Translate

Sunday, August 12, 2012

अभिभावक

बायाँ फन्को ९०

आफ्ना सन्ततिको भविष्यको चिन्ताले नौनाडी नगल्ने मान्छे यो संसारमा विरलै हुन्छन् होलान् । आफूले जीवनमा त्यो अल्लारे उमेरमा गरेका गलत निर्णयहरुले पछिसम्म मान्छेलाई सोच्न वाध्य बनाइरहेको हुन्छ । हुन त यी सबै कुरा अनुमानमा आधारित कुराहरु हुन् । मानिसको नियतिले के भएको भए कहा कस्तो मोड काट्थ्यो, जे भएको छ। त्यो नभएको भए अहिले जे भएको छ त्यो भन्दा असल हुन्थ्यो कि त्यो भन्दा खराब हुन्थ्यो भन्ने कुराको कुनै निश्चित निक्र्यौल त कहाँ हुन सक्छ र । तर पनि त्यतिबेला मैले यसो गरेको भए वा उसो नगरेको भए आज यस्तो हुन्थ्यो होला वा भोलि उस्तो हुन्थ्यो होला भन्ने वैचारिक र मानसिक मन्थनले मानिसलाई कहिले पनि छोड्दैन । त्यसलै होला आफूले गरेको भन्दा बढी उचित र सही निर्णय आफ्ना सन्तानले गरुन् भन्ने हरेक बाबुआमाले चाहन्छन् । 

अहिलेका हाम्रो अभिभावक पुस्ता आफ्ना अभिभावकहरु भन्दा निश्चय नै बढी परिपक्व, उदार र सहिष्णु छ । हाम्रो पालामा अभिभावकत्वको जे परिभाषा थियो, आज पक्कै पनि त्यो परिवर्तित, परिमार्जित र फरक भैसकेको छ । आज हामी हाम्रा सन्तानहरुको जीवन र भविष्यसंग सम्वन्धित कुराहरुमा एकलौटी निर्णय गर्दैनौं । त्यो निर्णय उनीहरुमा करबलले लाद्ने कुचेष्टा पनि गर्दैनौं । हाम्रा मूल्य र मान्यतालाई आफ्नो विवेकको तराजुको एउटा पाटोमा राख्दा हामी उनीहरुका भनाई, सोच र मान्यतालाई पनि बराबर नै तौल दिएर जोख्ने गर्छौं । यस अर्थमा हामी आफ्ना सन्तानका लागि त्यो ‘बेष्ट फ्रेण्ड’ बन्ने लालसा पालेर बस्छौं जुन हामीले घरबाहिर खोज्नुपथ्र्यो । त्यसको साथसाथै फेरि आफ्ना अधूरा सपनाहरु आफ्ना सन्ततिले पूरा गरुन्, आफूले पाउन चाहेर नसकेका उपलव्धिहरु उनीहरुले हासिल गरुन् र त्यसमा आफू रमाऔं भन्ने चाहना पनि आजका अधिकांश अभिभावक पुस्ताले पाल्न छोडिसकेका छन् । किनभने आजको फराकिलो सोचाई र दृष्टिकोण भएको अनि तुलनात्मक रुपले संसार बढी देखेको पुस्ताले एउटा कुरा राम्ररी बुझिसकेको छ । त्यो के भने, फरक मान्छेका फरक चाहना हुन्छन् । हामी र हाम्रा सन्तानमा एउटै जिन्स भएपनि प्राथमिकता हाम्रा फरकफरक हुन सक्छन् । बदलिंदो समय र परिवेशलाई मन मरे पनि नपरे पनि आत्मसात गर्नुको विकल्प हामीसंग हुँदैन । हामीले हाम्रो समयमा आवश्यक र महत्वपूर्ण देखेका कुराहरु आजका पुस्ताको लागि गौण भैसकेको हुन्छ । तसर्थ पहिले दुई वा तीन पुस्तामा पुस्ता अन्तरका लक्षणहरु शनैशनै देखिन्थ्यो भने विकासको द्रुत गतिले गर्दा आज दश वर्षको उमेर अन्तर भएका मानिसहरुमा वैचारिक र मानसिक समानता खोज्नका लागि सूक्ष्मदर्शक यन्त्रको सहायता लिनु पर्ने भैसकेको छ । 

तर यो सबै आफ्नो ठाउँमा हुँदाहुँदै पनि एउटा कुरा अपरिवर्तनीय के हो भने, आज पनि अभिभावक आफ्ना सन्तानको भविष्यको लागि त्यति नै चिन्तित हुन्छन्, भलै त्यसका लागि अवलम्वन गरिने उपायहरुमा व्यापक भिन्नता होला । हामीले जति सहज रुपमा आफ्ना अभिभावकका कुराहरुलाई स्वीकार गथ्र्यौं, त्यही सहजता र आत्मसमर्पण आफ्ना सन्ततिबाट खोज्ने हो भने हामी आफैले आफैलाई दुःखी बनाउने बाहेक अरु केही गर्दैनौं । हामी आफ्नो किशोरावस्थामा भएको भन्दा अहिलेको पुस्ता त्यही उमेरमा बढी विवेकी र परिपक्व हुन्छ भन्ने कुरामा शंका छैन । तरै पनि यो समय उमेरको एउटा यस्तो भ्रामक परिच्छेद हो, जहाँ मानिसले आफ्नो सोचलाई मात्रै सही मान्छ, सर्वोपरि ठान्छ । उनीहरुका लागि अघिल्लो पुस्ता भनेको आफ्नो पूर्वाग्रही सोच र मान्यताको कोक्राबाट निस्कन नसकेको, नचाहेको पुस्ता हो । उनीहरुका कुरा भनेका डेट एक्सपायर्ड औषधि हुन्, जसले फाइदा गर्दैन बरु हानि गर्ला । वाल्यकालमा हरेक सन्तानलाई लाग्छ, उसको बाबुसंग भिडेको भए ब्रूसली हाथ्र्यो । उसले नचाहेर मात्र हो, नत्र सुपरम्यान उडे जसरी आफ्नो बाबु पनि उड्न सक्थ्यो । तर त्यही सन्तान जब हुर्कंदै जान्छ आफ्नो अतिमूल्यांकनको बारेमा सोचर हाँस्दाहाँस्दै त्यही अभिभावकको न्यूनमूल्यांकन गर्न थाल्छ, नजानीनजानी । त्यसैले एउटा भनाइ छ, टिनएजमा भएकाहरुले आफ्ना बाबुआमालाई त केही पनि केही पनि थाह रहेनछ भन्ने सोच्न थाल्छन् रे । अनि टिनएज सकिएपछि तिनैले सोच्छन् रे, ओहो पछिल्लो सातआठ वर्षमा मेरा बाबुआमाले कति कुरा सिक्न भ्याएछन् । 

तसर्थ त्यो उमेरमा भएका बाबुआमाहरुलाई आफ्ना सन्तानसंग समन्वय कायम गर्न फलामको च्यूरा चपाए जस्तो हुने गर्दछ । प्रवेशिका सकाएर बाह्र कक्षा पढ्न् बेलामा र बाह्र सकाएर स्नातक तहको पढाइ गर्ने बेला अक्सर यी दुइ पुस्तकाके लाप्पा पर्न थाल्छ । उनीहरु आफ्नो सोचाइ र मान्यताको पछाडि यतिसम्म विश्वस्त भैसकेका हुन्छन्, त्यो गलत छ भने पनि उनीहरुलाई मनाउन असम्भवप्रायः हुने गर्दछ । हाम्रो देशमा विद्यमान अहिलेको सम्पूर्ण अवस्थाले हरेक अभिभावकलाई आफ्नो सन्तानको भविष्यका लागि चिन्तित बनाएको छ । विदेश पठाउने सक्नेहरुका लागि त्यो पहिलो विकल्प भए पनि त्यो खर्च धान्न नसक्नेहरु मारमा परिरहेका हुन्छन् । यहाँ शैक्षिक संस्थाहरु प्रति कसैको कुनै समवेदना छैन । टोलका समस्याका लागि जिल्ला, अञ्चल वा उस्तै परे देशै बन्दको आह्वान गर्ने ‘विद्वान’हरु, त्यसको पालना गरेर अप्रत्यक्ष रुपमा सघाउने जनताहरु र तिनका माग पूरा गरेर गलत नजीर कायम गर्न सक्ने ‘सक्षम’ सरकारका कारण शिक्षा अवरुद्ध भैरहेको हुन्छ । कलेजका नाम कसैलाई मन परेन भनेर पनि स्कूल कलेजहरु वन्द गर्न पाइन्छ ।  त्यस्तो अवस्थामा जनकपुर जयनगर रेलवेको गतिमा चल्ने शिक्षा प्रणाली, नीजि शिक्षण संस्थाको नाममा जे जहाँ र जसरी जुनसुकै रुपमा पनि विद्यार्थी उत्पादन गर्ने कारखानाहरुका कारण समग्रमा यहाँबाट उत्पादन भएका अधिकांशको स्तर के भन्ने गम्भीर प्रश्न बारे कसैले घोत्लिनुपर्ने आवश्यकता देखेको छैन । 
त्यही भएर त हरेक प्रवेशिका परीक्षा र हरेक बाह्र कक्षाको जाँचपछि आम अभिभावकका दुर्दिनहरु सुरु हुन्छन् । 

प्रतिक्रिया:

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment