Translate

Sunday, February 17, 2013

भोक र भावना


बायाँ फन्को १०१

कुनै पनि कुरा, दृश्य वा घटना आफैमा महत्वपूर्ण वा महत्वहीन हुँदैन । गम्भीर वा फितलो, नियमित वा विशेष,  अनि सम्वेदनशील वा औसत भन्ने कुरा मानिसको हेराइ र बुझाइमा भर पर्छ । कहिलेकहीं कुनै कुराले मान्छेलाई खासै असर गर्दैन भने कहिले कहीं त्यही कुरा निकै गहिरो, मन छुने र विचारोत्तेजक पनि हुन जाँदो रहेछ । कहिलेकहीं कुनै बेला खासै महत्व नदिएर पन्छाएको कुनै कुराले वर्षौं पछि स्मृतिका झ्यालढोकाहरु ह्वाङ्ग पारेर खोलिदिंदा त्यो कुराको अर्कै कोण मान्छेले देख्न थाल्दोरहेछ । मान्छे कुन परिवेशमा, कुन अवस्थामा, कुन वैचारिक वा मानसिक स्थितिमा हुन्छ, त्यसले उसको हेराई र बुझाइलाई परिभाषित गर्दोरहेछ ।

सम्झनाका टुक्राटाक्रीहरु पनि कुनै बेला काम लाग्छ भनेर घरको कुनै कुनामा थन्क्याएर राखेको सामान जस्तै हुँदारहेछन् । केही वर्ष अघि बाटोमा देखिएको एउटा त्यस्तै घटना थियो । स्मृतिको कुनै अन्तरकुन्तरमा उपेक्षित भएर बसेको रहेछ त्यो घटना । माइतीघरबाट बबरमहल तिर मोडिने सडकको अर्धचन्द्राकार भागमा देखिएको त्यो पुरानो घटना आज लामो समय पछि फेरि ताजा भएको छ । एका बिहानैको कुरा थियो । त्यो ठाउँमा भएका प्रशस्त रेष्टुराँहरु मध्ये कुनै एकले बासी भएका, जूठा र अरु खानामा मिसाउन समेत नमिल्ने अवस्थाका केही खानेकुराहरु प्लाष्टिकको झोलामा पोको पारेर राती बाटोको छेउमा ल्याएर मिल्क्याएका रहेछन् । झुत्रोमुत्रो लुगा लगाएको एकजना मानिस ती पोकाहरु खोतल्दै थियो र खान नमिल्ने भनेर मिल्क्याइएका ती खानाका अवशेषहरु गमागम खाँदै थियो । उसलाई घीन पनि लागेको थिएन, कसैले देखेर के भन्ला भन्ने लाज पनि थिएन । ऊ आफ्नै सुरमा खान हुने–नहुने ती कुराहरु मजाले चपाइरहेको थियो । 

केही बटुवाहरु उसलाई हेरेर जिल्ल पर्दै गइरहेका थिए । म पनि त्यसै गरी गएको थिएँ त्यति बेला । तर आज अचानक त्यो कुरा सम्झँदा सनेच्न बाध्य भएको छु, ती मध्ये कतिजनाले त्यसको पछाडिका कारण सोचेका थिए होलान् ? कति दिनको भोको थियो होला त्यो मान्छे ? सहन सक्नेसम्म भोक सहेर अति नभैकन त उसले बाटोमा मिल्क्याइएका ती अखाद्य पदार्थहरु अवश्य पनि खाएन होला । त्यतिबेला त्यो मान्छेका लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेका आफ्नो भोको पेटमा जे भए पनि हाल्नु मात्र थियो । अरु कुनै पनि कुराहरु गौण थिए उसका लागि । 

हामी सबैका लागि कुनै पनि एउटै कुरा महत्वपूर्ण कहाँ हुन्छ र ? समय र कालखण्डै पिच्छे हाम्रा आफ्नै आवश्यकताहरु हुन्छन्, आफ्नै प्राथकिताहरु हुन्छन् । तर, अधिकांश समय मान्छेले त्यो कुरा खुट्याउन सक्दैन । हामी आफूलाई भन्दा पहिले र आफूलाई भन्दा बढी अरुलाई नियालेर मात्र आफ्नो आवश्यकता वा प्राथमिकता तय गरिरहेका हुन्छौं । फलानोको यस्तो छ, मेरो यस्तो किन छैन ? म ढिस्कानोभन्दा कम हुन हुँदैन । आफ्नो इज्जत हामी त्यस्ता कुराहरुले धान्छ भन्ने भ्रममा रहन्छौं । जब हामीसंग शक्ति हुन्छ, सत्ता हुन्छ, धन हुन्छ, हामी झनै वास्तविकता भन्दा पर हुन थाल्छौं । हामी आफूलाई चाहिने भन्दा बढी कुरा चाहिएको ठान्छौं र अरुलाई चाहिने भन्दा कम भए पुग्छ भन्ने सोच्छौं । कस्तो अचम्मका छौं हामी मान्छे भन्ने जात, अरु थोरैमा खुसी हुनुपर्ने, आफूलाई जति भए पनि नपुग्ने । 

त्यसैले गर्दा जब कुनै मानिसले पाउनुपर्ने आधारभूत कुरा पनि पाउँदैन, त्यो मान्छे लाज, सरम, पाप, पुण्य, घीन, ग्लानि वा अरु कुराहरुलाई बिर्सेर जे पनि गर्न तयार हुन्छ । यो असमानता नै एउटा यस्तो कारण हो जसले संसारमा वैमनुस्यता, समर र वैचारिक द्वन्दको वीजारोपण गरिदिन्छ । मान्छेमान्छे बीचमा खाडल खनिदिन्छ । पेटको भोक जस्तै मान्छेका अरु थुप्रै भोकहरु हुन्छन् । ती भोकहरु पनि पूरा भएन भने मान्छे विचलित हुन्छ । कुनै पनि भोकलाई एउटा निश्चित समयसम्म खप्न सके पनि अन्ततः मान्छेको नियन्त्रण हराउँछ । अनि उसले त्यसका लागि कुनै पनि कुरा ग्रहण गर्न सक्छ । असल पनि अथवा खराब पनि । 

स्वतन्त्रताको भोक पनि एउटा त्यस्तै भोक हो । मान्छे शारीरिक मात्र हैन मानसिक रुपमा पनि स्वतन्त्र हुन चाहन्छ । उसलाई अभिव्यक्तिको पनि स्वतन्त्रता चाहिन्छ । उसको त्यो आवश्यकतालाई नबुझेर वा बूझ पचाएर जब शासकहरु उसलाई भोकै राख्न थाल्छन्, कालान्तरमा त्यसको नकारात्मक परिणम आउन सक्छ । स्वतन्त्रताको नाममा उच्छृँखलता र अनुशासनहीनतालाई ग्रहण गर्न थाल्छ मान्छे । त्यसै गरी, जसरी माथि उल्लेख गरिएको घटनाको पात्रले पेटको भोक सहन नसक्दा बाटोमा मिल्क्याइएका सडेगलेका खाना पनि चपाउन थालेको थियो । 

राजनीतिक कुरा मात्र नगर्ने हो भने पनि मानिसमा मायाको, स्नेहको, भावनाको र शरीरको पनि भोक हुन्छ । कुनै पनि मान्छेका वरिपरिका उसलाई प्रत्यक्ष असर गर्ने अरु मान्छेहरुले यस कुरामा ध्यान दिएनन् भने त्यसले पनि अवाञ्छित परिणमहरु निम्त्याउँछन् । सम्बन्धमा पर्ने असर त आफ्नै ठाउँमा छँदैछ, मान्छेको आत्मविश्वासलाई पनि हल्लाउन सक्छ त्यस्ता भोकहरुले । अनि त्यस्ता भोकहरु शान्त गर्नका लागि मानिस भौंतारिन थाल्छ । त्यसरी भौंतारिनेका लागि एउटै कुरा मात्र महत्वपूर्ण हुन्छ । कहाँ र कसरी त्यो भोक शान्त गनूर््ू । भौंतारिने क्रममा उसले सही वा गलत कुनै पनि स्थान भेट्न सक्छ । गर्न हुने वा नहुने कुनै पनि काम गर्न सक्छ । मानिसमानिस बीचका बिग्रिएका सम्बन्धहरु यस्तै भोकले जन्माउने हुन् । बाबुआमाबाट पाउनु पर्ने कुरा, दाजुभाइबाट पाउनु पर्ने कुरा, साथीभाइबाट पाउनु पर्ने कुरा र लोग्नेस्वास्नीबाट पाउनु पर्ने कुराका भोकहरु पनि डरलाग्दा हुन्छन् । 

कुनै पनि भोकबाट सताइएका मानिसहरु भावनात्मक रुपमा बढी असुरक्षित हुन्छन् । उनीहरुबाट फाइदा उठाउन, उनीहरुलाई अलमल्याउन र आफ्नो स्वार्थका लागि प्रयोग गर्न सजिलो हुन्छ । किनभने भोकले रन्थनिएको मानिसमा विवेक हुँदैन, भए पनि उसका लागि त्यो महत्वपूर्ण हुँदैन । उसको मगजमा त एउटै मात्र ध्येय हुन्छ, भोक मार्ने ।

प्रतिक्रिया:

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment