Wednesday, September 18, 2013

फलामको पेट भएको मान्छे

सातदोबाटोबाट गोदावरी तिर लाग्दा खुमलटार मोडिने चोकमा एउटा पसलमा म चीसो खाँदै थिएँ । अचानक मेरो आँखा एउटा अचम्मको मानिसमा पर्‍यो । ३१ डिग्रीको उखर्मौलौ गर्मीमा पनि त्यो मानिस हिमाल चढ्न जानेजस्तो बाक्लो, तर मैलो र थोत्रो लुगाहरू लगाएर सडकमा हिंडिरहेको थियो । ऊ अलि परै भए पनि मैले उसको ज्याकेटको बाहुला फाटेको देखिसकेको थिएँ । त्यो भन्दा पनि अचम्म के भने उसले काँधमा थुप्रै जिन्सका थोत्रा पुराना मैला पाइण्टहरूको खात पनि भिरेको थियो । मैले उसको फोटो त्यहींबाट खिचें । त्यो देखेर पसलका साहूजीले भने,
"यो ओरिजिनल पंक हो । केही नभए पनि १२-१५ वटा पाइण्ट सँधै बोकेर हिंड्छ । कतै राख्यो भने हराउला भनेर संधै यसरी नै बोकेर हिंड्छ ।"


मलाई बडो उदेक लाग्यो । कहाँबाट आयो त उससंग यत्तिका धेरै थोत्रा पाइण्टहरू ? साहूजीले हाँस्दै भने,
"वरिपरिका मानिसहरूले दिन्छन् फ्याल्नुपर्ने । यसले बटुलेर हिंड्छ । ज्याकेट पनि पाँचसातवटा लगाउँछ । कहिले तीनचार वटा टोपी लगाउँछ । त्यहाँ पर चटपटेको ठेला अघि उभिरहन्छ । कसैले किनेर नदिउन्जेल । तर मागेर कहिले खाँदैन ।"
नभन्दै मैले हेर्दा ऊ अलि पर चटपटेको ठेला अघि उभिइरहेको थियो । म कौतुहलतापूर्वक त्यता गएँ । ठेलावाल साहूनीलाई दश रुप्याँको चटपटे बनाउन भनें ।
नजीकबाट हेर्दा थाहा हुन्थ्यो, उसले ननुहाएको र मुख नधोएको पनि धेरै नै भैसकेको छ । जताततै मयलहरू कटकटिएका थिए । उसले फाटेका तीनचरवाट ज्याकेट लगाएको थियो, थुप्रै पाइण्ट भिरेको थियो, अरू केही कपडाहरू पनि गलबन्दी झैं भिरेको थियो । उसको हातमा एउटा कुहिन लागेको स्याउ थियो । नङ पनि निकै लामालामा छुरा जस्ता थिए, घुम्रेका । बाहिरी ज्याकेटको खल्तीबाट पाँचदश रूप्याँका केही कुच्चेका नोटहरू चिहाइरहेका थिए । लुगाफाटो मात्र हैन, हसले जे दिए पनि ऊ लिन्छ रे अनि राख्छ रे । त्यसैले उसका लुगा हरेक खल्तीहरू भने जस्तो भुक्क परेका थिए । के के मात्र राखेको होलला उसले तिनमा ।
"म तपाइंको फोटो खिचौं ?" मैले क्यामरा तेर्साउँदै त्यो मानिसलाई सोधें ।
उसले टाउको मात्र हल्लायो र पोज दियो । मैले एकदुईवटा फोटो खिचें ।

"घर कहाँ हो ?"
उसले केही भनेन । उसका आँखा बनिरहेको चटपटेमा थियो ।
"नेवारी मात्र बुझ्छ उसले ।" साहूनीले भनिन् ।
"छें गन ?" मैले सोधें ।
उसले हातले खुमलटार तिर ईसारा मात्र गर्‍यो ।
"छगु नाँ छु ?" मैले फेरि सोधें ।
"नाँ म्व ।" यसपटक बल्ल उसले सानो स्वरमा भन्यो । अर्थात् नामै छैन रे । मैले जिल्ल पर्दै फेरि सोधें
"नाँ म्व ?"
"म्व" उसले त्यसै भन्यो । चटपटे भन्दा पर उसको ध्यानै थिएन । चटपटे तयार भयो । मैले त्यो कागजको सोली ऊसतिर बढाएँ । मैले 'माइण्ड चेन्ज' गर्ला भनेझैं गरी उसले त्यो थुतेर लियो र हतारहतार खान थाल्यो ।
पसले साहुजी पनि मेरो पछिपछि त्यतै आएका रहेछन्, उनले भने,
"मैले उसलाई यस्तै रूपमा देखेको आठ वर्ष भैसक्यो । सँधै यस्तै । जाडो गर्मी घाम पानी जहिले पनि यही हो उसको अवस्था । पानी कसरी खान्छ यसले थाहा छ तपाईँलाई ? ढलमा निहुरेर कुकुरले जसरी तन्तनी खान्छ । कहिले बिरामी पनि हुँदैन ।"
मेरो मन एकतमासको भयो । को होला यो मान्छे, किन यस्तो हविगत भयो होला । भगवान भन्ने कुरा छ भने त्यो किन त्यति निर्दयी हुन्छ कसैकसैका लागि ?
ऊ गमागम चटपटे खाइरहेको थियो ।
साहूजी भन्दै थिए,
"यसको पेट र आन्द्रा फलामको हुनुपर्छ भुझ्नु भो ?"
म सोच्दै थिएँ, मन त होला नि उसको पनि । त्यो चाहिँ के ले बनेको होला ? मगज त होला नि उसको पनि । त्यो केले बनेको होला ? त्यसले के सोच्दो होला ?



जुम्मा चुम्मा दे दे...

मंसिर २ , २०७४ - मलाई पान खान कहिले पनि मन लाग्दैनथ्यो , अझै पनि लाग्दैन । तर त्यस दिन म नयाँ दिल्लीको रिगल भन्ने सिनेम...