Friday, October 22, 2010

गूड मर्निंग

कतै परबाट एउटा भाले बास्छ, अँध्यारोको राज सकिने बेला भयो भन्ने संकेत दिँदै। म पनि के कम भनेजस्तो गरेर अर्को कुनै कुनाबाट अर्को एउटा भालेले त्यसको सुरमा सुर मिलाउँछ। अनि, चारैतिरबाट भालेहरूको ऐक्यबद्धता प्रकट हुन थाल्छ, शुभ प्रभातको। त्यसपछि चराहरू चिरबिर गर्न थाल्छन्। कोही कताबाट, कोही कताबाट संगीत सिर्जना गर्न थाल्छन्, मीठो मधुरो चिरबिरको सुरलिो कोरस सुनिन थाल्छ। अलि पर कतै रेडियो नेपालको प्रसारण आरम्भ हुनुअघिको संकेत संगीत बज्न थाल्छ। त्यो अघि एकैछिन बज्ने एकतमासको टूँ... गर्ने ध्वनि पनि कर्कश लाग्दैन त्यतिबेला। छिमेकमा कुनै विद्यार्थी, कुनै दूध पसले, तरकारी व्यापारी, पत्रिका पसले, ट्याक्सी चालक वा अरू कुनै जाँगरलिो श्रमजीवी मान्छेले समयमा उठ्नका लागि खाटको छेउमा राखेको चाइनिज घडीको अलार्म बज्न थाल्छ। बिहानी हुनुअघिको चकमन्नतामा त बेलाबेला सहरको बीचतिर उभिएको घन्टाघरको घडीको आवाज पनि सुनिन्छ, काठमाडौँको पल्लो छेउसम्म। छेउछाउमा मन्दिरका घन्टाहरू बज्न थाल्छन्, कसैले शंख बजाउँछ, कसैले मन्त्र पनि पढ्न थालेको हुनसक्छ। दसै दिशाबाट छोपिएर आउने यी आवाजहरू गहिरएिर सुन्ने हो भने कुनै अत्याधुनिक सिनेमाघरको डल्बी साउन्ड प्रविधिले खन्याउन नसक्ने महजस्तो मीठो आवाज बिहानीको पूर्वाभासको संगीतले कानको जालीमा चुमाइदिन्छ। आकाश पनि उनीहरूको होमा हो मिलाउने सुरसार गरेर आङ तान्छ अनि विस्तारै, अलिअलि गर्दै आफ्नो पूर्वी दैलो उघार्न थाल्छ। कालोबाट गाढा नीलो, हल्का नीलो, अलिअलि पहेँलो, बैजनी र रातो रंगहरूलाई कुचीले पोत्न थाल्छ, वल्लो छेउदेखि पल्लो छेउसम्म। रंगहरूका एउटा माथि अर्को यसरी थपिन र मिसिन थाल्छन्, संसारको कुनै पनि चित्रकारले त्यति मिहिन रूपमा तिनको सम्मिश्रण गर्न सक्दैन। हरेक दिन त्यति नै सूक्ष्म, त्यति नै उत्कृष्ट र सफा चित्र बनाउँछ आकाशको क्यानभासमा प्रकृति नामको त्यो चित्रकारले। अनवरत, नथाकी हरेक दिन बनाइरहन्छ सुनौलो बिहानी। तर, हामीमध्ये कतिलाई यो नियमित कला, संगीत र चलचित्रका बारेमा थाहा नै हुँदैन। त्यतिबेला हामी भुसभुस निदाइरहेका हुन्छौँ। अबेलासम्म सुत्ने बानी लागेका हामीमध्ये धेरैले बिहानी देख्दैनौँ, बिहानी सुन्दैनौँ र भोग्दैनौँ बिहानी।

अंग्रेजीमा एउटा उखान छ, जसको अर्थ हुन्छ- बिहान चाँडै उड्ने चराले बढी आहारा भेट्टाउँछ। यो उखानले जिन्दगीमा सही समयमा सही काम गर्न सक्नुको अर्थ बताउँछ। जिन्दगीमा ठूल्ठूला कुराहरूको पछि दौड्दादौड्दै हामी स-साना कुराहरूलाई बिर्सन्छौँ। ती स-साना कुराहरू, जसले मान्छेको जिन्दगीलाई रंगीन बनाएका हुन्छन्। तिनका आफ्नै महत्त्व हुन्छन्, सुन्दरता हुन्छन्। भागदौडमा हामीले तिनलाई हेक्का नै गरेका हुँदैनौँ। आफ्नो क्षेत्रका सफल र चर्चित एक जना चिकित्सक, जो अति धेरै सक्रिय र व्यस्त छन्। आफ्नो नियमित कामबाहेक अरू धेरै उपलब्धिमूलक कामहरूमा पनि उनी त्यत्तिकै दौडधुप गर्छन्। आफ्नो व्यक्तिगत रुचिका कामहरू गर्न पनि उनलाई समयले छेक्दैन। सभासमारोह, भेला, मनोरञ्जन र सामाजिक भलाकुसारीका थलोहरूमा पनि उनी पुगिरहेका हुन्छन्। कहिलेकाहीँ अचम्म लाग्छ, उनले कसरी ती सबै काम भ्याउँछन्? कतै उनको दिनमा २४ घन्टाभन्दा बढी पो समय छ कि? केही समयअघि कुराकानीका क्रममा यही जिज्ञासा प्रकट गर्दा थाहा भयो, उनी छ घन्टा मात्र सुत्दा रहेछन्। स्वास्थ्य विज्ञानले पनि एउटा स्वस्थ मान्छेलाई साधारण अवस्थामा दैनिक छ घन्टा निन्द्रा परे पुग्छ भनेर भन्छ।

हुन पनि हो, कति घन्टा सुत्ने भन्ने कुरा त हो। छ घन्टा सुत्नु भनेको सक्रियताका लागि १८ घन्टा पाउनु हो। सरसर्ती हिसाब गर्दा त्यस्तो मान्छेले १० घन्टा सुत्ने मान्छेको दाँजोमा एक सातामा ४२ घन्टा बढी पाउँछ। महिनाको १ सय २० घन्टा अर्थात् पाँच दिन, वर्षको १ हजार ८ सय २५ घन्टा अर्थात् झन्डै ६१ दिन। सक्रिय जीवनको ३० वर्षको मात्र हिसाब गर्ने हो भने पाँच वर्ष बढी उत्पादक समय मान्छेले चाह्यो भने फोसामा निकाल्न सक्ने रहेछ, आफ्नो जीवनरेखाबाट। जीवनको उत्तरार्द्धमा लेखाजोखा गर्न बस्दा मान्छेले आफूले बाँचेको कति दिन, महिना वा वर्ष सम्भिmन सक्छ होला? त्यो समयमा उसले गरेको उपलब्धिको गणना गर्ने हो भने कतिवटा घटना उसको स्मरणमा हुन्छन् होला? उकालो र ओरालोकोे बराबरी मात्रा हुने हरेक मान्छेको यात्राका अवरोह, असफलता र निराश दिनहरूकै कुरा गर्दा पनि कतिवटा त्यस्ता दिन र घटना बाँकी रहलान् र स्मृतिका पानाहरूमा। केही सुखका र केही दुःखका बाहेक बाँकीका अरू दिनहरू त कता हराए, कता गए र कसरी सकिए भन्ने थाहा पनि हुँदैन होला। बिहानलाई दिन, दिनलाई रात बनाउँदैमा, बाँच्नका लागि होडबाजी गर्दैमा, अरूको सफलताबाट रौसिएर, हौसिएर, चिढिएर तिनलाई जित्न प्रतिस्पर्धा गर्दैमा, गोरुजस्तो भएर सामाजिक र पारविारकि जिम्मेवारीको कोल घुमाउँदैमा झिमिक्क गर्दा सकिसकेको हुन्छ यो लामो भनिने जिन्दगी।

दिनको दुई घन्टाको यो फोसालाई एकपटक सदुपयोग गरेर हेरौँ न। खुट्टा तन्काउनका लागि झिसमिसेमा बाहिर निस्कने हो भने बिहान देख्न पाइन्छ। साइकलमा हरयिा सागपातहरूको डुंगुर बोकेर ठिमीबाट हरेक दिन नयाँबानेश्वर आइपुग्ने एक जना हँसिला ठिटा, महिनाको २० हजार किस्ता तिर्नका लागि 'टिप' पुर्‍याउनुपर्छ भनेर ट्याक्सी लिएर चोकमा यात्रु कुर्ने ६८ वर्षका 'लक्का जवान', कलेज जानका लागि हतारँिदै निस्केका केटाकेटीहरू, घरघरमा पत्रिका पुर्‍याउन साइकलका पैडलमा फटाफट खुट्टा चालिरहेका मानिसहरूले जीवन, गति र सक्रियताको प्रतिनिधित्व गररिहेका हुन्छन्। यसबाट सिक्न सकिने कुरा कति छ? अहिले त दसैँ आउन लागेकाले हावामा नै एउटा अनौठो बास्ना हुन्छ। अलिअलि चिसो, अलिअलि हुस्सु र उत्सवको रंगको अनुभूति गर्दै बिहानीलाई भेट्ने हो भने अरू केही नभए पनि शरीरका अवयवहरूलाई चाहिने कसरत मात्रै भए पनि त हुन्छ नि !

शुभ प्रभात ।

जुम्मा चुम्मा दे दे...

मंसिर २ , २०७४ - मलाई पान खान कहिले पनि मन लाग्दैनथ्यो , अझै पनि लाग्दैन । तर त्यस दिन म नयाँ दिल्लीको रिगल भन्ने सिनेम...