Translate

Sunday, July 29, 2012

बलात्कृत सहर

बायाँ फन्को ८९

हरेक वर्सातको आरम्भसंगै महानगरका वासीन्दाहरु, विशेष गरेर चारपांग्रेको सुरक्षित पाठेघरमा लुक्न नसक्नेहरुको सातो जान्छ । झन् यसपालिको वर्षाको त के कुरा गरिसाध्य छ र ? अतिक्रमण नियन्त्रण गर्ने र सडक चौडा बनाउने नाममा राजधानीलाई यति वीभत्स र क्रूर पाराले बलात्कार गरिएको छ, कतै पनि हिंडनु भनेको कष्टकर अनुभव हुन्छ । घाम लाग्दा धूलो र पानी पर्दा हिलोले आक्रान्त हुने काठमाण्डौ कुनै युद्धले घाइते भएको सहर जस्तो देखिन थालेको छ । सुधार गर्नुपर्छ, तर त्यसको एउटा निश्चित योजना र व्यवस्थित तरिका हुनुपर्छ । तोडफोड गरिएको सहरको अनुहार अब कहिले हेर्न लायक हुने हो वा कहिले पनि नहुने हो भन्ने कुरा कसैलाई थाहा छैन । 

अघिल्लो साता एउटा अचम्मको समाचार सुन्न पाइयो । भक्तपुरको कमलविनायकबाट नगरकोट जाने नयाँ बाटोमा पिच गरेको भोलिपल्टै त्यो भत्किएछ । स्थानीय वासीन्दाहरु पनि के कम, विरोध स्वरुप त्यहाँ नेरको बाँकी पिच आफैले भत्काइदिएछन् । रमाइलो कुरो त के भने एसियाली विकास कोष र बेलायती सहयोग निकाय लगायतका दातृसंस्थाहरुले त्यहाँको एघार किलोमिटर बाटोको लागि पाँच करोड भन्दा बढी रकम जुटाइदिएका रहेछन् । भोलिपल्ट भत्कने पिच निर्माणका लागि भएको ठेक्कापटमा कसकसले कति रकम कुम्ल्याए होलान् त भनेर सोच्न बाध्य बनाउँछ यो घटनाले । कुनै पिच बनाएको भोलिपल्टै भत्किनु भनेको भ्रष्टाचार र लापरवाहीको चरम उदाहरण हो । त्यतिमात्र हैन यो भनेको आम जनतालाई हेप्नुको पराकाष्ठा हो भन्नु पर्छ । 

कमल विनायक नगरकोटको पिच कुनै भूतो न भविष्यति घटना होइन । यस्ता कमसल र कामचलाउ निर्माणहरु गर्ने गराउने हाम्रो गौरवशाली परम्परा रहिआएको छ । हरिसिद्धिबाट गोदावरी जाने बाटोमा पनि ठाउँठाउँमा केही त्यस्ता भागहरु छन्, जहाँ सँधै डरलाग्दा खाल्डाखुल्डी हुन्छन् । समयसमयमा तिनको मर्मत हुन्छ तर त्यो केही दिनमै पूर्ववत रुपमा आइसक्छ । ठेक्कापट्टामा हुने अनियमितता, ठेकेदारहरुले बढी नाफा खान प्रयोग गर्ने कमसल सामाग्री, झारातिराइ कामको पनि कुनै अनुगमन र मूल्याङ्गन नगरी सम्बन्धित निकायका अधिकारीहरुले तिनको भुक्तानी गर्नका लागि चपाउने छ्याकनहरु नै यस्ता अनियमित कामका प्रमुख कारक तत्वहरु हुन् । हरेक वर्सातको सुरुवात हुने बेलामा मात्र किन ढल, धारा र पिचका कामहरु हुन थाल्छन् ? सडक विभागले पिच गरेको भोलिपल्ट देखि किन ढल र धाराको काम सुरु हुन्छ ? दुई सरकारी निकायको बीचमा त्यति साधारण समन्वय किन कहिले पनि हुन सक्दैन ? हामी सबैलाई त्यसको कारण राम्ररी थाहा छ । तै पनि किन यसको नियन्त्रण कहिले पनि नहुने हो त ? तर पनि पिचको कुरामा मात्र नभै हरेक कुरामा यस्ता अनियमितताका लाजलाग्दा उदाहरणहरु हामीले दैनिक जीवनमा यत्रतत्र देख्न पाउँछौं । त्यति हुँदा पनि हाम्रो उदासीनता, धैर्य र सहनशक्ति गज्जबको छ । अनावश्यक कुराहरुमा हामी जति छिटो उद्वेलित र आक्रोशित हुन्छौं, आवश्यक कुरामा चाहिँ त्यत्ति नै सहिष्णुता देखाउन सक्ने अचम्मको खूबी छ हामीमा ।

हामी सबैमा पैसा कमाउने शर्टकट्को ठूलो भोक छ । तसर्थ काम थोरै दाम धेरै आउने नयाँ नौला र चमत्कारी उपायहरुको खोजीमा हुन्छौ हामी । त्यो ठगीको सबैभन्दा ठूलो मारमा आम नागरिकमात्र पिल्सिन्छन्, त्यस्ता उपाय अपनाउने ठाउँमा नभएका श्रमजीविहरु मात्र त्यसको सिकार हुन्छन् । बनाएको पिच एउटा निश्चित समय टिक्न नसक्दा त्यस्ता ठेकेदार वा तिनको कामलाई सदर गरेर भुक्तानी गर्नेहरुमाथि कहिले पनि कारवाही भएको हामीले सुनेका छैनौं । शायद यस्तै सुविधाका कारण ठेक्कापट्टामा गुण्डागर्दी हुने र अपराधीहरुको बढी दखल हुने परिपाटी विकसित भएको हुनुपर्छ । हुन त आजकल गुण्डा र अपराधीको त परिभाषा नै पनि ठूलो विवादको विषय हुन सक्छ । दुइ दिनमा हुने काम दुइ महीनामा पनि नसकिंदा पनि कुनै खोजीनीति हुने चलन छैन हामीकहाँ । तपाईहरुलाई थाहा छ, सन् २००८ को बेइजिंग ओलम्पिक्सका लागि चिनीयाँहरुले अनपत्यारिलो संरचनामा बर्डनेस्ट रंगशाला बनाउन सुरु गर्नु भन्दा पहिले सिनामंगलमा पुल बन्न सुरु भएको थियो । अहिले सन् २०१२ मा लण्डन ओलम्पिक्स हुने बेला भैसक्दा पनि त्यो पुल अझै बनेको छैन । 

आजकल हाम्रो वरिपरिको बातावरण यस्तो भैसकेको छ, कुनै पनि कुराले मान्छेलाई अचम्भित, आक्रोशित, स्तव्ध वा दुखी बनाउन छोडिसकेको हो कि भन्ने भान हुन्छ । गम्भीर भन्दा गम्भीर र सम्वेदनशील कुराहरुमा पनि हामी निरपेक्ष हुँदै गइरहेका छौं । यो निरपेक्षता हाम्रो वाध्यताले हामीमा पैदा भएको हो कि हामी कुनै पनि कुरामा प्रतिकृया व्यक्त नगर्नका लागि अभ्यस्त हुँदै गएका हौं, यसै भन्न सकिन्न । ठूला कुराहरुमा नै निर्विकार रहने बानी लागेपछि त झन् झीनामसीना कुराहरुका बारेमा त सोच्ने पनि हामीलाई चासो र फुर्सद दुबै नहुन थालेको होला । कस्ता कुरालाई ठूलो र सानो मान्ने भन्ने पनि फेरि अर्को विवादको विषय हुनसक्छ । साधाराण अवस्थामा ठूला र सम्वेदनशील मानिनु पर्ने कुराहरु ती भन्दा ठूला समस्याका अगाडि तुलनात्मक रुपमा साना लाग्न सक्छन् । तर नजरको त्यो दोषले तिनलाई कम समस्यामूलक भने बनाउँदैन । आजको अवस्थामा सिंगो मुलुक अन्यौलमा रुमल्लिएको छ । यस अवस्थाका लागि को जिम्मेवार हुन् भन्ने विश्लेषण गर्ने काम यो स्तम्भकार गर्न चाहँदैन र किनभने दिउँसोको समयमा आकाशमा देखिने तेजिलो र रापिलो गोलोलाई सूर्य भन्छन् भने जत्तिकै स्पष्ट र निर्विवाद कुरामा जति अक्षर खर्च गरे पनि, जो कसैलाई दोष लगाएर खोइरो खने पनि त्यसले समस्याको समाधानमा कुनै सघाउ पु¥याउँदैन । तर सबै खालका अनियमितताको कठोर अनुगमन, दण्ड र नियन्त्रणका लागि पाइलाहरु नचालिने हो भने यो समस्या झनै विकराल हुँदै जान्छ ।

प्रतिक्रिया:

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment