Translate

Tuesday, September 1, 2009

भ्रम

अपहेलना र अपमान
पीडा अनि तिरस्कार
धोका, स्वार्थ, कपट,
आँशु, एक्लोपन
अनि छटपटी बाँचेर
भन्ने बेला
जिन्दगी बाँचें भन्छ मानिस

हरेक दिन आफैलाई झुक्याउँछ
आफैसंग छल गर्छ
अरू मानिसहरूसंग मिलेर
समाजमा बाँचेको भन्दै
खासमा भन्ने हो भने त
एक्लै बाँच्छ मानिस

मृत्यु नाम गरेको
एक पलको पीडालाई टार्न
जीवन नाम गरेको
हरेक पलहरूका पीडा बाँच्छ मानिस
मुक्तिको अनुहार चिन्न नसकेर
बन्धनमा रमाएको ढोंग गर्दै
कैद बाँच्छ मानिस

सुन्दर खोल ओढाइएको
कुरूप र बिभत्स वास्तविकता
मुकुण्डो लगाएर-चिटिक्क परेका
आफन्तको नाम उधारो लिएका
आफ्नै लागि मात्र बाँच्ने
आफू जस्तै अरू थुप्रैथुप्रै
समवेदनाहीन प्राणीहरूसंग
रमाएको जस्तो अभिनय बाँच्छ मानिस

संसार सुन्दर छ भनेर
आफैलाई ढाँट्छ
जीवन मोहक छ भनेर
आफैलाई छल्छ
ईश्वरको देन हो-उपहार हो भन्दै
अभिशाप बाँच्छ मानिस

वरदानको भ्रममा
सराप बाँच्छ मानिस

1 comment:

  1. कबिता सुन्दर छ तर यती बिघ्न निरास ! -----
    यो निरास कबितामै सिमित रहोस् ----

    ReplyDelete