Friday, May 24, 2013

काग र कोइली


नेपाल साप्ताहिकको मेरो स्तम्भ 'बायाँ फन्को' बाट


बिहानी सृष्टिकै अनुपम र अद्भुत क्षण। महत्त्वपूर्ण पनि उत्तिकै। किनभने, बिहानीले नयाँ दिन ल्याउँछ। अँध्यारोलाई पन्छाएर हाम्रो वरपिरि उज्यालोका किरण छर्छ। रात निष्त्रिmयताको परिचायक हो, बिहानी जागरुकताको। सक्रियताले उपलब्धि ल्याउँछ, उपलब्धिले आत्मसन्तुष्टि। बिहान हुने प्रक्रिया पनि बडो सुन्दर हुन्छ। चाँडै उठ्ने हुनाले म हरेक बिहानीको आनन्द उठाउँछु। केही दिनअघिको एक बिहानी। आकाश बल्ल तीनपत्रे रंगमा पोतिएर खुल्दै थियो। अलि पर सामुदायिक वनमा चराहरू चिरबिराउन थालिसकेका थिए।


म आँखा चिम्लेर तिनीहरूको स्वरमा रमाइरहेको थिएँ। हरेक चराका आ-आफ्नै मिठास थिए। कोइली र धोबीचरीलगायत मैले ठम्याउन नसक्ने चराहरूको कोरस बडो मीठो सुनिँदै थियो। अचानक त्यो कोरसमा मिसिएर एउटा काग पनि कराउन थाल्यो। एकै प्रकारका स्वरहरूको माधुर्यमा अभ्यस्त भइरहेका बेला अचानक सुनिएको त्यो कर्कश आवाजले नराम्रोसँग बिझायो। किन कराउनुपरेको होला यो कागलाई यही बेला ? रसि पनि उठ्यो। अभिव्यक्तिको स्वतन्त्रताको निर्बाध उपयोग गर्दै ऊ र उसका साथीहरू पनि निरन्तर अरू चराहरूको सुरमा सुर मिलाइरहे। एकाग्र भएर सुनिरहँदा केही बेरपछि मलाई एउटा अचम्मको अनुभूति भयो। मलाई कागको स्वर क्रमशः कर्कश लाग्न छाड्यो। अभ्यस्त हुँदै जाँदा केही बेरमा म त्यसको आनन्द पो लिन थालेँ। कागको स्वर कर्कश हुन्छ भन्ने स्थापित मान्यताको घेराभन्दा बाहिर गएपछि मात्र त्यसको मिठास सुनिँदो रहेछ।

हरेक चराको स्वर, आनीबानी र रूपरंगजस्तै सृष्टिले आफ्ना हरेक सिर्जनालाई फरक बनाएको हुन्छ। ती सबैका आ-आफ्नै विशिष्टता र पहिचान हुन्छन्। सोच्दै जाँदा लाग्यो, यदि सबै सिर्जना एकैनासको भएका भए संसारमा रोचकता भन्ने कुरै रहँदैनथ्यो। सबैलाई सबै थोक कहाँ दिएको छ र यो रहस्यमयी रचयिताले ? कागलाई हामी सुन्दरताको विपरीत आँखाले हेछार्ंै, कागको स्वरलाई कर्कश भन्छौँ, कागलाई अपशकुनसँग जोड्छौँ। तर, कागका विशेषता के हुन् भन्ने केलाएर हेर्दैनौँ। हालसालैका अनुसन्धानबाट थाहा भए अनुसार कागमा हुने इन्सेफलाइजेसन कोटेन्टका कारण यी संसारका सबैभन्दा तीक्ष्ण प्राणीमध्ये एक हुन्। वनमान्छेहरू त्यही तत्त्वका कारण मानिसको सबैभन्दा नजिक मानिन्छन्। कागको हामीलाई कर्णकटु लाग्ने स्वरमा पनि कति धेरै आयाम हुन्छन् र त्यसबाट तिनले भिन्न प्रकारका सञ्चार गर्छन् भन्ने हामीलाई थाहै हुँदैन।

मानिस र अरू प्राणीको कुरा गर्दा पनि हरेकका आ-आफ्नै विशेषता हुन्छन्। यो कुरा बिर्सेर हामी धेरैजसो जससँग जे छैन, त्यससँग त्यही कुराको अपेक्षा किन गर्छौं ? त्यसो हुँदा उससँगका महत्त्वपूर्ण पक्षसँग नजिकिन हामी वञ्चित भइरहेका हुन्छौँ। मान्छेका सम्बन्ध पनि यसै कारण बन्ने र बिग्रने हुन्छन्। आफू सन्तुष्ट वा असन्तुष्ट हुनुमा पनि हाम्रो यही मानसिकताले काम गरेको हुन्छ नि होइन र ? डाक्टर बनोस् भन्ने आशा गरेर हुर्काएको छोरो अरू केही बनिदियो भनेर आजन्म गुनासो गर्ने मानिसहरू हाम्रै समाजमा छन्। साधारणतया कुनै पनि सानो बालकलाई तिमी भोलि के बन्ने भनेर सोध्दा अझै पनि अधिकांशले डाक्टर वा इन्जिनियर नै भन्छन्। तिनलाई बाबुआमाले कुरा बुझ्ने बेलादेखि त्यही नै मगजमा भरेका हुन्छन्, चिलिममा तमाखु खाँदेजसरी, खाँदीखाँदी। तर, हरेक बालक हुर्केर कहाँ डाक्टर वा इन्जिनियर बन्न सक्छ ? अनि, उसका बाबुआमा मात्रै होइन, ऊ आफैँ पनि हीन भावनाले ग्रस्त भएर आफूलाई धिक्काररिहन्छ।

त्यति मात्र नभई साथीभाइ, प्रेमीप्रेमिका, लोग्नेस्वास्नी, दाजुभाइजस्ता सम्बन्ध पनि यही मानसिकताको सिकार बनिरहेका हुन्छन्। हामी आफूले चाहेको अनुसार अरूले व्यवहार गरोस्, आफूले जे चाह्यो, अरूले त्यही बुुझोस्, आफूले चाहेजस्तो जीवनशैली अरूको होस् भन्ने सोचले ग्रस्त हुन्छौँ र त्यो पूरा भएन भने दुःखी हुन्छौँ। तर, कहिले पनि आफ्ना सोच र चाहनालाई दोष दिँदैनौँ। हरेक मानिसलाई ऊ जे हो, जस्तो हो, त्यही रूपमा स्वीकार्न हामीलाई किन गाह्रो लाग्छ ? मैले त्यस बिहान काग पनि कोइलीको स्वरमा किन कराएन भन्ने मात्रै सोचेको भए त्यसले मलाई नै असर गथ्र्यो, अरू कसैलाई होइन। किनभने, कागले चाहेर पनि कोइलीको स्वर निकाल्न सक्दैन।

त्यस्तै मान्छेका पनि आ-आफ्ना सीमा हुन्छन्। देशको राजनीतिलाई हेर्ने हो भने पनि यो कुरा छलर्ंगै हुन्छ। रमाइलो त के भने बारम्बार आफूलाई असफल र नालायक भनेर प्रमाणित गरसिकेकाहरूसँग अझै पनि हाम्रा अपेक्षा छन्। ती असफलताका लागि अरू कुनै काल्पनिक र आफूलाई भुलाउने कारण खोजेर तिनमा विश्वास गरेर बसेका छौँ हामी। 

हामी कागहरूबाट कोइलीको अपेक्षा गरेर बसेका छौँ।

एकै टेकमा तीन अन्तरा

कान्तिपुर कोसेलीमा प्रकाशित बम्बै, २०...... गति रोधक पुढे आहे सडकको किनारामा ट्राफिकको सूचना गाडिएको बोर्डमा मराठीमा लेखिएको थियो, ...