Monday, February 25, 2013

नपाउनुपर्ने कुरा पाउँदा

ऋतु फेरनि लागेको बेलाको रमाइलो अर्कै हुन्छ। अहिले पनि शरद् सकिएर वसन्तको आगमन हुँदै छ। यस्तो बेलामा वातावरण नै उल्लासमय हुन्छ। हावा पनि मीठो हुन्छ। अरू बेला घ्राणशक्तिले ग्रहण गर्न नपाउने एक किसिमको सुगन्धले हरेक मानिसलाई बाबा रामदेवको चेला बन्न मन लाग्ने बनाउँछ। म पनि त्यस दिन बिहान थैव चोकमा त्यही मीठो बास्ना अनुभव गर्दै थिएँ। ललितपुर सातदोबाटोबाट गोदावरी जाने बाटोमा भएको पुरानो बजार हो, थैव। थैव पूर्ण रूपमा पुरानो पनि छैन, पूरै आधुनिक भइसकेको पनि छैन। एउटा अनौठो जीवनशैली र वातावरणको सम्मिश्रण पाइन्छ त्यहाँ। थैव मात्र होइन, काठमाडाँैवरिपरिका पहिलेका गाउँ भनिने अरू पनि धेरै स्थान परविर्तनको यही क्रमबाट हिँडिरहेका छन्। वसन्तको प्रारम्भले मानिसको अनुहारमा उत्साह र चमक ल्याएको देखिन्छ। देशको राजनीतिक भविष्य रसातलतिर तीव्र गतिमा भासिरहेका बेलामा मानिसहरू खुसी हुन अनेकन् बहाना खोजिरहेका छन्। तर, अचेल सबै कुरा मूल्यसूचीका साथ आउँछन्। खुसीको पनि आफ्नै मूल्य छ। चाहेर वा नचाहेर पनि त्यो चुकाउनैपर्छ।



थैव बजारमा एउटा पुरानो चिया र मिठाई पसल छ। टोलभरिका मानिस बिहान त्यहाँ जम्मा हुन्छन्। स्थानीय बासिन्दाहरूको भेटघाटको थलो हो, त्यो चिया पसल। राजनीतिक अवस्थाको राग, ओरालो लागेको अर्थतन्त्रको अवलोकन, घरजग्गा मन्दीको मार, सामान्य कुरा कटाइ, अब देशले लिनुपर्ने दिशाको दर्शन, भावी प्रधानमन्त्रीको पक्ष-विपक्ष र छनोटजस्ता कुनै पनि कुरा त्यहाँ हुने गर्छन्। तर, त्यहाँको विशेषता भनेको तात्तातो आलु र जेरी हो। त्यस बिहान म पनि त्यहाँको चिया, जेरी र आलुको स्वाद लिएर बाहिर निस्केको थिएँ। सबै मानिसका अनुहारमा उज्यालो मुस्कान देख्न सकिन्थ्यो। साँच्चै भन्ने हो भने हामी नेपाली सन्तोषी जात हौँ। हामीलाई खुसी हुन स-साना कुरा पनि पर्याप्त छन्। तर, विडम्बना ! देशका शासकहरूले यो कुरा बुझेका छैनन्। उनीहरू हामीलाई ठूल्ठूला सपना देखाउनमा आफ्नो सारा समय खर्च गररिहेका हुन्छन्।

मैले एउटा चुरोट सल्काएर त्यहाँको स्वच्छ हावालाई प्रदूषित पारेँ, मनमनै आफैँलाई गाली गर्दै। कुलत भन्ने कुरा लागेपछि छुट्न गाह्रो हुन्छ। त्यसैले कुलत लाग्नै दिनुहुँदैन। मेरा आँखा अलि परबाट आइरहेका एक वृद्ध मानिसमा परे। हेर्दा ७० माथिका ती मानिस अलि नजिक आएपछि मैले हेक्का गरेँ, तिनको अनुहारभर िसयौँ मुजा परेका थिए। हामीले अखबार र किताबमा छापिएका अक्षर पढ्न सिकेझैँ मानिसको अनुहारमा उमेरले छाप्ने चाउरीहरू पनि पढ्न सिकेका भए तिनको अनुहारमा जीवन र अनुभव पढ्न सकिन्थ्यो होला। त्यो एउटा बृहत् कथासंग्रह हुन सक्थ्यो, तीन-चार पुस्ताका कथा भन्ने एउटा बृहत् उपन्यास वा महाकाव्य नै हुन सक्थ्यो। उनी मेरो नजिकै आए र मेरो हातमा भर्खर सल्किएको चुरोटलाई लोभलाग्दो गरी हेरेर भने, "बाबु, ठुटो फ्ँयाक्ने बेला मलाई देऊ है।"

मेरो मन एकतमासको भयो। मैले सिंगै चुरोट उनीतिर बढाएँ। उनले एकैछिन अविश्वासको भावले हेरे। कतै मैले उनलाई जिस्काइरहेको त छैन ? मेरो आँखामा कुनै छल नदेखेर होला उनले अप्रत्यासित फूर्तिका साथ त्यो चुरोट मेरो हातबाट थुते। उनले लामो-लामो सर्को तानेर फोक्सोमा भरेका धूवाँलाई आँखा चिम्लेर बिस्तारै बाहिर निकाले। अनि कृतज्ञ आँखाले मलाई हेरे। अब उनको आँखामा पनि खुसीको चमक थियो। अघिका ती उदास आँखा त्यति सानो कुरामा चम्किसकेका थिए। मैले भनेँ नि, हामीलाई खुसी हुन ठूलो कुरा नै चाहिन्न। अनि, तिनले मलाई आशिष दिए, "लौ बाबु, तिमीलाई मेरो आशीर्वाद लागोस्।"

मैले खल्तीबाट चुरोटको बट्टा निकालेर हेरेँ, त्यसमा १५-१६ खिल्ली बाँकी नै थिए। एकैछिन सोचेर मैले पूरै बट्टा उनीतिर बढाएँ। उनी अलमल्ल परेर मलाई हेर्न थाले।

"राख्नूस् यो सबै। तपाईंलाई नै हो।"  मैले उनलाई आश्वस्त बनाएँ। आधा भोल्टेजले मधुरो भएको बत्ती पूरै पावर आएर धपक्क बलेझैँ उनका आँखा चम्के। बट्टा उनलाई थमाएर म आफ्नो बाटो लागेँ। उनी मलाई थुप्रै आशिष दिन थालेका थिए। कमसे कम एक जना मानिसको अनुहारमा सानै खुसी ल्याउन भए पनि योगदान गरेँ भनेर सोच्दासोच्दै म टक्क अडेँ। के मैले राम्रो काम गरेँ ? हुन त मैले टन्नै आशिष पाएँ। तर, के मैले गरेको काम त्यसयोग्य थियो ? मैले एउटा मान्छेलाई चुरोट दिएर पाएको आशिषमा म खुसी हुन मिल्छ ? हुन त उनलाई मैले चुरोट खान सिकाएको होइन। मैले नदिएको भए उनी अरू कसैसँग माग्थे वा निभाइएको, कुल्चेको ठुटो टिपेर खान्थे होलान्। तर पनि मैले सिंगो चुरोटका बट्टा दिएर सही काम गरेँ भन्ने खुसी मलाई हुन सकेन।

त्यस बिहान ती वृद्धको अनुहारमा खुसीका धर्का कोरेर पनि म आफू भने खुसी हुन सकिनँ। किनभने, मैले पाउनु नपर्ने आशिष पाएको हुँ। आफूले पाउनु नपर्ने कुरा पाउँदा के अरू सबैलाई त्यस्तो लाग्दो हो ? हाम्रो देश त झन् त्यस्ता नपाउनुपर्ने कुरा पाएका मान्छेले भरिएको देश हो। अरू छोडेर अहिले देश जिम्मा लिएकाहरूलाई मात्रै हेरौँ न! के उनीहरूलाई पनि कहिलेकाहीँ आफ्नो उपलब्धि, पद र पहुँच मेरा लागि ती बूढा मानिसका आशिषजस्तै लाग्दा हुन् ?

एकै टेकमा तीन अन्तरा

कान्तिपुर कोसेलीमा प्रकाशित बम्बै, २०...... गति रोधक पुढे आहे सडकको किनारामा ट्राफिकको सूचना गाडिएको बोर्डमा मराठीमा लेखिएको थियो, ...