Translate

Sunday, January 30, 2011

विदेशीको मोह

बायाँ फन्को ५१

हालसालै नेपालमा छायाँकन गर्न आएका इजरायली टेलिभिजन फिल्मका सदस्यहरु संग सहकार्य गर्ने जोहो जुरेको थियो । करीव बाह्र भागको उक्त श्रँृखलाको सम्पूर्ण छायाँकन नेपालमा नै हुने रहेछ । नेपाल भ्रमणमा आएकी एकजना इजरायली युवती लामो समयसम्म सम्पर्कमा नआएपछि उसकी बहिनी आफ्नी दिदीलाई खोज्न आउने कथावस्तुको वरिपरि सो टेलिफिल्म घुम्दो रहेछ भन्ने जानकारी उनीहरुबाट प्राप्त भएको थियो । तर वास्तविक कथावस्तु के हो र कसरी अगाडि बढ्छ भन्ने कुरा यही नै हो भनेर किटान गर्न सकिंदैन किनभने हिब्रू भाषामा लेखिएको उक्त फिल्मको पटकथा वा दृश्यहरुले के भन्छन् भन्ने थाहा छैन ।  सिनेमाको बारेमा कसैलाई भन्दा कुनै पनि पक्षलाई वा कुनै पनि पात्रलाई प्रमुखता दिन वा न्यून बनाएर प्रस्तुत गर्न सकिन्छ । समग्रमा छायाँकन र सम्पादन भैसके पछि मात्र खास कुरा के हो र कस्तो हो भन्ने थाहा हुन्छ । निर्देशकको यही अधिकार र विशेषताका कारण सिनेमालाई उसको माध्यम भन्ने गरिन्छ ।
केही दिन अघि झिसमिसे बिहान भक्तपुरको कुनै एउटा गल्लीमा त्यस फिल्मको छायाँकन हुँदै थियो । स्थानीय समन्वर्यकर्ताले निर्देशकको आवश्यकता अनुसार केही सानासाना केटाकेटीहरुलाई भेला पारिसकेका थिए । फिल्मकी नायिका कुनै मान्छेलाई खोज्दै त्यहाँ आइपुगेको दृश्य थियो त्यो । युवती चारैतिर हेर्दै आउनासाथ केटाकेटीहरु उसलाई छोप्न पुग्छन्, उसको कोटको बाहुला र फेरमा झुण्डिंदै दश रुप्याँ माग्न थाल्छन् । युवती अलमल्ल पर्छे, आत्तिन्छे र चारैतिर हेर्छे । अलि पर पेटीमा बसेर चिया खाइरहेको अर्को इजरायली आएर ती केटाकेटीहरुलाई भगाउँछ । त्यो हेर्दा साधारण लाग्ने दृश्यको छायाँकनले केही प्रश्नहरु मनमा उव्जाए । तरीका फरकफरक मात्रै हुन सक्छ, तर माग्नेहरु त संसारका सबै जसो देशहरुमा हुन्छन् । तर के पर्यटकलाई देख्नासाथ हाम्रा केटाकेटीहरु दश रुप्याँ माग्नका लागि त्यसै गरि झुम्मिन्छन् ? जब इजरायलमा त्यो प्रसारण हुन्छ, हेर्ने मानिसहरुमा नेपालको कस्तो छवि बनाउला त्यो दृश्यले ? एकातिर हामी नेपाल भ्रमण वर्षलाई भव्यताका साथ सफल बनाउनका लागि मरिमेटेका छौं भने अर्को तिर यस्ता दृश्यहरु छायाँकन गर्न दिइरहेका छौं, जुन हेरेर यहाँ आउनेले दुइ पटक सोच्नुपर्ने हुन सक्छ ।  पटकपटक देखिएको कुरा हो विदेशीहरु यहाँ आएर यहाँको राम्रो कुरा भन्दा नराम्रो कुरालाई नै देखाउन र खिच्न बढी रुचि देखाउँछन् । बेलाबेला हिन्दी चलचित्रहरुले पनि त्यस्तै काम गरेको भनेर विरोधहरु हुने गरेका छन् । तर, यहाँ प्रदर्शन नहुने कतिपय अन्य विदेशी फिल्म र वृत्तचित्रहरुले संसारमा हामीलाई कुन रुपमा प्रस्तुत गरिरह्का हुन्छन् भन्ने कुरा आम मानिसलाई अत्तोपत्तो पनि हुँदैन । भारतमा नै केही समय अघि छायाँकन भएर अन्तर्राष्ट्रिय रुपमै चर्चित सिनेमा स्लमडग मिलिनेयरलाई समेत उनीहरुले गरीबीको व्यापार गरेको भनेर विरोध गरेका थिए यद्यपि त्यसले भारतीयहरुलाई केही ओस्कार समेत दिलाउन फिल भएको थियो । तर, हामी भने यस्ता कुराहरुमा कानमा तल हालेर किन बस्छौं ?
कुनै पनि विदेशीले नेपालमा आएर सिनेमा खिच्नका लागि संचार मन्त्रालयसंग स्वीकृति लिनुपर्छ । त्यसका लागि उनीहरुले कहाँकहाँ र के के खिच्ने भन्ने कुराको जानकारी गराउनु पर्छ । त्यसका आधारमा छायाँकनको बेला मन्त्रालयका एक जना अधिकृत खटाइन्छन् जसको काम भने अनुसार काम भएको छ कि छैन भनेर अनुगमन गर्ने हुन्छ । भक्तपुरको गल्लीमा ती सानासाना केटाकेटीहरु दश रुप्याँ माग्नका लागि भुम्मिएको छायाँकन हेर्दा स्तम्भकारलाई संचार मन्त्रालयका ती अधिकृतलाई भेट्न र के का आधारमा यस्तो नकारात्मक छायाँकन गर्न दिइयो भनेर जान्न मन लाग्यो । यूनिटका अन्य नेपाली सदस्यहरुसंग सोधीखोजी गरेपछि उनी फेला परे । उनको भनाई अनुसार स्वीकृति दिनु अघि विदेशीहरुसंग कथावस्तुको सारसंक्षेप मात्र लिइएको हुन्छ । यहाँ आएर के के खिचिन्छ भन्ने कुरा विस्तृत रुपमा थाहा हुँदैन । झन् नबुझिने भाषा छ भने त के बोलिंदै छ भन्ने कुरा थाहा हुँदैन । धेरै कचकच गर्दा विदेशीलाई सहयोग नगरेको जस्तो हुन्छ कि भन्ने डर पनि हुन्छ । कतिपय कुराहरु आफैले मात्र निर्णय गर्नु अघि माथि जानकारी गराउनु पर्ने पनि हुन्छ । त्यहा छायाँकन भैरहेको दृश्यका बारे उनलाई पनि आपत्ति भैरहेको रहेछ तर उनले केही गरेका भनेका थिएनन् । त्यस्ता कुरा नियन्त्रण गर्नका लागि नै उनलाई त्यहाँ खटाइएको होइन र भन्ने प्रश्न गरेपछि उनले गएर निर्माताका मान्छेहरुसंग केही कुरा गरे । उनीहरुले पछि त्यो दृश्य हटाउने भनेका छन् भनेर उनी सन्तुष्ट भए । खिचिसकिएको दृश्य आफ्नो देशमा गएर उनीहरुले हटाउलान् भन्ने कुरामा यो स्तम्भकार भने विश्वस्त हुन सकेन ।
कथावस्तुको सारसंक्षेप मात्र नभै सम्वाद सहितको पटकथा हेरेर मात्र स्वीकृति दिने नियम नबन्ने हो भने यस्ता कुराहरु नियन्त्रण हुन सक्दैनन् । विदेशी भाषामा छायाँकन हुने हो भने मन्त्रालयले दोभाषेको पनि व्यवस्था गर्नुपर्छ । छायाँकनमा खटिने अधिकृतलाई आफ्नो स्वविवेक प्रयोग गरि कुनै पनि छायाँकन रोक्न सक्ने अधिकार प्रदान गर्नुपर्छ र त्यस्तो स्वविवेक भएको अधिकृतलाई खटाउनु पर्छ । नेपालीहरुले विदेशमा छायाँकन गर्नुपर्दा त यति सजिलो कहिले पनि हुँदैन । तर हामीमा त विदेशी भनेको भगवान हो भन्ने भ्रमले जरो गाडेको हुन्छ । विदेशी भन्नासाथ त्यसले सबै कुरा जानेको हुन्छ भन्ने हामी सोच्छौं । त्यसैले गर्दा धाराको पाइप जोड्ने कुनै खैरेले यहाँ आएर औषधि विज्ञानको कुुरा ग¥यो भने पनि नेपाली डाक्टरको भन्दा उसको वजन बढी हुन्छ । त्यही कारणले गर्दा सिनेमा मात्र हैन विकास र राजनीतिमा समेत पनि उनीहरुकै मुख ताक्ने बानी हामीलाई लागिसकेको छ जुन असाध्यै खतरनाक रोग हो । विदेशी नभै विकास हुँदैन, विदेशी नभै शान्ति समन्वय हुँदैन, विदेशी नभै सरकार गठन हुँदैन, विदेशी नभै सम्विधान बन्दैन भन्ने दिग्भ्रमित मानसिकतालाई हटाउनु हाम्रो पहिलो आवश्यकता हो । हामी आफैमा सवल छौं र सक्षम छौं भन्ने आत्मविश्वास हामीले पैदा गर्नु पर्छ ।

Sunday, January 16, 2011

थुक महात्म्य

बायाँ फन्को ५०

हुन त आजकल मानिसहरुको बीच विवाद, झैझगडा, भनाभन र कुटाकुट भैरहेको देख्नु भनेको खासै कुनै ठूलो कुरो त होइन । साधारण भन्दा साधारण कुराहरुमा पनि एकआर्कामाथि जाइलाग्ने र सक्नेले आफूभन्दा निर्धोलाई ठटाउने भनेको दालभात खाए जस्तै साधारण भैसकेको छ । केही दिन अघि वीर नेपालीका यस्तै एउटा पौरुषताको प्रत्यक्षदर्शी हुन पाइयो । तर यसपटक कुरा त्यति साधारण चाहिँ थिएन । अगाडि गइरहेको एउटा चारपांग्रे सवारी साधन चालकले झ्यालबाट बाहिर थुकिदिएछन् । त्यो थुकका छिटाहरु पछाडि मोटरसाइकलमा आइरहेका एकजना उच्च रक्तचाप भएका मोटरसाइकल चालकको अनुहारमा बर्सिएछ । अनि त के चाहियो र, मोटरसाइकलवालाले कारवालालाई लखेटेर तिनको गालामा एक बाघझापु लगाइदिएछन् । कारवालाको अहंलाई यो कुरा स्वीकार्य हुने कुरै आएन । तीस लाखको सवारी साधनमा हिंड्नेलाई डेढ लाखको मोटरसाइकल चढ्नेले हात हाल्ने ? दुबैको बीचमा मल्लयुद्ध चल्न थालिहाल्यो ।
यस्ता किसिमका घटनाहरु दिनहुँ नै भै रहेका हुन्छन् । एउटा उदेक लाग्दो कुरा के हो भने, हामी किन यति धेरै थुक्छौं ? बाटोमा हिंड्दा, सवारी साधनमा यात्रा गर्दा, कसैसंग कुराकानी गरिरहँदा हरेक बेला हरेक ठाउँमा पिच्चपिच थुक्ने हाम्रो बानी नै भैसकेको जस्तो लाग्छ । बाटोमा कुनै दिन हेक्का गर्नुस् त, जताततै कोही न कोही थुकिरहेका देखिन्छन् । यदि कोही कसैलाई कुरिरहेको छ भने त समय कटाउने सबै भन्दा राम्रो उपाय यही नै हो भने जस्तो गरि थुकिरहेका हुन्छन् मानिसहरु । काम केही नभएर झर्को लाग्यो भनेर पनि छिनछिनमा थुकि नै रहेका हुन्छन् मान्छेहरु ।
शरीर विज्ञानका अनुसार खाना पचाउने प्रारम्भिक प्रकृयामा प्रयोग गर्नका लागि मान्छेमा थुकको उत्पादन हुन्छ । दाँतका अन्तरकुन्तरमा अड्केका खानाका कणहरुलाई पखालेर लैजानका लागि पनि थुक उत्पादन हुन्छ जसले गर्दा व्याक्टेरियाहरु पैदा भएर संक्रमण गर्न पाउँदैनन् । त्यस बाहेक थुकले दाँत, जिब्रो, गिजा र मुख भित्रका सानासाना मांशपेशीहरुलाई आवश्यक पर्ने आद्र्रता पनि प्रदान गर्छ । खानाको सही स्वाद जिब्रोलाई चखाउनका लागि पनि यसले आवश्यक भूमिका निर्वाह गर्छ । मानिस र अन्य सबैजसो स्तनधारी जीवहरुमा थुक उत्पादन हुन्छ । साधारणतया एउटा मान्छेको मुखबाट दैनिक रुपमा पौने देखि डेढ लिटर थुक बन्ने गर्छ । शरीरका लागि माथि उल्लेखित उपयोगिताका लागि प्रकृतिले यो प्रकृया बनाइदिएको हो । यसको महत्व के हो भन्ने कुरा चाहिँ मानिसलाई मात्र थाहा छ किनभने मानिस मात्र विवेकशील प्राणी हो तर पनि मानिसले नै यसलाई जताततै पिच्चपिच्च थुकेर खेर फाल्छ । विवकहीन अरु प्राणीले हामीले जस्तै कहिले कतै थुकेको देख्नुभएको छ ? आफ्नो शरीरमा यसले गर्ने फाइदाबाट आफू वञ्चित हुने, वरिपरिका वातावरणलाई फोहोर बनाउने, बेलाबेला अरुमाथि परेर झैझगडा पनि हुने काममा यसको दुरुपयोग हामी किन गर्छौं ? नजानिंदो गरि थुक्ने हाम्रो बानी भैसकेको छ । यसलाई हामीले नियन्त्रण गर्नु जरुरी छ जस्तो लाग्दैन ?
यति धेरै गुणहरु भएको यो रासायनिक उत्पादनलाई हामीले अवमूयाङ्कन गर्ने गरेका छौं । थुक र थुक्नुलाई नकारात्मक प्रतीकका रुपमा विकसित गरेका छौं । कसैलाई हेप्नु, होच्याउनु वा हकार्नु पर्दा हामी थुक्कः भन्छौं । कसै प्रति असीम घृणा प्रकट गर्नु पर्दा हामी त्यस प्रति लक्षित गरेर थुक्छौं । कसैको मूर्खतालाई धिक्कार्नुपर्दा पनि हामी यही गुणकारी तत्वको नाम उच्चारण गर्छौं । आफूले गरेका गलतीका प्रायश्चित गर्न पर्दा पनि हामी यही थुकलाई प्रयेग गर्छौं । शरीर भित्र रहेर हाम्रो फाइदाका लागि काम गर्ने यो कुरालाई हामी बाहिर पु¥याएर नाश गर्छौं । अरु धेरै कुराहरुमा जस्तै यसमा पनि हामी गलत बानी र गलत सोचका सिकार भएका हुन्छौं । त्यसैले अर्को पटक बाटोमा थुक्नु अघि यी सबै कुराहरुलाई मनन गर्न सक्यौं भने त्यसको फाइदा नै फाइदा मात्रै हुन्छ हामीलाई ।
होइन, यो कुरालाई नमान्ने हो र यसै गरि थुक्नै पर्ने हो भने पनि थुकलाई त्यसै खेर नफालौं । असन्तुष्टि, आक्रोश, विरोध र धिक्कारका लागि नै यसलाई प्रयोग गर्ने हो भने कहाँ र कहिले भनेर निर्धारण गरौं । बाटोमा, सार्वजनिक स्थानहरुमा फोहोर नगरि त्यसलाई साँचेर राखौं । जनताका आकांक्षा र अपेक्षालाई पाखा तिर लफण्ड्याएर आफ्नै स्वार्थका लागि सिंगै देशलाई भड्खालोमा हाल्ने लाजशरम नभएका नेताजन्य पदार्थहरुलाई देखेको बेला मात्रै यसको प्रयोग गरौं । संविधान बनाउने नाममा हामीले तिरेका करहरुको भत्ता भन्दै हाम्रो रगत पसीना चुस्ने परजीविहरु जम्मा हुने संविधान सभा भवन अगाडिबाट हिंड्ने बेला त्यसको सदुपयोग गरौं । भ्रष्टाचार, कमिसन र घूसखोरीको नाङ्गो नाच देखाएर पनि एक रत्ति आत्मग्लानि नहुने निर्लज्जहरुलाई देखेको बेला यसलाई पिच्च पारौं । सानालाई ऐन र ठूलालाई चैन भन्ने उखानलाई चरितार्थ गर्दै पहुँचवालाहरुलाई कारवाही गर्न नसक्ने प्रशासनको लागि यसको उपहार चढाऔं । जनताका अत्यावश्यक कामलाई ठप्प पार्ने गरि ट्राफिक रोकेर झण्डा फर्फराउँदै के के न बित्ला जस्तो गरि गुडिरहेका सरकारी गाडीहरुलाई देख्दा यसलाई बाहिर निकालौं ।  अनि सबैभन्दा त बिच्छी हुन्, ठुंग्छन् भन्ने थाहा हुँदाहुँदै पनि ती बिच्छीहरुलाई घरिघरि पानीबाट निकालिरहने हाम्रो आफ्नै उदार आनीबानीको लागि पनि यसको सदुपयोग गरौं ।

Monday, January 3, 2011

2010 in review

The stats helper monkeys at WordPress.com mulled over how this blog did in 2010, and here's a high level summary of its overall blog health:



Healthy blog!


The Blog-Health-o-Meter™ reads This blog is doing awesome!.



Crunchy numbers







Featured image

A helper monkey made this abstract painting, inspired by your stats.



A Boeing 747-400 passenger jet can hold 416 passengers. This blog was viewed about 3,100 times in 2010. That's about 7 full 747s.



In 2010, there were 11 new posts, growing the total archive of this blog to 119 posts.



The busiest day of the year was November 22nd with 61 views. The most popular post that day was बायाँ फन्को- नेपाल पत्रिकाको मेरो स्तम्भ.




Where did they come from?



The top referring sites in 2010 were facebook.com, chapagain.blogspot.com, mysansar.com, jaditdeepak.blogspot.com, and search.conduit.com.


Some visitors came searching, mostly for jagdish ghimire, brajesh khanal, brazesh khanal, mani lohani, and एउटा.







Attractions in 2010


These are the posts and pages that got the most views in 2010.




1

बायाँ फन्को- नेपाल पत्रिकाको मेरो स्तम्भ February 2009

2

My CV May 2008
13 comments

3

After reading Jagdish Ghimire's much hyped book September 2008
8 comments

4

Shanti didi and Dilip sir September 2008
4 comments

5

कविता र गीतहरू June 2008

Sunday, January 2, 2011

स्वसम्मानको बाटो

बायाँ फन्को ४९
एक जना परिचितले आफ्नो अफीस खोलेर बोलाएको धेरै भैसकेको थियो । कहिले उनलाई नमिलेर, कहिले आफूले नभ्याएर जान पाइएको थिएन । एक दिन साइत पारेर त्यहाँ गइयो । नयाँनयाँ अफीस भएकोले उनले दिएको मार्ग निर्देशनलाई पच्छ्याउँदै जाँदा एक घण्टा भन्दा बढी यता र उता भौंतारिन प¥यो । दूरसंचारको फोन भन्या बेला नलाग्नाले पनि सुनमा सुगन्धको काम ग¥यो । अन्ततः त्यो क्षेत्रको कुनाकाप्चा खोजेर कोलम्वसले अमेरिका पत्ता लगाए भन्दा गाह्रो गरेर गन्तव्यमा पुगियो । उनको अफीस जानका लागि मुल बाटोबाट जहाँ निर बायाँ फन्को मार्नु पर्ने हो, त्यो मार्गको नाम पोखरेल मार्ग रहेछ । मूलबाटोमै बिजुलीको खम्बामा भंगेरा मार्ने जत्रा अक्षरमा त्यो मार्गको नाम पनि लेखिएको थियो । त्यो थाहा नभएकोले त्यही बाटो चारपाँच पटक ओहोरदोहोर गर्नु प¥यो । पन्ध्रबीसवटा पसलमा रोकेर सोध्नु प¥यो । यदि ती मित्रले त्यहाँ भित्र भनिदिएका भए निकै समय वचत हुन्थ्यो । यही कुरा तिनलाई भन्दा तिनले अचम्मको कुरा गरे । त्यहाँ पहिले घर बनाएका कारण पोखरेल थरका मान्छेले मार्गको न्वारान गरेका रहेछन् । पछि बनेका अरु आठदश घरले त्यसैलाई निरन्तरता दिएका कारण त्यो बाटो पोखरेल मार्गका नामले नै स्थापित र प्रचलित भएको रहेछ । तर मेरा ती मित्रलाई कुनै मान्छेले उसको व्यक्तिगत थरविशेषका लागि बनाएको मार्गबाट आफ्नो अफीसको परिचय दिन मन लाग्दैनरहेछ । त्यो कुरा उनको अहंलाई स्वीकार्य नहुने कारण उनी त्यो मार्गको नामै उल्लेख नगर्दा रहेछन् । भलै त्यसका कारण फेला पार्ने मान्छेहरुलाई अलि गाह्रो किन नहोस् । केही बेर उनको यो अहंले गर्दा अनाहकमा आफूले खाएको हण्डर सम्झेर झोक पनि चलेर आयो । त्यो उनको अहंको अतिवाद हो भन्ने लाग्दालाग्दै पनि त्यसको अर्को ध्ुव पनि केलाउनै पर्ने कुरा हो भन्ने ठहर भयो ।
गहिरिएर सोच्दा यस प्रसंगका अरु पाटाहरु पनि देखिन थाले । सर्वप्रथम त कुनै पनि ठाउँ, मार्ग, चोक वा टोलको नाम किन र कसरी प्रचलित हुन्छ भन्ने कुरा हो । कुनै मार्गको नाम भनेको त्यसको ठेगानाको एउटा भाग मानिन्छ । कुनै पनि मानिसलाई चाहेको ठाउँ, घर वा कार्यालयमा पुग्न सजिलो होस् भन्ने त्यसको मूल उद्देश्य हो । विश्वव्यापी रुपमा तिनै कुरालाई ध्यानमा राखेर ठाउँहरुका न्वारान गरिन्छ । यस्तो बेलामा केही आधारभूत कुराहरुलाई समेटिएको पाइन्छ । नामको पछाडि ऐतिहासिक, धार्मिक, सामाजिक वा साँस्कृतिक आधारहरु हुने गर्छन् । कुनै पनि ठाउँको नामले त्यहाँको कुनै न कुनै रुपमा चिनारी बोकेको हुनुपर्छ । भलै बोलीचालीको सहजताले हारती वनलाई हात्ती वन बनाओस् अथवा  लजिंग अपार्टमेण्ट्स कालान्तरमा गएर लाजिम्पाट बन्न पुगोस्, तर त्यसको कुनै आफ्नै विशिष्टता रहि नै रहेको हुन्छ । साँस्कृतिक धरोहर, प्राकृतिक विशिष्टता वा कुनै स्मारकका नाममा त्यहाँको परिचय बनाउने काम संसारभरि प्रचलित हो ।
कुनै व्यक्तिको नाममा मार्ग वा स्थानको नाम राख्नु भनेको त्यो मानिसको सम्मान गर्नु हो । त्यसका लागि त्यो मान्छेको समाज, राष्ट्र वा त्यस क्षेत्रको लागि कुनै विशेष योगदान गरेको हुनुपर्छ । अथवा त्यस स्थानमा जन्मेको कुनै मान्छेले विशिष्ट कार्य गरेर आफ्नो पहिचान बनाएको हुनुपर्छ । यस अर्थमा कसैको नाममा मार्ग वा चोक बनाउनु भनेको उसको लागि गरिने उच्च सम्मान हो । अमेरिकामा लिंकन, रुसवेल्ट, फिलमोर, जिम्मी कार्टर, रेगन र फोर्ड जस्ता पूर्व राष्ट्रपतिहरुका नाममा सडकहरुको नामाकरण भएका छन् । भारतको कुरा गर्ने हो भने पनि भुलाभाइ देसाई, अम्बेडकर, डा. एनी विसन्ट जस्ता चर्चित हस्तीहरुका नाममा मार्गहरु समर्पित गरिएका छन् । पटनामा विपी कोइराला मार्ग देख्न पाइन्छ । हाम्रै देशमा पनि विभिन्न कालखण्डका शासकहरुका नाममा बाहेक अरु चर्चित मानिसका कुरा गर्दा अहिलेको समयमा नारायणगोपालको नाममा, पासाङ्ग ल्हामुको नाममा मार्ग र चोकका न्वारान गरिनु यसैको एउटा उदाहरण हो । तर बढ्दो अनियन्त्रित निर्माण र शहरीकरणका कारण काठमाण्डौका कुनाकाप्चामा कतिवटा चोक र मार्गहरु दिनदिनै बनिरहेका हुन्छन् भन्ने कुराको कुनै लेखाजोखा कसैसंग छैन । यसैसंग मनलाग्दो गरि मार्ग र चोकका नामहरु राख्ने प्रचलनले पनि प्रश्रय पाइरहेको देखिन्छ ।
अहिले त कतिसम्म भएको छ भने कुनै एउटा थुम्को वा सानो मन्दिर जस्तो संरचना बनाएर मान्छेहरुले भगवानको समेत न्वारान गर्न थालेका छन् । एउटा कुनै नामको पछाडि ईश्वर प्रत्यय लगाइदिएपछि पहिले कहिले नसुनिएको नयाँ भगवानको नाम बन्छ । सन्तानेश्वर, कारेश्वर जस्ता भगवानहरु पछि गएर उत्पन्न भएका हुन् । भगवानको नामबाट बनाइएका चोक र गल्लीलाई कसैले नकार्न पनि मिल्दैन । त्यतिसम्म पनि लौ त भनौं भने पचाउन सकिएला तर व्यक्तिगत रुपमा समेत नाम र थरहरु प्रयोग बाटाघाटाका परिचयका लागि प्रयोग हुने गर्छन् । हचुवाको भरमा राखिने नामहरुले ती मान्छेका पहिचानलाई त स्थापित गर्छ तर समग्रमा त्यो स्थानको लागि त्यसले के योगदान गर्छ भन्ने कुरा सोच्नु पर्छ । त्यस किसिमका सम्मान आफैले आफैलाई भिराउन मानिसहरुलाई छुट छ कि छैन भन्ने कुरा पनि मननयोग्य छ ।
यसलाई अनुगमन र नियन्त्रण गर्नु कसको जिम्मेवारीको क्षेत्रमा पर्छ भन्ने कुरा पनि थाहा छैन । तर, यसै गरि मनलाग्दी बाटो र चोकका नामहरु राख्न छुट पाइरहने हो भने एक दिन कुनै पुरानो हिन्दी सिनेमाको एउटा फण्टुस गीतले भने जस्तो ठेगाना खोज्न हिंड्न नपर्ला भन्न सकिंदैन,
“रुप महल प्रेम गली खोली नम्वर चार सौ बीस ।”