Translate

Sunday, August 18, 2013

चानचुन चप्काउनेहरु

बायाँ फन्को ११४ 

हुन त आजकल प्रविधिको संसार हो । पहिले घण्टौं समय खर्चेर गर्नु पर्ने अधिकांश कामहरु घरमै बसीबसी औंलोले थिचथाच् गरेको भरमा पनि गर्न नसकिने होइन । तर यस्ता प्रविधिमा अझै पनि सबैको पहुँच भैसकेको छैन । भएकाहरु पनि आँखा चिम्लेर भर पर्न सकिने नभैसकेकाले गर्दा जंगवहादुरकै पालाका तरिकाहरुमा भर पर्नु पर्ने केही कुराहरु छन् । त्यसमध्ये केही हुन्, घरको बत्ती, धारो र फोनको बिल तिर्न जानु । यस्ता सरकारी र अर्धसरकारी ठाममा जानु भनेको धेरै हिसाबले दुःखदायी अनुभव हुने गर्दछ । त्यहाँको अव्यवस्था र कर्मचारीको रुखोसुखो व्यवहारको बारेमा मैले केही भनिरहनु नै पर्दैन । हामी सबैले भोग्ने मासिक पीडा भनिदिए हुन्छ त्यसलाई । 

अघिल्लो हप्ता त्यसरी नै बत्तीको बिल तिर्न जानु पर्दा केही प्रश्नहरु फेरि मनमा उठे । एक त सवा दश बजे पुग्दा पनि त्यहाँ काउण्टरमा कोही आएको थिएन । लामो लाइन लागिसकेको थियो । त्यो लाइनमा अफीस पुग्नुपर्ने, स्कूल कलेज पुग्नुपर्नेहरु पनि घडी हेर्दै व्याकुल भएर बसिसकेका थिए । साढे दशको हाराहारीमा बल्लबल्ल जंगलमा सिंह हिंडेजस्तो चालले गजक्क पर्दै ती कर्मचारी आए र आजकल त कम्प्यूटर हुन्छ, त्यसलाई खोल्न हालेर उनी आङ् तन्काउन थाले । सरकारी अफीसको कम्प्यूटर न हो, किन हतार मान्थ्यो र ? उसले पनि आफ्नै मस्त समय लियो खुल्नलाई । अनि बल्ल शुरु भयो पैसा बुझ्ने काम । म भन्दा अगाडिका चार जना मध्ये तीन जना पैसा तिरिसकेर पनि एक छेउ लागेर बसेको थिए । किनभने फिर्ता गर्नका लागि चानचुन थिएन । पैसा तिर्न आउनेहरुलाई खुद्रा पैसा मिलाएर नल्याएकोमा हुने भए ती कर्मचारीले पिट्थे नै होला । फिर्ता दिनका लागि दुई देखि दश रुप्याँसम्म थिएन । कुर्नेहरुमध्ये मैले हेर्दाहेर्दै दुइजनाले भैगो होस् भनेर केही पैसा छोडेरै रसीद लिएर गए । उनीहरुलाई हतार थियो आफ्नो काममा पुग्नका लागि ।

हेर्दा साधारण जस्तो लागे पनि उदेकलाग्दो कुरा के भने ती ठाम्मा किन कहिले पनि चानचुन पैसा हुँदैन । बिलको रकम अनुसारका नोट र सिक्काहरु ठ्याक्कै मिलाएर लैजानुभएको छैन भने तपाईं अलिकति नचुँडिने भन्ने कुरा नै हुँदैन । पाँच रुप्याँ भन्दा कम त जन्मसिद्ध अधिकार सरह नै चप्काउँछन् काउण्टरमा बस्ने कर्मचारी महोदयहरुले । हामी पनि चाँइचुँइ नगरी लोप्रे कान लगाएर आफ्नो मेहेनत पसीनाको कमाइको एक भाग त्यहाँ चढाएर फर्कन्छौं । हरेक दिन मानिसहरु पैसा तिर्न आउँछन् भनेर थाहा भएको ठाममा किन चानचुनको बन्दोवस्त गरेर बस्न सकिंदैन ? न यो प्रश्न हाम्रो मनमा कहिल्यै उब्जन्छ, न हामी कसैसंग यसको उत्तर नै माग्छौं ।  टक्सार विभागले सिक्काहरु र राष्ट्र बैंकले साना नोटहरुको आवश्यकता अनुसार आपूर्ति गर्न नसकेको भनौं भने डिपार्टमेण्टल स्टोरहरुमा तपाईं हामीलाई कहिल्यै त्यस्तो अभाव भोग्नु पर्दैन । तर यस्ता कार्यालयहरुमा त खाइपाइ आएको सुविधा सरह मान्यता पाइसकेको छ यो चानचुन खाने प्रवृत्तिले । केही हदसम्म ट्याक्सीमा र सानातिना पसलहरुमा पनि यो समस्या भोग्नुपर्छ । तै पनि पसलेहरुले तपाईंलाई चुविंगगम वा चकलेटसम्म त भिडाउँछन् । छोड्ने मानिसले हेर्दा दुइ पाँच वा सात रुप्याँको मात्रै कुरा भए पनि पाउने मान्छेका लागि दिनभरमा त राम्रै आम्दानी हुन्छ त्यस्ता चानचुनले । महीनामा त कति हुँदो हो ? हामी एकएक जनाले त्यसरी छोड्न वाध्य बनाइएका चानचुनको हिसाब गर्ने हो भने देशभरमा कतिको अपचलन हुन्छ होला ?

केही वर्ष अघि मुम्बइ सहरको एउटा सानो प्रसंग सम्झना भयो । ट्याक्सीबाट ओर्लंदा त्यस्तै चानचुनको अभाव भएको थियो । गौरवशाली नेपाली परम्परामा अभ्यस्त मेरा लागि त्यो नाथे कुन ठूलो कुरो थियो र ? वाजिद अली शाह जस्तै सानसंग म फिर्ता आउनुपर्ने दुइ रुप्याँ उसैलाई राख भन्दै ओर्लें । तर ट्याक्सी चालकले मलाई रोक्यो र अचम्म मान्दै भन्यो,
दुई रुप्याँ त्यसै छोडेर जानुहुन्छ? के कुरा गरेको, पख्नुस् ।

अनि ऊ आफै ओर्लेर गएर नजीकको पान पसलबाट चानचुन साटेर आयो र फिर्ता दियो । 

तर हामी थोरै पैसाको महत्व गर्दैनौं । यहाँ नेर कुरा पैसा कति भन्ने हैन, मानसिकताको हो । यो कुरामा सबै दोष खानेको मात्र हैन, खुवाउने हाम्रो पनि हो । हामी सानो तिनो पैसालाई महत्वहीन ठान्छौं । आत्मा साक्षी राखेर सोच्नुस् त तपाईहरु मध्ये कतिजना बाटोमा देखेको एक रुप्याँको ढ्याक टिप्न निहुरिनुहुन्छ ? त्यही सानातिना चानचुनले नै ठूलो रकम बन्छ भन्ने कुरा बिर्सन्छौं । पैसाको मात्र किन कुरा गर्नु, सानो तिनो अरु कुरालाई पनि हेपेर ठूलो कुराको मात्रै चाहना राख्ने हाम्रो बानी नै भैसकेको छ ।

हामीले बाटोमा थुक्न छोडेका छैनौं, गाडीको झ्यालबाट फलफूलका खोस्टा र अरु फोहोर सडकमा मिल्क्याउन छोडेका छैनौं । कुनै पनि कुरामा नियमकानून मान्न सिकेका छैनौं, छ्याकन खान पाउने हो भने सय पचास रुप्याँमा नैतिकतालाई बेच्न छोडेका छैनौं । तर हामी सबैलाई घरि नयाँ, घरि एसियाली मापदण्डको, घरि सिंगापुर जस्तो नेपाल चाहिएको छ । हामीमाथि रजाईँ गर्नेहरुले त्यो कसरी बनाउने भन्ने सपना बेचेर हामीलाई  फन्फनी घुमाइरहेका छन् । अनि हामी चाहिँ आफूलाई फिटिक्कै परिवर्तन नगरी समाज र मुलुक परिवर्तन हुने आशामा झुण्डिएर बसेका छौं । त्यो भएन भनेर कुर्लिएको कुर्लियै छौं ।  

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment