Translate

Sunday, April 24, 2011

आफ्ना कुरा -अरुका कुरा

बायाँ फन्को ५७

हालसालकै मात्र कुरा हो, एक जना परिचित मानिस विलखवन्दमा परे । भएछ के भने अलि लामो समय पछि भेट भएका एक जना परिचितले उनलाई देख्नासाथै विस्मयपूर्ण भावमा उनी दुब्लाएर खल्र्याप्खुर्लुक्कै भएको प्रतिकृया दिएछन् । त्यति मात्रै नभएर उनी कुनै रोगव्याधको सिकार भएका हुन् कि अथवा भर्खरै टाइफाइड बाट तङ्ग्रेका त हैनन् भन्ने प्रश्न पनि गरेछन् । ती परिचितलाई पर्नुसम्म पीर परेछ । पक्कै पनि हेर्दै थाहा हुने गरेर आफ्नो कान्तिक्षय भएको वा तेजोवध भएको हुनुपर्छ भन्ने उनलाई लागेछ । निकै दिनसम्म कसैसंग राम्रोसंग बोल्न पनि बोलेनछन् । घरपरिवारमा पनि झोक्राएर बस्न थालेछन् । उनी ऐना अगाडि उभिएर आफूलाई नियाल्दा रहेछन् र झन्झन् चिन्तित हुन थालेछन् । केही दिन पछि अर्का एक परिचित भेट भएछन् । ती परिचितले भने उनलाई देख्नासाथै उनी क्या मोटोघाटो र डम्म परेको प्रतिकृया दिएछन् । मान्छे सफल र सन्तुष्ट नभै त्यस्तो पोटिलो र उज्यालो देखिंदैन भन्ने ठहरका साथ त्यसको कारण पनि जान्न चाहेछन् । त्यसदिन घरमा गएर ऐना अगाडि उभिंदा ती मानिसलाई आफू कतै रातारात परिवर्तन भएको हो कि भन्ने पनि लागेछ । तर ती दुइ मान्छे मध्ये कसको कुरा सही हो र को गलत हो भन्ने चाहिँ उनले छुट्याउन सकेनछन् । एक छिन उनलाई आफू दुब्लाएको जस्तो लाग्थ्यो, एकै छिन पछि मोटाएको जस्तो ।
हुन पनि हो, हामी मध्ये अधिकांशको बानी नै हुन्छ, कसैलाई भेट्नासाथै सबैभन्दा पहिलो प्रतिकृया नै ऊ दुब्लाएको वा मोटाएको व्यक्त गर्ने । अनि त्यसपछि पनि अरुका व्यक्तिगत कुराहरुमा मात्रै केन्द्रित रहने हाम्रो बानी हुन्छ । कपाल किन लामो पालेको वा छोटो काटेको ? किन यस्तो खालको लुगा लगाएको ? मोटरसाइकल खै त, किन हिंडेको । यो रंग तपाइंलाई सुहाएन । औपचारिकताका लागि मुसुमुसु हाँसेर अर्को मान्छेले जति उत्तर दिंदै गयो, खोजीनीतिको बुल्डोजर अझ बढी गहिरो खोतल्न थाल्छ, घरमा कसकसको हालखवर कस्तो छ ? कसको बिहे भयो, कहाँ दिएको वा कसकी छोरी भित्र्याएको जस्ता प्रश्नहरु बर्सिन थाल्छन् । नभएको भए किन भएन भन्ने जिज्ञासा पनि व्यक्त हुन थाल्छ । जति उत्तर दियो, प्रश्नहरु अझ सुरसाको मुख जस्ता हुन थाल्छन् । हामीलाई अरुका व्यक्तिगत कुराहरुमा किन यति धेरै चासो लाग्छ कुन्नि । अरुका व्यक्तिगत जीवन र तिनका पाटाहरु किन हाम्रो लागि रोचक विषयवस्तु हुन्छन् ? एउटा अर्को उदाहरण हो, कसैको घरमा पाहुना भएर गएको बेला मानिसहरु फोटाका एल्वम हेर्ने ईच्छा प्रकट गर्छन् । अथवा सबैभन्दा पहिले एल्वम निकालेर नै अघि राखिदिने चलन हुन्छ । त्यसपछि हरेक फोटो हेर्दै तिनमा अनुहार देखिने ती मानिसका परिवार, नातागोता र ईष्टमित्रका परिचय लिने दिने काम हुन्छ । चिन्नु न जान्नुका मान्छेहरुका बारेमा पनि घण्टौंसम्म जानकारी लिन हामीलाई किञ्चित पनि झर्को लाग्दैन ।
कसैको छोरा वा छोरीलाई देख्नासाथ तिनको अनुहार काटीकुटी बाबु वा आमासंग मिल्ने ठोकुवा गर्ने पनि हाम्रो आम बानी हुन्छ । यहाँ नेर रमाइलो कुरा त के हो भने एक जनाले दुरुस्तै बाबु जस्तो भनेको सन्तानलाई अर्को मान्छेले आमा हेरेपछि हेर्नै नपर्ने भनेर किटान गरिदिन्छ । यो क्रम हरेक नयाँ मान्छे भेट्दा चलि रहन्छ । हुँदाहुँदा पछि केही समयपछि ती विचराहरुलाई आफू बाबु जस्तो हो वा आमा जस्तो भन्ने कुरामा नै असमञ्जस हुन थाल्छ । त्यस बाहेक पनि हाम्रो एउटा अर्को रमाइलो बानी हुन्छ । चिनापर्ची हुनासाथै नाता लगाइहाल्ने । दाइ, भाइ, काका, बुवा, आमा, भाउजु भन्ने चलन पनि गज्जवको चलन हो । हरेक नातासंग त्यसको आफ्नोपन हुन्छ, अधिकार हुन्छ अनि कत्र्तव्य पनि हुन्छ । ती सबै नहुने हुन् भने नातागोताको कुनै अर्थ हुँदैन तर हामी सहजै कसैलाई बाबुबाजे बनाउन सक्छौं ।
छरछिमेकमा आएका पाहुनाको बारेमा हामीलाई असाध्यै चासो हुन्छ । अरुको घरमा को आयो, कस्तो मान्छे आयो, कति बेर बस्यो, के मा आयो, कसरी आयो, किन आयो भन्ने कुरामा सबैलाई रुचि हुन्छ । कोही चिहाएरै मात्र सनतुष्ट हुन्छन् भने कोही त पाहुना गइसके पछि तिनको ईतिवृतान्तै जान्नका लागि खोजीनीति गर्न थालिहाल्छन् । यी त भए लौ प्रत्यक्ष रुपमा आफूले कुनै न कुनै रुपमा चिनेका मान्छेहरुका कुरा । उदेक लाग्दो कुरा त के भने हामीलाई चिन्नु न जान्नुका मान्छेको बारेमा पनि जिज्ञासा हुन्छ । ट्राफिकले कुनै मोटरसाइकल चालकको लाइसेन्स खोस्ने बेला वरिपरि जम्मा हुने भीड त्यसको एउटा उदाहरण हो ।
एउटा भनाइ छ, उत्कृष्ट स्तरका दिमाग हुनेहरु विचारका कुरा गर्छन्, विचार माथि बहस गर्छन्, विचार मथ्छन् । मध्यम दर्जाका दिमाग हुनेहरु घटनामा केन्द्रित हुन्छन् । तर निम्न कोटिका दिमाग हुनेहरु मान्छेका बारे बहस गर्छन्, मान्छेका कुरामा मात्र केन्द्रित हुन्छन् । त्यसैले हामीले आफ्नो दिमाग र समयलाई व्यर्थका कुराहरुमा खर्च गर्नुको साटो उपलव्धिमूलक कुराहरु तिर केन्द्रित गर्न सक्यौं भने व्यक्तिगत रुपमा हामी आफैलाई त्यसले फाइदा गर्छ । 

प्रतिक्रिया:

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment