Translate

Sunday, January 15, 2012

अँध्यारोमुनि बत्ती

बायाँ फन्को ७५

बत्ती मुनि अँध्यारो भन्ने उखान सुनेर हुर्केका म जस्ता असंख्य पाठकहरुलाई यो शीर्षक हेर्दा लाग्न सक्छ कि त स्तम्भकारको मगजको एउटा तन्तु खुस्केको हुनुपर्छ वा छापिने बेला फ्रूफ हेर्नेको गलतीले बत्तीमुनिको अँध्यारोलाई अँध्यारो मुनिको बत्ती बनाएको हुनुपर्छ । तर होइन, यी दुबै कुरा गलत हुन् । देशको अवस्था चौतर्फी रुपमा रसातल तिर उन्मुख भएको भए पनि, चाहे जति नै सुकै निराशाजनक अवस्थाबाट गुज्रे पनि, देशको, आफ्नो र आफ्ना सन्तानहरुको भविष्यको पीडाले तुषारोले खाएको साग जस्तो मन भए पनि अहिलेसम्म मगजले काम गर्न छोडेको छैन । नेपाल साप्ताहिकका भाषा सम्पादक र फ्रूफ हेर्ने विशेषज्ञहरु पनि अहिलेसम्म चुस्तदुरुस्त नै छन् । 

आजकल हामी यो पुरानो उखानको उल्टो जीवन बाँच्न बाध्य भएका छौं । सुरसाको जस्तो अजंगको मुख बाएको बत्तीको समस्याले हामीलाई दिनप्रतिदिन अझै बढी त्रस्त बनाइरहेको छ । जब विद्युत प्राधिकरणले यस पटकको लोड शेडिंग दैनिक एघारबाह्र घण्टाका दरले हुने कुराको गौरवशाली घोषणा केही समय अघि ग¥यो, त्यसले निकै बेर सोच्न वाध्य बनायो । बत्ती भन्ने कुरामा हामी यति धेरै निर्भर भैसकेका छौं, त्यसले गर्दा यो नहुने हो भने उद्योगधन्दा, अस्पताल र कार्यालयहरुमा हुने लघुकालीन र दीर्घकालीन प्रभाव र नोक्सानीको त कुरा नै नगरौं, साधारण दैनिकीका लागि पनि हाम्रो हात खुट्टा भाँचिए जस्तो हुन्छ । ती समस्याहरु के के हुन् भन्ने यहाँ चर्चा गर्नु बेकार छ किनभने त्यो सबैले भोगेको कुरा हो । यही क्रममा यस स्तम्भकारले विगतका केही दिनहरुमा भोग्नु परेका केही उदेकलाग्दा अनुभवहरु आज यहाँ पाठकहरुसंग बाँड्न लागिएको छ ।

पाँच देखि छ घण्टा बत्ती नहुने भनेपछि त्यही अनुसार आफ्नो सबै कुराहरुको योजना बनाउनै प¥यो । यो नयाँ आततायी शेड्यूलको पहिलो दिन बेलुका आफ्नो क्षेत्रमा आठ बजेसम्म बत्ती नहुने थियो । आठ बजे बत्ती आएपछि केके गर्ने भन्ने कुराहरु मिलाएर कुनै निष्ठूरी र निर्दयी प्रेमिकाको जस्तै बत्तीरानीको प्रतीक्षामा बस्नु बाहेक अरु केही चारो पनि थिएन । तर, आठ बजे चिहाउनु पर्ने बत्ती दश बजेमात्र झुल्किएपछि सारा योजनाहरु गडबड त हुने नै भए । भनेको समय भन्दा बढी कुर्नुपर्दा यस्तो बेलामा एकएक मिनेट पनि एकएक दिन बिते जस्तो गरी बित्ने गर्छ । तर पनि आफू परियो आशावादी मानिस । त्यसैले त्यो पहिलो दिनमात्र यस्तो भएको होला भन्ने सोचेर भोलिपल्टको योजनामा लागियो । तर भोलिपल्ट बिहान र साँझ पनि बत्ती त भनिएको भन्दा दुइदुइ घण्टा बढी निभ्न थालेपछि आशावादको ओखतिले पनि काम गर्न छोड्यो । अब के गर्ने त भन्दा ‘उपाय एउटै बाँकी त छ बहिनी....’ भन्ने रेडियोमा बज्ने एउटा पुरानो विज्ञापन गीत सम्झिंदै विद्युत प्राधिकरणको सम्वन्धित क्षेत्रिय कार्यालयमा फोन गर्नु बाहेक अरु विकल्प रहेन । तर त्यहाँबाट पाइएको उत्तरले कन्सिरीका त कुरै छाडौं, शरीरमा भएका एकएक रौंहरु रिसले ठाडो बनाउन कसैलाई दुर्भाषा ऋषिको सन्तान हुनु आवश्यक थिएन । बत्ती बढी चुहावट हुने फीडरका इलाकाहरुमा भनिएको भन्दा बढी समय बत्ती कटौति गर्ने निर्णयका कारण त्यसो भएको हो भन्ने दिव्यवाणी त्यहाँका कर्मचारीको मुखारवृन्दबाट प्रस्फूटित भयो । त्यसको अर्थ के हुँदो रहेछ भने, कुनै क्षेत्रमा यदि धेरै विजुली चुहावट भएको छ, अर्थात बत्ती चोरिएको छ भने, त्यहाँ सजायँ स्वरुप बढी बत्ती निभाइने रहेछ । फलस्वरुप हारतीवन देखि गोदावरी सम्मका हरेक घर पहिले नै ढाड खुस्कने लोडशेडिंगमाथि बंगारा पनि फुस्कने गरी विद्युत प्राधिकरणको मुक्का पनि खान वाध्य भए । एकदुई बत्तीचोरहरुलाई समातेर आवश्यक कारवाही गर्नुको साटो पूरै क्षेत्रका मानिसहरुलाई असर गर्ने यो परपीडक र तानाशाही शैलीको निर्णय किन त भन्ने प्रश्नको उत्तर उनले दिए,
‘यो मन्त्रालयस्तरिय निर्णय हो । हामीले केही गर्न सक्दैनौं, हाम्रो काम त आदेशानुसार गर्ने मात्र हो ।’
यस्तो निर्णयका बारेमा विद्युत प्रधिकरणको केन्द्रिय कार्यालयमा फोन गर्दा त्यहाँका कुनै जिम्मेवार अधिकृतले दिइएको जवाफ त झन् अद्भूत थियो । उनले भने,
‘त्यसो भएपछि सबै मानिसहरु मिलेर बत्ती चोरहरुलाई समात्नका लागि अभिप्रेरित पनि हुन्छन् भन्ने ध्येयले हामीले यस्तो निर्णय गरेका हौं ।’

मानिसलाई जिम्मेवार नागरिक बनाउन विचरा विद्युत प्राधिकरणले सोच्न सकेको यति दूरदर्शी, मनोवैज्ञानिक र प्रभावकारी कुराका लागि त उनीहरुलाई आलूको तक्मा भिराइदिए हुने हो । उनीहरुले सोचेको जस्तो उपभोक्ताहरु बत्तीचोर खोज्न त हिंडेनन्, तर केही बत्तीचोरहरुका अपराधको सामूहिक सजायँ पूरै क्षेत्रले भोग्न बाध्य भएपछि उनीहरुले गएर प्राधिकरणको टौखेल कार्यालयमा नै ताल्चा मारिदिए ।

यस्तो प्रकारको अप्ठरोमा पारेर काम साध्य गर्ने कुनै पनि मूलमन्त्रको यस स्तम्धकारले विरोध गरिआएको छ । त्यसैले त्यो ताल्चामारीको पनि समर्थन गर्न खोजेको हैन, तर, त्यसो गरेपछि मात्र प्राधिकरणको निर्णयका बारेमा आपत्कालीज वैठक बसेर थप बत्ती निभाउने निर्णयलाई तत्कालका लागि खारेज गरियो र मात्र त्यस क्षेत्रका वासीहरुले कम अँध्यारो भोग्ने सौभाग्य पाए । दवावमूलक राजनीति गर्नेहरु जत्ति नै दोषी ती हुन्, जसले बेफ्वाँकका नीतिनियमहरु बनाउँछन् । यस्ता विवकेहीन कुराहरु नगर्ने हो भने जनताले पनि त्यसका लागि हीरा काट्ने हीरैमा राखेर भन्ने खालका विरोधहरु गर्नै पर्दैन ।

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment