Translate

Sunday, March 13, 2011

दिल्लीले नसकेको कुरा

बायाँ फन्को ५४

दिल्लीले नसकेको कुरा काठमाण्डौले गरेर देखायो ।
हुन त यो सन्दर्भ उही ब्रायन एडाम्स नामक गायकको नेपालमा भएको कार्यक्रमकै हो । हरेक छापामा हरेक भने जस्तो लेख्ने मान्छेहरुले यस विषयमा सक्ने जति कुरा लेखिसकेका छन् । त्यो कार्यक्रम र एडाम्सको आगमनका बारेमा पक्ष विपक्ष, प्रशंसा आलोचना तथा त्यसको महत्व अथवा महत्वहीनताका बारेमा खोतल्न सकिने जति दृष्टिकोणहरु खोतलीखोतली लेखिसकिएका छन् । तर पनि त्यस कार्यक्रमका कारण मथिङ्गलमा सल्वलाएका केही कुराहरुलाई बायाँ फन्को मारेर सोच्दा मथिएका नौनीलाई अभिव्यक्त गर्नु असान्दर्भिक हुँदैन जस्तो लाग्छ ।
ब्रायन एडाम्स काठमाण्डौ आउनुलाई एउटा पक्षले दिन खोजेको ऐतिहासिक महत्वको पगरीमा एउटा अर्को फन्को मार्ने पनि यो स्तम्भको आशय होइन । यो एउटा साधारण कुरा हो । कतै न कतै गएर गाउनु उनको काम हो, चाँजोपाँजो मिलेको हुनाले उनले यहाँ पनि आएर गाए । कुरा त्यत्ति नै मात्र हो । रमाइलो कुरा के हो भने, उनी आउने भनेको बेलादेखि नै अधिकांश मानिसहरुको मनमा उनको आगमनलाई लिएर एउटा संशय थियो । उनको जस्तो अन्तर्राष्ट्रिय ख्याति भएका गायकहरुले जुन स्तरमा, जस्तो ध्वनि र प्रकाशका साथ आफूलाई प्रस्तुत गर्छन्, त्यो के यहाँ सम्भव होला र भन्ने एउटा पक्ष थियो भने अर्कोतिर उनलाई कुनै दिव्य पुरुषको जुन रुपमा हेरियो, त्यसले पनि उनी आउँदैनन् भन्ने शंका उत्पन्न भएको हुनुपर्छ । त्यसमाथि झन् काठमाण्डौमा तोकिएको भन्दा केही दिन अघि  दिल्लीमा हुने भनिएको उनको कार्यक्रम सुरक्षाका कारण स्थगन भएपछि त झन् बढी त्यो संशय झाँगिएको थियो । मानौं दिल्ली भनेको हाम्रा लागि हरेक कुराको एउटा अकाट्य मानक हो । त्यहाँ हुन नसकेको कुरा यहाँ कसरी हुन सक्छ ? हामी स्वयं त्यति बेला हाम्रो आफ्नो व्यवस्थापन र सुरक्षा व्यवस्थामा आश्वस्त हुन सकेनौं । तर, सरसरी हेर्दा सतहमा तैरिएका देखिने यी कारणहरु भन्दा बढी हाम्रो मानसिकतामा गहिरिएका अरु कारणहरु यसका लागि बढी जिम्मेवार थिए । त्यो हो, हामीमा व्याप्त भैरहेको नकारात्मक मानसिकता । हुन पनि हो, हामी अहिलेको समयमा हरेक कुरामा नकारात्मक भएका छौं । कुनै पनि कुरा कसरी हुन सक्छ भन्ने भन्दा पहिले हामी त्यो कुरा कसरी र के कारणले हुन सक्दैन भन्नेमा मगज खियाउन थाल्छौं । सम्भावनाहरु केलाउने हो भने जस्तोसुकै कठीन जस्ता लाग्ने समस्या पनि झीनामसीना बन्न पुग्छन्, जतिसुकै दुष्कर लाग्ने उपलव्धि पनि सरल रुपमा प्राप्त हुन सक्दछन् । तर नकारात्मक सोचको यो प्रवृत्तिले मान्छेलाई अल्छी बनाउँछ । उसलाई प्रयास गर्न सकिने कुराहरुमा पनि नीच मार्ने बानी लगाउँछ । साधारण कुरा हो, पहिलो पाइलो नै अघि नबढाउने हो भने जति नै नजीकका गन्तव्यहरु पनि पृथ्वीको अर्को कुना जति टाढा भैदिन्छन् ।
हामी रातारात नकारात्मक र निराशावादी भएका भने पटक्कै होइनौं । कुनै पनि मान्छे जन्मजात आशावादी निराशावादी, सकारात्मक नकारात्मक, दुष्टमति वा महात्मा हुँदैन । वातावरण, परिवेश, संस्कारको साथसाथै उसका भोगाइले मान्छेलाई त्यस्तो बनाउने हो । नत्र भने जन्मिने बेला गौतम बुद्ध र इदी अमीन पनि उस्तैउस्तै नै जन्मेका थिए । उनीहरु बाँचेको समय र जिन्दगीले उनीहरुलाई त्यो रुपमा विकसित गरेको हो । प्रकृतिको कारखानाबाट त एकैनासका कोरा कागजहरु उत्पादन हुने गर्दछन् । तर ती कागजहरुमा जीवनले फरकफरक कलम र रंगका मसीहरुले फरकफरक कुराहरु लेख्दै थप्दै जाँदा  अनेकौं पुस्तकहरु बन्न पुग्छन् मानिसहरु । मान्छेको व्यक्तिगत चरित्र मात्र हैन सिंगै समाज र राष्ट्र पनि त्यसरी एक तमासका बन्न पुग्दछन् । हामी आजको यो समयमा नकारात्मक र निराशावादी हुनुका पछाडि पनि हामीले यो कालखण्डमा भोगेका समय नै प्रमुख कारक तत्व हो । धेरै भयो हाम्रो आँगनमा जति पनि जोगी आए, कान चिरेका नै मात्र आए । भीक्षा माग्नका लागि कमण्डलु लिएर मात्रै आए, हामीलाई कुनै आशीर्वाद वा वरदान दिने सिद्धपुरुष कहिले पनि आएनन् । आर्थिक रुपमा मात्र हैन, यी वौद्धिक रुपमा पनि गरीवहरुले मागेर, छलेर, ठगेर, खोसेर मात्र नभै लुटेर पनि हामीलाई नाङ्गो बनाइरहे । हामी सदाशयताका साथ कहिले राजनीतिको नाममा, कहिले धर्मको नाममा, कहिले वर्गको नाममा लुटिइ नै रह्यौं । फलत हामीलाई लुट्नेहरु जूको मोटाए जस्तो मोटाए । हामी भने जूकाले खराव रगत सोसेर लान्छ रे भनेर खुसी भयौं र तिनलाई आफूलाई चुस्न दिइरह्यौं ।
विकासका लागि आकर्षक नाराहरु बनिरहे, ठूलाठूला योजनाहरु घोषणा भैरहे, तर ती कहिले भनेको रुपमा सम्पन्न भएनन् । परिवर्तनका नाममा शक्तिकेन्द्रहरु मात्र परिवर्तन भैरहे । समाज परिवर्तन भएन, मानिसको जीवनशैली र स्तर परिवर्तन भएन । राजनीतिका नाममा व्यवस्थाहरु परिवर्तन भैरहे, क्लिष्ट र आम मानिसले नबुझ्ने शव्दावलीहरुले शव्दकोषलाई मोटो बनाएर फुलाए पनि गरीव नेपालीको पेट स्याप्पको स्याप्पै रह्यो । जति पनि यो देशलाई हाँक्ने सारथीहरुले रथको लगाम समाते, तिनले त्यसलाई अघि होइन पछिपछि नै मात्र सारिरहे । तिनले बोलेका कुनै पनि कुराको कुनै महत्व भएन । तिनका बोलीको कुनै ठेगान भएन । क्षणिक समस्याबाट उम्कनका लागि आफूले बोलेका कुराहरुमा भोलिपल्टै कायम हुन नसके पनि हरेक दिन यिनले हामीलाई नयाँनयाँ झूट बोलेर उल्लू बनाइरहे । त्यसको परिणाम हामीलाई अविश्वास गर्ने बानी लाग्यो ।
ब्रायन एडाम्सको कार्यक्रमलाई एउटा उदाहरण्को रुपमा मात्र लिएर केलाउने हो भने दिल्लीले गर्न नसकेको कुरा काठमाण्डौले गरेर देखायो । यसबाट हाम्रा नेता भनाउँदाहरुले थोरै मात्र पनि पाठ पढे भने थाहा पाउनेछन्, दिल्लीको मुख नताकी पनि यो देश चलाउन सकिन्छ । अनि ब्रायन एडाम्सकै चर्चित गीत उनीहरुले हाम्रा लागि गाउन सक्नेछन्,
“एभ्रीथिंग आइ डु, आइ विल डु इट फर यू”

प्रतिक्रिया:

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment