Translate

Friday, December 10, 2010

विकिलिक्सको लहरो

बायाँ फन्को ४८

विकिलिक्स चुहियो । अनि त्यसका कारण लहरो तान्दा पहरो गर्जन्छ भनेजस्तो भयो । सम्पूर्ण विश्व अमेरिकाले कहाँकहाँ के के खुराफात गरेको रहेछ भन्ने कुरामा जिज्ञासु भयो । हुन त शक्तिशाली राष्ट्रहरुले संसारका अरु मुलुकहरुलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा आफ्नो प्रभावमा राख्नका लागि अनेकौं तिगडम भिडाएका हुन्छन् भन्ने कुरा कसलाई थाहा नभएको हो र ? बेलाबेलामा यस्ता तिगडमबाजीका खुलासाहरु भै नै रहेका हुन्छन् । केही समय समाचार माध्यमहरुमा तिनले गतिलै ठाउँ पाउँछन्, विशेषज्ञहरु तिनका बारे चर्काचर्की गर्छन् । अनि केही समयपछि अर्को कुनै कुरा आउँछ, त्यो कुरा फेरि सेलाउँछ । तर यसपटक कुरा अलि बेग्लै भयो । अरु बेला अनुमान र बिना कुनै प्रमाणिक तथ्यहरुका आधारमा हुने कुरा यसपटक अलि गतिलो र सम्वेदनशील भयो । जुलियन असान्ज नामक ह्याकर (नेपालीमा त्यसको ठ्याक्कै अर्थ लाग्ने शव्द छैन,) ले अमेरिकाले आफ्ना दूतावासहरुसंग अरु मुलुकहरुमा गरेको राजनीति, कूटनीति, चाणक्यनीति, विदुरनीति र अन्य थुप्रै नीतिका बिद्युतीय संचार र पत्राचारको  निकै ठूलो ठेली चोरेर सार्वजनिक गर्न सुरु गरेपछि सारा संसारको ध्यान त्यसमा आकर्षित भयो । अमेरिका आफ्नो बचाउमा लाग्यो, आफ्नो त्यो उदांगिएको कृयाकलापलाई कसरी वकालत गर्ने भन्ने कसरत सुरु भयो । स्विडेनमा महिलाहरुसंग भएका असान्जका यौन सम्बन्धका उदेकलाग्दो मुद्दाका लागि उनको पक्राउका लागि रेड कर्नर नोटिस समेत जारी भयो । विकीलिक्सको साइट इण्टरनेटको संजालबाट बिरालोले बास सारे जस्तो यता र उता हुन थाल्यो । कतैबाट हटाएर अलप भएको विकिलिक्स फुत्त अर्को तिर प्रकट हुन थाल्यो । हेर्दाहेर्दै केही समय अघिसम्म कसैले नचिनेका असान्ज र विकिलिक्स खोजीको पहिलो रोजाइ हुन थाल्यो । उनी सर्वेक्षणहरुमा विश्वका पचास प्रभावशाली मान्छेहरुको गणनामा पर्न पुगे ।
अमेरिकाको गोप्य संचार यसरी वालछ्याल बनाउन हुन्थ्यो कि हुँदैनथ्यो भन्ने कुरामा विवादहरु हुन थाले । अधिकांश वकालत विकिलिक्सको पक्षमा चर्कियो । विकिलिक्सको यो अदम्य साहसलाई खोजी पत्रकारिताको नयाँ आयामको रुपमा पनि व्याख्या हुन थाल्यो । सूचना सबैको अधिकार हो भन्ने आधारमा विश्वले यो जानकारी पाउनै पर्छ भन्ने कुरामा मानिसहरु चम्किएर बोल्न थाले । यो कुरामा कसैको दुइमत हुने त कुरा नै भएन । तर बायाँ फन्को मारेर सोच्ने हो भने हरेक तसवीरको जस्तै यसको पनि अर्को पाटो नभएको पनि होइन । सूचना र ज्ञान भन्ने कुरा पनि कुन बेला कसलाई कति उपलव्ध गराउनु वा हुनुको पनि अर्थ हुन्छ । त्यसका आफ्नै प्रभावहरु हुन्छन् । ज्ञानले मान्छेको भलो नै गर्छ भन्ने किटान गर्न मिल्दैन । गलत समयमा गलत मान्छेले पाएको गलत ज्ञानले उल्टै हानि नगर्ला भनेर पनि भन्न सकिंदैन । मान्छे भन्ने जीव विकासक्रम देखि नै अत्यन्त रहस्यमय र जटिल जीवको रुपमा रहिआएको छ । सोच्न सक्ने र योजना बुनन जान्ने खूवीका कारण मान्छेले आफूलाई आजको रुपमा उभ्याउन सफल भएको हो । लेखाजोखा, राजनीति, कूटनीति र चलखेल भनेको हरेक मान्छेले आआफ्नै तहमा गरिरहेको हुन्छ । परिवार, सम्वन्ध र मित्रताका लागि पनि मान्छेले त्यो सब गरेको हुन्छ । त्यो क्रममा हरेक मान्छे भित्र रहस्यका अनेकौं पाटाहरु लुकेका हुन्छन् । बाबुआमा र सन्तान, लोग्ने र स्वास्नी अनि साथीसाथी,हरुका बीचमा पनि सबै कुरा छर्लंग भएका हुँदैनन् । लुकाइएका कतिपय कुराहरुले एक दुइ जनालाई असर गर्ने भए पनि धेरैकालागि त्यसले सकारात्मक भूमिका खेलेको हुन्छ भन्ने त्यस्ता कुरा नउदांगिएको नै राम्रो हुन्छ । हरेक मान्छेको हरेक कुरा हरेक मान्छेलाई थाहा हुने हो भने सम्भवत मान्छेमान्छेका बीचमा काटमारको बाहेक अरु सम्बन्ध नै रहँदैन होला ।
अल्पज्ञानी हुनुभन्दा अज्ञानी हुनु राम्रो भन्ने त भनाइ नै छ नि । विकिलिक्सको सम्वन्धमा यो कुरा गर्दा सोचनु पर्ने केही कुराहरु छन् । इण्टरनेटका माध्यम जो सुकैले प्राप्त गर्न सक्ने ती गोप्य दस्तावेजका एउटा साधारण मान्छेलाई के काम ? विज्ञहरुका सन्दर्भमा नै पनि भन्दा दुइलाख भन्दा बढी दस्तावेजहरुका कारण के मुलुक मुलुकका बीच त्यसले उत्पन्न गर्ने शंका उपशंकाका कारण धमिलो पानीमा माछा मार्नेहरुका लागि त्यसले मज्जाको चलखेल गर्ने वातावरण बनाइदिंदैन त ? धेरै टाढा नजाने हो भने केही दिन अघि भारतका एक कूटनीतज्ञले अफगानिस्तानको सन्दर्भमा अमेरिकासंग गरेको कुरामा नेपालको सन्दर्भ पनि जोडिएको कुरा आयो । नेपालका माओवादीहरुलाई भारतले पैसा दिएको भन्ने आशय लाग्ने त्यो कुराकोे ठोस आधिकारिकता प्रमाणित हुनु अघि नै माओवादीहरुले त्यसको खण्डन पनि गरिहाले । त्यस्ता अनेकौं अरु जालेमाले विवाद विकिलिक्स र त्यसलाई आफ्नो सुविधाका लागि घुमाउनेहरुले संसारभर जता त्यतै निकाल्न थालिसकेका छन् । त्यसरी पर्न सक्ने दूरगामी असरहरुका बारेमा सोच्ने हो भने के आँखा चिम्लेर जुलियन असान्जलाई धन्यवाद भन्न सकिन्छ कि सकिंदैन होला ? हो सूचना र ज्ञान मान्छेले पाउनुपर्छ तर कहिले र कति भन्ने कुरालाई बिर्सन हुँदैन । दुइ कक्षामा पढ्ने विद्यार्थीलाई ज्ञानै त हो भनेर प्रजनन र यौनका कुरा त बताउनु भएन नि । विष्फोटकको ज्ञानले सडक बनाउनेले पहरा फुटाउँछ भने आतंककारीले त्यही ज्ञानले मान्छे मार्छ ।
मूल कुरो के भने अहिले देशदेशका त कुरै छोडौं, एउटै देशका पार्टीका तीन नेताहरुका बीचमा समेत अविश्वास र संशय बढिरहेको बेला थप शंकाउपशंका र अविश्वास उत्पन्न गर्ने चीजहरुको के मानव समाजलाई आवश्यकता छ ? यस्तो ज्ञान हुनु भन्दा अल्पज्ञानी वा अज्ञानी हुनु राम्रो पो हो कि त ? फुटाउने विकिलिक्स भन्दा बढी जुटाउने विकिलिक्सको हामीलाई बढी खाँचो पो छ कि ? के त्यस्तो कुरा हाम्रो वरिपरि छैन होला त ? भए पनि त्यसले यत्तिकै चासो र प्रचारप्रसार पाएको होला त ? विकिलिक्सको चुहावटले संसारलाई समग्रमा फाइदा बढी गर्छ कि हानि भन्ने कुरालाई पाखा लगाउन मिल्छ ?

प्रतिक्रिया:

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment