Translate

Thursday, June 20, 2013

साहित्य र सिनेमा

बायाँ फन्को ११२

“हाम्रो साहित्यमा एकसेएक कथाहरु छन्, तै पनि किन तिनमा सिनेमा बन्दैनन् ?”
यो प्रश्न नेपाली चलचित्रकर्मीहरुले बारम्वार सुन्नुपर्छ ।

सिनेमाले कथा नै भन्ने हुनाले सिनेमाको लागि सबै भन्दा आवश्यक कथा नै हो । त्यो कथा कसरी भन्ने मात्र फरक हुन्छ । त्यसैले नयाँ कथा भन्नका लागि वा पुरानै कथा नयाँ तरिकाले भन्नका लागि सिनेमाका निर्माता निर्देशकहरु सँधै माथापच्ची गरिरहेका हुन्छन् । यो क्रममा नयाँ विचारहरु पनि बुनिन्छन् भने कहिलेकहीं स्थापित साहित्य वा पुस्तकलाई सिनेमाको रुपमा ढाल्नका लागि पनि कसरत गरिन्छ । स्थापित साहित्य वा अन्य कुनै पनि पूर्व प्रकाशित कृतिहरुमाथि सिनेमा बनाउनु भनेको फलामको च्यूरा चपाउनु भन्दा बढी दुष्कर कार्य हो । त्यही कारणले गर्दा अधिकांश यस्ता सिनेमाहरुले जस पाउँदैनन् । सिनेमा जतिसुकै राम्रो बने पनि पुस्तकलाई पूर्णरुपले न्याय गर्न सकेन भनेर समीक्षकहरुले नाकमुख खुम्च्याउने पुरानै चलन हो ।

हुन त साधारण रुपमा हेर्ने हो भने अक्षरमा मात्र सीमित कुरालाई चलचित्रको रुपमा जीवन्त बनाउँदा त्यो झन् प्रभावकारी हुनुपर्ने हो नि हैन र ? तर थोरै मात्र अपवादहरुलाई छोड्ने हो भने त्यसो हुन सक्दैन । पुस्तक लेखकको माध्यम हो भने सिनेमा निर्देशकको माध्यम हो । सिनेमाको लागि सबैभन्दा महत्वपूर्ण निर्देशक किन मानिन्छ ? एउटा राम्रो कथामाथि सिनेमा निर्माण गर्नका लागि गतिलो लगानीकर्ता तयार भयो । मागेका हरेक कुरा बिना कुनै कञ्जूस्याँइ उपलव्ध गराउनका लागि उसले कुवेरको ढुकुटी नै खोलिदियो । त्यो कथामा लेखकले उत्कृष्ट पटकथामा बुनिदियो सटीक र प्रभावकारी सम्वाद लेखिदियो । गीतकारले कथालाई सुहाउँदो गीत लेखिदियो जसलाई एउटा कुशल सङ्गीतकारले सुमधुर धुनले सिंगारिदियो । त्यो धुनमा गायक गायिकाले मीठो गीत गाइदिए । अभिनेताहरुले जीवन्त अभिनय गरे, छायांकन गर्नेले उत्कृष्ट रुपमा खिचिदियो, सम्पादन गर्नेले दक्षताका साथ आफ्नो काम गरिदियो । राम्रो प्रविधिशालामा त्यसका बाँकी कामहरु भए र सुविधा सम्पन्न हलमा त्यसको प्रदर्शन भयो । सिनेमाको शुरु देखि अन्त्य सम्मको यो सबै क्रममा निर्देशकको भूमिका कहाँ छ त ?

कुनै काम नै नदेखिने निर्देशकलाई जहाजको कप्तान र सिनेमालाई उसैको माध्यम किन भनिन्छ त ? किनभने उसले आफ्नो दृष्टिकोण, सोच र विचारलाई पटकथा, सम्वाद, (कहिलेकहीं मौनता) अभिनय, भाव, गीत, पाश्र्व सङ्गीत र दृश्यहरुका छायांकनको सहयोगले पर्दामा प्रस्तुत गर्दछ । सिनेमाको पछाडिको यो अदृश्य संयोजन र विचार नै निर्देशकको काम हो । त्यस अर्थमा भन्नुपर्दा एउटा निर्देशकले आफ्नो आँखाले दर्शकहरुलाई कथा देखाइरहेको हुन्छ । आफ्नो विचार र दृष्टिकोण पस्किरहेको हुन्छ । त्यसैले नयाँ र नसुनिएका कथामा बनेको चलचित्र हेर्ने बेला दर्शकहरुलाई कुनै अपेक्षा हुँदैन । उनीहरुको आफ्नो दृष्टिकोण वा व्याख्या हुँदैन । उनीहरुको मस्तिष्कमा पहिले नै कुनै चित्र वा छवि अंकित भएको हुँदैन । उनीहरु रित्तो कागज लिएर सिनेमा हेरिरहेका हुन्छन् । तसर्थ यदि निर्देशकले सशक्त र रोचक ढंगले सिनेमालाई प्रस्तुत गरेको छ भने दर्शकहरुले त्यसलाई सहज रुपमा स्वीकार्छन् ।

तर कुनै स्थापित साहित्यमा सिनेमा बनेको छ भने त्यो हेर्ने बेला दर्शकहरु अघिल्लो अवस्थामा जस्तो शून्य मनस्थितिमा हुँदैनन् । त्यो कथावस्तु पढ्दा उनीहरुको मनमगजमा आफ्नै पाराको काल्पनिक दृश्यहरु छापिइसकेका हुन्छन् । त्यसका चरित्रहरुका बारे आआफ्नै ढंगले कुनै छवि सिर्जना भैसकेको हुन्छ । हामीले कुनै पनि पुस्तक पढ्दा आफ्नो परिकल्पनामा लौ त भनौं भने एउटा सिंगो चलचित्र नै हेरिसकेका हुन्छौं । यो छाप मानिसपिच्छे फरक हुन्छ किनकि कुनै पनि दुइ मान्छेको एउटै परिकल्पना हुँदैन । कथाको नायक, नायिका, खलपात्र, स्थानहरुको रुपमा उसको सोचमा आउने मानिस र ठामहरु उसको आफ्नो अनुभव अनुसार फरक हुन्छ । चलचित्रमा निर्देशकले देखाएका पात्र, स्थान र घटनाको प्रस्तुति कुनै पनि दर्शकको सोचसंग सोह्रै आना मिल्दोजुल्दो हुँदैन । त्यसो हुनासाथ त्यस्ता चलचित्र हेर्दा दर्शकलाई त्यसमा केही अपुग लाग्न जान्छ । मान्छेमान्छेको सोच र विचारमा हुने भिन्नता नै यसको प्रमुख कारण हो ।

अर्को कारण के हो भने, चलचित्र सीमावद्ध भएर प्रस्तुत गरिने माध्यम हो । यसको निश्चित लम्बाइ हुन्छ । परिकल्पना गर्दा पनि के देखाउन सकिन्छ वा के सकिंदैन भन्ने कुरालाई ध्यानमा राख्नुपर्छ । अनि ध्वनि र दृश्यका साथमा प्रस्तुत गर्दा अक्षरभन्दा सशक्त हुने कारणले पनि यो सेल्फ सेन्सरशीप प्रयोग गर्नु आवश्यक हुन्छ । खास गरेर हिंसा र यौनका कुराहरु पढ्नु र हेर्नुमा आकाशपातालको फरक हुन्छ । किताबमा सजिलोसंग पढेर पचाउन सकिने हिंसा चलचत्रिको पर्दामा देख्दा आँखाकान थुन्न पर्ने हुन सक्छ । सम्भवतः त्यसैले सेन्सर सिनेमालाई गरिन्छ, पुस्तकलाई हैन । यो वन्देज पुस्तक लेख्ने लेखकलाई हुँदैन । कल्पनाको बिशाल आकाशमा विचरण गर्दा उसले कुनै पनि उँचाइ छुन सक्छ । जे पनि सोच्न सक्छ र लेख्न सक्छ  जुन कुरा चलचित्रका लागि सम्भव हुन सक्दैन । हुन त आजकलको प्रविधिको युगमा स्पेसल एफेक्ट्स र एनिमेसनले त्यो बन्देजलाई धेरै हदसम्म खुकुलो नबनाएको हैन तर हाम्रो परिप्रेक्ष्यमा कुरा गर्ने हो भने त्यो खर्चालु प्रविधि हाम्रो बजारले थेग्न सक्दैन ।

लेखकले उपन्यास लेख्दा कुनै दिन त्यसमाथि कसैले सिनेमा बनाउला भन्ने सोचेर लेखेको हुँदैन । त्यसैले जतिसुकै राम्रो र प्रभावकारी कथा भए पनि सिनेमाको पर्दामा उतार्न गाह्रो हुन्छ । उपन्यास लेख्ने लेखकले चाहे जति पात्रहरु सिर्जना गर्न सक्छ । तिनको उत्थान, काम र पतनका लागि जति मन लागे पनि पृष्ठहरु खर्चन सक्छ । उसले कथावस्तुलाई जति पनि विस्तार गर्न सक्छ । तर त्यसैमा सिनेमा बनाउँदा समयसीमामा बाँधिनुपर्छ । त्यसैले यो आँटिलो र खतरनाक प्रयोगमा चिप्लने सम्भावना बढी हुन्छ । हाम्रो जस्तो प्रविधि, विशेषज्ञ र बजेटको अभाव र सिर्जनाशीलता नभएका निर्माता निर्देशकहरुको बाहुल्य रहेका उद्योगमा त स्थापित साहित्यमाथि सिनेमा बनाउनु त्यो कृतिको सामूहिक बलात्कार गर्नु सरह हो ।

निकै पहिले देशान्तरमा लेखक जीवन आचार्यले लेखेका केही हरफहरु मलाई अहिले पनि सम्झना छ । त्यतिबेला नेपाल टेलिभिजनले महाकवि देवकोटाको सुलोचनामाथि बनेको एउटा टेलिश्रृँखला प्रसारण गथ्र्यो । आचार्यले लेखेका थिए, “मलाई ज्यूँदैमा देवकोटालाई भेट्न किन पाइनं होला भनेर सँधै थक्कथक्क लाग्थ्यो । उनको मलामी मात्र भए पनि जान पाएको भए हुन्थ्यो भन्ने लाग्थ्यो । धन्यवाद नेपाल टेलिभिजन, अहिले हरेक बुधबार म महाकविको मलामी जान पाइरहेको छु,।” 

प्रतिक्रिया:

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment