Sunday, May 31, 2009

चमत्कारको आश

नेपाल पत्रिकाको मेरो स्तम्भ "बायाँ फन्को" बाट, जेष्ठ १७, २०६६ प्रकाशित


एकजना पुराना परिचित हुन् तिनी। एक ताका दिनहुँ भने जस्तो भेट हुन्थे। केहीदिन भेट नभए पनि फोनमा कुरा हुन्थ्यो। त्यतिबेलाको कामको प्रवृत्तिले गर्दा पनि तिनीसंग सहकार्य भइरहने भएकोले तिनको आन्द्रा भुँडी नै थाहा थियो भन्दा पनि फरक पर्दैन। त्यसपछि विस्तारै विस्तारै भेटघाट र सम्पर्कको क्रम कम हुँदै गयो। अचानक केही समय अघि भेट हुँदा पुराना कुराहरु खोतलिने क्रममा थाहा भयो, तिनको त दिनचर्या, जीवनशैली, काम, घुलमिल गर्ने ईष्टमित्रहरुको मण्डली सबै कुरा अमूल परिवर्तन भइसकेको रहेछ। त्यसको कारण रहेछन् एकजना मान्छे, जसलाई उनी कलियुगमा देउताको रुप भनेर श्रद्धा गर्न थालेका रहेछन्। हातसात हेर्न जान्ने ती मान्छेले उनका बारेमा दुइचारवटा कुराहरु ट्वाक्कै मिलाइदिएछन्। तिनले दिएको सल्लाह अनुसार काम गर्दा बिग्रेका एकदुइवटा झीना मसीना काम पनि बनेका हुन् कि भन्ने आभाष पनि भएको रहेछ। त्यसैबाट प्रभावित भएर ती मान्छेले भने अनुसार उनले कसको संगत गर्न हुने, कसको नहुने, के खान हुने के नहुने, कहाँ जान हुने, कहाँ नहुने, के काम गर्न हुने, के नहुने भनेर मान्दै जाँदा उनको जीवनशैली नै परिवर्तन भएको रहेछ।


यो क्रममा धेरै साथीभाई र नातागोतालाई उनले पाखा लगाएका रहेछन् किनभने उनकै शव्दमा ती उनलाई कैफियत गर्नेहरु परेछन्। कुनै भाउजु अब उनका आँखामा बोक्सी विद्या जानेकी खतरनाक नारी थिइन्, कुनै काकाले उनलाई खाना खान बोलाएर विगार गरेर बिरामी पार्न खोजेका थिए भने कुनै साथी वास्तवमा उनको शुभचिन्तक रहेनछन्। तर ती सबै कुराका पछाडि ती मान्छेहरुले उनका विरुद्ध गरेका कुनै कर्मको प्रमाण भने उनीसंग थिएन। उनी त अन्धो भएर ती भूत वर्तमान र भविष्य देख्न सक्ने मान्छेका वाणीलाई आत्मसात गरेर हिंडेका रहेछन्।



राम्ररी चलिराखेको आफ्नो व्यवसाय उनका लागि फलिफाप नहुने भएकोले आफूलाई अनुभव नै नभएको नितान्त नयाँ काममा उनी होमिएका रहेछन्। फलामको फ पनि नहुने काम गरेको अवस्थामा मात्र उनको व्यापक उन्नति हुन्छ भन्ने कुरामा उनी ढुक्क थिए। नयाँ कामका लागि घरबार समेत दाउमा लगाए पनि उनी किन्चित मात्र पनि चिन्तित थिएनन्। त्रिकालदर्शीले उनलाई दुई वर्ष गाह्रो भए पनि तीनचार वटा पूजा र होम लगाएपछि उनले फर्केर पनि हेर्न नपर्ने गरी आर्जन गर्न सक्छन् भनेर विश्वास दिलाएका रहेछन्। अब उनलाई आफूसंग को चिढिए, आफूले कसलाई चिढाएँ भन्ने कुराको कुनै पनि मतलब थिएन।


त्यस्तै एकजना अर्का परिचितको सन्दर्भ यहाँ नेर उल्लेख गर्न लायकको छ। पिंध नभएको लोटा भन्ने उखान तिनीमा ठ्याक्कै चरितार्थ हुन्थ्यो। तिनले जीवनमा अनेकौ. काम गरे। एक पटक भेट्दा एउटा काम गरिरहेका ती मान्छे अर्कोपटक भेट्दा अर्कै कुनै अचम्मको काममा लागिसकेका हुन्थे। उनले चाँदी लिन ढाका जाने कामबाट आफ्नो कर्मयात्रा सुरु गरेका हुन्। उनी गर्वसाथ भन्थे, ढाका जाँदाजाँदा त्यतिबेला त पाइलटको यन्त्रले काम नगरेर बाटो बिराउने हो भने पनि काठमाण्डौबाट ढाकासम्म ककपिटमा बसेर दायाँ..दायाँ..तल....तल....माथि....माथि भनेर निर्देशन दिएकै भरमा ढाका विमानस्थल पुरुयाउन सकिन्थ्यो होला। उपलव्धिको खोजमा त्यसपछि उनले बस किने, दिल्ली गएर कुर्ता सलवार ल्याउने काम गरे, किराना पसल खोले, नेपाली क्यासेटहरुको अवैध प्रतिलिपि बनाउने काम गरे, अभिनय र सरु्गीत सिकाउने थलो खोले, सिनेमा बनाउने प्रयास गरे, सहकारी खोले, रिकण्डिसन गाडीको काम गरे, गजमणि खोज्न भनेर भारतको जंगलजंगल घुमे, म्यानपावरको काम गरे, विज्ञापन एजेन्सी चलाए, पत्रिका निकाल्ने असफल प्रयास गरे तर उनी कुनै पनि काम लामो समय दत्तचित्त भएर गर्न सक्दैनथे। हुनसक्छ त्यही कारणले उनी कहीं कतै सफल भएनन्। तर त्यो असफलताको पछाडि उनले आफ्नो दोष कहिल्यै पनि केलाएनन्। संधै कुनै अरु मान्छे वा अवस्थालाई सरापेर एउटा नयाँ काम गर्न उनी लाग्थे। अहिले उनी ज्योतिष विद्यामा लागेका रहेछन्।


सबै तिरबाट असफल भएका ती मान्छे ज्योतिष विज्ञानका केही किताबहरु पढेको भरमा सर्वसाधारण, अशिक्षित, अल्पशिक्षित र शिक्षित मान्छेहरु देखि लिएर समाजका विभिन्न क्षेत्रमा सफल र निकै नै प्रभावशाली व्यक्तिहरु सम्मलाई मार्गदर्शन गरेर बसेका रहेछन्। उनलाई चिना र हात हेरेर फुर्सद छैन रे। कुनै एउटा हतपति नाम नसुनिने पत्रिकामा उनी त्यसै सम्बधी स्तम्भ मार्फत पाठकहरुका जिज्ञासा पनि शान्त पार्छन् रे। टेलिभिजनमा आउन पायो भने व्यवसाय हजारौं गुना फस्टाउँछ भनेर त्यतातिर प्रयत्नरत पनि रहेछन् उनी।


यी उदाहरणहरुका अलावा पनि हामी देखिरहेका हुन्छौं, साइड विजनेसका रुपमा, अथवा सोखका रुपमा ज्योतिष विद्या जानेको दावी गरेर मान्छेहरु अरु मान्छेको जीवनको सबै पक्षहरुलाई प्रभावित पारिरहेका हुन्छन्। विश्वविद्यालयमा पढाउने प्राध्यापक देखि विदेशी योजनामा काम गर्ने विशेषज्ञहरु सम्म छन् स्वघोषित त्रिकालदर्शीहरु। केही दिन अघि एकजना ज्योतिषले माधवकुमार नेपालको राशि, ग्रह र नक्षत्रको आधारमा प्रधानमन्त्री बन्ने योग नै छैन भनेर संचारमाध्यममा ठोकुवा गरेका थिए। रमाइलो कुरा त के भने अर्का एक ज्योतिषले जसलाई एउटा पत्रिकाले माधवकुमार नेपालका पारिवारिक ज्योतिष भनेर लेखेको थियो, उनलाई पूजाआजा गरेर नेपाली पोशाकमा निश्चित समयपछि मात्र सपथग्रहण गर्नुपर्छ भनेर सल्लाह दिएका थिए रे अनि त्यही अनुसार पूजाआजा हुने कार्यक्रम थियो रे। त्यो सल्लाह प्रधानमन्त्रीज्यूले माने नमानेको बारेमा उहाँको सचिवालयबाट बुझ्न खोज्दा त्यो कुरा चाहिँ धन्य कपोलकल्पित र गलत भन्ने जानकारी प्राप्त भयो।


बारम्बार धेरै कुराहरुमा यस्ता ज्योतिषहरुले गलत भविष्यवाणीहरु गरिरहेका हुन्छन्। केही समय अघि महाप्रलयको घोषणा गर्ने एक जना त प्रहरीको थुनामा पनि परेका थिए। मान्छेको चेतनाको स्तर यतिधेरै बढिसकेको युगमा, विवेक, ज्ञान र उपलव्धिको चरम चुलीमा मान्छे भन्ने प्राणी पुगिसकेको बेलामा पनि यस्ता बगम्फुसे कुराहरुबाट किन प्रभावित हुन्छौं हामी? यो प्रतिस्पर्धा, अन्यौल, अस्थिरता, नाम र दाम कमाउने चाहना अनि जिगीषाको युगमा शायद हामी सबै भित्र उपलव्धिको भोक झन्झन् बढिरहेको छ। हामीलाई सबै कुरामा शीघ्र परिणाम चाहिएको छ। सोचेको कुरा तुरुन्तै पुगोस् भन्ने चाहन्छौं हामी। हामीलाई हरेक कुरामा छोटो बाटो हिंड्ने बानी परिसकेको त हैन? आफ्नो सफलतामा भन्दा बढी अर्काको असफलतामा रमाउने, आफ्नो असफलतामा भन्दा अरुको सफलतामा बढी दुःखी हुने बानी पर्न थालेको त हैन कतै हामीलाई? द्रुत परिणाम भनेको चमत्कारले मात्र पाइने कुरा हो। हामी शायद हरेक कुरामा चमत्कारको आशा गर्न थालेका छौं। अनि हामी भित्रको यही चमत्कारको आशालाई बुझेर हाम्रा वरिपरि समाजका त्रिकालदर्शीहरुले आफ्नो पसल चलाइरहेका छन्। तिनका सुझाव र मार्गदर्शनले मान्छेलाई अझ बढी कर्मबाट बिमुख बनाइरहेका छन्। मान्छेका वरिपरिका मान्छेहरुसंगको सम्बन्धहरुलाई प्रत्यक्ष असर पारिरहेका छन्। यो भावनात्मक र धार्मिक ठगीको छुट यी भविष्यद्रष्टा र देवदूतहरुलाई हामीले कहिलेसम्म दिइरहने हो कुन्नि।


सपनालाई वास्तविकता बनाउनका लागि गर्नुपर्ने वा गर्न सकिने कुराहरु इमान्दारी पूर्वक गर्ने हो भने हामीलाई कुनै त्रिकालदर्शीको सुझाव नै चाहिँदैन। र्दुइलाख खर्च गरेर खाडीमा बाह्र हजारको जागीर खान गएर दिनको सोह्र घण्टा पुर्पुरो सेक्ने दुई सय जनाको सामूहिक चार करोड रुपियाँ र र श्रम यहीं खर्चने हो भने के यही माटोमा सुन उमि्रंदैन होला त? चमत्कारको आशामा बाँच्ने बानी हामीले सुधार्ने बेला अझै भएको छैन त?

एकै टेकमा तीन अन्तरा

कान्तिपुर कोसेलीमा प्रकाशित बम्बै, २०...... गति रोधक पुढे आहे सडकको किनारामा ट्राफिकको सूचना गाडिएको बोर्डमा मराठीमा लेखिएको थियो, ...