Translate

Sunday, March 22, 2009

भावनाको विज्ञापन

मिति २०६५ चैत्र ८ मा प्रकाशित नेपाल साप्ताहिकको मेरो स्तम्भ "बायाँ फन्को" बाट।

बीस बाइस दिन भएको थियो होला तिनलाई नदेखेको, दुब्लाएर खार्लाप्खुर्लुप्पै भएछन्। लो त भनौं भने नजीकै आएर नहाँसेका भए शायद चिन्न पनि गाह्रो हुन्थ्यो होला। अनि उनले केही दिन अघि र खौरेर अलिअलि पलाएको कपाल, टाउकोमा सेतो टोपी र काठमाण्डौंको धूलो र धुवाँले मैलो बनाएको लुगा देखेपछि के भएको रहेछ भनेर थाहा भयो। औपचारिकतावश सोधीखोजी पनि गर्नै परिहाल्यो। केही नभएका उनका बाबु अचानक रुदयाघातका कारण अस्पताल नपुग्दै बितेछन्। कुनै रेकर्ड गरिएको सामाग्री स्वीच थिचेपछि फेरि बजे जस्तो गरेर उनले आफूमाथि आइपरेको विपत्तिको बारे बताए। सम्भवतः यी पछिल्ला केही दिनहरुमा हरेक मान्छे भेटेपिच्छे उनले त्यही कुरा दोहोरुयाएको हुनुपर्छ। अनि अब वर्ष दिनसम्म उनको त्यो पहिरनले हरेक दिन पटकपटक त्यही प्रश्न र त्यही उत्तरको क्रमलाई निम्त्याइ नै रहन्छ। उनले नचाहेर पनि हरेक दिन दिन त्यो पीडा भोगिरहने भए।


हाम्रो संस्कारको यो एउटा पक्ष बडो अचम्मको छ। एउटा मान्छे मरेर गएपछि उसका नजीकका ज्यूँदा मान्छेहरुलाई अनावश्यक बोझ र पीडा थप्ने यो चलनको अर्थ फेरि एकपटक केलाउन मन लाग्यो। पहिले पनि बाबु मरेका एक जना नाबालक आफन्तलाई १३ दिन बार्ने नाममा परेको अप्ठ्यारो, थरिथरि मान्छेले आआफ्नो हिसाबले तोकेका नियमहरुको विरोध गर्दा गरुड पुराण नपढेको मूर्खको उपाधिले विभूषित नभएको होइन। ७ वर्षको त्यो बबूरो जसलाई पानी उमाल्ने कसरी भन्ने समेत थाहा थिएन, उसलाई १३ दिनसम्म चीसो भुईंमा परालमा सुताएर, आफै पकाएर खान लगाएर दिनदिन भरि गरुड पुराणको नाममा बाहुनहरुलाई दानदक्षिणा गर्नका लागि भावनात्मक शोषण गरेर उसको बाबुले मोक्ष पाउँछ भन्ने कुरामा मलाई पटक्कै बिश्वास लागेको थिएन। त्यो बबूरोको १३ दिनसम्म यस्तो दुर्गति भयो भनिसाध्य नै छैन।


हाम्रो संस्कारको यो पक्ष किन यति प्रदर्शनमुखी भएको भन्ने प्रश्न बारम्बार मनमा खेलि नै रहन्छ। कसैलाई आफ्नो आफन्त गुमाउँदा परेको पीडा उसको नितान्त व्यक्तिगत भोगाइ हो। त्यसले उसलाई कुन रुपमा र कति हदसम्म आहत बनाएको छ भन्ने कुरा उसले कसैलाई देखाउन वा बताउन पर्दैन। त्यो सम्वेदनशील समयमा मान्छेलाई परेको विपत्तिको बेलामा उसका पीडाहरु हलुंगो बनाउने वा त्यसलाई बिर्साउन सहयोग गर्ने पो नियमहरु बन्नुपर्ने हुन्। तर कुनै बेलामा पुरेत पण्डितहरुले आफ्नो दूनो सोझ्याउनका लागि बनाएका नियमहरु हामी अझै पनि टाप लगाएका घोडा जस्तो भएर किन पच्छ्याइरहेका छौं? प्रदर्शन गर्न नसकिने पीडाहरु के अर्थहीन हुन् त?


केही समय अघि एकजना परिचति १३ दिनको किरियाका कारण आफै यस संसारबाट बिदा हुन पुगेका थिए। चीसोमा परालमा धोतीमात्र बेरेर बस्दा उनलाई ज्वरो आएको थियो। धर्म र संस्कारका ठेकेदाररुपी ज्ञाताहरुले उनलाई न डक्टर देखाउन दिए, न त्यहाँबाट हलचल गर्न। त्यसमाथि घिउ हालेको चोखो भात उनले खाइ नै रहनुपरुयो। उनलाई टाइफाइड भएको रहेछ। १३ दिनको कर्मकाण्ड त उनले जेनतेन धाने तर त्यसपछि उनी थलाको थलै अनन्त यात्रामा हिंडे। जाडो, गर्मी जुनसुकै मौसममा होस्, एकोहोरो लाग्ने यो अव्यावहारिक नियममा आफ्ना नजीकका मान्छेहरुले दुःख पाएको देख्दा मर्ने मान्छेको आत्मा के प्रसन्न हुन्छ होला त?


एकातिर आफ्ना छोराछोरीलाई अंग्रेजी विद्यालयमा पढाउँछौ, विदेश पठाउँछौं अनि त्यहाँबाट फर्केर आएर उसले आफ्ना लागि पिण्डदान गर्ला भनेर आश पनि गर्छौं। त्यस्तै एक जना परिचितका छोराले यी सब कुरा गर्न नमान्दा उसलाई धर्मविरोधी र पातकी भनेर आरोप लागेको प्रसंग पनि अहिले ताजा भएको छ। बाबु प्रति कुनै भावना नभएको छोरामा ऊ गनियो। एक्लै चाहे ऊ जीवनभर आफ्नो बाबुलाई सम्झेर एकान्तमा आँसु झारोस्, त्यसको कुनै अर्थ भएन। किनभने उसले आफन्त र समाजलाई १३ दिनको नाटक देखाएन। त्यो बेलामा उनका परिवारले १३ दिन किरिया बस्न एक जना बाहुनलाई भाडामा राखेका थिए। व्यापारको रुपमा, कमाइको लागि ती ब्राम्हण बसेको किरियाले मर्ने मान्छे स्वर्ग पुग्यो होला भन्ने कुरामा बिश्वास गर्ने आधार के हो कुन्नि।


तर हामीलाई गरुड पुराणको रुपमा पण्डित पुरेतहरुले सुनाउने त्रासपूर्ण कुराहरुले यति धेरै तर्साएको छ, हामी तर्कलाई एकातिर पन्छाएर बिना कुनै बिवाद यो परम्परालाई पच्छयाइरहेका छौं। कसैलाई आफ्ना परिवारजनले यो सब पीडा र परिभ्राटबाट मुक्ति पाउन् भन्ने लाग्यो भने पनि उसले जोगीमन्त्र सुनेर मर्नुपर्छ भन्ने कस्तो बाध्यता हो?


दानदक्षिणाका लागि अरु धर्मले पनि अभिप्रेरित नगर्ने होइनन् तर गरीबगुरुवालाई सहयोग गर्न भन्छन् उनीहरु। अझ कति धर्मले त माग्नेलाई समेत नदेऊ भन्छ किनभने उनीहरु कमसेकम हात फैलाएर माग्न त सक्छन्, त्यस्ता मान्छेलाई सहयोग गर, जो संग अभाव छ तर स्वाभिमानका कारण कसैेंग माग्न सक्दैन। तर हामी पुरेत र गुरुहरुलाई पोसेर पितृको कल्याण हुनेमा बिश्वास गर्छौं। आफूलाई अनावश्यक दुःख दिनाले मरेकाहरुले बैतरिणी नदी पार गर्ने भ्रममा अल्भि्कन्छौं। अहिलेको समाजमा पढे लेखेका मान्छे, बुद्धिजीवि, साहित्यकार र राजनीतिज्ञहरु समेत पनि तर्कलाई एकातिर पन्छाएर यो कुरीतिलाई निरन्तरता किन दिइरहेका छन्? हरेक कुरा समय अनुसार परिवर्तन र परिमार्जन हुन्छन् भने संस्कारको खोल ओढाइएका यस्ता कुराहरु बदल्न किन कोही तत्पर हुँदैन?


पन्ध्र वर्ष पुरानो संविधान अहिलेको युग सापेक्ष भएन भनेर आमूल परिवर्तनका लागि जुटेका हामीहरु पन्ध्रसय वर्ष पहिले धर्मका रुपमा बनेका संविधानलाई चाहिँ आँशिक रुपमा पनि फेर्ने आवश्यकता देख्दैनौं। यो कस्तो दोहोरो मानसिकता हो? आखिर कुरान, बाइबल वा हाम्रा धर्मग्रन्थहरु पनि त गहिरिएर पढ्दा त्यसबेलाको समाजलाई डोर्याउन बनेका सम्बिधान नै थिए भन्ने थाहा हुन्छ।


मरेपछि नाश भएर जाने शरीर पानीमा बस्ने जीवहरुका लागि उपयोगी होस् भनेर साधुसन्तहरुले जलसमाधि लिने प्रथा पनि हाम्रै धर्ममा नभएको होइन। हुन त केही उल्लेख्य व्यक्तिहरुले यी सब ढकोसलालाई त्यागेर उदाहरण प्रस्तुत गर्न नखोजेका हैनन्। किरिया नगरेर आत्मा भट्किने भए बिश्वेश्वरप्रसाद कोइरालाको आत्मा पनि अहिलेसम्म भटकिनु पर्ने हो। उनका खलकको त कुभलो पो हुनुपर्ने हो। अहिले कै समाजमा पनि कतिपय व्यक्तिले मृत्युपरन्त आफ्नो शरीर नै पनि चिकित्साशास्त्रका बिद्यार्थीहरुका लागि दान गरेका छन्। तर हामी मध्ये कतिले त्यसलाई पच्छ्यायौं?


मान्छे मरेपछि पत्रिकामा तंछाड मछाड गरेर छापिने समवेदना, १३ दिनको किरिया र दानका लागि अनि वर्षैपिच्छे गरिने श्राद्धका खर्च बटुलेर कुनै सकारात्मक कार्यमा लगाउनु बढी उपयोगी हो कि भन्ने मेरो सोचलाई समर्थन गर्ने वा त्यसको पछि लाग्नेहरु निश्चय नै पनि फेला पर्नेछन् होला।

1 comment:

  1. सार्है चित्त बुझ्यो ।

    ReplyDelete