Monday, March 9, 2009

तेश्रो अन्तरा

नेपाल साप्ताहिक २०६५ फाल्गुण २५ गतेको मेरो स्तम्भ बायाँ फन्को मा प्रकाशित

अघिल्लो साता राजधानीमा भएको पलेँटी सांगीतिक शृंखलामा कविवर माधवप्रसाद घिमिरेसँग निकटमा साक्षात्कार गर्न पाइयो । महाकवि देवकोटा र सिद्धिचरण श्रेष्ठ काल र अहिलेको युगका सेतु उनी ९० वर्षको उमेरमा पनि महाकाव्य लेखिरहेका छन्, जुन आफैँमा एउटा चामत्कारकि उपलब्धि हो ।

गीतमा मात्र सीमित भएर घिमिरेको कुरा गर्दा नारायण गोपालले नातिकाजीको संगीतमा गाएको 'आजै र राती के देखेँ सपना, मैमरी गएको' उल्लेख्य मान्नुपर्छ । त्यो गीतको दोस्रो अन्तराले भन्छ,

वरि र परि घाम र छाया, माझैमा पियार
संसारमा जन्म दिएर ईश्वर बैँसैमा नमार... ।

नराम्रो सपना देखेर डराएको यस गीतको अभिव्यक्ति र जीवनप्रतिको मोह हामीले पहिले पनि बारम्बार सुनेका छौँ । जीवन भनेको सक्रियताको अर्को नाम हो । मान्छे मर्न नचाहनु भनेको सक्रिय हुने रहर नपुग्नु हो । हामी सबै बाँच्न अर्थात् सक्रिय हुन चाहन्छौँ । जीवनको सक्रियता केमा खर्चने भन्ने पक्षचाहिँ मान्छेपिच्छे फरक हुन्छ । आफ्नै लागि बाँच्ने मान्छे पनि एकदिन मर्छन्, अरूका लागि बाँचिदिनेहरू पनि । तर, समाज र राष्ट्रका लागि योगदान दिँदै अरूका लागि बाँच्नेहरू मरेर गए पनि सम्झनामा बाँचिरहन्छन् ।


अहिलेको अवस्थामा सारा देश नै नराम्रो सपना देखिरहेको छ । र, त्यो सपना कतै साँचो नभइदेओस् भनेर भित्रभित्र हामी डराइरहेका छौं। अनि, हामी अहिले गीतको दोस्रो अन्तरामा अलमलिएका छौँ । त्यहीँभित्र आफूलाई सकारात्मक बनाउन सकिने बाटाहरू पहिल्याउन खोज्दैछौँ । सामान्यतः गीतमा हुने भनेको पनि दुई अन्तरा नै हो । तर, त्यस साँझ गीतको तेस्रो अन्तरा पनि हुँदोरहेछ भनेर थाहा मात्र होइन, सुन्न पनि पाइयो ।

ब्यूँझेर हेर्दा पूरबै दिशा उज्यालो भएछ
बारीको डिलमा धोबिनी चरी कराइरहिछ ...।

नराम्रो सपना, त्यसबाट उम्रने डर अनि त्यस डरबाट मुक्तिका लागि सबैभन्दा महत्त्वपूर्ण र पहिलो कुरा ब्यँूझ्नु, आँखा खोल्नु हो । आँखा खोलेपछि चेतना पनि सँगसँगै खुल्छ । विवेकले काम गर्न थाल्छ । सक्रिय भइन्छ र सही अर्थमा ज्यूँदो भइन्छ । अँध्यारोले निलेर छोपेका बाटाहरू उज्यालोले छर्लंग पारेर देखाइदिन्छ । राम्रो पनि देखिन्छ, नराम्रो पनि । त्यसपछि मान्छेले कुन बाटोमा हिँड्ने भन्ने निक्र्यौल गर्छ ।

निन्द्रा र काल भनेका जुम्ल्याहा दाजुभाइ हुन् । सपनामा देखेका कुराहरू सत्यभन्दा भिन्न हुन्छन् । त्यसैले सपनामा रमाउनु पनि हुँदैन, सपनासँग डराउनु पनि हुँदैन । पूर्व दिशाको उज्यालो हेर्न ब्यूँझ्नैपर्छ । नत्र उज्यालोले कसैलाई कुर्दैन । मान्छेका सबै समस्या समाधानका बाटाहरू देखिने तेस्रो अन्तरा हामीहरूमाझ कतै ओझेल परेर बसेको हुन्छ, जसको खोजी ब्यूँझेपछि मात्र सम्भव हुन्छ ।

सक्रिय, चेतनशील र जिम्मेवार नागरकि हुन हामीले अचेल धेरै सुन्ने र बोल्ने शब्द हो, सुसूचित । सुुसूचित हुनु हाम्रो अधिकार मात्र होइन, कर्तव्य पनि हो । तर, सुसूचित हुनु भनेको के त ? के साथीभाइको भेला, जमघट, अफिस, सडक र घरमा राजनीतिक कुरा गर्नु र हरेक विषयमा राजनीति घुसाउनु सुसूचित हुनु हो ? हाम्रो देश, हाम्रो जीवनशैली र हाम्रो भविष्यमा दूरगामी असर गर्ने अरू थुप्रै कुराहरू सुसूचित हुनुको घेरामा पर्दैनन् ? तिनलाई हामीले तेस्रो अन्तरा बनेर लुक्न दिइरहेका छैनौँ ?

हाम्रा केेटाकेटी पढ्ने विद्यालय वा कलेजहरूले ठटाउने शुल्क कतिसम्म जायज हो भनेर हामीले कहिल्यै टाउको दुखाएनौँ । विभिन्न शीर्षक र उपशीर्षकमा चढेर आउने शुल्क अनुसारका सुविधाहरू दिइएका छन् कि छैनन् भनेर कहिल्यै प्रश्न उठाएनौँ । दूरसञ्चारले दिएको सुविधाको गुणस्तर पुगेन भनेर गुनासोबाहेक केही गरेनौँ । बरु हामी जहिले, जहाँ, जसको सेयर निष्कासन भए पनि सेयर बजारबारे रत्ती नबुझी लाइन लाग्छौँ । देश निर्माणको जिम्मेवारी लिएकाहरूले गैरजिम्मेवार, फितलो र फिल्मी शैलीका वक्तव्यहरू दिँदा पनि कहिल्यै औँला उठाएनौँ ।

केही मानिसले औसत नेपालीले धान्नै नसक्ने जीवनशैली व्यतीत गररिहेका छन्, जुन हामी टुलुटुलु हेररिहेका छौँ । शिक्षा, स्वास्थ्य र गाँसबासमा विवेकहीन व्यावसायिकीकरण भइरहँदा पनि कसैले प्रतिकार गरेका छैनौँ । सामान्य नेपालीको सामान्य आर्जनले न खान पुग्छ, न त छोराछोरी पढाउन सक्छ । अधिकांश नेपालीसँग बिरामी हुँदा उपचार गराउने खर्च हुँदैन । विलासी जीवन बाँच्न मानिसले कहाँबाट र कसरी पैसा कमाएका छन् त ? यसबारे सोच्नु वा सुसूचित हुनु होइन ? तर, हामी आफू पनि कसरी यो दौडमा सम्मिलित हुने भन्ने सोचमा सम्पूर्ण ऊर्जा खर्च गररिहेका छौँ ।

काठमाडौँमा पानीका मुहानहरू सुकिसकेका छन् । उपत्यकाले धान्नेभन्दा बढी सहरीकरण भइसकेको छ । कुनै यस्ता ठाउँ बाँकी छैनन्, जहाँ ट्राफिक जाम नभएको होस् । तर, कुनै पनि विवेकशील मान्छेलाई काठमाडाँैको भविष्य कति हो भनेर सोच्ने फुर्सद छैन, किन ? काठमाडौँ र न्युयोर्कको घरको भाउ बराबर हुँदा पनि यो किन र कसरी भनेर सोचेका छैनौँ । चार आना जग्गा किनेर घर बनाउँदा करोडसम्म खर्च हुने स्थिति आउँदा पनि हामी मान्छेले त्यो कसरी गर्न सक्छ वा सके पनि किन त्यो गर्छ भनेर सोचेका छैनौँ ।

अपार्टमेन्ट र फ्ल्याटका नाममा अहिले बनिरहेका भवनहरू पनि आमनेपालीको सोच र बूताभन्दा बाहिर छन् । ती कसका लागि किन बनिरहेका हुन्, सोचेका छैनौँ । निर्माण माफियाले मनलाग्दी तोकेका भाउहरू जायज हुन् ? त्यसबाट कायम हुने नजिरले घरजग्गाको भाउलाई चुलीमा पुर्‍याउँदा समग्र अर्थव्यवस्थामा पर्ने असरबारे सबै किन मौन ?

राज्यको चौथो अंग भनेर गर्व गर्ने सञ्चारमाध्यमहरूले पनि सुसूचित बनाउने कामको तेस्रो अन्तरा देख्नुपर्छ । आमनागरकिलाई फौबन्जारमुखी व्यापारीहरूको चंगुलबाट बचाउन पनि चौथो अंगको जिम्मेवारी हुनुपर्छ । सामाजिक, राजनीतिक, आर्थिकलगायतका तमाम पक्षमा आज र भोलिका मात्र समस्या समाधान गर्ने प्रवृत्तिले आज देश ओरालो लागेको कुरामा सुसूचित गर्नैपर्छ । सोच्न सकिएन, अरूलाई परेको समस्याबाट पनि पाठ लिइएन । तर, अब आफैँलाई परेपछि पनि हामीले ब्यूँझेर उज्यालो हेर्न तेस्रो अन्तरा नखोजे कहिले खोज्ने त ?

एकै टेकमा तीन अन्तरा

कान्तिपुर कोसेलीमा प्रकाशित बम्बै, २०...... गति रोधक पुढे आहे सडकको किनारामा ट्राफिकको सूचना गाडिएको बोर्डमा मराठीमा लेखिएको थियो, अगा...