Translate

Sunday, February 3, 2013

चार वर्ष र एक शतक (१०० औं भाग)



चार वर्ष भनेको लामो अवधि हो कि छोटो ? चार वर्षमा के हुन सक्छ वा के हुन सक्दैन भन्ने कुरा आआफ्नो हिसाबले व्याख्या गर्न सकिन्छ । चारवर्षमा एउटा शिशु जन्मिएर बामे सर्दै, टुकुटुकु हिंड्दै स्कूल जान पनि भ्याउँछ, चार वर्षमा एउटा सम्विधान बन्न पनि भ्याउँदैन । समयको कसरी प्रयोग वा दुरुपयोग हुन्छ भन्ने कुरा मात्रै महत्वपूर्ण हो, त्यसको अवधि महत्वपूर्ण हैन रहेछ । 

२०६५ को माघ महीनाको कुरा हो । एक दिन एउटा नचिनेको नम्वरबाट फोन आयो । 
“मेरो नाम प्रशान्त अर्याल हो । नेपाल साप्ताहिकको सम्पादक । एक पटक भेटौं न ।”

मैले नामले चिनेको तर व्यक्तिगत रुपमा नचिनेको स्वरमा आत्मीयता थियो । हामी त्यही दिन भेट्यौं । मैले त्यतिबेलासम्म सोच्दै नसोचेको प्रस्ताव लिएर उनी आएका रहेछन्, नेपालमा एउटा नियमित स्तम्भ लेख्ने । एक छिन त मलाई केही भन्नै आएन । व्यावसायिक सिनेमाको लेखनमा होम्मिएको बेलादेखि मैले आफ्ना अरु लेखनलाई बिर्सिसकेको थिएँ । तर प्रशान्तजीको त्यो घच्घच्याइले मलाई सोचमग्न बनायो । त्यही महीनाको १९ गते छापियो पहिलो बायाँ फन्को । आज चार वर्ष भएछ, बायाँ फन्कोको सयौं भाग छापिने बेला । समयको अचम्मको बानी हुन्छ । बितुन्जेल बडो बिस्तारै जस्तो लाग्ने, एउटा विन्दुमा पुगेर सुस्ताएर हेर्दा कति छिटो बितिसकेछ भन्ने लाग्ने । 

हरेक कुरामा सयलाई निश्चित स्थान दिइएको हुन्छ । क्रिकेट खेलमा सय रन बनाउनुलाई उपलव्धिका रुपमा हेरिन्छ । उनान्सय रन बनाएर बाहिरिने खेलाडिको चर्चा हुँदैन जब कि त्यसमा र सय रनमा मात्र एक रनको अन्तर हुन्छ । कुनै मानिस सय वर्ष बाँच्नुलाई पनि गतिलै उपलव्धि मानिन्छ । परीक्षाका पूर्णाङ्क पनि सय अंकका हुन्छन् । सयमा सय ल्याउनु पनि महत्वपूर्ण मानिन्छ । सयले हिसाब गर्न सजिलो हुने भएकोले व्याजको हिसाब गर्दा पनि सयकडा यति र उति भनेर गरिन्छ । सय वर्षलाई शतकको रुपमा विशेष रुपमा उल्लेख गरिन्छ । आजकल त सरकार सय दिन टिक्यो भने पनि त्यसलाई ठूलो उपलव्धि मानेर सफलता र असफलताको मूल्याङ्कन गर्ने परिपाटी बनिसकेको छ । सयको आफ्नै ठाउँ छ, विशेषता छ । दुइ अंकबाट तीन अंकको श्रृँखलामा प्रवेश गर्ने भएर पो हो कि त ?

स्तम्भका रुपमा बायाँ फन्कोको शतकको मूल्याङ्कन गर्ने भन्ने जिम्मा विज्ञ पाठकहरुको हो । जुन रुपमा भए पनि त्यसलाई म सय प्रतिशत नै आत्मसात गर्ने छु । बिना कुनै बिवाद, बिना कुनै स्पष्टीकरण । एक सयबाट यसको संख्या कहाँसम्म पुग्छ भन्ने कुरा चाहिँ अहिले अड्कल काट्न सकिन्न । तर, आज यसको एक सयौं अंक लेख्ने बेला सुरुवात र यात्रा क्रमका केही व्यक्तिगत अनुभवहरु बाँड्ने लोभ छोड्न नसकेको हुनाले अलि पृथक बायाँ फन्को लेख्ने धृष्टता गरिटोपलेको हूँ ।

पन्ध्र दिनमा लेख्नु पर्ने कारण छुटिसकेको बानी पुनः निरन्तर भएको हो । त्यसैले अरु लेखनका लागि मेरो बाटो खुल्दै गयो ।  मेरा पछिल्लो चरणका लेखाइका लागि बायाँ फन्कोको भूमिका अत्यन्तै प्रेरणदायी बन्न पुगेको छ । सम्भवतः त्यसै कारण मैले आफ्नो अपूरो उपन्यास यायावर पनि पूरा गर्न सकें, जुन प्रकाशनको क्रममा छ । यो सबका लागि बायाँ फन्कोको अवसर जुराइदिने प्रशान्तजीलाई जति धन्यवाद दिए पनि कम हुन्छ । 

म सुरुसुरुमा इमेलबाट स्तम्भ पठाउने गर्थें । केही पछि खै कसरी हो समयसीमाका दिन अर्थात् हरेक बुधबार म नेपाल साप्ताहिकको कार्यालयमा गएरै ल्यापटप फिंजाउन थालें । सायद भनेको बेला घरमा बत्ती नहुनु र आफ्नो ल्यापटपको व्याट्री धेरै नटिक्नु पनि त्यसको कारण हुन सक्छ । म पाक्षिक स्तम्भकार भए पनि नेपालको टीमले कुनै बाहिरियाको रुपमा नभै आफ्नै समूहका साथी सरह गरेको व्यवहारले हाम्रो घनिष्टता बढ्नु अस्वाभाविक थिएन । एकदुई पटक त्यही क्रम चलेपछि त त्यो एउटा लत बन्न पुग्यो, नशा जस्तै । अहिले ल्यापटपको व्याट्री घण्टौं चल्छ, अँध्यारोसंग अत्तालिएर इन्भर्टरको व्यवस्था गरेको छु । तर बुधवार नेपालको कार्यालय धाउने मेरो बानी छुटेको छैन । म घरमा बसेर बायाँ फन्को लेख्नै सक्दिनं ।

रमण घिमिरे त पहिले देखि नै मेरा लागि मेरी आमाले नजन्माएका दाजु नै हुन् । तर नारायण अमृत, सन्तोष आचार्य, भोजराज भाट, यशोदा तिम्सिना, सुरेशराज न्यौपाने, रामवहादुर रावल, माधव बस्नेत, उपेन्द्र पोखरेल, ईश्वरी ज्ञवाली, जनकराज सापकोटा, सुधीर नेपाल, सिद्ध तिमिल्सिना, लक्ष्मीप्रसाद ङाखुसी, रविन्द्र मानन्धर र सम्पूर्ण नेपाल समूहको आत्मीयताले मलाई सँधै सकारात्मक ऊर्जा प्रदान गरेको छ ।

पाठकहरुका रुपमा प्राप्त हुने सबै प्रतिकृयाहरु मायालु रहे । चितवनका साहित्यकार धनराज गिरी बायाँ फन्कोका एक जना यस्ता नियमित र प्रेरणदायी पाठक हुन्, जसले आइतवार बिहान आठ नबज्दै फोन गरेर स्तम्भको बारे प्रतिकृया व्यक्त गर्न भ्याइहाल्छन् । कुनै दिन उनको फोन आएन भने तरकारीमा नून नभए जस्तो हुन्छ मेरो त्यो बुधवार । कतिपय पाठकहरुले बायाँ फन्कोमा रहने सकारात्मक चिन्तनका कारण आफूलाई निकै प्रभाव परेको कुरा गर्दा मैले मेरो ढुक्कुरे छाति तनक्क तन्काएको छु । कहिले आफूले निकै राम्रो प्रतिकृया आउने आशा गरेको स्तम्भमा चाइँचुइँ नहुँदा मरीच जस्तै चाउरिएको पनि छु । 

मलाई मन परेको कुरा पाठकहरुलाई सँधै मन पर्नैपर्छ भन्ने छैन । कहिलेकहीं उत्पन्न हुने त्यो वैचारिक भिन्नतालाई मैले स्वीकार गर्नुपर्छ, गरेको पनि छु । हुन त मलाई थाहा छ, जति प्रयास गरे पनि नियमित रुपमा स्तम्भ लेख्दा सँधै एकैनासको लेख्न सकिंदैन । कुनै बेला स्तम्भलाई प्रभावकारी बनाउन खोज्दाखोज्दै केही फितलो हुनसक्छ । संसार यति धेरै गतिशील र घटनावद्ध हुँदाहुँदै पनि कहिलेकहीं विषय नै भेटिंदैन । यो अरु सबै कुराको जस्तै नियमित स्तम्भ लेखनको पीडा होला, अथवा निरन्तर एउटै काम गर्दाको पट्यारले जन्माउने मानवीय कमजोरी । 

तर त्यसलाई जितेर निरन्तर अघि बढ्न कटिवद्ध छ बायाँ फन्को ।

प्रतिक्रिया:

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment