Translate

Wednesday, September 23, 2009

प्रेम-आगो र हिऊँ

आर्द्र थियौ तिमी
आकर्षक थियौ,
भिजेकी थियौ
राति नुहाएर झरीमा
शीतल देखिन्थ्यौ

मौन भाषा बोलिरहेथे
मेरा स्वप्निल आँखाहरु
तिमीलाई बोलाइरहेका थिए
कल्पीकल्पी
मेरा स्पन्दनका गतिहरू
लुकाउँ कि अंगालोमा भनी
निभ्न खोजिरहेथे
म भित्रका मलाई पोल्ने आगो
डुब्न चाहिरहेका ती लप्काहरू
तिम्रो शीतलतामा चुर्लुम्म

तर त्यति बिघ्न मादक
मोहक, र निम्तालु तिमी
पटक्कै पनि डेग चलिनौ
बुझ्यौ कि बुझिनौ खै
तिमीले मेरो समर्पण तिमीमा
बढिनौ अलिकति पनि
आफ्नो ठाउँबाट मतिर

चीसोले जमेकी तिमी
ए माछापुच्छ्रे हिमाल

पोखरा सेप्टेम्बर २०, २००९

Saturday, September 19, 2009

उदास पशुपतिनाथ


अचेल यस्तो लाग्न थ्ाालेको छ, मानौँ सारा संसार र यसको गति उल्टोतिर घुम्दै छ र हामीचाहिँ ढुंगे युगतिर फर्किरहेका छौँ । त्यसैले होला, अचेल कोही कुटिएको कुरा सुन्दा अचम्म लाग्न छाडिसक्यो मानिसहरूलाई । सानोभन्दा सानो कुरामा पनि एउटा मान्छेमाथि अर्को जाइलाग्न थालेका छन् । उपचार गर्दा सफल भएन भनेर डाक्टर कुटिन्छन्, विद्यार्थी फेल भयो भनेर शिक्षक कुटिन्छन्, कार्यकर्ताले नेता कुट्छन्, कर्मचारीले हाकिम । 


हामी किन यति हिंस्रक हुन थालेका हौँ भनेर सोचिरहेका बेला समाचारमा पढ्न पाइयो, पशुपतिनाथका पुजारीहरू पनि कुटिए रे ! फेर िकेही दिन त्यहाँ तनाव व्याप्त भयो अनि सुरक्षाकर्मीहरूको बन्दुकको घेरामा पशुपतिनाथको नित्य पूजा गर्न पुजारीहरू हिँडिरहेका फोटो पनि पत्रिकामा देख्न पाइयो । त्यो फोटोमा आजको हाम्रो वास्तविकता र आममान्छेको लाचारी स्पष्ट देख्न सकिन्थ्यो । आज पशुपतिनाथको पूजा बन्दुकको घेरामा हुनुपर्ने स्िथति आयो, भोलि गएर डाक्टरले बन्दुकको घेरामा उपचार गर्ने, बालबालिकाहरूले बन्दुकको घेरामा स्कुल पढ्ने अनि सबैले सबै काम बन्दुक लिएर गर्नुपर्ने स्िथति नआउला भन्ने के छ र ? युगौँदेखि शान्ति र संयमको अभ्यास गररिहेका नेपालीहरू कति छिटो बन्दुक र त्यसको तागतमा भर नपरी नहुने भएछौँ भन्ने अत्यासलाग्दो सन्देश हुन्, यस्ता घटनाहरू ।

हुन त यो पंक्तिकार नियमित रूपमा पशुपतिनाथ जाने मान्छे त होइन । तर, हालसालै त्यहाँ जेजस्ता घटना भए, नरमाइलो लाग्यो । अनि, एकपटक पशुपतिनाथको मन्दिर पुग्नैपर्छ भन्ने लाग्यो । त्यसैले एक साँझ सपरविार पशुपतितिर लागियो ।

त्यस साँझ पार्किङ्बाट मन्दिरतिर बढ्दै जाँदा नै एउटा अचम्मको सुनसान देखियो । सधैँभर िहामीले जुत्ता-चप्पल फुकाल्ने ठाउँमा बस्ने फूलप्रसादका एक जना हँसिला व्यापारी त्यहाँ थिएनन् । जतिजति मन्दिर परसिरको नजिक पुग्यौँ, त्यति नै कस्तो कस्तो असहज लाग्न थाल्यो वातावरण । सायद केही दिनअघि त्यहाँ भएको मारपिटका कारण सबै जना अलि सतर्क, स्तब्ध र निराश भएकाले पो हो कि ? अनुमान लगाइयो । फूलामाला बेच्नेहरू पनि निकै कम मात्र थिए । भएकाहरू पनि आशंकित देखिन्थे । सुरक्षाकर्मीहरू बन्दुक बोकेर यत्र तत्र झुन्डझुन्डमा तैनाथ थिए । दर्शनार्थीहरू त छैनन् नै भन्न मिल्थ्यो । विशेष गरी साँझपख आरतीको बेला त कस्तो चहलपहल हुने गथ्र्यो ! अनिकालमा बीउ जोगाउनु, हूलमूलमा जीउ जोगाउनु भनेर त्यहाँ हुनसक्ने अर्को मारपिटको डरले पो सायद कोही नआएका हुन् कि भन्ने लख हामीले काट्यौँ ।

आर्यघाटको पारपिट्ट िआरती गर्दै भजन गर्नेहरू पनि देखिएनन् । नित्यपूजा नभएको दुई-तीन दिन भइसकेको थियो सायद । पहिले चार ढोका खुलेका हुन्थे, घन्टी र थरीथरी मान्छेहरू एक स्वर मिलाएर गाउन खोजिरहेका भजनको कोरसले भित्रसम्म अनौठो शान्तिको आभास हुन्थ्यो । तर, त्यस दिन त्यो केही थिएन । एउटा मात्र ढोका खुलेको थियो र दुई जना तन्नेरी भण्डारीहरू जल र चन्दन बाँड्दै थिए । केही सामान्य भारतीय तीर्थयात्रीहरू मात्र दर्शन गर्न आएका थिए । हिसाबले त धक्कामुक्का नगरी सजिलोसँग दर्शन गर्न पाएकामा रमाइलो लाग्नुपर्ने हो तर बोझिलो भयो मन ।

शिवलिंगमा महादेवको अनुहार सधँैको जस्तै नै थियो । ढुंगामा कुँदिएको आकृतिको भावभंगिमा हुन त जहिले पनि त्यस्तै न हो ! ढुंगालाई ईश्वर बनाउने त मान्छेको आस्थाले हो, विश्वासले हो । तर, त्यस दिन मलाई महादेवको पत्थरको अनुहार पनि उदासजस्तो लाग्यो । एक्लै झोक्राएर बसेका जस्ता लागे पशुपतिनाथ । वाक्कदिक्क भएका जस्ता थिए उनी । मानौँ एउटा प्रश्न थियो उनको आँखामा, 'मैले तिमीहरूको रक्षा धेरै समयसम्म गरेँ तर अब मेरो रक्षा कसले गर्छ ?'

मान्छेलाई आफू सर्वोपर िहोइन, आफूभन्दा माथि पनि एउटा शक्ति छ भन्ने कुरा बेलाबेला घनले टाउकोमा ठोकेर घुसाइरहनुपर्छ । नत्र मान्छे देउता बन्न नसके पनि सजिलैसँग राक्षस बन्न सक्ने प्राणी हो । त्यसैले राक्षस नबन्नका लागि उसलाई एउटा विम्बको आवश्यकता हुन्छ । यो विशाल र अपरम्पार अनि ज्ञानको सीमाभन्दा बाहिरको प्रकृतिका निर्माता र नियन्त्रणकर्ता कुनै एउटा शक्तिका सामु मान्छे, उसका उपलब्धि, उसका पाखुराका बल वा उसको मगजभित्रको बुद्धि कति न्यून र गौण छ भन्ने कुरा उसलाई जताउने त्यो विम्ब मन्दिरभित्र स्थापित ३३ कोटि भगवान्मध्ये कुनै पनि एक हुनसक्छ । त्यो विम्ब चर्चभित्र रहेको हुनसक्छ, गुरुद्वाराभित्र हुनसक्छ वा मस्िजदभित्र हुनसक्छ ।

पुराणदेखि इतिहाससम्म र हिजोअस्ितकै हाम्रो वरपिर िखोतलेर हेर्ने हो भने त्यो शक्तिमा विश्वास नगर्ने, आफूभन्दा शक्तिशाली र विद्वान् कोही छैन भनेर दम्भ गर्ने, अरूको आस्थालाई अनादर गर्ने जो कसैको पनि ढिलोचाँडो पतन भएको छ, नास भएको छ । पशुपतिनाथको मन्दिर पनि त्यस्तै एउटा आस्थाको विम्ब हो । आफ्नो विश्वासबाहेक अरूका विश्वासलाई मिथ्या ठान्नु मूर्खहरूको मानवीय कमजोरी हो तर अरूका विश्वासलाई उखेलेरै फ्याल्छु भन्नेचाहिँ जानाजान आफूलाई विनाशको बाटोमा हिँडाउनु हो । राजनीतिका लागि कसैले पनि कसैको आस्था र विश्वासलाई अनादर गर्नु हुँदैन ।

सबैथोक कस्तो फरक भएको, सबैलाई कति फरक परेको भनेर हामी गन्थन गर्दै र्फकंदा हाम्री सानी छोरीले उसकी दिदीलाई हाँस्दै भनी, "सबैलाई कहाँ फरक परेको छ र ? बाँदरहरू र त्यो बूढो साँढे त पहिलेजस्तै छन् नि !"

त्यो बालसुलभ टिप्पणी सुनेर हाँस्दाहाँस्दै म गम्भीर भएँ । हो त नि, जनावर भनेको त विवेक नभएको प्राणी पो त ! त्यसैले तिनीहरूलाई नाराजुलुस र राजनीतिले केही पनि फरक पर्दैन । यी सब कुराहरू, स्वार्थ, शक्तिको लडाइँ र उपलब्धिको भोक भनेको त हामीजस्ता चेतनशील, विवेकशील मान्छेहरूले मात्र बुझ्ने कुराहरू हुन् । कतै हाम्रो दुःखको जड यही विवेक र चेत नै बनिरहेका त होइनन्, जसको गलत अर्थ लगाएर, गलत व्याख्या गरेर हामी मान्छे हुनुको भ्रममा बाँचिरहेका छौँ ।

Wednesday, September 16, 2009

देशका चालकहरूले सिक्नुपर्ने कुरा

केही दिन अघि सुनकोशीमा एउटा यात्रुबाहक बस खस्यो। बीसौं निर्दोष यात्रुहरूले ज्यान गुमाए।


यो दुर्घटनाको पछाडि चालकहरूको खराब मानसिकता प्रमुख कारण थियो। अघिल्लो बस आफूलाई उछिन्न खोज्ने अर्को बसलाई साइड दिन नचाहने अनि पछिल्लो बस जसरी भए पनि अघिल्लो बसलाई उछिनेरै छाड्ने होडबाजीमा एउटा बस अन्तत: खोलामा खस्यो। यो एउटा सामान्य दुर्घटना मात्र हैन, अहिलेको हाम्रो सिंगो देशको यथार्थ पनि हो। यो घटनाबाट अहिलेका हाम्रा राजनैतिक दलहरूले पाठ सिक्न सक्नुपर्छ।


यी दलरूपी बसका चालकहरूमा पनि हामी जनतारूपी यात्रुहरूको जिम्मेवारी छ। हामीलाई गन्तव्यमा पुर्‍याउने कर्त्तब्य यी चालकहरूको हो। तर एकआर्कालाई उछिन्ने अन्धो होडबाजीमा लागेका यी नेताहरूलाई शायद अरू कुनै कुराको हेक्का नै छैन। सदन राम्री चल्न नसकेको कति लामो समय भैसक्यो,सानातिना कुरामा साहमति हुन सकेको छैन। सडक पनि अवरूद्ध छ,हरेक दिन नयाँनयाँ बिरोधहरू भैरहेका छन्। सामान्य जनताको त के कुरा गर्नु,राष्ट्रपति र प्रधानमन्त्रीका कार्यक्रमहरू समेत बिथोलिएका छन्। दीक्षान्त समारोहहरू भाँडिएका छन्, डक्टर र नर्सहरू समेत हडतानलमा उत्रेका छन्, बजेट पास हुने हो कि हैन थाहा छैन,संबिधान लेख्ने भन्ने कुरा पाखा लागिरहेको छ।


तर हाम्रा यी महान राजनीतिकर्मीहरू एउटा सरकार बन्न नपाउँदै त्यसलाई ढाल्ने दाउपेचमा लाग्ने गरेका छन्। नयाँ ईतिहास लेख्ने जिम्मा पाएका हाम्रा नेताहरूले यो जिम्मेवारी कति मह्त्वपूर्ण हो भन्ने पटक्कै बुझेका जस्तो लाग्दैन। उनीहरू त आआफ्नो गाडीलाई हुँइक्याउन र उछिन्नमा नै आफ्ना भएभरका ऊर्जा सकाइरहेका छन्। यही गतिमा होडबाजी चलिरहने हो भने भोलि यो सिंगो देश र जनताहरूलाई कतै कुनै सुनकोशीमा नहालुन् यिनीहरूले।

Tuesday, September 8, 2009

सेवामा स्वार्थ

बन्द, हडताल, दबाबको राजनीति आज हाम्रो मूलमन्त्र हुँदै गएको छ । सानादेखि ठूलासम्म, महत्त्वपूर्णदेखि अर्थ न बर्थका, जायजदेखि नाजायज हरेक कुरामा, हरेक क्षेत्रमा अचेल दबाबमूलक मानसिकता प्रभावी भइरहेको देख्दा साह्रै नरमाइलो लाग्छ । केही दिनअघि देशको सबैभन्दा पुरानो स्वास्थ्य सेवा प्रदायक वीर अस्पतालका डाक्टरसाहेबहरूले हडताल गरे । एक-दुई दिन सबै लथालिंग भएपछि अन्ततः उनीहरूका माग पूरा भए । माग पूरा नभएर सुखै छैन भन्ने उनीहरूलाई थाहा भएकै कुरा हो । 

त्यसलगत्तै देशभरका सरकारी, अर्धसरकारी र निजी स्वास्थ्य निकायका नर्सहरू सेवा बन्द गरेर आफ्ना मागहरू पूरा गराउनका लागि कटिबद्ध भए । अघिल्लो हडतालको सफलताको नजिर उनीहरूका सामु ताजा नै थियो । सम्भवतः यी हरफहरू प्रकाशित हुने बेलासम्म सम्बन्धित निकायलाई घुँडा टेकाएर उनीहरूले आफ्नो सेवा पुनः चालू गरसिकेका पनि हुन सक्छन् । तर, डाक्टर र नर्सहरूको हडतालको एक दिनको त कुरै छाडौँ, एक-एक घन्टा, मिनेट, सेकेन्ड, पल वा निमेष कति संवेदनशील हुन्छ भन्ने कुरा बिरामी र तिनका आफन्तलाई मात्रै थाहा हुन्छ ।

देशका कुनाकुनादेखि आफ्नो रोग र व्यथाहरू निदान हुने आशमा आएका बिरामीहरूलाई यो हडतालले कति प्रभाव पारेको होला भन्ने सायद उनीहरूको मतलबको कुरा थिएन । डाक्टरहरूलाई भगवान् वा कुनै चटकीका रूपमा श्रद्धा गर्ने, अस्पताल गएपछि ठीक हुने र नर्सहरूका रेखदेखले तंगि्रने विश्वासले आएका ती बिरामीहरू अस्पतालमा समेत हडताल छ भन्दा कति निराश भए होलान् । त्यो अन्योलले उनीहरूको र उनीहरूका आफन्तहरूको कति सातो गयो होला भन्ने त सायद हडतालकारीहरूले सोच्न पनि सोचेनन् होला । त्यो अवधिमा कति आमाहरू पेटको असह्य पीडाले छटपटाए होलान्, कति बाबु-बाजे दमले स्याँस्याँ भए होलान्, कति पत्नीहरू पतिको छटपटीको मूकदर्शक भएर बसे होलान, कति बाबुआमाको मन आफ्ना सन्तानको पीडा हेर्न नसकेर रोयो होला । तर, त्यस्ता आलुमुले कोरा भावनाका कुराहरू हडतालमा उत्रेकाहरूका लागि गौण भए त्यतिबेला । 

हुन त एकोहोरो भएर सोह्रैआना डाक्टरसाहेब र नर्सहरूको खोइरो खन्न खोजेको होइन । उनीहरूका पनि आफ्नै समस्याहरू होलान्, मागहरू होलान्, कति जायज नै पनि होलान् । बारम्बार तिनका समाधानका लागि सम्बन्धित ठाउँमा ताकेता गर्दा पनि केही नभएको हुनाले नै उनीहरू आफ्नो ब्रह्मास्त्र प्रयोग गर्न बाध्य भएका होलान्, त्यो आफ्नो ठाउँमा छ । तर, चिकित्साजस्तो मानवीय संवेदनाको पेसामा ब्रह्मास्त्र प्रयोग गर्नु कतिसम्म जायज हो भन्ने प्रश्न पनि आफ्नै ठाउँमा नभएको होइन ।

सुविधा, सुख, पैसा जति भए पनि कसैलाई नपुग्ने कुरा हो । मान्छेले पढ्ने-लेख्ने, रोजगार खोज्ने भनेको पनि आफ्नो र आफ्नाहरूका जीवन सरल र सुविधामय बनाउनका लागि नै हो । हरेक मान्छेलाई आफू सुखी र खुसी हुने अधिकार छ तर त्यो खुसीका लागि अरूको आँसु कतिसम्म बगेको छ भन्ने कुरा मान्छेले नै नसोच्ने हो भने कसले सोच्ने ? केही पेसा यस्ता हुन्छन्, जो प्रत्यक्ष सेवामूलक हुन्छन् । तिनमा लाग्नेहरू निःस्वार्थ्ा हुनु जरुरी छ । तर, सबै मान्छेमा त्यो भाव हुनुपर्छ भन्नेचाहिँ छैन । त्यो सम्भव पनि नभएको कुरा हो । त्यसो हुँदो हो त हरेक मान्छे मदर टेरेेसा हुनुपथ्र्यो । तर, त्यस्ता सेवामूलक पेसा अपनाउने मानिसहरू पहिलेदेखि नै त्यससँग आउने कठिनाइका लागि, त्यसले माग्ने समर्पणका लागि आफूलाई मानसिक रूपमा तयार गरेर मात्र त्यसमा लाग्नुपर्छ । यदि आफूमा त्यस किसिमका त्याग, सेवा र समर्पणको भाव छैन भने त्यस्तो माग गर्ने पेसामा लाग्नु नै हुँदैन । 

तर, हाम्रो विडम्बना नै के भने अधिकांश अभिभावकहरूले आफ्ना सन्तानलाई हुर्काउने बेलादेखि नै, उसले बुझ्न थालेदेखि नै 'यो त डाक्टर बन्छ, भोलि धेरै पैसा कमाउँछ' भन्दै हुर्काउँछन् । 'यो डाक्टर बनेर भोलि मान्छेका पीडाहरू कम गर्छ, रोगले च्यापिएका मान्छेहरूलाई आराम दिलाउँछ' भनेर सायदै कसैले आफ्नो सन्तानलाई चिकित्साशास्त्र पढ्न लगाउँछन् । अझ कति वर्षमा यसले लगानी उठाउँछ भनेर हिसाब-किताब गर्नसम्म पछि पर्दैनन्, कतिपय अभिभावकहरू । पैसा कमाउनुपर्छ भन्ने मानसिकता बोकेर बनेका डाक्टरहरूले सेवा र समर्पणको भावनालाई मनको कुनै अँध्यारो कुनामा थन्क्याएर यसलाई पनि पसल खोलेको जस्तो गरी व्यापार गर्न थाले भने त्यो दोष उनीहरूको मात्र पनि होइन । केही समययता ह्वात्तै नर्सिङ् पढ्न चाहनेहरूको लहर आएको छ । तर, तीमध्ये कति जनाले यो जनसेवाको काम हो भन्ने भावनाले अनि कति जनाले बेलायत, अस्ट्रेलिया र क्यानाडा जान सजिलो हुन्छ भनेर नर्सिङ् पढे भन्ने महत्त्वपूर्ण कुरा हो । 

चिकित्साशास्त्रमा मात्र होइन, हरेक क्षेत्रमा यस्ता मानसिकताले काम गररिहेको हामी उदाहरणहरू देख्न सक्छौँ । सञ्चारमाध्यममा लगानी गर्ने भनेको जनतालाई सुसूचित गर्नेभन्दा राजनीतिक र सामाजिक पकड बलियो बनाउने हो भन्ने उद्देश्यले अरू ठाउँबाट कमाएको पैसा खन्याउनेहरू, राजनीति गर्ने भनेको वरत्रपरत्र सुधार्नका लागि, चलचित्र बनाउने भनेको मोजमस्ती गर्नका लागि र नाम चलाउनका लागि हो भनेर होम्मिनेहरू, स्कुल-कलेज चलाउने भनेको रातारात धनी बन्नका लागि सोच्नेहरू, वैदेशिक रोजगारको काम भनेको हेर्दाहेर्दै महल ठड्याउनका लागि भनेर लागिपर्नेहरू, एनजीओ खोलेपछि डलर फल्छ भन्ने विदेशी मुद्रा कृषकहरू, सबै क्षेत्रमा जुन काम हो त्यसभन्दा अरू उद्देश्यले अभिप्रेरति भएर लागेका हुन्छन् । र, त्यस्ता मान्छेहरूका बाढीले आफूसँगै सही काम गर्नेहरूलाई पनि बगाएर लैजान्छ । 

आफ्ना चाहनाहरू पूरा नहुँदैमा सबैले दबाबको राजनीति गर्नु भनेको नैतिक अपराध हो । महँगी बढेको छ भने सबैलाई बढेको छ, प्रतिस्पर्धा सबैका लागि त्यत्ति नै छ, बाँच्न सबैलाई उत्ति नै गाह्रो छ । तलब सबैका लागि कमै छ । हातमुख जोर्न सबैलाई हम्मेहम्मे छ । छोराछोरीको भविष्यको चिन्ता सबैलाई बराबर नै छ । राष्ट्र परविर्तन र संक्रमणको कालमा छ भने त्यसको असर सबैलाई बराबर छ । यो बेलामा हामी सबैको कर्तव्य सक्नेजति कममा सम्झौता गर्ने हो । तर, हामीहरू त ठ्याक्कै त्यसको उल्टो सकेसम्म बढीको अपेक्षा गर्न थालेका छौँ । त्यसका लागि साम, दाम, दण्ड, भेद र जानेजतिको दाउपेच खेल्न थालेका छौँ । अर्कालाई परेको अप्ठ्यारो र बाध्यतामा आफ्नो दूनो कसरी सोझ्याउने भन्नेमा के कर्मचारी, के राजनीतिज्ञ, के व्यापारी, के उद्योगपति, के डाक्टर, के शिक्षक सबै लागिपरेका छौँ । 

साँच्चै नयाँ युगको निर्माण गर्ने नै हो भने त्यसका लागि सबैले आ-आफ्नातर्फबाट त्याग र धैर्य गर्न सक्नुपर्छ । आकर्षक नारा र ठूला कुराले मात्र केही पनि परविर्तन हुँदैन, जबसम्म हाम्रो आफ्नो मानसिकतामा परविर्तन हुँदैन । उपलब्धिका लागि अन्धो दौडमा सहभागी हुनुअघि हामीले मनन गर्नुपर्ने कुरा के हो भने, प्राप्तिको सीमा हुँदैन । सन्तुष्ट मान्छे भनेको त्यो होइन, जोसँग सबैभन्दा बढी छ । सन्तुष्ट मान्छे त्यो हो, जो आफूसँग भएको जतिमा नै खुसी हुनसक्छ, रमाउन सक्छ ।

Monday, September 7, 2009

पर्खाइ

मनभित्रका भावनाहरूलाई
डढेलो लगाउँदो रहेछ गर्मीले
त्यसैले त गर्मीमा
मायाले छुँदा पनि
पोल्दोरहेछ कि क्या हो
एउटा हातले अर्को हातलाई
गर्मीले त
स्निग्धतालाई पनि कतै
सल्काइ पो दिन्छ कि क्या हो

न्यानोको खोजी
बरू चीसोमा पो होला कि
त्यतिबेला बुझ्ला शायद
तातो- स्पर्शको स्नेह
एउटा मुटुले अर्को मुटुको

म मीनपचास कुरिरहेको छु

अप्ठ्यारोको मूलमन्त्र

२०६६ भदौ २१ गते नेपाल साप्ताहिकमा मेरो स्तम्भ 'बायाँ फन्को" मा प्रकाशित


बन्द, हडताल, दबावको राजनीति आज हाम्रो मूलमन्त्र हुँदै गएको छ। साना देखि ठूलासम्म, महत्वपूर्ण देखि अर्थ न वर्थका, जायज देखि नाजायज हरेक कुराहरुमा, हरेक क्षेत्रमा आजकल दबावमूलक मानसिकता हावी भैरहेको देख्दा साह्रै नरमाइलो लाग्छ। केही दिन अघि देशको सबैभन्दा पुरानो स्वास्थ्यप्रदायक वीर अस्पतालका डाक्टरसाहबहरुले हडताल गर्नु भयो। एक दुई दिन सबै लथालिङ्ग भए पछि अन्ततः उहाँहरुका मागहरु पूरा भए। नभएर सुखै छैन भन्ने कुरा उहाँहरुलाई थाहा भएकै कुरा हो।


त्यसको लगत्तै देशभरका सरकारी, अर्ध सरकारी र नीजि स्वास्थ्य निकायका नर्सहरु सेवा वन्द गरेर आफ्ना मागहरु पूरा गराउनका लागि कटिवद्ध भए। अघिल्लो हडतालको सफताको नजीर उनीहरुको सामु ताजा नै थियो। सम्भवतः यो प्रकाशित हुनेबेलासम्म सम्बन्धित निकायलाई घुँडा टेकाएर उनीहरुले आफ्नो सेवा पुनः चालु गरिसकेका पनि हुन सक्छन् त्यो अर्कै कुरा हो। तर डाक्टर र नर्सहरुको हडतालको एक दिनको त कुरै छाडौं, एकएक घण्टा, मिनेट, सेकेण्ड, पल वा निमेष कति सम्वेदनशील हुन्छ भन्ने कुरा रोगले पीडित मान्छे र उनीहरुका आफन्तलाई मात्रै थाहा हुने कुरा हो।

जित्नका लागि हार्नेहरु

२०६६ भाद्र  ७ गते नेपाल साप्ताहिकको मेरो स्तम्भ "बायाँ फन्को" मा प्रकाशित



'बाबुलाई भेट्न नदिने..........'    
कागजको एउटा टुक्रामा लेखिएको थियो, अनि त्यसैको मुनि लेखिएको थियो, कक्षा १ मा पढ्ने एउटी फुच्चीको नाम र रोल नम्बर। बाक्लो ऐनाले त्यो टेबलमा अरु पनि केही त्यस्तै कागजका टुक्राहरु थिचेर राखिएका थिए। कुनैमा आमाले भेट्न नपाउने, कुनैमा हजुरआमा वा हजुरबा प्रतिबन्धित भएका सूचनाहरु तिनमा किचिएका थिए। यस्तो लाग्थ्यो, ती कागजका टुक्राटाक्रीसंगै एकएक वटा तीता सम्बन्धका तिक्तताहरु पनि उकुसमुकुस भएर निस्सासिरहेका छन्, किच्चिरहेका छन्, छटपटाइरहेका छन्। केही दिन अघि एउटा आवासीय बिद्यालयमा काम विशेषले गएको बेला सम्बन्धित मान्छे फेला नपरुन्जेल मूलढोकाको नजीकै सुरक्षाकर्मीहरु बस्ने ठाममा कुर्दा देखिएको यो साधारण दृश्यले असाधारण रुपमा मथिंगलमा खैलाबैला मच्चायो। मगजबाट यसलाई सजिलोसंग पन्छाउन सकिएन।

हाम्रो समाज र मान्छेको सम्बन्धका अमीलो यथार्थ जस्ता लागे ती कागजका टुक्राहरु।

Tuesday, September 1, 2009

भ्रम

अपहेलना र अपमान
पीडा अनि तिरस्कार
धोका, स्वार्थ, कपट,
आँशु, एक्लोपन
अनि छटपटी बाँचेर
भन्ने बेला
जिन्दगी बाँचें भन्छ मानिस

हरेक दिन आफैलाई झुक्याउँछ
आफैसंग छल गर्छ
अरू मानिसहरूसंग मिलेर
समाजमा बाँचेको भन्दै
खासमा भन्ने हो भने त
एक्लै बाँच्छ मानिस

मृत्यु नाम गरेको
एक पलको पीडालाई टार्न
जीवन नाम गरेको
हरेक पलहरूका पीडा बाँच्छ मानिस
मुक्तिको अनुहार चिन्न नसकेर
बन्धनमा रमाएको ढोंग गर्दै
कैद बाँच्छ मानिस

सुन्दर खोल ओढाइएको
कुरूप र बिभत्स वास्तविकता
मुकुण्डो लगाएर-चिटिक्क परेका
आफन्तको नाम उधारो लिएका
आफ्नै लागि मात्र बाँच्ने
आफू जस्तै अरू थुप्रैथुप्रै
समवेदनाहीन प्राणीहरूसंग
रमाएको जस्तो अभिनय बाँच्छ मानिस

संसार सुन्दर छ भनेर
आफैलाई ढाँट्छ
जीवन मोहक छ भनेर
आफैलाई छल्छ
ईश्वरको देन हो-उपहार हो भन्दै
अभिशाप बाँच्छ मानिस

वरदानको भ्रममा
सराप बाँच्छ मानिस