Translate

Sunday, February 13, 2011

तमसो मा ज्योतिर्गमय (कुरा उज्यालोको)

बायाँ फन्को ५२

संस्मरण हुने बेलादेखि नै, अलिअलि कुरा बुझ्न थाले देखि नै अनि चेतनाको पाटो अलिअलि गरेर उघ्रन थाले देखि नै सुनिएको र पढिएको हो यो श्लोक ।
तमसो मा ज्योतिर्गमय ।
जीवनबाट अन्धकारलाई निमिट्यान्न पारेर उज्यालोका किरणहरु छरिउन्, अँध्यारोबाट उज्यालो तिर पाइला चाल्न पाइयोस् भन्ने भाव बोकेको यो श्लोक शायद हामी सबैले बुझ्ने संस्कृतका थोरै श्लोकहरु मध्ये एउटा हुन सक्छ । प्रश्न बुझ्नु र नबुझ्नु भन्दा पनि त्यसलाई आफूले कुन रुपमा आत्मसात गरेको छ भन्ने बढी महत्वपूर्ण हो । उज्यालो निश्चय नै पनि अँध्यारो भन्दा प्यारो कुरा हो । किन भने अँध्यारो एउटा राक्षस हो जसले आफ्ना वरिपरिका सबै कुरालाई कप्लक्कै निलिदिन्छ । अँध्यारोले सृष्टिको सिर्जना, त्यसको सुन्दरता, मानिसका उपलव्धि र सबै सकारात्मक कुराहरुलाई छोपिदिन्छ, ढाकिदिन्छ । अनि अँध्यारोले त्रास, सन्देह र भ्रम जस्ता नकारात्मक कुराहरु उत्पन्न गरिदिन्छ । अँध्यारोले मानिसलाई गतिहीन, दिशाबिहीन गन्तव्यरहित बनाइदिन्छ । अरुको त कुरा नै छोडौं, अँध्यारामा मानिसले आफ्नै अनुहार पनि देख्दैन, आफैलाई पनि चिन्दैन । त्यसैले सृष्टिको सुरुआत देखि नै अँध्यारोको विरुद्ध मान्छे लड्न थालेको हुनुपर्छ । उज्यालोले ऊर्जा दिन्छ, दृष्टि दिन्छ, बाटो दिन्छ, गन्तव्य दिन्छ र त्यसमा पुग्ने प्रेरणा पनि दिन्छ ।
अँध्यारो र उज्यालोको मितेरी संसार बने देखिको हो र यो अपरिवर्तनीय कुरा हो । एउटा निश्चित अवधि पछि अन्धकारलाई प्रकाशले लखेट्छ । अँध्यारोमा आत्तिने मानिसले सोच्नु पर्ने कुरा के हो भने, जतिसुकै गाढा र अथाह अन्धकारलाई पनि उज्यालोको एउटा सानो भन्दा सानो किरणले भगाउने सामथ्र्य राख्दछ । रात जति बाक्लिंदै जान्छ, बिहान त्यति नै नजीक छ भन्ने कुराको द्योतक पनि त्यही नै हुन्छ । कुनै पनि रात वा कुनै पनि अन्धकारको निश्चित आयु हुन्छ । त्यो बुझ्दाबुझ्दै पनि आफ्नो साम्राज्य रहुन्जेल आफूलाई अनन्त, अपरिवर्तनीय र विकल्परहित ठान्ने भूल चाहिँ हरेक अँध्यारोले गरिरहन्छ । उसको त्यो भ्रम क्षणिक हो भन्ने जान्दाजान्दै पनि अँध्यारोले आफ्नो दम्भ भने छोड्दैन । बिचरा अँध्यारो ।
प्रकृतिका हरेक कुरा जस्तै रातको अँध्यारो र दिनको उज्यालोको लुकामारी पनि अनुशासित र नियमवद्ध छ । तर, त्यस बाहेक अरु थुप्रै अँध्याराहरु पनि हुन्छन् । ज्ञानको, चेतनाको, विवेकको, दृष्टिकोणको, व्यवहारको, मानसिकताको र चेतनाका अँध्याराहरु रातको अँध्यारो भन्दा डरलाग्दा र भयावह अँध्याराहरु हुन् । यी अँध्याराहरु किन बढी खतरनाक हुन्छन् भने, यिनका कुनै गति वा समयसीमा हुँदैनन् । यिनलाई चिर्ने उज्यालो रातलाई चिर्ने बिहान जस्तो निश्चित समयमा आउँदैन । यो उज्यालो आफै पनि उत्पन्न हुँदैन । यसलाई आफैले बोलाउनुपर्छ, ल्याउन सक्नुपर्छ । त्यसको लागि आफू अँध्यारोमा भएको कुरा मानिसले थाहा पाउनुपर्छ । तर, यस्ता अँध्याराहरुको सबैभन्दा डरलाग्दो पक्ष धनेको नै के हो भने, मानिसलाई त्यो आत्मवोध हुन त्यसले दिंदैन । यहाँ नेर बिर्सन नहुने कुरा चाहिँ के हो भने, अँध्यारो हजार वर्षको भए पनि, उज्यालोका लागि हजारौं वर्ष लाग्दैन र निमेष भरमै त्यो आउन सक्छ । हो, तर त्यसका लागि विचारले, बोलीले र कर्मले त्यसका लागि प्रयत्न भने गर्नुपर्छ ।
तमसो मा ज्योतिर्गमय ।
हामी पनि अहिले निशाचर हुन बाध्य भएका छौं । हामी अँध्यारोमा रुमल्लिएका छौं । यो एक प्रकारको अँध्यारो नै हो जसले हाम्रो यात्रामा अवरोध उत्पन्न गरेको छ । हामी दिग्भ्रमित भएका छौं । एउटा कालरात्रिको अन्त्य पश्चात हामीले पाएको उज्यालोको किरणहरुलाई हाम्रै विवेक, चेतना र मानसिकताको अँध्यारोले ढाकिदिएको छ । यो समय भन्दा पहिले आएको अँध्यारोलाई हामीले नै निम्त्याएका हौं र यसलाई हामीले नै भगाउन पर्छ ।  त्यसका लागि सबैभन्दा पहिलो कुरो, हामीले यो अँध्यारोलाई देख्न सक्नुपर्छ । यसको अस्तित्वलाई यदि नदेखेको जस्तो गरेर बस्यौं भने हामी यसै भित्र हराउन सक्छौं । अँध्यारोले निराशावादी बनाउन खोजेको हाम्रो मानसिकतालाई हामीले आशावाद तिर धकेल्नु आजको हाम्रो पहिलो आवश्यकता हो । किनभने, निराश मानिसले समस्याबाट क्षणिक मुक्ति पाउनका लागि दीर्घकालीन असरहरु नसोचेर निर्णय गर्न सक्छ । त्यसैले हतास नभै हामले आफूलाई संयमित राख्नु जरुरी छ । आजको हाम्रो आवश्यकता भनेको अरुका लागि अवरोधहरु सिर्जना गर्नु होइन । अरुका बाटोहरु बन्द गर्ने तिर आफ्नो ऊर्जा खर्चन थाल्यौं भने हामीले आफ्नै बाटो पहिल्याउन सक्दैनौं । अप्ठ्यारो खडा गर्न भन्दा सजिलो बनिदिन धेरै सजिलो हुन्छ । आशावादी हुनु भनेको चराले टाउकामा विष्ट्याएर गयो भने कसो हात्तीहरु उड्न सक्दैनन् तै भनेर चित्त बुझाउन सक्नु होे । हामीलाई अहिले चाहिएको त्यही स्तरको आशावादी सोच हो ।
हाम्रो वरिपरिका हरेक क्षेत्रमा अहिलेको अवस्थामा अँध्यारो छाएको देखिन्छ । राजनीति, अर्थ, वाणिज्य, कला, मानिसमानिस बीचका सम्वन्धहरु, न्याय, कानून, सहिष्णुता र सद्भाव कुनै पनि कुरा यो अन्धकारबाट अछूतो रहेको छैन । त्यसको अर्थ हामी अहिले एउटा अँध्यारो सुरुङभित्र छिरेका छौं । हरेक सुरुङको प्रवेश जस्तै निस्कने एउटा अर्को छेउ पनि हुन्छ । लामो सुरुङ हो भने निकास अलि धेरै पर हुन सक्छ । तर, निकास नभएको कुनै सुरुङ हुँदैन । त्यो निकास, त्यो उज्यालोको किरण एउटा सानो सेतो विन्दुको रुपमा अगाडि कतै देखिन्छ । निरन्तर त्यो उज्यालोतर्फ अग्रसर हुने हो भने क्रमशः त्यसले बृहत रुप लिंदै जान्छ, अँध्यारो पछि छुट्दै जान्छ । 
हाम्रो आजको आवश्यकता वरिपरिको अँध्यारोमा रुमल्लिने होइन, अगाडिको उज्यालोलाई हेरेर त्यस तर्फ बढ्नु हो चाहे त्यो अहिले सियोको टुप्पो भन्दा सानो मात्र किन नदेखियोस् ।
तमसो मा ज्योतिर्गमय ।

प्रतिक्रिया:

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment