Translate

Sunday, March 17, 2013

चेतन भगत र चोरिएको आइप्याड

बायाँ फन्को १०३

जीमेलको स्प्याम अक्सर हेर्दैनहेरी एकमुष्ट उडाइदिने मेरो बानी छ । फेब्रुअरी २०१३ को दोश्रो साता खै किन हो फोल्डर खोलेर सबै स्प्यामहरु सर्र हेर्दै थिएँ, एप्पलबाट ६ महीना अघि आएको एउटा मेलमा आँखा देखेें । कसैले मेरो एप्पल आइडी प्रयोग गरेर चेतन भगतको किताब डाउनलोड गर्न खोजेको थियो । म रोमाञ्चित भएँ । 

नौ महीना अगाडि मेरो आइप्याड घरैबाट चोरी भएको थियो । कसले चोरेको भन्ने थाहा त थियो तर बिना कुनै ठोस प्रमाण कसैलाई चोर दोष लगाउन नमिल्ने हुनाले र आर्थिक अवस्था कमजोर भएका कारण दुःखजिलो गरेर आफ्ना सानासाना सन्तानको लालनपालन गर्ने ती मानिसलाई पुलीस केस गर्न मनले मानेन । हराएको आइप्याडको स्थान देखाउने सेटिंग मिलाउन भ्याइएको थिएन । आइइएमइ नम्बरबाट कतै इण्टरनेट चल्छ कि भनेर केही दिनसम्म त अवलोकन गरियो । तर त्यसको केही सुराक नपाइएपछि आश मारिसकेको थिएँ । तर एप्पलको इमेलले आशा जगायो ।

प्रहरीको सहयोगमा पुनः आइइएमइ अनुगमन गर्दा एउटा नम्बरको सिम कार्डबाट नेट चलिरहेको थाहा भयो । त्यो नम्बरमा फोन गर्दा त्यो अफ मात्र हुन्थ्यो । सिम लिंदा बुझाएको नागरिकताका अनुसार काठमाण्डौ बाहिर स्थायी ठेगाना र अस्थायी ठेगाना ललितपुरको कुनै गाविस उल्लेख थियो । कल विवरण निकाल्दा त झनै निराशा हात लाग्यो । किन भने २०१० मा क वहादुर भन्ने मानिसले (तिनको गोप्यताका लागि नाम नलेखौं होला) लिएको त्यो नम्बरमा ३ वर्षसम्म न कुनै फोन आएकोथ्यो, न गरिएको थियो । तै पनि त्यो नम्बरमा क वहादुरका लागि कुरयिर आएको हुनाले कहाँ पु¥याउने हो भन्ने व्यहोराको एउटा एसएमएस पठाइयो । सम्भावना त कमै थियो तर उसले कुनै बेला त्यो नम्बर अन गरेको खण्डमा सन्देश देखेर कौतुहलतावश फोन गरि पो हाल्छ कि ? तर दुई दिनसम्म त्यसको पनि जवाफ आएन । त्यो मान्छेको नाममा अर्को मोबाइल कम्पनीमा कुनै फोन छ कि भनेर रेकर्ड हेर्दा त्यही नामथरका ३–४ सय मानिस भेटिए । तर नागरिकता र ठेगाना मिल्दो कुनै पनि रहेनछ । 

एकपटक त्यो अस्थायी ठेगाना उल्लेख भएको गाविस तिर रेकी गर्न जानु पर्ला भन्ने बिचार आयो । त्यो अति नै दुर्गम भन्न मिल्ने झण्डै काठमाण्डौको उपत्यकाको अन्त्य तिरको गाविस रहेछ । पहाडैपहाड, अनकण्टार त्यो गाविसका केही घर कुनै डाँडामा, केही घर खोल्सामा छरिएका थिए । उकालो चढें, ओरालो झरें, झोलुंगे पुल तरें, चिया पसल र अलि चल्तीका जस्ता देखिने किराना पसलहरुमा सोधखोज गरें, तर कसैले पनि क वहादुरलाई चिनेका थिएनन् । सेतो रंगको आइप्याड बोकेर हिंड्छ भनेर भन्दा पनि सुराक भेटिएन । अब लाग्यो, त्यो मान्छेले अस्थायी ठेगाना नै गलत लेखाएको हुन सक्छ । नजीकै पुगेर हराउने मृगमरिचिकाको छाँट देखियो आइप्याडको ।

पछिल्लो केही महीनादेखि पटकपटक ललितपुरकै कुनै अर्को स्थानबाट नेट चलेको देखिन्थ्यो । एउटा अर्को नम्बरबाट पनि आइप्याडमा नेट चलेको पत्ता लाग्यो । ख कुमार नामक अर्को मान्छेको त्यो नम्बर पनि ललितपुरकै तेश्रो स्थानमा थियो । अचानक शुक्रवार राति क वहादुरले केही अरु नम्बरहरुमा फोन गरेको देखियो । ती मध्ये एउटा ख कुमारको थियो जसबाट पनि आइप्याड चलेको थियो । उसले फोन गरेको अर्को ग प्रसादको नम्बर पनि त्यही ठाउँको देखियो जहाँबाट ख कुमारले आइप्याड चलाएको थियो । 

एकजना परिचित इन्सपेक्टर मित्रलाई गुहारेपछि उनले ग प्रसादलाई फोन गरेर एउटा जानकारीका लगि सहयोग गर्नु प¥यो भने । ग प्रसादले त्यही ठाउँमा रहेछ, जुन हामीलाई पहिले नै थाहा थियो । त्यहाँको बसस्टपमा भेट्ने कुरा भएर हामी जाँदा ग प्रसाद एउटा २५–२६ वर्षको केटा भेटियो । हामीले उसलाई दुइ दिन अघि बेलुका फोन गर्ने क वहादुर को हो र कहाँ भेटिन्छ भनेर सोध्यौं । उसले क वहादुर भन्ने कोही मान्छे नचिनेको तर त्यो नम्बरबाट आफूलाई फलानोदाइले फोन गरेको बतायो । 

फलानो दाइको काठमाण्डौको कुनै एक स्थानमा मोबाइल विक्री तथा मर्मत गर्ने पसलमा ग प्रसाद काम गर्दो रहेछ । फलानो दाइलाई फोन गर्दा उसले क वहादुरका बारे थाहा नभएको र कुनै ग्राहकले बनाउन ल्याएर छोडेको फोनमा त्यो सिम थियो भन्ने बतायो । आफू परिवारसंग काठमाण्डौ भन्दा अलि परै भएको हुनाले भोलिपल्ट दशै बजे पसलमा आउनू भन्दै आफ्नो पसलको ठेगाना पनि दियो । 

मलाई कसैलाई मुद्दामामिलामा फसाउनु र लम्ब्याउनु भन्दा पनि मेहेनतको पैसाले किनिएको सामान फिर्ता लिनुमा बढी रुचि थियो । किन भने लहरो तान्दै जाँदा पहरो कहाँ गजिन्र्छ भन्ने कुरा थाहा थियो । तर मैले अघि नै भनें नि, आर्थिक अवस्था राम्रो नभएर दुःखजिलो गरेरसानासाना सन्तानको लालनपालन गर्ने मानिसलाई पुलीसको चक्करमा फसाउने म थिएन । हुन त त्यसो भन्दैमा कसैले चोरी गर्नुलाई सहज मान्न पनि मिल्दैन । त्यो मानिसलाई आइन्दा अरुको घरमा त्यसो नगर्नू, अपराध लुक्दैन सबै मानिसले मैले जस्तै सदाशयता नदेखाउन सक्छन् भनेर चेतावनी मात्र दिने मेरो मनाशय थियो । त्यसपछि त्यो मान्छे डरैले पनि अन्त चोरीचकारी गर्दैन होला ।

भोलिपल्ट फलानो दाइलाई प्रहरीले आफ्नो कार्यालयमा बोलायो । साधारण सोधपूछमा नै उसले आइप्याड आफूले चलाइरहेको कुरा स्वीकार ग¥यो । उसका अनुसार विश्वासको मान्छेले आफ्नो भाइ भनेर ल्याएको एउटा मान्छेले बेलायतबाट आउँदा ल्याएको तर आफूलाई काम नलागेको भनेर सस्तोमा दिने भएर उसले त्यो किनेको रहेछ । प्रहरीको आदेशमा फलानो दाइले गएर दस मिनेटमा आइप्याड लिएर आयो । मेरो आइप्याडको आइइएमआइ नम्बर, सिरियल नम्बर र हंगकंगमा किनेको पसलको बिलका आधारमा नौ महीना पहिले चोरिएर यायावर बनेको ग्याजेट मैले पुनः फिर्ता पाएँ । चेतन भगतलाई पनि धन्यवाद ।

यसबाट सबैले सिक्नै पर्ने पाठ के हो भने आजको प्रविधिको संसारमा चोरीका ग्याजेट वा अरु सामान लुक्न सक्दैन । ढीलाचाँडो फेला पर्छपर्छ । त्यसैले विश्वासकै मान्छेले ल्याए पनि बिना कागजपत्रको सामान किन्नु भनेको आफ्नै खुट्टामा बञ्चरो हान्नु हो । 

सबैलाई चेतना भया ।

प्रतिक्रिया:

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment