Translate

Sunday, July 7, 2013

खाने र खुवाउने

बायाँ फन्को १११

सामाजिक प्राणी भएको नाताले हरेक मान्छेका पारिवारिक, व्यावसायिक र मैत्रीपूर्ण सम्बन्धहरु हुन्छन् । ती सम्बन्धहरुलाई कायम राख्नका लागि एकअर्काकोमा आउजाउ पनि गरिरहनु पर्छ । कहिले कसैलाई खान बोलाउनु पर्छ, कहिले कसैकहाँ खान जानु पर्छ । केही दिन अघिको कुरा हो, त्यस्तै एक परिचितकहाँ मेजमानकी मान्न जानु परेको थियो । बिचराहरुले आफ्नो तर्फबाट केही कसर बाँकी नराख्नका लागि निकै नै धेरै प्रयास गरेका रहेछन् । अनेकौं प्रकारका गरिष्ट परिकारहरु तयार पारिएका थिए । सबै खाऊँ भने आफ्नो पेट फ्री साइज परेन, नखाऊँ भने नराम्रो मान्लान् भन्ने पीरले बडो अप्ठ्यारोमा परियो । 

अलिअलि मात्रै भए पनि सबै चाखौं भन्ने दाउले पनि काम गरेन । किनभने उनीहरु आफूले त्यत्रो मेहेनत गरेर बनाएका परिकारहरु खेर जान दिन चाहँदैनथे । औपचारिकताका नाममा आफ्नो पाचनप्रणलीको क्षमता भन्दा बढी खाद्यपदार्थहरु पेटमा खाँदेर घर फर्कने बेला आफ्नो भने अवस्था नाजुक भैसकेको थियो । कतिसम्म त भने, भोलिपल्ट दिनभर पनि खानेकुरा सम्झँदा अमन भैरहेकोथ्यो । त्यस दिन मैले गहिरिएर आफ्ना स्मरणका अन्तरकुन्तर खोतलेर हेर्दा आफूले पनि बेलाबेला अरुलाई खान बोलाएर त्यसरी नै अत्याचार गरेका केही घटनाहरु ताजा भए । मलाई हाम्रो खाना खुवाउने संस्कार गज्जबको छ भन्ने लाग्यो । खाना लौ त भनौं भने बहाना हो, भेटघाटको । अरु ठाममा हुने औपचारिकताबाट मुक्त भएर लामो समय पारीवारिक बातावरणमा यावत कुराकानी गरेर सम्बन्धलाई बलियो बनाउनु चाहिँ त्यस्ता आगमनहरुका खास उद्देश्य हो ।

तर हामी कसैलाई खान बोलाएको छ भने मूल उद्देश्यलाई थाँती राखेर खानामै विशेष तयारी गर्छौं । अरुबेला आफ्नो घरमा साधारणतया खाने भन्दा त्यस दिनको सबै कुरा बेग्लै हुन्छ । अरु बेला आफू जे खान्छौं, त्यही नै र त्यसरी नै मात्र पकाएर खुवाउने हो भने आगन्तुकलाई मान पुग्दैन भन्ने हाम्रो सोच हुन्छ । त्यसैले हामी माछा, मासु, तीन थरि तरकारी, दुइ थरि अचार, दाल लगायतका परिकारहरुमा केन्द्रित हुन्छौं । त्यस दिन नून तेल मसला र खुर्सानीको क्रूरतापूर्वक प्रयोग हुन्छ । बेस्मारी तेलमा भुटिएका वा लेदो बनाएको भए तेलैमा चुर्लुम्म डुबेका मासु र अरु तरकारीहरु बनेका हुन्छन् । अरु बेला आफूले खाने गरेको चामल भन्दा त्यसदिनका लागि एक दुइ किलो नै किन नहोस्, अलि राम्रो चामल ल्याइएको हुन्छ । अरुबेला भात पाक्ने भान्छामा त्यसदिन भुजा पकाइन्छ । अझ कहिले त मस्तसंग घिउ हालेर पुलाउ बनाइन्छ ।

खाने कुरामा हाम्रा मान्यताहरु अचम्मका छन् । खान आउने मान्छे चाहिँ आफ्नो नियमित खुराकी भन्दा कम खाएर आफ्रनो विशिष्टता दर्शाउन खोज्छन् भने खुवाउने मान्छेको ध्येय सकेसम्म बढी खुवाउनुपर्छ भन्नेमा केन्द्रित हुन्छ । यी दुई अतिवादी सोचका बीच ठूलै भीडन्त हुन्छ पाहुना लागेको वा बोलाएको बेला । दोष दुबैलाई किन दिन मिल्दैन भने धेरै खायो भने पछि खुवाउनेले हन्तकाली नै रहेछ, कस्तरी हसु¥यो भनेर भन्न बेर लगाउँदैनन् । आफ्नो घरमा राम्ररी मीठोचोखो खानै पाउँदैन रहेछ त्यही भएर यहाँ बेस्मारी खायो भन्लान् भन्ने डर उसलाई रहन्छ । किनभने यस्तो भनिने गर्छ । त्यसैले मीठोचोखो खानका लागि आफू अभ्यस्त हूँ र आफ्नो घरमा पनि त्यस्तो पाक्छ भन्ने प्रमाणित गर्न थोरै खाने उसको प्रयास हुन्छ । तर खुवाउने मान्छे पनि के कम र ? भावनात्मक शोषण गर्न उसले जति अरुले जानेको हुँदैन । आफ्नो पेट भरिइसकेपछि पनि आएको थप्ने आग्रहलाई स्वीकार्न सकिएन भने साधारणतया भनिन्छ, “आफ्नो घरमा मीठो खाइरहनुभएको मान्छेलाई हामीकहाँको रुखोसुखो के रुच्थ्यो होला र ? माफ पाउँ है हामीले त पकाउन पनि जानेका छैनौं ।”

अझ कुनै परिकार स्वास्थ्यका कारण खानै नहुने छ र डक्टरले नै त्यो नखानु भनेको छ भने त्यसो भनेर पनि तपैं हामी उम्कन पाउन्नौं । घरमा प्रेमपूर्वक बनाएको कुराले केही हानि गर्दैन । एक दिन खाइदिएर केही फरक पर्दैन । डक्टरलाई के थाह हुन्छ र भन्दै थालमा जवर्जस्ती हालिएको त्यो कान्छोबाउको अन्वार ग्रहण नगरी सुख्खै हुँदैन । 

अनि अतिथि देवो भवः भन्दै नतमस्तक भएका मानिसहरुको मन राख्नका लागि लागि पाहुना आफ्नो आन्द्रा, पेट, पाचन प्रणाली र स्वास्थ्यमाथि निर्दयतापूर्वक अत्याचार गर्न बाध्य हुन्छ । रमाइलो कुरा त के भने बोलाइएको ठाममा आफूमाथि भएको यो न्यानो आतिथ्यपूर्ण अत्याचारबाट हामी कहिले पनि सिक्दैनौं र अरुलाई आफूले बोलाएको बेला पनि त्यही बर्बरता दोहो¥याउँछौं । त्यस्तो बेला हामी प्रतिशोधको भावनाले ओतप्रोत भएका त हुँदैनौं कतै ?

चाटीचुटी खायो भने खानै नपाएकोले जसरी खायो भन्लान् भनेर सबै परिकारको अलिअलि छोडिदिनुपर्छ भन्ने मान्यता पनि हामी मध्ये धेरैमा हुन्छ । मेरै एक परिचित छन् जसले आजसम्म थाल कचौरामा भएका कुराहरु अलिकति त्यसै नछोडेको मैले कहिले पनि देखेको छैन । त्यसरी खाना फ्याल्ने बेला हामी टेलिभिजन वा पत्रपत्रिकामा देखिने खान नपाएका बालबालिकाका मायालाग्दो अनुहार एक पटक पनि सम्झिंदैनौं । 

खानु मान्छेको आधारभूत आवश्यकता हो । खुवाउनु पनि सामाजिक प्राणी हुनुको दायित्व भित्रै पर्ने कुरा हो । यसमा कुनै विवाद छैन । बाँच्नका लागि खानु नै पर्छ । तर हामी अधिकांश खानको लागि भन्दा पनि अरु कारणले खाना खान्छौं, खुवाउँछौं ।  बाँच्नका लागि नखाएर खानका लागि बाँच्छौं । आवश्यक भन्दा बढी पकाउँछौं र खेर पनि फ्याल्छौं । 

त्यसैले त मलाई कसैले खान बोलायो भने आजकल डर लाग्न थालेको छ । 

प्रतिक्रिया:

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment