Translate

Sunday, November 18, 2012

अवतारको आशा

बायाँ फन्को ९५

फेरि एकपटक अन्यौलग्रस्त भएको छ नेपालको राजनैतिक परिदृश्य । हुन त कहिले चाहिँ यो स्पष्ट थियो भन्ने कुरा पनि आफ्नै ठाममा छ । त्यस अर्थमा भन्दा थप अन्यौलग्रस्त भएको छ नेपालको राजनीति भनिदिए कसो होला ? राजनीति भनेको देश र जनताका हितको कुरा नभएर शक्ति र सत्ताको दाउपेच बनिसकेको छ । यस अर्थमा यो शव्दको अर्थ नै फेरिएको छ , अर्कोपटक शव्दकोष परिमार्जन गर्नेबेलामा विज्ञहरुले यसलाई ध्यानमा राख्नेछन् भन्ने आशा गरौं । अस्पष्टता र अन्यौलका लागि यति धेरै बाटाहरुसायदै यस अघि कहिले खुलेको थियो होला । नेता, कार्यकर्ता, दल, नागरिक समाजका ठेकेदार, आमञ्चार र आम जनता समेत सम्विधान सभाको पुनस्र्थापना, चुनाव, राष्ट्रपतिको दखल (कुन रुपमा र कसरी भन्ने थप अन्यौल), सैनिक हस्तक्षेप, राजतन्त्रको पुनरागमन, अर्को सशस्त्र जनआन्दोलन अथवा गृहयुद्ध जस्ता अत्यासलाग्दा कुरा गरेर अन्यौलमाथि अन्यौल थप्ने बाहेक केही गरिरहेका छैनन् । चोक, बजार, बस, रेष्टूराँ वा कुनै पनि जमघटमा हरेक मानिस एउटा न एउटा आफ्नै विश्लेषण र विकल्प प्रस्तुत गरिरहेका भेटिन्छन् । तर पनि, यथार्थमा भन्ने हो भने सबै आफैमा अन्यौलग्रस्त छन् ।

परिवर्तनको चाहना गर्नु मानव स्वभाव हो । आफू रहेको अवस्था र स्थितिबाट सन्तुष्ट नभएर अझ राम्रो कुराको खोजी गर्ने यही गुणले नै आजको संसार यस ठाउँसम्म आइपुगेको हो । विकास त्यसैका कारण भएको हो, जीवनशैली सजिलो र सुविधासम्पन्न त्यसै कारणले भएको हो । तर, परिवर्तनको पनि एउटा प्रकृया हुन्छ र त्यसलाई बिर्सने हो भने त्यो परिवर्तनको कुनै अर्थ हुँदैन । अधिकार मान्छेको हक हो भने कत्र्तव्य पनि त्यससंग नङ र मासु जसरी जोडिएको कुरा हो । त्यसलाई अलग्याउन सकिंदैन । हामीले अहिले सोच्नु पर्ने कुरा त्यही नै हो । परिवर्तन तब मात्र प्रभावकारी हुन्छ जब हामी आफूबाट त्यसको श्रीगणेश गर्छौं । हरेक व्यक्तिको सोच र आचरणमा परिवर्तन भए मात्र समाज वा राष्ट्रको परिवर्तन हुन्छ । तर मन परे पनि नपरे पनि सत्य कुरा के हो भने हामीले आत्मअनुशासन र आफ्नो दायित्वलाई कहिले पनि मनन गरेका छैनौं । आफूलाई परिवर्तन नगरी राज्य परिवर्तनको अपेक्षा गरिरहेका छौं । 

हामी कत्र्तव्य बिनाको अधिकारको खोजीमा मात्र लागेका छौं । साना कुराहरुलाई वास्ता नगरी यो देश यूरोप अमेरिका जस्तो भएन भनेर गुनासो गरिरहेका छौं । हामी ट्राफिक नियम मान्दैनौं, आफ्नो सजिलो हुन्छ भने अरुको अप्ठ्यारोलाई रौं बराबर गन्दैनौं, पैसा कमाउन पाइन्छ भने शिक्षा, स्वास्थ्य र धर्मको व्यापार गर्न पछि पर्देनौं । भ्रष्टाचार भनेको त अलि ठूलै कुरा भइहाल्यो । अनि हामी आफै यो देशको भविष्य छैन, यहाँ बसेर केही हुँदैन भनेर गन्थन पनि गर्छौं । नेताहरुले यो देश डुबाए भनेर तिनलाई आमाचकारी गाली गर्छौं । तर कहिले सोचेका छौं हामीले नेता भनेको को हो ? आकाशबाट झरेको कुनै बाहिरी ग्रहको प्राणी हो नेता ? ती नेताहरु भनेका पनि हामी मध्येबाट नै, हामीले नै चुनेर छानेर पठाएका हामी जस्तै मान्छे हैनन् ? कि तिनको सिङ पुच्छर वा दशवटा टाउको हुन्छ ? हामी आफैलाई सुधार्न सक्दैनौं भने हामीबाटै बनेको त्यो नेता भन्ने जात चाहिँ कसरी गतिलो हुन्छ ? कच्चा पदार्थ नै कमसल प्रयोग भएको छ भने के कुनै उत्पादन गुणस्तरिय हुन सक्छ ?

दशैंको बेला थाइल्याण्डमा देखिएको एउटा सानो तर महत्वपूर्ण घटनालाई मनन गर्ने हो भने त्यसबाट सिक्न सकिने कुरा धेरै छ भन्ने मलाई लाग्यो । दशमीको दिन बैंककमा पनि नवरात्री भनेर भव्य रुपमा मनाइने चलन हुँदो रहेछ । सुकुम्भितको सिलोम सोइ नामक सडकमार्गमा नवरात्रि भव्य पूजाआजा र जुलुस सहित मनाउने चलन रहेछ । निकै लामो त्यो सडक वरिपरि त्यस दिन हुने भेलाको लागि सार्वजनिक रुपमा पहिले नै सूचना जारी गरिएको हुँदोरहेछ । होटलका लबीहरुमा समेत ३ बजेदेखि त्यहाँ वरिपरिका बाटोहरु पूर्ण रुपले बन्द हुने हुँदा पर्यटकहरुलाई कतै जाने आउने कार्यक्रम सोही अनुसार तय गर्न सूचना टाँसिएको हुँदोरहेछ । बिहान देखि नै मानिसहरु त्यो चौडा सडकको दुबैतिर आआफ्नो स्टलहरु तयार गर्न लागिपरेका हुँदारहेछन् । साँझ पर्न थालेपछि अथाह मानवसागर भेला भएपछि त्यहाँ पाइलो टेक्ने ठाम समेत पनि हुँदैन रहेछ । 

तर त्यति विघ्न मानिसहरु भेला हुँदा पनि न त त्यहाँ धक्कामुक्की हुन्थ्यो, न घच्चमघच्चा । अनुशासित रुपमा हरेक मानिस आआफ्नो ढंगले पूजाआजा गरिरहेका थिए । सानासाना तर झिलिमिली पारेर सजाइएका रथहरुको यात्रा पनि निर्वाध रुपमा चलिरहेको नै थियो । आफूले प्रयोग गरेका पूजा सामाग्री, खाने कुराका प्लेटहरु र असंख्य फुटाइएका नरिवलका टुक्राटाक्रहरु आफैले व्यवस्थि तगर्नका लागि सबैले स्टलका छेउमा ठूलाठूला ढ्वांगहरु राखेका थिए । बाटोमा छरिएका केही पदार्थहरुका लागि जुलुसको पछिपछि नगरपालिकाका सफाइ कर्मचारी र फोहोर उठाउने गाडी हिंड्दोरहेछ । जुलुस अघि बढ्दै जाँदा उनीहरु त्यसलाई तुरुन्तै सफा गरेर जस्ताको त्यस्तै पारिहाल्दा रहेछन् । 

१२० किलोमिटरको दरले असंख्य गाडीहरु कुद्ने चौडा सडकहरुमा पाँच दिनसम्म एउटा सवारीको हर्न सुन्नु परेन । लेन मिचेर कसैले बाटो जाम गरेको देखिएन । बटुवालाई कुनै गाडीले पेलेको देखिएन । सबैभन्दा ठूलो कुरा के हो भने संयम र आत्म अनुशासन नभएको मानिस देखिएन । हरेक ठाउँमा मानिस अरुका लागि सहज देखिएका थिए ।

आफूबाट परिवर्तन सुरु नगर्ने हो भने कुनै नेता, प्रधानमन्त्री, व्यवस्था वा शक्ति परिवर्तन भए पनि त्यसले केही लछारपाटो लाग्दैन । तर हामी यो कुरा भुलेर अरुलाई दोष दिनेमा मात्र अलमलिएका छौं ।  बरु हामी अमेरिकाको राष्ट्रपति चुनावको विश्लेषण र ओबामा वा रोम्नीको चुनावले विश्वमा त्यसले पार्ने प्रभावको बारेमा विज्ञता प्रदर्शन गर्छौं तर आफ्नो विश्लेषण जस्तो सानो कुरालाई कहिले प्राथमिकतामा राख्दैनौं । हामी एउटा कुनै यस्तो अवतारको व्यर्थ प्रतीक्षामा बाँचेका छौं, जसले आएर एउटा जादूको लठ्ठी घुमाउँछ र हाम्रा सारा समस्याको समाधान गरिदिन्छ । हामी कि त चमत्कार पर्खिएर आफैलाई भुलाइरहेका छौं, कि पशुपतिनाथले रक्षा गर्छन् भनेर आफूलाई आश्वस्त बनाइरहेका छौं । 

चमत्कार हामीले आफैमा गर्नुपर्छ अवतार पनि आफू भित्र नै खोजेर बाहिर निकाल्नुपर्छ भन्ने कुरा जति छिटो बुझ्न सक्यो, त्यति नै राम्रो ।

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment