बायाँ फन्को ११०
आँखाका लागि अभ्यस्त भइसकेका कतिपय दृश्य वा कुरालाई हामी हेक्का गर्दैनौं, वास्ता गर्दैनौं । तर, कुनै बेला तिनका बारे घोत्लिन बाध्य बन्छौं । कुनै एउटा सानो कुराले हामीलाई रन्थनाइदिन्छ । हाम्रो मगजमा पहिले त्यो कुरा किन आएन भनेर अचम्म पनि लाग्छ । केही दिन अघि मलाई त्यस्तै भयो ।
म बस्ने ठाउँभन्दा अलि परनियमित रुपमा चौपाया काटिने ठाउँ छ । बिहान चाँडै घरबाट निस्कँदा चौपाया काटिएको वा काटिएपछि टुक्रा पारिँदै गरेको देखिन्छ । म सकेसम्म त्यता आँखा नपरोसे भनेर अर्कोतिर हेर्दै हुँइकिन्छु । तै पनि आँखा भन्ने कुरा अचम्मको हुन्छ । हेर्न नचाहेको कुरा पनि कुनै कुनाबाट देखिन्छ । एउटा ज्यान मरेको देख्दा मन खिन्न हुन्छ । मेरा लागि त्यो दृश्य जति नै नरमाइलो भए पनि वर्षैंदेखि हरेक बिहान दुईचार चौपाया काट्दै आएका ती मानिसका लागि त्यो दैनिकी हो, जीविकोपार्जन गर्ने माध्यम हो र साधारण कुरा हो । केही घण्टाभित्रै उनले आफ्नो काम सकिसकेका हुन्छन् । उनको कामप्रति मेरो कुनै गुनासो छैन ।
भोलिपल्ट काटिने चौपाया अघिल्लो साँझ नै त्यस ठाउँमा ल्याएर बाँधिएको हुन्छ । एक दिनको कुरा हो, म बाम विशेषले राती ढिला घर फर्कँदै थिएँ । पानी बेस्सरी परिरहेको थियो । त्यो ठाउँनेर पुग्दा मेरो सवारीको हेडलाइट भोलिपल्ट काट्न ल्याएर बाँधिएको त्यस्तै एउटा चौपायामा प¥यो । मुसलधारे पानीमा रुझेको त्यो चौपाया एकदमै माया लाग्दो देखिएको थियो । सडकधन्दा अलि परै कीला ठोकेर बाँभिएको भए पनि पानीबाट बच्नका लागि शायद त्यो तन्केर सडकमा आइपुगेको हुनुपर्छ । झिसमिसे नहुँदै भारिलो हतियार गर्धनमा चल्ने भएकाले पानीबाट बच्न त्यसले गरेको यत्नको कुनै अर्थ थिएन ।
चौपाया काटिनु कुनै नौलो कुरा त होइन । हरेक दिन हजारौंको संख्यामा राँगा, भैंसी, खसी, बोका, पाडा काटिन्छन् शहरमा । अनि, यहाँका अनगिन्ती खाजा घरमा तिनका परिकारहरु बन्छन् । मम, छोयला, कचिला, भुटन, कवाफ लगायत थुप्रै अरु सितन र खाजाहरु बन्छन् । हामी स्वाद लिइ–लिइ जिब्रो पड्काइ–पड्काइ तिनलाई चपाउँछौं । हाम्रा लागि यो एकदमै साधारण हो । हामी त्यतिबेला ती जनावरहरु कसरी र कहाँ रेटिन्छन्, कसरी टुक्र्याइन्छन्, कसरी ओसारिन्छन् र कसरी पाक्छन् भन्ने कुरा सोच्दा पनि सोच्दैनौं ।
राँगा, पाडा, खसी र बोकाको मात्र कुरा होइन कुखुरा र माछा पनि कसरी हाम्रो जिब्रोसम्म पुग्छन् भन्ने कुराप्रति हामी आँखा चिम्म गर्छौं । साइकलमा झुण्डझुण्ड उल्टो झुण्ड्याएर कुदाइएका कुखुराहरुको आँखामा कहिल्यै हेर्नुभएको छ ? अभिव्यक्त गर्न नसक्नेका पनि पीडा हुन्छन् । जोत्ने वा दुहुने प्रयोजन सकिएपछि काठमाण्डौका खुराकी बन्न ट्रकमा खाँदेर, बाँधेर ल्याइएका ती जनावरको दुर्दशा हामीमध्ये धेरैले आफ्नै आँखाले पनि देखेका हुन्छौं । रिक्सा वा पावर ट्रेलरमा ओसारिएको आलो मासुका थुप्रा हामीले नदेखेका कहाँ हौं र ? सडकमा तप्तप् आलो रगत चुहाउँदै ठसठस कन्दै घिस्रिने ती वाहनहरुमा अघिल्लो साँझ बालुवा, इँटा, रोडा वा सेफ्टी ट्यांकी सफा गरेको अवसाद पनि ओसारिएको हुन सक्छ । भारतको आन्ध्र प्रदेश देखि निकै दिन लगाएर ओसारिने माछाहरु बाटोमा नकुहियुन् भनेर तिनमा पोष्टमार्टम अघि लाश नकुहियोस् भनेर मानिसको मृत शरीरमा दलिने फर्मालिन नामक रसायन दलिएका हुन्छन् भन्ने समाचारहरु नछापिएका पनि हैनन् । तर हामी त्यसलाई गम्भीरतापूर्वक लिँदैनौँ । महँगा डिपार्टमेन्टल स्टोर बिक्ने ससेज लगायतका अन्य अरु मांस खाद्य पदार्थहरु पनि कहाँ र कसरी उत्पादन भएका हुन्, उचित तापक्रममा राखिएका छन् कि छैनन् धन्ने हामीलाई थाहा हुँदैन । हाम्रो जिब्रो यति लोभी छ, आँखाले देखेका, कानले सुनेका वा समाचार माध्यममा पढेका वीभत्स वर्णनहरु पनि हाम लागि गौण बनिदिन्छ । त्यसैले त शहरको कुनै पनि कुनामा क्या मिठो मासुको परिकार पाइन्छ भन्ने सुन्नासाथ हामी अनेक कुरा मिलाएर त्यो चपाउन कुदिहाल्छौं ।
स्वास्थ्य विज्ञहरु भन्छन्, मांसाहारीलाई मधुमेह, मुटुरोग र क्यान्सरजस्ता स्वास्थ्य समस्या बढी हुन्छ । भनिन्छ, प्राकृतिक रुपमा पनि मानिस मासु खान बनेको होइन । ढुंगे युगबाट कृषि युगमा नपुगुन्जेल शिकार गरेरै बाँचेको भए पनि मानिसको हात, औंला, नङ, दाँत, आन्द्रा र पाचनप्रणाली अरु मांसाहारीको जस्तो नभइ शाकाहारी प्राणीको जस्तो छ । त्यसैले भनिन्छ, हामीले अरु जनावरलाई मारेर खाँदा उल्टोतिनीहरुले हामीलाई मारिरहेका हुन्छन् रे । किनभने कोलष्ट्रल र बोसोयुक्त तिनको मासु प्रकृतिले नै शाकाहारी बनाएको मानिस भन्ने जातको पेटका लागि होइन । प्रकृतिले शाकाहारी बनाएको अरु कुनै प्राणीले अर्को प्राणीको मासु खाँदैन, मानिस बाहेक । यो सबै हामीलाई थाहा नभएको कुरो कहाँ हो र ? तैपनि, सबै जानेर बुझेर पनि हामी अबूझ बनेको अभिनय गर्छौं ।
यति ठूलो संसारलाई जित्न सक्ने हामी आफ्नो एउटा सानो जिब्रोसंग चाहिँ हारेका छौं ।
0 प्रतिक्रिया दिनुहोस्:
Post a Comment