Translate

Friday, February 1, 2013

मेरो सूट

अझै पनि बाँकी छ मसंग
मेरो त्यही एकजोर सूट
बर्षौं अघि मैले मेरो बिहेमा हालेको


कति नयाँ र नौला
फेसनहरू आए सूटका
अनि गए थुप्रै फेसनहरू
आएर नयाँ सूटहरूका
तर मैले
हरेक बिहे वर्तमन
हरेक भोज भतेर
धानें हरेक सभा समारोह
मेरो त्यही सूटले
बर्षौं अघि मैले मेरो बिहेमा हालेको

त्यतिबेला,
सूटै नलगाउनेहरूका दराज
लटरम्म भएको छ रे अचेल
थरिथरिका सूटहरूले
अटाउँछन् रे अचेल घरघरहरूमा
भर्साची ् र अरमानीहरू समेत
सुन्छु-
कोही त लगाउँछन् रे अब
एउटै सूट, पचासौं हजार पर्ने पनि
खै मलाई त पुगेकै छ अझै
त्यही सस्तो मेरो सूटले
बर्षौं अघि मैले मेरो बिहेमा हालेको

मेरो अनुहार चिनिनु अघि
अब त साँझका लोडसेडिंगका भतेरहरूमा
मेरो सूट चिन्छन् रे मानिसहरू
परिचय बनेको छ मेरो
पर्याय बनेको छ
यो मेरो पुरानो सूट
बर्षौं अघि मैले मेरो बिहेमा हालेको

तर आज खिन्न छु म
बिथोलिएको छु मनमनै
मक्किएछ यसपालि त
मेरो परिचयको कुहिनो
धम्क्याउँदैछ मलाई च्यातिने
मेरो पुरानो सूट
बर्षौं अघि मैले मेरो बिहेमा हालेको

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment