Translate

Wednesday, April 27, 2011

किन बिक्छन् भगत ?


केही समय अघि किताबको बारेमा कुरा हुँदा एक जना परिचितले मलाई चेतन भगतको टू स्टेट्सको बारेमा मेरो धारणा सोधेका थिए । मैले त्यो पढेको छैन भन्दा उनले मलाई यसरी हेरेका थिए मानौं एउटा कट्टर पण्डितको छोरोले गायत्री मन्त्र पढेको छैन भनिरहेको छ ।
फाइन प्रिन्टको पुस्तक मेलामा के किनौं भनेर घोत्लिंदै गर्दा चेतन भगतका किताबहरुमा आँखा परे । थ्री मिस्टेक्स अफ माइ लाइफ भन्ने किताब उठाएर यसो पल्टाएको, त्यो सन्तानब्बेऔं पुनर्मुद्रण रहेछ । अनि त्यही संगै उनैको टू स्टेट्स थियो । त्यो पनि त्रिहत्तरौं पुनर्मुद्रण रहेछ । मलाई अचम्म लाग्यो, अलिअलि आरिस पनि । कति धेरै बिक्न सकेको होला ? त्यसको साथै किन यति धेरै बिक्छन् भगत भन्ने कुराको मनमा खुल्दुली उत्पन्न भयो ।
मैले चेतन भगतको चर्चा सुनेको अलि धेरै नै भैसकेकोथ्यो । आफ्नो फेरि एउटा कस्तो अडबांगे बानी छ भने, कुनै कुराको अति चर्चा भयो भने त्यो कुरामा रौसै बस्दैन । त्यही कारणले कतिपय सिनेमा मैले हेरेको छैन, कतिपय किताब पढ्न छुटाएको छु । अनि त्यही बानीले गर्दा कतिपय सम्राटका नयाँ लुगाजन्य सिनेमा र साहित्य झेल्ने पीडाबाट मुक्ति पनि पाएको छु । चेतन भगतका किताब नपढेको पनि त्यही कारणले नै थियो । तर त्यस दिन मैले ती लेखकका त्यहाँ उपलव्ध दुबै किताब किनेर लगें । आखिर केही न केही त हुनै पर्छ जसले चेतनलाई यति धेरै बिकाउँछ होला । मलाई पत्ता लगाउन मन लाग्यो । तिनका बिक्रीका कीर्तिमान पनि कम थिएन । एक मुद्रणमा हाम्रो जस्तै दशै हजार प्रति मात्र छापिएका भए पनि उनका ती दुइ किताब सात लाख तीस हजार र नौ लाख सत्तरी हजार प्रति बिकेका छन् भन्ने कुराले पनि मलाई सायद त्यस दिन उक्स्याएको हुन सक्छ । तर, धेरै बिक्दैमा त्यो राम्रो नै हुन्छ र थोरै बिकेका वा नबिकेका किताब नराम्रा हुन्छन् भन्ने मेरो आशय चाहिं पटक्कै हैन ।
मैले टू स्टेट्सबाट सुरु गरें । दुइ भिन्न संस्कृति र रहनसहनसहन भएका उत्तरी र दक्षिणी भारतका युवक र युवतीको बीचमा असमानताले आकर्षित गरेर खोजिएको समानता, त्यसको परिणतिले जन्माएको प्रेम कथा, आआफ्नो परिवारलाई मनाउनका लागि गर्नु परेको संघर्ष, केही समयको विछोड र अन्त्यमा हठ र रुढीवादको आत्मसमर्पण संगै प्रेमको जीत, मिलन अनि अन्त्यमा बिहे । बस्, विषयवस्तुको कुरा गर्ने हो भने कुरो यति नै मात्र हो । हजारौं पटक मूलधारका हिन्दी सिनेमाहरुले भजाएर खाइसकेको चेक जस्तो कथावस्तु । हो, ठ्याक्कै कुनै हिन्दी फर्मूला सिनेमा हेरे जस्तो थियो उनको किताब । कति सम्म त भने प्रेमिकासंग वियोग भएको बेला युवकलाई झुसझुस दाह्री समेत पाल्न लगाउँछन् भगत ।
लेखकका बारेमा किताबमा दिइएको संक्षिप्त परिचय पढेपछि धेरै हदसम्म यो उनको आत्मकथा नै पो हो कि भन्ने पनि भान हुन्छ । किनभने उनको आफ्नै पनि अन्र्तप्रदेशीय बिवाह हो । किताबका नायक भरपर्दो र कमाउ बैंकिंग पेशा त्यागेर कुनै दिन सफल लेखक बन्न चाहन्छ । उनले पनि त्यही गरेका रहेछन् । जुम्ल्याहा सन्तानको जन्म पछि टू स्टेट्स सकिन्छ । भगतका पनि जुम्ल्याहा सन्तान छन् । तर आत्मकथा यति धेरै फिल्मी हुन सक्दैन । उनले पुस्तकलाई जीवन दिन त्यसलाई आधार मानेर त्यही मेरुदण्डमा मसला फिल्मी शैलीमा छालामासु बेरेर प्राण भरेका सम्म चाहिँ हुनसक्छ भन्ने मैले ठहर गरें ।
उनको अर्को किताब ‘थ्री मिस्टेक्स अफ माइ लाइफ’ पनि त्यस्तै नै फिल्मी कथा हो । सुखद संयोगरुपी चमत्कारहरुको भरपूर प्रयोग यसमा पनि छ । केही साधारण केटाहरु जसरी आफूलाई ठूलो व्यापारी भनेर ढाँट्दै अष्ट्रेलियाका क्रिकेट खेलाडीहरु भेट्न रंगशालामा छिर्छन्, त्यो कुनै हिन्दी सिनेमामा मात्र सम्भव हुने कुरा हो । कतिसम्म त भने साम्प्रदायिक दंगाको वीभत्स रुपलाई पनि उनी फिल्मी लेप लगाएर प्रस्तुत गर्छन् । अली नामक एक जना बालकलाई बली चढाउन आएका अतिवादीहरुहरु संग तीन जना केटाहरुको संघर्षको बेला पाठकहरुको आङ्ग जिरिङ्ग हुनुपर्ने हो । तर भविष्यमा भूतो न भविष्यति क्रिकेट खेलाडि हुनसक्ने सम्भावना भएको त्यो बालकमाथि आइपरेको परिस्थिति भयावह हुँदाहुँदै पनि पाठकलाई लागिरहन्छ, आ......केही हुँदैन । सबै ठीक हुन्छ । भगतको यस किताबले पनि आम मानिसलाई रमाइलो सपना देखाउने र अन्त्यमा सबै भलो हुने हिन्दी फिल्मी आशावादको वकालत गर्छ ।
उसो भए किन बिक्छन् भगत ? यी दुबै किताबमा नयाँ र आकर्षक कुरा के छ त जसले चेतनलाई चेतन बनाउँछ ?
कञ्जुस्याँइ नगरी भन्ने हो भने भोको पेटमा घुट्क्याएको ऐलाले समाते जस्तो सुरुका केही पानाहरु पल्टाउना साथै मलाई उनको लेखनशैलीले चाहिँ झ्याप्पै समातिसकेको थियो । अद्योपान्त पढिसक्दा कुनै नवीन कुरा नभए पनि हरेक पाना र हरफमा भने जस्तो उनको शव्दहरुका छनौट, वाक्यहरुका सरल तर असरदार वनौट, विवेक र ह्यूमरले मलाई कुनै पुरानै कुरा पढिरहेको छु भन्ने भान हुन दिएन । चेतन भगतको सबै भन्दा ठूलो विशेषता मलाई त्यही नै लाग्यो । लेखनलाई आफ्नो हरेक सम्वन्धित अम्विन्धित कुण्ठाहरुको बदला लिन समर खेल्ने भूमि मान्ने प्रवृत्ति केही लेखकहरुमा हुने गर्दछ । त्यस्ता लेखकहरुले आफ्ना शव्दहरुलाई गोलावारुद, कलमलाई तोप र बन्दूक मानेर क्लिष्टतम शव्द छान्ने गर्छन्, जटिल भन्दा जटिल विम्व, गह्रौं भन्दा गह्रौं दर्शनहरुलाई त्यसमा बटार्छन् र पाठकहरुलाई हिर्काउँछन् । उनीहरु पाठकलाई आफ्नो शत्रु मानेर परपीडा दिने गर्छन् । त्यो कुकर्मलाई उनीहरु आफ्नो ज्ञानको विज्ञापन भन्ने सोच्दछन् । त्यस्ता लेखकहरुका भने लागि भगतको लेखाइ तोरीको फूल देखिने बाघझापु हो ।
टु स्टेट्समा उत्तर भारतको पञ्जाव र दक्षिण भारतको चेन्नइका मानिसहरुका आनीवानी, रहनसहन र संस्कृतिका बीचका भिन्नतालाई ‘उडाउने’ हिसावले प्रस्तुत गरेका छन् उनले । मद्रासीको वैठक कोठामा पस्दा ‘चोर पसेर लुटेर भागेको कुनै पञ्जावीको वैठक जस्तो’ लागेको विम्व प्रयोग गर्नु भनेको लरतरो आँट होइन । यस्तै किसिमका तुलनात्मक प्रसंगहरुमा उनले कतै उत्तर भारतकाहरु भन्दा दक्षिण भारतकाहरु बढी सुसंस्कृत हुने कुरा पनि लेखेका छन् । दक्षिण भारत भन्दा उत्तरमा बढी आडम्वर र देखावट भएको कुरा त हास्यव्यंग्यात्मक पाराले थुप्रै ठाउँमा लेख्छन् उनी । यस्ता उडाइको सन्तुलन कायम राख्ने कुरामा उनी सम्वेदनशील नै देखिएका छन् । तै पनि त्यसरी कुनै समुदाय विशेषका कुरा गर्दा उनीहरुको भावनामा ठेस पुग्ने ठूलो खतरा हुन्छ । तर उनको लेखाइमा जुन विनोद, निष्कपटता र बालसुलभ निर्दोषपना छ, त्यसले उनी त्यो ल्याण्डमाइनमा टेकेर पनि सकुशल उम्केका छन् । असल लेखनको सबैभन्दा ठूलो विशेषता भनेको नै त्यही हो र चलाखी पनि । चेन्नइमा गएर मद्रासी केटीसंग त्यहींको परम्परा अनुसार बिहे गर्न लागेको पञ्जाबी केटोको एउटा प्रसंग यहाँ नेर उल्लेख गर्नै पर्ने हुन्छ । जग्गेमा धोती लगाएर बस्नु पर्ने र उसमा धोती लगाउने कला नभएकोले चलन अनुसार केटीका बाउ उसलाई सघाउनका लागि अर्को कोठामा लिएर जान्छन् । धोतीलाई घुसाउनु पर्ने अन्तर कुन्तरमा ससुराका हातहरु सल्बलाउन थाल्दा युवक सोच्दछ, यो चलन पक्कै पनि ससुराहरुलाई आफ्नो हुनेवाला ज्वाईंको औजार सही छ कि छैन भन्ने निक्र्यौल गर्नका लागि चलाइएको हुनुपर्छ ।
मैले पढेका उनका दुबै किताबलाई औसत हुनबाट उनको लेखनशैली नै बचाएको छ । हरेक पृष्ठमा बीचबीचमा पाठकहरुका लागि काठमाण्डौंका लोकल मम चपाउँदा सर्र मुखमा आउने रस जस्तो स्वाद छर्कन्छन् उनी । त्यति हुँदाहुँदै पनि केही कुरामा भने भगत दोहोरिएको भान पनि हुन्छ । दुइवटा किताब लगालग पढेको भएर यस्ता कुराहरु अझ बढी टड्कारो संग अनुभूत भएका पनि हुन् । दुबै किताब आत्मपरक शैलीमा नै लेखिएका छन् । फरक वातावरण र परिवेशका दुबै पुस्तकका युवतीहरुका पहिरनको वर्णन गर्दा भगत एकै किसिमले गर्छन् । कुर्ताको सलको फेदमा जडिएका साना साना घण्टीहरु दुबै हिंड्दा टिंगटिंग आवाज गर्छन् भनेर उनले चित्रण गरेका छन् । दुवै युवतीहरु ‘बोल्ड र व्युटिफूल’ छन्, केटा भन्दा फरासिला छन् । दुबै सामाजिक रुढीवादी मान्यता भत्काउन लागिपरेका हक्की स्वभावका छन् । दुबै किताबमा फरकफरक बाबुहरु कठोर, निर्दयी, सम्वेदनाहीन देखिन्छन् । दुबैका आमाहरु पीडित, दुःखी र अति भावुक छन् ।
अर्थशास्त्रको सुन्तला सिद्धान्त किताब पढ्दा पनि लागू हुँदो रहेछ क्यार । मलाइ भने बढी बिक्री भएको र बढी चलेको भनिएको थ्री मिस्टेक्स अफ माइ लाइफ चाहिँ टू स्टेट्स भन्दा अलि बढी फिल्मी लाग्यो । त्यसैले होला उनका किताबहरुमाथि सिनेमाहरु बनिसकेका छन्, बनिरहेका छन् । कालजयी साहित्यका रुपमा भगतका किताबहरु भलै दर्ता नहोलान् तर केही समयका लागि भने उनको लेखाइको शैलीले उनलाई अवश्य पनि विक्री र चर्चाको शिखरमा राखिरहने छ । थ्री मिस्टेक्स अफ माइ लाइफ मा उनको एक प्रमुख पात्र एउटा असफल क्रिकेट खेलाडी हुन्छ । ऊ आफ्नो अधूरो सपना अली नामक एउटा दैवी दैन भएको बालक मार्फत पूरा भएको हेर्न चाहन्छ । खेलमा आउनासाथ भटाभट आक्रामक हिसाबले रन बनाउने खेलाडीको पनि खेल जिताउन त्यत्तिकै योगदान हुन्छ जति सुस्तसुस्त अन्त्य सम्म टिक्नेको ।  त्यही कुरा उनको लेखनमा शत प्रतिशत लागू हुन्छ । चेतन अहिले त द्रुत गतिमा रन बनाइ रहेका छन् । भोलिका दिनहरुमा टिक्ने व्याटिंग पनि गर्न सिकून् । किनभने उनको जस्तो शैली भएका लेखकहरुले गहकिलो विषय र विचारयुक्त किताबहरु पनि लेखे भने पाठकका लागि गतिलो उपहार हुनसक्छ । हैन भने पनि एउटा यस्तो बिकाउ लेखकले प्रकाशकहरुलाई अरु दश जना टिकाउ लेखकहरुका कृति छाप्ने आर्थिक ह्याउ प्रदान गर्छ ।
अहिले कै कुरा गर्ने हो भने भगतका किताबहरुका व्यावसायिक सफलताले दुइटा कुरा प्रमाणित गरेको छ । एक, जसरी लय मीठो छ भने शव्द र गायन औसत भएका गीतहरु पनि मानिसलाई मन पर्छ, त्यसरी नै शव्दहरुका लय मिलाउन जान्ने हो भने पुस्तकको पनि सङ्गीत हुन्छ । लेखनमा नयाँपन हुने हो, भाषा रोचक हुने हो अनि विवेक र विनोद नामका जुम्ल्याहा दाजुभाइलाई आफ्नो लेखनमा सही प्रयोग गर्न जान्ने हो भने विषय र विचार गहकिलो नभए पनि किताब चल्छ, बिक्छ । दुइ, मानिस सपना देख्न चाहन्छ । परीकथाको जस्तो जीवन हरेक आम मान्छेको आदिम चाहना हो । आफ्नो जीवनमा नभएका, हुन नसक्ने रोचकता, रोमान्स, परिकल्पना, सफलता र उपलव्धि पुस्तकमा पढेर अथवा सिनेमामा हेरेर भुल्न चाहन्छ आम मानिस । त्यो सपनाको बजार एउटा यस्तो बजार हो, जुन कहिले पनि ओरालो लाग्दैन । जसले त्यो सपना बेच्न जानेको छ, त्यसले सिनेमा वा पुस्तक लेखेर अकूत कमाउन सक्छ । नाम पनि, दाम पनि । एकै छिनका लागि आम मान्छेलाई जिन्दगीका कटुताहरुबाट अल्मल्याएर र भुल्याएर एक किसिमले गुन नै लगाउँछन् त्यस्ता सपनाका व्यापारीहरु । भगत पनि एउटा अर्को सफल कडी हुन् यो सपनाको व्यापारको ।
त्यसैले बिक्छन् भगत ।

प्रतिक्रिया:

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment