Translate

Sunday, February 27, 2011

डिलमेकर, आजको आवश्यकता

बायाँ फन्को ५३

बढ्दो बेरोजगारीका कारण युवा जनशक्ति भटाभट देश छोडेर परदेश तिर पलायन भैरहेको बेलामा नयाँ रोजगारीको अवसर सिर्जना भएको कुरा सुन्न पाउँदा अवश्य पनि खुसी लाग्नु पर्ने हो । तर, जुन प्रकारको रोजगारीको अवसर उत्पन्न भएको छ, त्यसले खुशी भन्दा बढी प्रश्न चिन्ह र संशय र चिन्ताका ढोकाहरु खोलिदिएको छ । साथै हामी कतातिर उन्मुख भैरहेका छौं, कस्तो समाजको सिर्जना भैरहेको छ भनेर फेरि एक पटक घोत्लिनु पर्ने बनाइदिएको छ । वीरगन्जका व्यापारीहरुले सिर्जना गरेको यो नयाँ रोजगारीको पछाडि उनीहरुको ईच्छा, देशको रोजगारी वृद्धि गर्ने अथवा बाहिर जाने जनशक्तिलाई आफ्नै देशमा राख्ने कुनै पुनीत लक्ष्य भने छैन । बरु यसको पछाडि ठूलो बामकला छ । बामकला अर्थात् बाध्यता, मजबूरी, कम्पल्सन र लाचारी । यी सबै शव्दहरुका एउटै अर्थ छ र त्यही अर्थले यो अनर्थको रोजगारी सिर्जना गरेको हो ।
चन्दा, सहयोग वा अन्य कुनै पनि नाममा धम्क्याएर रकम माग गर्ने अनगिन्ती समूहका फोन सुन्न, उनीहरुसंग मोलमोलाइ गर्न र सकेजति कम रकममा उम्क्याउन भूमिका खेल्ने यी कर्मचारीहरुलाई डिल अफीसर भनिन्छ रे । डिल अफीसर अर्थात कुरा मिलाउने अधिकृत । यी कर्मचारीहरुले अरु कुनै काम गर्दैनन्, मात्र व्यापारीहरुलाई आएका कुनै पनि अपरिचित नम्बरका फोनहरु उठाउँछन् र कुरा मिलाउँछन् । लाख माग्नेलाई हजारमा, हजार माग्नेलाई सयमा झार्न खप्पीस यी अधिकृतहरु मध्ये कसैकसैले त पाँचसय रुप्याँको रिचार्ज कार्डमा समेत कुरा मिलाएर व्यापारीहरुलाई मुक्ति दिलाएका छन् रे । व्यापारीहरु पनि दिनहुँ भनेजस्तो आइरहने धम्कीका कारण हुने मानसिक तनावबाट मुक्त भएर आरामले आफ्नो काममा खटिन पाउँछन् रे । शारीरिक रुपमा हुन सक्ने आक्रमणबाट बच्नका लागि रोजगारी दिइने शारीरिक रुपमा नै हृष्टपुष्ट मुस्टण्डेहरुलाई अंगरक्षक भन्ने हो भने कमाइमा हुन सक्ने आक्रमणबाट रक्षा गर्नका लागि जागीर दिइने यस्ता अफीसरहरुलाई द्रव्यरक्षक भन्न सकिन्छ । द्रव्यरक्षकहरुका लागि रोजगारी पैदा गर्नु पर्ने वाध्यता बास्तवमा नै चिन्ताको विषय हो । यसले हाम्रो अहिलेको अवस्था, सुरक्षाको कमी र अवान्छनीय तत्वहरुको खुला चलखेलको पोल खोल्छ । मानिसहरु सजिलो तरिकाले पैसा कमाउनका लागि पल्केका छन् भन्ने डरलाग्दो यथार्थलाई पनि यसले इङ्ति गरेको छ ।
धेरै अघिको पनि कुरा हैन, समाज यति सुरक्षित थियो, आधारातमा पनि बिहेवर्तमनको भोजभतेरबाट सुनका गहनाले ढपक्क ढाकिएका स्वास्नीमान्छेहरु यो सहरको एक कुनाबाट अर्को कुनासम्म हिंडेरै पनि जान सक्थे । तर आजकल भोजभतेरमा जाँदा सकेसम्म गहना नै नलगाउने, लगाउनै परे पनि नक्कली गहना मात्र प्रयोग गर्ने चलन आइसकेको छ । एक फोनको भरमा लाखौं कमाउन सकिन्छ भने किन दुख गर्ने, किन मेहेनत गर्ने भन्ने नकारात्मक शर्टकटको बानी मानिसहरुलाई लाग्न नदिनका लागि राज्य, प्रशासन र प्रहरी चनाखो हुनु पर्ने हो किनभने केही समस्या हातबाट उम्केपछि नियन्त्रण गर्न असम्भवप्राय हुन्छन् । तर राज्य, प्रशासन र प्रहरीको अवस्थाको बारेमा जति कम कुरा ग¥यो, त्यति नै राम्रो । एक रात नटिक्ने बूँदाहरुका भरमा प्रधानमन्त्री बन्नका लागि समीकरण हुने, हप्तौंसम्म विना विभागीय मन्त्रीहरु निर्लज्जतापूर्वक रहन सक्ने, आज बोलेका कुराहरुमा भोलिदेखि पछि हट्न सक्नेहरुले हाँकेको यो देशमा अरु के कस्ता तमाशाहरु हेर्नु पर्ने हो, कसैलाई पनि थाहा छैन । प्रहरी प्रशासनको काम भनेको पनि पाँच दिवसीय क्रिकेटमा भारतीय टीमको खेल जस्तो अकल्पनीय छ । एउटा हालसालैको उदेक लाग्दो उदाहरण यहाँ उल्लेख गर्नु उपयुक्त हुन्छ ।
लामो समयदेखि हराइरहेका लोकसेवा आयोगका दिपायल प्रमुखको खोजीका लागि एक जना स्वामीजीको सल्लाह लिन पुगेका प्रहरीलाई ती स्वामीले  हराइरहेका प्रमुख ज्यूँदै छन् भन्ने जानकारी दिए । त्यो जानकारी दिनु उनको लागि भालुको यस्तो कन्पट हुन पुग्यो, जुन न त छोड्न मिल्छ, न समातिरहन सम्भव छ । अनुसन्धानको लागि भविष्यवेत्ता, बाबाजी, स्वामीजी र ज्योतिषहरुको भर परेर हुने भए हरेक प्रहरी कार्यालयमा एकएक जना ज्योतिषहरु मात्र राखेर पात्रो हेरेर पुगिहाल्यो । प्रहरी भर्ना, तालीम र अनुसन्धानका लागि हुने खर्चको आधा भन्दा कम वजेटले काम पनि चल्छ ।
अहिलेको अवस्थामा सबै भन्दा चिन्ताजनक कुरा भनेको जनताले राज्यको उपस्थितिको अनुभूति गर्न नसक्नु हो । दण्डहीनताको अवस्थाले पीडितहरुलाई निराश बनाउने मात्र हैन पीडकहरुलाई थप बल दिने काम पनि गर्छ । कूटनैतिक राहदानी दुरुपयोग गर्ने, चोरीको गाडी चढ्ने, खुलेआम कानून मिच्ने सांसदहरु र बैंकको रिन पचाउने ठूला उद्योगपतिहरु र राजनीतिक संरक्षण प्राप्त चोरफटाहाहरुलाई कुनै कार्वाही हुन नसक्नुले, समाजमा कस्तो सन्देश प्रवाह गर्छ भन्ने  देशका ठेकेदारहरुले सोच्न सकेका छैनन् । सकून् पनि कसरी ? लघुकालीन समस्याहरु समाधान गर्नका लागि महीनौं, वर्षौं खेर फ्याल्न सक्नेहरुले दीर्घकालीन समस्याको पहिचान गर्न सक्लान् भनेर आशा गर्नु पनि अब त बेकार जस्तो लाग्न थालिसकेको छ ।
विवाद र असहमतिको भूमरीमा फसेर कहिल्यै कुनै कुराको निष्कर्षमा पुग्न नसक्ने नेपालको अहिलेको राजनीतिमा पनि वीरगञ्जका व्यापारीहरुले खोजेका जस्ता डिल मेकरहरुको ठूलो खाँचो देखिएको छ ।

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment