Translate

Sunday, May 22, 2011

सूडान, अमेलिया र हामी

बायाँ फन्को ५९

हामी अहिले बाँचिरहेको समय बडो अचम्मको, अप्ठ्यारो र अत्यासलाग्दो बेला हो । नियमित रुपले चलिरहेका हाम्रा दिनहरु भित्र यति धेरै अनियमितताहरु मिस्सिएका छन्, तिनलाई गनेर  साध्यै छैन । यो पुस्ताका मान्छेहरुले जति धेरै परिवर्तन, विकास, विनाश, अपचलन सायदै कुनै अरु पुीताकाले देखेका होलान् । प्रविधि, समाज, रहनसहन, विचार, सम्वन्ध, मानसिकता र अरु सबै कुरामा परिवर्तनहरु भएका छन् । राम्रा पनि त्यत्तिकै र नराम्रा पनि त्यत्तिकै । यो समय असन्तुष्टिको समय हो । किनभने मान्छेले उत्तरहरु खोज्नका लागि सल्वलाएको समय हो यो । चेतनाको वृद्धि, संसारसंग नजिकिन सजिलो भएको प्रविधिले मान्छेलाई जिज्ञासु बनाएको छ । जति धेरै प्रश्नका उत्तरहरु मान्छेले भेट्दै गएको छ, त्यति नै धेरै मान्छे दिग्भ्रमित पनि हुँदै गएको छ आजको समयमा । किन भने आजका मान्छेलाई विश्वस्त बनाउन, चित्त बुझाउन पहिले जस्तो सजिलो छैन । त्यसैले हामी असन्तुष्ट छौं ।
हाम्रो देशको कुरा गर्दा यहाँ संसारका नयाँ भन्दा नयाँ प्रविधि तुरुन्तै भित्रिने गर्छ । तर त्यो सात महिना पनि राम्ररी गर्भ नरही जन्मेको शिशु जस्तो भएर आउने गर्छ । त्यसैले हामी सबै थोक संग परिचित भएर पनि त्यसबाट पाउनु पर्ने शतप्रतिशत लाभ चाहिँ पाउँदैनौं । आधुनिक, उन्नत र विकसित देशका मान्छेहरुले उपभोग गर्ने सबै सुविधा यहाँ उपलव्ध छन् । तर तिनमा नियमितता भने छैन । सानो कुरा देखिबाटै सुरु गर्दा, पिंध काटेर जोडिएका गाँसका सिलिण्डर देखि दूरसंचारका सबैभन्दा पछिल्ला विकसित थ्रीजी सम्ममा ठगिन्छन् उपभोक्ताहरु । द्रूत गतिको इण्टरनेट भनेर तपाई हामीले लिने सेवाहरुमा गति मात्रै हुन्छन्, द्रुत हुँदैन । तै पनि निर्वाध नयाँ नयाँ ग्राहकहरु बनाएर धन कुम्ल्याउन पाइरहेका छन् त्यस्ता  सेवा प्रदायकहरु । हालै चोरीका सिलिण्डरमा आफ्नो कम्पनीको नाम भएका पिंध जोडेर भन्दा चलाइरहेका एक जना ठूलै मान्छे फेला परे । हरेक जनताको घरमा बम पठाए सरह हो त्यो काम भनेर जनताको सातो हर्ने समाचार त आयो तर त्यो बिधिको उत्पात गर्ने मान्छेलाई त्यही सरहको कारवाही गर्ने उपाय भने हामीसंग रहेनछ । गुणस्तरिय शिक्षाको नाममा नीजि विद्यालयहरुले अनेकौं नाममा अभिभावकहरुसंग ठटाएको शुल्क अनुसारको सुविधा नदिए पनि त्यसका लागि रोइकराइ गर्ने कुनै ठाउँ छैन ।
त्यसबाहेक पनि हाम्रो वरिपरि हेर्दा एउटा कुनै पनि ठाउँ देखिंदैन जुन हेरेर आजको मान्छे अलि आनन्दको लामो सास फेर्न सकोस् । गाउँ विकासको भागबाट लुटेर पेट्रोल किन्न अरबौंको अनुदानरुपी रिन सरकारले बालुवामा पानी दनाए जस्तो खनाउँदा पनि उपभोक्ताहरुले टण्टलापुर घाममा पुर्पुरो नसेकी पेट्रोल डिजेल पाएका छैनन् । आधा दिनको लोडशेडिंग त हामीले पचाइसकेको कुरा भैसक्यो । व्यापारीहरुले भ्याट छल्छन्, वित्तीय संस्थाका प्रमुखहरुले अपचलन गरी संस्था डुबाउँछन्, मन्त्रीहरु श्रोत खुलाउन नसक्ने गरी अकूत सम्पत्ति कमाउँछन्, साँसदहरु कूटनैतिक राहदानी बेच्छन् । गर्नु पर्ने काम कसैले गर्दैनन्, नगर्नुपर्ने काम सबैले गर्छन् । राजनैतिक परिवर्तनहरु भएका छन् तर अरु केही पनि भएको छैन । सम्विधान बन्ला भन्ने कुरामा क्रमशः सबैको विश्वास गुम्दै गइरहेको छ । भयावह परिणाम आउँछ भनेर अत्याउने बाहेक अरु केही काम देश हाँक्नेहरुले गरेका छैनन् । यो अवस्थामा आजको बेलामा बाँच्नेहरु असन्तुष्ट भए भने तयसमा उदेक मान्ने कुरा केही छैन । तर, असन्तुष्टिले कुनै समस्या समाधान गर्दैन । मानिसलाई अझ बढी निराशाको कालोमा तान्न थाल्छ । यसै पनि अलिअलि गरेर हामीले गुजुल्टो पारेको समस्याको गाँठो छु मन्तर भन्दैमा फुकाउन त सकिंदैन । अरु थप गाँठाहरु नपरुन् भन्नेमा चनाखो हुने र एकएक गर्दै भएका गाँठाहरु खोल्ने बाहेक अरु के नै विकल्प छ त हामीसंग ? सन्तोषी सदा सुखी, असन्तोषी सदा दुःखी भनेर सानो हुँदा विद्यालयमा गुरुहरुले पढाएका थिए । मान्छेले आफूसंग भएका कुराहरुको महत्व नबुझेर नभएका चीजहरुको कल्पनामा पिरोलिन थालयो भने ऊ कहिले पनि खुसी रहन सक्दैन भन्ने यो सरल तर गुढ ज्ञान हामीलाई सानै देखि घोटीघोटी पियाएको छ । तर पनि हामी सन्तोषी हुन किन प्रयास गर्दैनौं ? चाहेको कुरा पाइएन भने पाएको कुरालाई चाहन सक्नुपर्छ ।
केही दिन अघि सामाजिक संजाल मार्फत सूडानकी एउटी एक्काइस वर्षीय युवती अमेलियासंग भेट भयो । सूडानमा चलिरहेको जातीय हिंसामा आमाबाबू र नजीकका नातेदारहरु मारिएपछि विश्वविद्यालयमा डाक्टरी पहिलो वर्ष पढिरहेकी ती युवती अरु थुप्रै सरह भागेर अहिले सेनेगलको एउटा चर्चमा शरणार्थी जीवन बिताइरहेकी छ । जहाँ आजकल ऊ बाँचिरहेकी छ, त्यहाँ पिउने पानी, शौचालय र ओखतीमूलोको पनि बन्दोवस्त छैन । ऊ भन्छे,
“कुरा गर्न, सल्लाह माग्न र बाटो देखाउनका लागि पनि कोही नभएको हुनाले म आफूलाई नितान्त एक्लो र असहाय पाउँछु । पासपोर्ट र अन्य कागजपत्र केही साथमा नभएकोले यूरोपको कुनै मुलुकमा गएर सुरक्षित बातावरणमा पढ्न चाहने मेरो सपना अब सम्भवत कहिले पनि पूरा हुने छैन ।”
मलाई एउटा पुरानो कथा सम्झना भयो ।
एउटा मान्छेलाई जुत्ताको असाध्यै धेरै सोख थियो । उसलाई हरेक दिन नयाँनयाँ जुत्ता लगाएर हिंड्न पाए कस्तो हुन्थ्यो होला भन्ने लाग्थ्यो । तर उसको त्यो इच्छा पूरा गर्ने आर्थिक हविगत भने उससंग थिएन । त्यसैले त्यो मान्छे सँधै दुःखी रहन्थ्यो । बाटोमा हिंड्दा, कतै भेला समारोहमा जाँदा पनि उसका आँखाहरु अरुहरुका जुत्ताहरुमा मात्रै परिरहन्थे । ऊ भगवानलाई मनमनै सराप्थ्यो । एक दिन नयाँ जुत्ता लगाउन नपाएको दुःख चरममा भएर त्यसै गरि भगवानलाई गाली गर्दै हिंडेको बेला उसका आँखा एउटा मान्छेमा परे । अगाडिबाट बैशाखी टेकेर आइरहेको त्यो मान्छेका दुबै खुट्टा थिएनन् । त्यस दिन देखि त्यो मान्छेले ईश्वरलाई सराप्न पनि छोड्यो, आफूले जुत्ता फेर्न नपाएकोमा दुःख मनाउ गर्न पनि छोड्यो ।
अमेलियाको इमेल पढेपछि मलाई पनि त्यस्तै भएको छ । 

प्रतिक्रिया:

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment