Translate

Tuesday, July 9, 2013

परिवर्तनका पाइलाहरु

बायाँ फन्को १०९


केही दिन अघिको कुरो हो, म आफ्नै धुनमा कुनै मीठो गीत सुन्दै थिएँ । छेउमा भएको मोबाइल ढर्रढर्र करायो । छोरीको सन्देश आएको रहेछ । तल भान्छामा खाना तयार भइसकेछ, बोलाउँदा मैले नसुनेको हुनाले छोरीले २० खुड्किला चढ्नुको साटो सन्देश पठाइछ । त्यो रमाइलो अनुभवले मलाई फोनसंग सम्बन्धित ३०–३५ वर्ष अगाडिका कुराहरु सम्झायो । त्यतिबेला फोन अलि कमै मानिसको घरमा मात्र हुन्थ्यो । हाम्रो घरमा भएको त्यो फोनको नम्बर मलाई अहिले पनि कण्ठै छ, १२७९२ ।

त्यतिबेला जसको घरमा फोन हुन्थ्यो, त्यो स्वयं समाजसेवी बन्थ्यो । उसले त्यो नबनी सुख्खै पाउँदैनथ्यो किनभने नजीकै बस्ने नातागोता र छरछिमेकले पनि आफेना मान्छेहरुलाई आपतविपद परेको बेला सम्पर्क गर्नका लागि त्यो नम्बर बाँडेका हुन्थे । त्यतिमात्रै नभइ टोलछिमेकका मानिसहरुले पनि त्यसलाई आफ्नै मानेर वितरण गरिसकेको हुन्थे । तसर्थ आफ्नो लागि मात्र नभइ झण्डै त्यही मात्राममा अरुका लागि पनि फोनहरु आउने गर्थे । कसैकसैको त पाङ्दुरे गफ मात्र गर्नका लागि आएको भए पनि बोलाइदिनै पर्ने वाध्यता हुन्थ्यो । नजीकका मानिसहरुलाई भए होल्डमा राखेर, अलि परका भए ‘एक छिनपछि गर्नुस् है, बोलाइराखौंला’ भन्नुपथ्र्यो । कहिलेकहीं बोलाउन जाने मान्छे छैन भनेर क्षमा माग्यो भने उल्टै उताबाट खप्की खानु पथ्र्यो । आउने मान्छे समयमा आइदिएन र फेरि फोन भ्यायो भने पनि उताबाट घुर्की आउँथ्यो, ‘अलि छिटो गर्न सक्नुहुन्न भन्या ? कति खर्च गर्नू ?’ 

त्यस्ता फोन आएको बेला घरका हामी साना केटाकेटीको भने बिजोगै हुन्थ्यो । किनभने, घरका ठूलाबडाले हामी केटाकेटीलाई फलानालाई बोलाइदे त, ढिस्कानालाई बोलाइदे त भनेर खूब कुदाउँथे । अनि हजुरआमाले आमालाई, आमाले जेठो छोरालाई, जेठो छोरोले माहिलोलाई माहिलोले साहिँलो, काहिँलो र कान्छोलाई रिले गर्थे त्यो आदेश । गेहकार्य गरिरहेको बेलामा नै किन नहोस्, समाजसेवा गरेर पुण्य कमाउन कुदिहाल्नुपथ्र्यो । वाक्क लागेर कहिले कहीं कसैले कसैलाई बोलाइदिएन वा घरमा कोही छैन भनेर बहाना बनाइदियो र त्यो पोल पछि खुल्यो भने पानी बाराबार र सामाजिक वहिष्कारै होला भन्ने डर हुन्थ्यो । त्यसैले आवश्यक, अनावश्यक जे भए पनि वरिपरिकालाई बोलाइदिनै पथ्र्यो । 

आउने फोन जस्तै गरिने फोनका लागि पनि गुनासो गर्न पाइँदैनथ्यो । एउटा जरुरी फोन गर्नुप¥यो भनेर मुस्काउँदै आउनेहरुले घण्टौंसम्म तरकारी के खाइयो भन्ने विषयमा गहन छलफल गरे पनि, कसको छोरी वा छोरा कसको लागि बिहे गर्न सुहाउँछ भनेर लमीगिरी गरे पनि हुन्थ्यो । त्यतिबेला एकपटकमा जति लामो कुरा गरे पनि एकै कल बराबर हुन्थ्यो । त्यसैले कोही घण्टौं फोनमा झुण्डिए पनि केही भन्न मिल्दैनथ्यो । अझ कोहीकोही त फोन गर्न सकिएपछि पनि भलाकुसारी गर्दै बसेर समय अनुसार चिया वा खाजा समेत बजाएर जान्थे । त्यसैले फोनले समाजिक सौहार्दता कायम राख्न पनि मनग्गे सहयोग पु¥याउँथ्यो । त्यतिबेला फोनको सेट पनि दुई किलो जति गह्रुँगो हुन्थ्यो । रिसिभर नै पनि डम्बेल जस्ता अजंगका । दिनभर पचास पटक फोन उठायो भने त पाखुराका पाँसुलाहरु बटारिएर आउँथे । कसरतै गर्नु नपर्ने । त्यसैले एउटा पाखुरा मोटो र अर्को लूरो नहोस् भनेर एक पटक दायाँ हातले फोन उठाएँ भने म अर्को पटक बायाँ हातले उठाउँथेँ ।

त्यति अघिको कुरो नगर्ने हो भने पनि, केही मोबाइल आउनु र सहज हुनु अघि कसैले नम्बर दियो भने त्यो रक्विेष्ट कल हो कि आफ्नै भनेर सोध्नुपर्ने अवस्था थियो । तर, आज तल्लो तलामा खाना तयार भयो भनेर माथिल्लो तलामा हातेफोनमा सन्देश पठाउने बेला आउनु रमाइलो अनुभव हो । ४६ सालपछि अरु कुरामा जे भए पनि सञ्चारको क्षेत्रमा उल्लेखनीय र द्रुत प्रगति भएको छ । विश्वव्यापी रुपमा भएको यो द्रुत विकासबाट राजनीतिक परिवर्तन भए पनि नभए पनि हामी अछूतो रहँदैनथ्यौः भन्ने तर्क गर्नेहरु पनि होलान् । तर जे भए पनि सञ्चारको विकासले हाम्रो जीवनशैली निकै सहज, सरल र परिस्कृत बनेको छ ।

यस स्वाभाविक विकासक्रम र सामाजिक परिवर्तनलाई आत्मसात गर्न नसक्नेहरु त उनीहरुका सन्तानका लागि त्यतिबेलाका मानिसहरु सरह हुन्छन्, जतिबेला पृथ्वीमा डायनोसरहरु विचरण गर्थे । हामी सासाना कुराहरुमा स्वतः अभ्यस्त हुँदै गएका छौं । तिनका अनगिन्ती उदाहरणहरु हाम्रै वरिपरि देख्न सकिन्छ । शहरमा खुलेका कुनै पनि रेष्टूराँमा जाँदा परिवार भेला भएर खाना खाइरहेको देख्नु कुनै उदेकलाग्दो कुरा होइन । तर हामीभन्दा अघिल्लो पुस्ताका लागि यो दुर्लभ कुरा थियो । रत्नपार्क, दरबारमार्ग वा नयाँ सडकका केही रेष्टूराँमा अभिजात्य वर्गका मानिसहरु मात्र जाने गर्दथे । मध्यमवर्गीयका लागि त्यो विलासिता थियो, सपना थियो ।

संसारको त कुरा परै जाओस् आफ्नै देश वा राजधानीमा के भैरहेको छ भन्ने कुरा थाहा हुन हप्तौं लाग्ने समयबाट आज समाज यस्तो भैसकेको छ, संसारको दुर्गम कुनाका समाचारहरु तत्कालै प्रवाह भैसकेका हुन्छन् । विशेष गरेर सञ्चारको विकासले सिंगो संसारलाई खुम्च्याइदिएको छ भने सोचको घेरालाई चाहिँ फराकिलो बनाइदिएको छ । अचेल चुट्की बजाएको भरमा कुनै पनि सूचना प्राप्त गर्न मान्छे सक्षम भएको छ । पहिले भए आफै कतै नपुगी, नदेखी नसिकिने कुराहरु आजकल मानिसले घरैमा बसेर देख्न सिक्न सक्छ । त्यसैले पनि होला आजकल बाबुआमा, लोग्नेस्वास्नी र छोराछोरी बीचमा पहिलेको पुस्ताको भन्दा उदार, मित्रवत् र खुला सम्बन्ध हुन सम्भव भएको छ । हाम्रै पालाको कुरा गर्दा हामी आफ्नो बाबुसंग आँखामा हेरेर विवाद गर्न सक्दैनथ्यौं चाहे त्यो जायज किन नहोस् । तर आज हाम्रा छोराछोरीहरुलाई सम्वन्धको माथिल्लो तहको दादागिरी देखाउन हामी सक्दैनौं । 

विकासको यात्राक्रममा देखिएका परिवर्तनका पाइलाहरु सुन्दर छन् । यसले आजको मान्छेको विवेक, सोच, विचार र मानसिकतालाई कल्पना गर्नै नसक्ने गरी फराकिलो बनाइदिएको छ । जसका कारण कुनै पनि कुरामा समाजको आडम्वर र दोहोरो मानसिकताको पर्खालहरु भत्किन थालेका छन् । विभेदहरुको अन्त्य हुन थालेको छ । मान्छे उदार हुने गरी भैरहेको सामाजिक परिवर्तनका लागि संचार र प्रविधिमा भएको विकास एउटा गर्व गर्न लायकको उपलव्धि बनेको छ । तर हामीबाट प्रविधि र विकासको दुरुपयोग नहोस् भन्नेमा चाहिँ हामी चनाखो रहनैपर्छ । 

प्रतिक्रिया:

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment