Translate

Sunday, March 27, 2011

मनका कम्प र मुटुका सुनामीहरु

बायाँ फन्को ५५

एउटा भनाइ छ, वास्तविकता भनेको परिकल्पना भन्दा उदेकलाग्दो र अनपत्यारिलो हुन सक्छ । गएको हप्ता एउटा त्यस्तै उदाहरणले हाम्रो सातो खायो । फेरि एक पटक प्रकृति जङ्गियो । बिना कुनै कारण, बिना कुनै सूचना र संकेत अचानक जापानमा गएको भूकम्प र त्यसलाई पच्छ्याएर आएको सुनामीले हजारौं मानिसको ज्यान लियो । थुप्रै मान्छेलाई आहत बनायो, घरवारविहीन बनायो । सिंगो विश्वका मानिसहरुले स्तव्ध र निस्सहाय भएर यो ताण्डव हेरे । कुनै विशेष प्रभाव र तकनीकीको माध्यमबाट बनाइएको सिनेमा हेरिरहे जस्तो लाग्ने गरी ठूलाठूला भवन, गाडी, हवाइजहाजहरु कागजका खेलौना जसरी यताबाट उता हुत्तिएका कहालीलाग्दा दृश्यहरु संचारमाध्यमहरुले प्रसारण गरे । यस अघि पनि बेलाबेला यस्ता अविश्वसनीय प्राकृतिक विपत्तिहरु नदेखिएका होइनन् । कहिले कहीं त सिनेमाले देखाएको भए वाहियात भनिने दृश्यहरु प्रकृतिले वास्तविकतामा हामीलाई देखाइदिन्छ । जसरी उपलव्धि र आविष्कारका लागि असम्भव भन्ने कुनै कुरा हुँदैन, त्यसरी नै विनाश र विपत्तिका लागि पनि केही असम्भव नहुँदो रहेछ ।
अघिल्लो हप्ताको त्रासदीले एउटा कटु यथार्थ हाम्रो अगाडि छर्लङ्ग पारिदिएको छ । प्रकृतिको सामु हामी कति निरीह र शक्तिहीन रहेछौं ।  हामीले हाम्रा उपलव्धि र विकासको जति नै ढ्याङ्ग्रो पिटे पनि, चन्द्रमा र ग्रहहरुसम्म पुगेको भनेर जति नै कुर्ले पनि, विज्ञान र आविष्कारको जति नै दम्भ गरे पनि प्रकृतिको सानो धक्कालाई पनि हामी थेग्न नसक्ने रहेछौं । पचास वर्ष पछिका लागि भनेर योजनाहरु बनाउने मान्छेले अर्को क्षण के हुँदैछ भनेर भेउ सम्म पनि नपाउने रहेछ ।  यस संसारमा सबैभन्दा अनिश्चित कुरा केही हो भने त्यो हाम्रो अस्तित्व रहेछ । त्यति हुँदाहुँदै पनि हामी आफूलाई अमर अजर छौं भन्ठान्छौं । आफूलाई अरु भन्दा महान र शक्तिशाली प्रमाणित गर्नका लागि निरन्तर काटमार गरिरहन्छौं । चाहे व्यक्ति होस्, चाहे समुदाय, वर्ग, समाज वा राष्ट्र सबैलाई आफ्नो प्रभुत्व र श्रेष्ठता स्थापित गर्नु छ । शिक्षा, ज्ञान, व्यापार, राजनीति, उद्योग लगायत हरेक कुरामा आफूलाई अरु भन्दा सफल बनाउनु छ ।
जापानमा विष्फोट भएर चुहिन थालेका आणविक केन्द्रहरुले सबैको सातो हरेका छन् । आणविक शक्तिका रुपमा आफूलाई उभ्याएर अरु राष्ट्रलाई थर्काउनुको औचित्य त्यतिबेला के रहन्छ जव त्यसका चुहिएका विकिरणले आफ्नै देशका जनताहरुको ज्यान जोखिममा पार्छ ? आउने थुप्रै पुस्ताहरुलाई शारीरिक रुपमा असक्षम र दुर्वल बनाउँछ ? तर पनि यस्ता हतियारहरु बनाएर बसेको छ मानिस, जसको प्रयोग भयो भने त्यसको परिणाम हेर्नका लागि कोही पनि बाँकी रहँदैन । त्यसको आविष्कार गर्नेहरु पनि । आफूलाई शक्तिशाली बनाउने नाममा अरु थुप्रै मानिसका ज्यान लिन, नरसंहार गर्न पछि नहट्ने मानिसलाई सद्दाम हुसेनको नियतिले पनि घच्घच्याउँदैन जो खेतको दूलोमा च्यापिएको धानचरी जसरी एउटा सानो खाल्टोमा पक्राउ परेका थिए । चाहे ठूला तानाशाह हुन् वा एउटा साधारण जोगी, दुइ मुठी सास चलुन्जेल मात्र तिनमा भिन्नता हो र अन्त्य सबैको एउटै हो भन्ने कुरा हामी बिर्सन्छौं । हामीले साम्राज्य नै खडा गरे पनि त्यो एक पलमा स्वाहा हुन सक्छ भन्ने कुरा हामी सबैलाई बेलाबेला प्रकृतिले देखाइरहन्छ, तर हामी आँखा चिम्लेर त्यसलाई नदेखेको भ्रममा बाँच्छौं । एक वित्ता जमीनका लागि  छरछिमेकसंग काटामार गर्न पछि नहट्ने मानिसलाई भूकम्प र सुनामीले सहरका सहरलाई धूलो बनाएको दृश्यहरुले एकपटक सोच्न पनि किन वाध्य बनाउँदैन ? कोही आफन्त वा मित्रको निधन भएर घाट गएको बेला पनि मानिस दार्शनिक बन्छ । सबैको बाटो यही हो भने किन मेरो र तेरो भनेर लड्ने, के का लागि रिसराग र वैरभाव पाल्ने भन्दै मानिस फर्कन्छ । तर, त्यसको एक घण्टा नबित्दै मानिस फेरि त्यही होडवाजीमा होम्मिन्छ । हामी किन कहिले पनि चेत्दैनौं ?
हामी आफैले कति मानिसका मुटुमा कम्प ल्याएका हुन्छौं, कति मानिसका मनमा सुनामी उत्पन्न गरेका हुन्छौं भन्ने कुराको लेखाजोखा हामी राख्दैनौं । मुटुमा हुने कम्पहरुले पनि त धाँजा फाटेका हुन्छन्, मनका छालहरुले पनि त मानिसलाई अस्तव्यस्त बनाएको हुन्छ । त्यो सबैलाई नदेखे झैं हामी आफ्नो त्यही अस्तित्वको लागि लड्छौं जुन अनिश्चित छ । त्यसैका लागि हामी स्वस्थ्य अस्वस्थ्य प्रतिस्पर्धा गर्छौं, अरुलाई मार्छौं, अरुको ठग्छौं, अरुलाई लुट्छौं, उक्लिनका लागि अरुका टाउकाहरु कुल्चन्छौं र आफ्नो प्रभुत्व जमाउनका लागि हजारौ अरु मानिसको ज्यान लिन पछि हट्दैनौं । किन गर्छौं हामी यो सब जव हाम्रो जति नै टूला उपलव्धिहरु पनि निमेषभरको झट्काले निमिट्यान्न हुन सक्छन् ।
हामी सबैको यो क्षणभङ्गुर जीवनका हरेक दिन, हरेक पल कसैको उधारो हुन सक्छ । जसले त्यो दिएको हो, कुनै पनि बेला त्यसलाई फिर्ता लिन सक्छ । विना कुनै सूचना वा म्याद, कुनै पनि तरिकाले उसले हामीबाट त्यो थुतेर लैजान सक्छ । त्यसैले यो त्रासदीबाट केही सिक्ने हो भने मानिसले आफ्नो हरेक दिनलाई एउटा सिंगो जीवन मानेर बाँच्न सिक्नुपर्छ । हरेक बिहान व्यूँझदाखेरि त्यसलाई आफ्नो जन्म भन्ने सोचेर उठ्ने हो, हरेक रात सुत्नु अघि त्यसलाई आफ्नो निधन भन्ने सोचेर निदाउने हो अनि हरेक दिन कम से कम एउटा सत्कर्म गर्ने, कम से कम एउटा अनुहारमा मुस्कान ल्याउन सक्ने हो भने मात्र हामीले प्रकृतिका सामु आफ्नो औकातलाई स्वीकारेको ठहरिन्छ । हामीले आफ्नो बारेमा पालेका भ्रमहरुबाट आफूलाई मुक्त गर्नै पर्छ, नगरी सुखै छैन ।

प्रतिक्रिया:

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment