Translate

Sunday, January 2, 2011

स्वसम्मानको बाटो

बायाँ फन्को ४९
एक जना परिचितले आफ्नो अफीस खोलेर बोलाएको धेरै भैसकेको थियो । कहिले उनलाई नमिलेर, कहिले आफूले नभ्याएर जान पाइएको थिएन । एक दिन साइत पारेर त्यहाँ गइयो । नयाँनयाँ अफीस भएकोले उनले दिएको मार्ग निर्देशनलाई पच्छ्याउँदै जाँदा एक घण्टा भन्दा बढी यता र उता भौंतारिन प¥यो । दूरसंचारको फोन भन्या बेला नलाग्नाले पनि सुनमा सुगन्धको काम ग¥यो । अन्ततः त्यो क्षेत्रको कुनाकाप्चा खोजेर कोलम्वसले अमेरिका पत्ता लगाए भन्दा गाह्रो गरेर गन्तव्यमा पुगियो । उनको अफीस जानका लागि मुल बाटोबाट जहाँ निर बायाँ फन्को मार्नु पर्ने हो, त्यो मार्गको नाम पोखरेल मार्ग रहेछ । मूलबाटोमै बिजुलीको खम्बामा भंगेरा मार्ने जत्रा अक्षरमा त्यो मार्गको नाम पनि लेखिएको थियो । त्यो थाहा नभएकोले त्यही बाटो चारपाँच पटक ओहोरदोहोर गर्नु प¥यो । पन्ध्रबीसवटा पसलमा रोकेर सोध्नु प¥यो । यदि ती मित्रले त्यहाँ भित्र भनिदिएका भए निकै समय वचत हुन्थ्यो । यही कुरा तिनलाई भन्दा तिनले अचम्मको कुरा गरे । त्यहाँ पहिले घर बनाएका कारण पोखरेल थरका मान्छेले मार्गको न्वारान गरेका रहेछन् । पछि बनेका अरु आठदश घरले त्यसैलाई निरन्तरता दिएका कारण त्यो बाटो पोखरेल मार्गका नामले नै स्थापित र प्रचलित भएको रहेछ । तर मेरा ती मित्रलाई कुनै मान्छेले उसको व्यक्तिगत थरविशेषका लागि बनाएको मार्गबाट आफ्नो अफीसको परिचय दिन मन लाग्दैनरहेछ । त्यो कुरा उनको अहंलाई स्वीकार्य नहुने कारण उनी त्यो मार्गको नामै उल्लेख नगर्दा रहेछन् । भलै त्यसका कारण फेला पार्ने मान्छेहरुलाई अलि गाह्रो किन नहोस् । केही बेर उनको यो अहंले गर्दा अनाहकमा आफूले खाएको हण्डर सम्झेर झोक पनि चलेर आयो । त्यो उनको अहंको अतिवाद हो भन्ने लाग्दालाग्दै पनि त्यसको अर्को ध्ुव पनि केलाउनै पर्ने कुरा हो भन्ने ठहर भयो ।
गहिरिएर सोच्दा यस प्रसंगका अरु पाटाहरु पनि देखिन थाले । सर्वप्रथम त कुनै पनि ठाउँ, मार्ग, चोक वा टोलको नाम किन र कसरी प्रचलित हुन्छ भन्ने कुरा हो । कुनै मार्गको नाम भनेको त्यसको ठेगानाको एउटा भाग मानिन्छ । कुनै पनि मानिसलाई चाहेको ठाउँ, घर वा कार्यालयमा पुग्न सजिलो होस् भन्ने त्यसको मूल उद्देश्य हो । विश्वव्यापी रुपमा तिनै कुरालाई ध्यानमा राखेर ठाउँहरुका न्वारान गरिन्छ । यस्तो बेलामा केही आधारभूत कुराहरुलाई समेटिएको पाइन्छ । नामको पछाडि ऐतिहासिक, धार्मिक, सामाजिक वा साँस्कृतिक आधारहरु हुने गर्छन् । कुनै पनि ठाउँको नामले त्यहाँको कुनै न कुनै रुपमा चिनारी बोकेको हुनुपर्छ । भलै बोलीचालीको सहजताले हारती वनलाई हात्ती वन बनाओस् अथवा  लजिंग अपार्टमेण्ट्स कालान्तरमा गएर लाजिम्पाट बन्न पुगोस्, तर त्यसको कुनै आफ्नै विशिष्टता रहि नै रहेको हुन्छ । साँस्कृतिक धरोहर, प्राकृतिक विशिष्टता वा कुनै स्मारकका नाममा त्यहाँको परिचय बनाउने काम संसारभरि प्रचलित हो ।
कुनै व्यक्तिको नाममा मार्ग वा स्थानको नाम राख्नु भनेको त्यो मानिसको सम्मान गर्नु हो । त्यसका लागि त्यो मान्छेको समाज, राष्ट्र वा त्यस क्षेत्रको लागि कुनै विशेष योगदान गरेको हुनुपर्छ । अथवा त्यस स्थानमा जन्मेको कुनै मान्छेले विशिष्ट कार्य गरेर आफ्नो पहिचान बनाएको हुनुपर्छ । यस अर्थमा कसैको नाममा मार्ग वा चोक बनाउनु भनेको उसको लागि गरिने उच्च सम्मान हो । अमेरिकामा लिंकन, रुसवेल्ट, फिलमोर, जिम्मी कार्टर, रेगन र फोर्ड जस्ता पूर्व राष्ट्रपतिहरुका नाममा सडकहरुको नामाकरण भएका छन् । भारतको कुरा गर्ने हो भने पनि भुलाभाइ देसाई, अम्बेडकर, डा. एनी विसन्ट जस्ता चर्चित हस्तीहरुका नाममा मार्गहरु समर्पित गरिएका छन् । पटनामा विपी कोइराला मार्ग देख्न पाइन्छ । हाम्रै देशमा पनि विभिन्न कालखण्डका शासकहरुका नाममा बाहेक अरु चर्चित मानिसका कुरा गर्दा अहिलेको समयमा नारायणगोपालको नाममा, पासाङ्ग ल्हामुको नाममा मार्ग र चोकका न्वारान गरिनु यसैको एउटा उदाहरण हो । तर बढ्दो अनियन्त्रित निर्माण र शहरीकरणका कारण काठमाण्डौका कुनाकाप्चामा कतिवटा चोक र मार्गहरु दिनदिनै बनिरहेका हुन्छन् भन्ने कुराको कुनै लेखाजोखा कसैसंग छैन । यसैसंग मनलाग्दो गरि मार्ग र चोकका नामहरु राख्ने प्रचलनले पनि प्रश्रय पाइरहेको देखिन्छ ।
अहिले त कतिसम्म भएको छ भने कुनै एउटा थुम्को वा सानो मन्दिर जस्तो संरचना बनाएर मान्छेहरुले भगवानको समेत न्वारान गर्न थालेका छन् । एउटा कुनै नामको पछाडि ईश्वर प्रत्यय लगाइदिएपछि पहिले कहिले नसुनिएको नयाँ भगवानको नाम बन्छ । सन्तानेश्वर, कारेश्वर जस्ता भगवानहरु पछि गएर उत्पन्न भएका हुन् । भगवानको नामबाट बनाइएका चोक र गल्लीलाई कसैले नकार्न पनि मिल्दैन । त्यतिसम्म पनि लौ त भनौं भने पचाउन सकिएला तर व्यक्तिगत रुपमा समेत नाम र थरहरु प्रयोग बाटाघाटाका परिचयका लागि प्रयोग हुने गर्छन् । हचुवाको भरमा राखिने नामहरुले ती मान्छेका पहिचानलाई त स्थापित गर्छ तर समग्रमा त्यो स्थानको लागि त्यसले के योगदान गर्छ भन्ने कुरा सोच्नु पर्छ । त्यस किसिमका सम्मान आफैले आफैलाई भिराउन मानिसहरुलाई छुट छ कि छैन भन्ने कुरा पनि मननयोग्य छ ।
यसलाई अनुगमन र नियन्त्रण गर्नु कसको जिम्मेवारीको क्षेत्रमा पर्छ भन्ने कुरा पनि थाहा छैन । तर, यसै गरि मनलाग्दी बाटो र चोकका नामहरु राख्न छुट पाइरहने हो भने एक दिन कुनै पुरानो हिन्दी सिनेमाको एउटा फण्टुस गीतले भने जस्तो ठेगाना खोज्न हिंड्न नपर्ला भन्न सकिंदैन,
“रुप महल प्रेम गली खोली नम्वर चार सौ बीस ।”


प्रतिक्रिया:

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment