Translate

Sunday, December 5, 2010

डक्टरी नपढेका डक्टरहरु

बायाँ फन्को ४७

एकपटक रामवहादुरको भैंसी विरामी भएछ । उसलाई झलक्क भएछ, केही समय अघि श्यामबहादुरको पनि भैंसी विरामी भएको थियो । त्यस अर्थमा भैंसीका रोगको बारेमा रामबहादुरलाई श्यामबहादुर आफूभन्दा बढी विज्ञ ठहर भयो । रामवहादुर दौडेर हस्याँङ्गफस्याङ्ग गर्दै श्यावहादुरको घरमा पुगेछ । भैंसी विरामी भएको बेलामा रामवहादुरले के गरेको थियो भनेर उसले सोधेछ । श्यामवहादुरले भैंसीलाई पाँच लिटर मट्टितेल खुवाएको जानकारी दिनासाथ रामवहादुर दौडेर घर फर्केछ र आफ्नो भैंसीलाई पनि मारसंग पाँच लिटर मट्टितेल खुवाइदिएछ । भोलिपल्ट बिहान उसको भैंसी मरिरहेको रहेछ । क्रुद्ध रामवहादुर श्यावहादुरकहाँ गएर रिसले दाह्रा किट्दै कुर्लेछ,
“मेरो भैंसी त म¥यो ।”
श्यामवहादुरले भनेछ,
“मेरो पनि त मरेको थियो नि ।”
यो त भयो भैंसीको कुरा । हामी मध्ये धेरै जसोमा पनि रामवहादुर बसेको हुन्छ । त्यतिमात्र कहाँ हो र हामी त भैंसी हैन आफ्नै स्वास्थ्यको कुरामा पनि धेरै हदसम्म रामवहादुर जस्तै हुन्छौं ।
हुन त सानातिना स्वास्थ्य सम्बन्धी समस्यामा घरेलु उपायहरुको भर पर्ने, जानकार र विज्ञ चिकित्सकको सल्लाह विना नै औषधि खाएर च्याँखे हान्ने हामीकहाँ मात्र नभै अन्य अल्प विकसित देशहरुमा पनि चलन हुनछ भन्ने कुरा त्यस सम्वन्धी सर्वेक्षणहरुले बताउँछन् । हामी अरुको सल्लाह पनि सुन्छौं र आफू पनि अघि सरेर सल्लाह दिन्छौं । लौ त भन्ने हो भने यो एक किसिमले हाम्रो राष्ट्रिय चरित्र नै बनिसकेको छ । कुनै पनि रोग वा समस्याको बारेमा कतै चर्चा भयो भने अर्को मान्छेले घरेलु, आध्यात्मिक, तान्त्रिक, पौराणिक, आयुर्वेदिक वा एलोप्याथिक गरेर केही न केही उपाय र औषधि बताउँछ । त्यति मात्र कहाँ हो र थरिथरि मान्छेले हामीलाई विभिन्न उपायहरु बताउँछन् । हामी त्यसमध्ये कतिवटालाई त प्रयोग गरेर पनि हेर्छों । एकदमै गम्धीर परिस्थिति नभै हत्पति डक्टर वा अस्पताल जान हामीलाई मन लाग्दैन । समस्यालाई सानो रुपमा लिने बानी, पहिले आफ्नो वा अरुको मिल्दोजुल्दो समस्याको निराकरणको अनुभव जस्ता कुराहरु त्यसको पछाडिका कारणहरु हुने गर्दछन् । त्यसले गर्दा भित्रभित्र केही डरलाग्दो लक्षणहरु पालेर हामी बसिरहेका हुन सक्छौं । केही समय अघि एकजना परिचित आफ्नो नियमित बिहानीको दौड गर्दागर्दै बाटोमा पुक्लुक्क ढले र उनको त्यहीं निधन भयो । पोष्टमार्टम गर्दा थाहा भयो, उनको मुटुको आकार सामान्य मान्छेको भन्दा चार गुना बढी फुलेको रहेछ । उनी स्वस्थ्य देखिन्थे र साधारण जीवन बाँचिरहेका थिए । उनमा मुटु सम्बन्धी केही समस्या थियो भन्ने कुरा साथीभाई त छोडौं यनका घरपरिवारलाई पनि अत्तोपत्तो रहेनछ ।
डाक्टरकहाँ जानु भनेको अनावश्यक खर्च बेहार्नु हो भन्ने मान्यताले हाम्रो मनमा गहिरो जरो गाडेको हुन्छ । हुन त सरकारी अस्पतालका झारो टार्ने मानसिकता, दयनीय स्थिति र प्राइभेट नर्सिंग होमका खर्चालु उपचारले गर्दा आम मानिसले एक हजारपटक सोच्नु पर्ने हुन्छ । त्यसैले होला अध्ययनहरुले भने अनुसार ३० मिनेटको दूरीमा अस्पताल वा उपचार केन्द्र भए पनि मान्छे सकेसम्म आफ्नै र अरुका स्वविवेकले नै रोगव्याध निको पार्ने प्रयास गर्छ, अल्पज्ञानीले झ्याम्मै एण्टिवायोटिक खाने, खुवाउने गर्छ । त्यतिले नभए औषधि पसलेहरुको भर पर्छ र अनि औषधि पसलेहरु पनि त्यस्तो बेलामा आफ्नो उच्च मूल्याँकन भएको अनुभूतिले होला, डक्टर बन्ने प्रयत्न गर्नबाट पछि पर्दैनन् । हुन त औषधि पसल चलाउनेहरुका लागि पनि एक प्रकारको निश्चित तालीम हुनुपर्छ भन्ने तोकिएको छ र मात्र उनीहरुलाई अनुमति दिइन्छ । तर, ऊ खाना खान गएको बेला वा अरु कामले पसल छोडेर गएको बेला त्यहाँ बस्ने उसकी श्रीमती वा अरु कोहीेले पनि आएको ग्राहकलाई फर्काउँदैनन् । कुनै बेला औषधि पसलमा गएको बेला ध्यान दिएर हेर्नुहोला, सामान्य समस्याका लागि कोही त्यहाँ सल्लाह गर्न आयो भने त्यो पसलेले कसरी आफ्नो गर्धन अह्ररो पारेर, दुइचारवटा जटिल प्राविधिक शव्दहरु प्रयोग गरेर आफ्नो बुद्धिमत्ताको प्रदर्शन गर्छ ? अस्पताल जानु व डक्टरलाई देखाउन पर्ला कि भन्ने जिज्ञासा गर्दा कतिपयले त भएको तपाईंलाई यही नै हो, तिनले दिने औषधि पनि यही हो, बेकारमा अनेकौं परिक्षण गरेर किन पैसा खर्च गर्नुहुन्छ भनेर मुडेको पनि कहिलेकहीं देख्न पाउनुहुन्छ ।
हामी किन स्वास्थ्य जस्तो सम्वेदनशील कुरामा अरुलाई यति धेरै सल्लाह दिन्छौं र अरुको यति धेरै सल्लाह लिन्छौं । अरु कुरामा आफूलाई ज्ञान नभएको विषयमा नबोले पनि औषधिका कुरामा हामी मध्ये अधिकांश चुप लागेर बस्दैनौं । कहिले हेक्का गर्नुभएको छ भने त्वचा कसरी राम्रो बनाउने भन्ने कुरामा कुनै पनि स्वास्नीमान्छेलाई कसैले पनि केही भन्यो भने त आँखा चिम्लेर उनीहरुले त्यो सब प्रयत्न गर्छन् । बजारमा त्यही मानसिकतालाई भजाउनका लागि आएका उत्पादनहरु प्रयोग गर्न देखि लिएर ट्यूबलाइटले छाला बिगार्छ भनेर पहेंलो चीम बाल्न समेत उनीहरु पछि पर्दैनन् ।
नियमित स्वास्थ्य परिक्षण गर्ने भन्ने कुरा हाम्रो लागि दुर्लभ कुरा हो । भौगोलिक विकटता, आर्थिक अवस्था र खर्चिलो उपचार पद्धतिका कारण पनि शायद यसो भएको हुनसक्छ । मानिसको शरीर एउटा यति जटिल संरचना हो, हेर्दा सामान्य लाग्ने आँखा झिम्क्याउने कामका लागि पनि भित्रभित्रै सयौं क्रियाहरुको तालमेल भैरहेको हुन्छ । तसर्थ हामीले कुनै पनि समस्यालाई हलुका रुपमा लिने गर्नु हाम्रो लागि दीर्घकालीन रुपमा नराम्रो हुनसक्छ । आफू स्वास्थ्यको कुरामा विज्ञ भएको भ्रम पालेर उपचार विधि सिकाउने वा अरु त्यस्तै मान्छेको सल्लाह सुन्ने प्रवृत्ति हामीले सुधार्नै पर्ने बानी हो । नत्र कुनै पनि बेला हामी रामवहादुर वा श्यामबहादुर बन्न सक्छौं ।

प्रतिक्रिया:

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment