहिले पनि हामीले ज-जसका काँधमा देशको, समाजको, त्यहाँ बस्ने हामी र हाम्रा सन्ततिहरूको भविष्यको जिम्मा बोकाएका छौँ, तिनले सिंगो आकाश हेर्नु जरुरी छ । सत्ता र शक्तिमा को हुन्छ भन्ने कुरा समयपिच्छे परविर्तन भइरहने कुरो हो तर तिनको आकाश जति नै सत्ताबाहिर बस्नेहरूको आकाश पनि हुने गर्छ । त्यो आकाश उनीहरूले पनि देख्नुपर्छ । विरोधकै लागि मात्र हरेक कुराको विरोध गर्ने प्रवृत्तिबाट मुक्त हुन नसकुन्जेल त बाँदरले आफ्नो घर पनि बनाउँदैन, अरूको पनि बनाउन दिँदैन भनेझैँ भइरहन्छ । बाँदरको भूमिकामा अभिनय गर्ने पात्रहरू मात्र फेरिन्छन्, अरू केही पनि परविर्तन हुन पाउँदैन ।

भीम विरागलाई कर्मयोगीहरूको प्रतिनिधि पात्र मानेर कुरा गर्ने हो भने, उहाँले त अत्यन्तै विषम परििस्थतिमा पनि आफ्नो कर्म छोड्नुभएन, अझै पनि छोड्नुभएको छैन । त्यसैले उहाँले आफ्नो सिंगो आकाश छर्लंगै देख्नुभएको छ । बरु हामीमध्ये धेरैले त्यो भन्दा कम कठिन समयमा पनि जीवनसँग हार मानेर लत्तो छाडेका छौँ । हामीले कहिले अज्ञानताले, कहिले जानीजानी, कहिले लाजले, कहिले लाज पचाएर, कहिले स्वार्थले अनि कहिले पूर्वाग्रहले गर्दा आफ्नो सिंगो आकाशलाई हेरेका हुँदैनौँ । हामी जति हेर्न चाहन्छौँ, त्यति मात्र हेर्छौं अनि आफूले हेर्न नचाहेको जति आकाश छल्न खोज्छौँ । त्यस्तो बेलामा हामी बालुवामा आफ्नो टाउको घुसारेर आफूलाई कसैले देख्दैन भन्ने सुतुरमुर्ग बनिरहेका हुन्छौँ । त्यसैले भीम विरागले उप्काउनुभएको त्यो गुनासोबाट हामीले आफूलाई झक्झक्याउनु पर्छ । सिंगो आकाश देख्नु कति महत्त्वपूर्ण हो भन्ने कुरा उहाँको गुनासोबाट हामीले बुझ्नुपर्छ ।

एकै टेकमा तीन अन्तरा

कान्तिपुर कोसेलीमा प्रकाशित बम्बै, २०...... गति रोधक पुढे आहे सडकको किनारामा ट्राफिकको सूचना गाडिएको बोर्डमा मराठीमा लेखिएको थियो, ...