Translate

Sunday, February 26, 2012

कुकुरभुकाइ मानसिकता

बायाँ फन्को ७८

एउटा मान्छे र अर्को मान्छेमा फरक गर्न पाइँदैन भन्ने कुरा कानूनमा पनि उल्लेख गरिएको हुन्छ । हरेक मानिसलाई समान व्यवहार गर्नुपर्छ भनेर हामीलाई सानै देखि सिकाइएको हुन्छ । तर के व्यवहारमा त्यो सम्भव छ ? मानिसहरुले विशिष्टताका लागि आआफ्नै मापदण्डहरु बनाएका हुन्छन् र त्यसै अनुसार व्यवहार गर्ने गरेका हुन्छन् । केही दिन अघि राति देखिएको एउटा साधारण घटनाले एक पटक फेरि यो विषयमा केही सोच्न वाध्य बनायो । अनि त्यो सोचले केही लेख्नका लागि अभिप्रेरित ग¥यो । हुन त कुरो त्यसत ठूलो त हैन, नियमित रुपमा देखिने नै हो । कुनै एउटा कामको सन्दर्भमा अलि ढीला भएर राति अवेर घर फर्कनु परेको थियो । सातदोबाटो चोकमा त्यस रात सँधै झैं प्रहरी दाजुभाईहरु चेकिंग गर्न बसेका थिए । रमाइलो कुरो त के भने भटभटे चढेर हिंडेका जतिलाई छेउ लगाएर खानतलासी नै गरिंदैथ्यो तर चार पांग्रेमा आउनेहरुलाई जाँच नै नगरी पठाइंदैथ्यो । यस अघि पनि यस्ता थुप्रै घटनाहरु नदेखिएका होइनन् । के भटभटे चढ्नेले मात्र हातहतियार, विष्फोटक पदार्थ, लागू पदार्थ वा कानूननले असामाजिक निषेधित गरेका सम्वदेनशील कुराहरु बोकेर हिंड्ने गर्छ त ? असामाजिक तत्व र अपराधी प्रवृत्तिका मानिस भनेको भटभटे चढ्ने मान्छे मात्र हुन्छ त ? अपराध गरेर भाग्ने भटभटेमा मात्र भाग्छ ? हो, सजिलोको लागि त्यस्ता केही वा अधिकांश घटनामा लौ भटभटे नै प्रयोग भएका होलान् । तर त्यसैलाई अकाट्य नजीर मान्न हुन्छ कि हुँदैन भन्ने प्रश्न आफ्नो ठाउँमा नै छ । चारपांग्रे सवारी साधनको जाँच भनेको भएको बेलामा पनि औपचारिकता पूरा गर्ने जस्तो मात्र हुन्छ । तर्कको कुरा गर्ने हो भने निषेधित कुनै पनि पदार्थ लुकाउन वा ओसारपसार गर्न चारपांग्रेमा जति सजिलो भटभटेमा हुँदैन । त्यतिमात्र हैन, चारपांग्रेमा त्यस्ता कुराहरु लुकाउनका लागि पनि थुप्रै सजिला ठाउँहरु हुन्छन् । ती सबैको जाँच गर्न मेहनत र समय दुबै निकै नै बढी लाग्छ । के त्यही कारणले गर्दा चारपांग्रहरुले छुट पाउने त हैनन् ? या त्यस्ता सवारीमा गुड्नेहरु बढी सम्पन्न, प्रभावशाली र पहुँचवाला हुन्छन् भन्ने मान्यता हाम्रा सुरक्षाकर्मी दाजुभाइहरुमा रहेको हुन्छ ? भटभटे चलाउनेहरु अलि हेपाहा प्रवृत्तिका हुन्छन् होला, मौका पाएसम्म चेपचापबाट छिरेर हुँकिन्छन् पनि होला तर ट्राफिक नियम मिच्ने गौरवशाली परम्परामा चार पांग्रेहरुको पनि त्यति नै योगदान हुन्छ । त्यति हुँदाहुँदै पनि किन भटभटे चालकहरुले सँधै सौतेनी आमाका छोरा सरह व्यवहार खेप्नु पर्ने होला ।

यो कुरा एउटा उदाहरण मात्र हो । समाजका अरु बिभिन्न पक्षहरुमा पनि आवरणले जहिले पनि आचरण भन्दा पहिले स्थान पाउने गर्छ । महाकवि देवकोटाका बारेमा प्रचलित एउटा किम्वदन्ती छ नि, कुनै एउटा भोजमा ल्याङ्फ्याङ्ग लुगा लगाएर जाँदा उनलाई मूलद्वारमा नै रोकिएछ । फर्केर घर आएर कोट र टाइ लगाएर त्यही ठाउँमा जाँदा उनलाई सलाम ठोकेर ससम्मान भित्र पठाइएछ । अनि महाकविले खाना लुगामा दल्न थालेछन् । निम्त्याउनेले अचम्म मानेर त्यसो गर्नुका कारण सोद्घा उनले भनेछन्,
“यहाँ मलाई हैन, मेरो लुगालाई निम्त्याइएको जस्तो लाग्यो, त्यही भएर खाना पनि लुगालाई नै खुवाएको हूँ ।”
कसैकसैले यो घटना जर्ज बर्नाड शसंग सम्वन्धित हो पनि भन्छन् तर जोसंग सम्वन्धित भए पनि कुरा त्यही हो ।

हामी मानिसलाई उसको गुण वा अवगुणको लागि भन्दा पनि पहिले उसको लवाइखवाइ, रहनसहन र आडम्वरका लागि मान गर्छौं, तौलन्छौं र प्रभावित हुन्छौं । हेक्का गर्नुभएको छ, बाटोमा भुस्याहा कुकुरले पनि झुत्रोझाम्रो लुगा लगाएर हिंडेको मानिसलाई भुक्छ । तर हामी त मान्छे हौं, हामीमा चेतना हुन्छ, विवेक हुन्छ जुन अरु प्राणीमा हुँदैन । तै पनि हामी मानिसलाई तौलने बेला त्यसलाई किन बिर्सन्छौं ? यो क्रममा कहिलेकहीं हामी सही मान्छेको अवमूल्यन गरिरहेका हुन्छौं भने कहिले चोर, फटाहा, दुष्ट र निकृष्ट मान्छे हाम्रा आँखामा ठालु बनिरहेको हुन्छ । जीवनमा बिभिन्न अरु पाटाहरुमा पनि यो भ्रममा हामी रुमल्लिन्छौं । बुद्धि र सौन्दर्यको मूल्याङ्कन भनिने सुन्दरी प्रतियोगिताका पनि तथाकथित बुद्धि जाँच्ने चरणसम्म पुग्नु अघि शारीरिक आकर्षणको कसी पार किन गर्नुपर्छ ? जीवनसाथीका लागि सम्भावित मान्छे भेट्दा पनि त अनुहार, शरीर र व्यक्तित्वबाट मान्छे प्रभावित र निर्देशित भैरहेको हुन्छ । चर्मको रंग अथवा शारीरिक शौष्ठव प्रभावशाली नलागेका कारण कतिपय महिला वा पुरुष अस्वीकृत हुने गर्दछन् । ती मानिसहरुका मन, आनीबानी र आचरण जति नै सुकै उत्कृष्ट भए पनि त्यसको अर्थ रहँदैन । हामीलाई यो पनि थाहा भएको कुरा हो, समयसंग मान्छेको रुप, शौष्ठव र व्यक्तिव खिइन्छ, नाश हुन्छ तर उसको मानसिकता, चरित्र र मन सँधै एकैनास रहन्छ । त्यति हुँदाहुँदै पनि राम्रो भनेको मनसंग हैन अनुहारसंग जोडिन्छ । चरित्र भनेको आनीवानीसंग नभएर कुनै महिला वा पुरुषको यौन जीवनका कारण निर्धारित हुन्छ । कसैको कहिले कुभलो नचिताउने, नगर्ने महिला वा पुरुषको एकभन्दा बढी प्रेमी वा प्रेमिका भयो भने त्यो चरित्रहीन हुन्छ । तर सबैको कुभलो गर्ने, भ्रष्टाचारी, पापी, ज्यानमारा नै किन नहोस्, त्यो कुरामा कुनै महिला वा पुरुषसंग प्राकृतिक सम्पर्क नभएको वा एउटै मात्र विपरित लिङ्गीसंग सवन्ध भएको मान्छे भने चरित्रहीन हुँदैन । कस्तो हास्यास्पद कुरा ।

कुनै पनि मान्छेको बाहिरी व्यक्तित्व, उसका कुराहरु, उसको वैभव भनेका भ्रामक हुन सक्छन् भन्ने हामी सबैलाई राम्ररी थाहा हुँदाहुँदै पनि हामी त्यो कुकुरभुकाइ मानसिकताबाट माथि उठ्न सकेनौं भने हामी मान्छे भएको के फाइदा भयो हैन र ?

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment