Translate

Sunday, May 12, 2013

प्रतिकृयावादी

बायाँ फन्को १०७

मानिस पनि अचम्मकै जीव रहेछ । हेर्दा एकै प्रजातिका जस्ता देखिए पनि यिनमा जति विविधता शायदै अरु कसैमा हुन्छ । म यहाँ उनीहरुको शारीरिक, सामाजिक, साँस्कृतिक, ऐतिहासिक, आर्थिक, राजनीतिक वा अन्य कुनै पक्षको कुरा गरिरहेको छैन । यी सबैमा समानता भएका मानिसहरुमा पनि एउटा कुरामा भने भिन्नता हुँदो रहेछ, त्यो हो मानसिकता । कहिलेकहीं अचम्म लाग्छ । किन मानिसको मानसिकतामा यति धेरै भिन्नता हुन्छ ? तर, त्यही कारणले मानिसमा विविधता हुन्छ, त्यही विविधताले मानिसलाई आकर्षक बनाउँछ अनि त्यही आकर्षणले संसारलाई एकोहोरो र नीरस नबनाउन सहयोग गर्छ ।

हुन पनि हो, सबै मानिसको सोचाइ, रोजाइ, मन पर्ने कुरा वा मन नपर्ने कुरा एकनासको भैदिएको भए कुनै निश्चित शारीरिक र मानसिक बनौट भएका मानिसका मित्रैमित्र हुन्थे, अरु थरिका शत्रु नै शत्रु । केही थरिलाई प्रेमी, प्रेमिका, श्रीमान वा श्रीमतीका रुपमा प्राप्त गर्नका लागि काटामार हुन्थ्यो भने केही थरिका लागि कोही हुँदैनथ्यो । यो कुरा मानिस र सम्बन्धमा मात्र नभै अरु सबै कुरामा लागू हुन्थ्यो । एकथरि खाना पाउनै गाह्रो हुन्थ्यो, अर्को थरि फालाफाल । कुनै एउटा ठाउँमा जान वा बस्न हूलमूल हुन्थ्यो अनि अर्को थरि सुनसान । एकथरि साहित्य, सिनेमा र सङ्गीतको थेग्नै नसक्ने माग हुन्थ्यो, अर्को थरि परित्यक्त र उपेक्षित हुन्थे । सबै जना र सबै थोकका लागि यस संसारमा स्थान रहँदैनथ्यो । मानसिकता र रोजाइको यही भिन्नताले संसारमा सन्तुलन कायम गरेको छ । यसरी नै भिन्न हुने क्रममा केही थरि मानिसहरु चाहिँ प्रतिकृयावादी बन्न पुगेको हुन्छन् । कोही जन्मजात, कोही हुर्केको वातावरण र संगतले, अनि कोही चाहिँ आफूलाई अरुभन्दा फरक देखाउने लालसाले प्रतिकृयावादी बनेका हुन्छन् । एउटा भ्रम चाहिँ नपरोस् है, म यहाँ प्रतिकृयावादी भन्ने शव्दलाई प्रचलित राजनीतिक अर्थको रुपमा प्रयोग गरिरहेको छैन । म केही त्यस्ता मानिसका बारे कुरा गरिरहेको छु, जसलाई संसारका हरेक विषयमा प्रतिकृया व्यक्त गर्ने बानी लागेको हुन्छ । 

अचेल प्रविधिले सोच्नै नसक्ने गतिमा फड्को मारेको छ । विशेष गरेर सूचनाप्रविधि र सञ्चारको त कुरै नगरौं । इन्टरनेटको सहजताले सिंगो संसारलाई एउटा कोठा बनाएको छ । त्यसैको प्रतिफल तपाईँ हामी अक्सर जेसुकै पनि गर्न सक्ने भएका छौं । पहिले पहिले भए वर्षौं साधना गरेर, सिकेर, अनुभव बटुलेर, संघर्ष गरेर, अवसर खोजेर अनि आफूलाई प्रमाणित गरेर मात्र गर्न पाइने काम आजकल सजिलै गर्न पाइन्छ । हुन सरकारी वा गैरसरकारी जागीर खान, हवाइजहाज उडाउन, प्लम्बर बन्न, डाक्टर बन्न, इन्जिनियर बन्न, चित्रकार वा मूर्तिकार बन्न अहिले पनि गाह्रो छ । प्रविधिले यसमा तपाइँलाई खासै सहयोग गरेको छैन । तर, पत्रकार, कुनै पनि विधाको समीक्षक, समालोचक, साहित्यकार, गायक र चलचित्र निर्देशक जस्ता कुराहरु तपाईँले चिताउनासाथ बन्न सक्ने अवस्था सिर्जना भएको छ । तपाइँलाई पत्रपत्रिकाले पत्याएनन् भने साहित्य कोर्न वा समालोचना गर्न ब्लग तथा सामाजिक सञ्जाल छँदैछन् । गूगलमा केही बेर खोज्यो भने कुनै पनि विषयमा जो कसैसंग आधा घण्टा कुतर्क र लिंडेढिपी गर्न सकिने जानकारी (ज्ञान हैन है) पाइहालिन्छ । अनि त्यति भएपछि हरेक मानिसलाई आफू हरेक कुराको विज्ञ हुँ भन्ने लाग्नु स्वाभाविकै हो । वर्षौंसम्म एउटै विषयमा अलमलिइरहने कसलाई फुर्सद छ र अचेल ? हातहातमा रहेका उच्च क्षमताका क्यामरायुक्त फोनले सबैलाई फोटोग्राफर वा भिडियोग्राफर बनाइदिएकै छ । द्रूत गतिको इन्टरनेटका कारण अक्सर जहाँबाट पनि आफूले खिचेका कुरा प्रत्यक्ष प्रसारण गर्न सकिन्छ । त्यसो भएपछि हरेक व्यक्ति आफैमा एउटा ब्रोडकास्टर भइहाल्यो । बेसुरा मानिसको सुरलाई कम्प्यूटरको सफ्टवेयरले ट्याक्कै मिलाइदिन्छ । तालमा गाउन नसके पनि केही हुँदैन, टुक्रा टुक्रामा जोडेर गीत तयार पार्न सकिन्छ । पैसा भयो भने गायकगायिका बन्न कसैलाई कसैले रोक्न सक्दैन । सिक्ने र साधना गरिरहने फुर्सद कसलाई छ र अब ? 

इण्टरनेटमा सहज पहुँचका कारण विविध विषयका सतही जानकारी बटुल्ने बानी लागेका केही मानिसहरु प्रतिकृयावादी बनिसकेका छन् । प्राविधिक सहजताको संसारमा अचेल कुण्ठा मात्र बोकेर त्यसैको पोका पन्तुरा खोल्नेहरुको आधिपत्य हुन थालेको छ । प्रविधिले जन्माएका यस्ता प्रतिकृयावादीहरु अक्सर नकारात्मक हुन्छन् । उनीहरु कुनै पनि विषयमा फरक मत राख्नुमा नै आफ्नो विशिष्टता हुन्छ भन्ठान्छन् । धेरैले रातो भनेको कुरालाई हरियो भनेपछि पो आफू पृथक र भीडभन्दा अलग भइन्छ भन्ने मान्यता उनीहरुमा हुन्छ । राजनीति, खेल, कला, साहित्य कुनै पनि विषयमा कसरी खनिन्छन् प्रतिकृयावादीहरु भन्ने कुरा हेक्का गर्नु भएको छ ?
एउटा सरकार प्रमुख बन्नासाथ, एउटा खेल जित्ना वा हार्नासाथ, एउटा सिनेमा प्रदर्शन हुनासाथ वा एउटा पुस्तक प्रकाशन हुनासाथ कुनै ठूलो अपराध धयो र त्यसलाई छोड्न हुन्न भनेजसरी आक्रामक भएर जाइलाग्छन् प्रतिकृयावादीहरु । कुनै पनि कुराको राम्रो पक्ष छोडेर त्यसको रौं बराबरकै किन नहुन्, कमजोरी खोज्नमा आफ्नो श्रम खर्च गर्छन् यस्ता छिन्द्रान्वेषीहरु । हरेक विषयमा ज्ञाता बनेर ट्विटर, फेसबुक र यूट्यूब जस्ता सामाजिक सञ्जालमा प्रतिकृया व्यक्त गर्नेहरुको कमी छैन । अभिव्यक्तिका माध्यमहरुलाई विध्वंशात्मक हैन, सिर्जनात्मक रुपमा प्रयोग गर्न हामी सम्वेदनशील र सतर्क हुने बेला आइसकेको छ । दर्शक वा पाठक बढाउने र पैसा कमाउने लोभमा तथाकथित अनलाइन पत्रिका र यूट्यूब च्यानलहरुले गर्न हुने नहुने सबै काम गरिरहेका छन् । कहिलेकहीं त यस्तो लाग्छ, मर्यादा, उत्तरदायित्व र समवेदनशीलता भनेको कुन चराको नाम हो भन्ने पनि यिनीहरुलाई थाहा छैन ।

अरुको उछित्तो काढ्ने बेला सोच्नुपर्ने कुरा के हो भने, संसारमा कुनै मानिस सर्वगुण सम्पन्न हुँदैन । त्यसो भएपछि मानिसले गर्ने सिर्जना वा कुनै काम सर्वगुण सम्पन्न र सँधै सही हुनै सक्दैन । जतिसुकै सफल र दूरदर्शी राष्ट्रप्रमुखले पनि सँधै सही निर्णय मात्र गरोस् भन्ने चाहना राख्नुहुन्न । एउटा प्रहरी अधिकृतले हरेक अनुसन्धानबाट हरेक अपराध सुल्झाउँछ भन्न सकिन्न । डाक्टरले जाँचेका सबै बिरामी बिसेक हुँदैनन् । वकीलले लडेको हरेक मुद्दा जित्दैन, कविले सँधै खोटै नलाग्ने बविता रच्न सक्दैन, जतिसुकै सशक्त खेलाडी वा टीमले पनि खेलेको हरेक प्रतियोगिता कहाँ जित्छ र ? हमे बारम्बार गलत कार्य गर्नेलाई सचेत गराउनुपर्छ । उसको कार्य वा गतिविधिले अरुलाई हानि हुन्छ भने त्यस्तो गर्नबाट बञ्चित गर्नुपर्छ । धेरैलाई असर पार्ने कार्यका लागि कुनै अयोग्य मानिसले कुनै जिम्मेवारी पाएको छ भने प्रश्न उठाउनुपर्छ । तर, प्रतिकृयावादीहरु समग्रमा बिझाइरहन्छन् । जीउमा गडेको नीलकाँडाको अवशेष जसरी बेलाबेला चुस्सचुस्स घोचिरहन्छन् ।

यहाँनेर ओशोको एउटा भनाइ सान्दर्भिक छ, ‘कसैले गर्ने अपमान, गाली र दिने नकारात्मक ऊर्जा भन्ने कुरा पनि कुनै वस्तु सरह हो । आफूले ग्रहण वा स्वीकार नगरेसम्म त्यो आफ्नो हुँदैन–उसैको हुन्छ जसले दिन खोजिरहेको छ ।’ त्यसैले सकारात्मक कुरा मात्र ग्रहण गरेर नकारात्मक कुरालाई बढार्ने हाम्रो आफ्नै हातमा छ । हामीले त्यो सिक्नुपर्छ ।

प्रतिक्रिया:

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment