Wednesday, September 25, 2013

हाँसको छोयला, मेरो बायाँ फन्को र सुधीर शर्माको पुस्तक प्रयोगशाला


बरु पुरानो लुगा लगाऊ तर नयाँ पुस्तक किन्ने गर । 
हुन त यो उक्ति असाध्यै धेरै पटक धेरै जनाले सापटी लिएर धेरै ठाउँमा प्रयोग गरिसकेका छन्, तरै पनि यहाँ एकपटक फेरि त्यसलाई दोहो¥याउनै पर्ने भएकोले उल्लेख गरिएको हो । हुने बेलामा यो भनाइ १९औं शताव्दिका अमेरिकी लेखक तथा शिक्षाविद् अस्टिन फेल्प्सको हो । तर उनको यो चर्चित उक्तिलाई मानिसहरुले बेलाबेला जर्ज बर्नाड शको नाममा प्रयोग गर्ने गरेका छन् । केही मानिसहरुको एउटा सजिलो तरीका हुन्छ, साहित्यसंग सम्बन्धित कुनै उक्ति उल्लेख गनुृपर्दा कसको भनेर सम्झन सकेन भने शेक्सपियर वा बर्नड शको नाम उल्लेख गर्दिहाल्ने । विज्ञानको कुरोमा अल्वर्ट आइन्सटाइन, मनोविज्ञानका लागि फ्रायड, दर्शनको कुरोमा नित्से, भविष्यवाणीमा नस्त्रादामस र समाजशास्त्रको सन्दर्भमा माक्र्सको नाममा पनि यस्ता प्रयोगहरु हुने गर्दछन् । चर्चित भनाइहरुका सन्दर्भमा मात्र हैन, आफ्नै कुरालाई पनि बढी प्रभावकारी बनाउनका लागि यी नामहरुको प्रयोग (अथवा दुरुपयोग) गर्नेहरुको यस संसारमा कमी छैन । यी यस्ता नामहरु हुन् जसको काँधमा अडाएर मानिसहरु जुनसुकै बेला पनि आफ्नो विद्वताको बन्दूक पड्काउने गर्छन् ।
गाँठी कुरो यहाँ त्यो होइन । सन्दर्भ पुस्तकको हो । हाम्रो पुस्तक किन्ने वा पढ्ने संस्कारको हो । दुःखको कुरा के भने त्यो संस्कारको हामीकहाँ प्रादुर्भाव नै हुन बाँकी छ, विकासको कुरा त परै जाओस् । सापटी मागेर पढ्ने प्रथा अलिअलि भए पनि किनेर पढ्ने भन्ने चाहिँ लौ त भनौं भने नगण्य बराबर नै छ । त्यस्ता किन्नेहरुको अल्पसंख्यक मानिसहरुको प्राथमिकतामा पनि अझ नेपाली पुस्तकहरु त झनै कम पर्ने गर्छन् । नेपाली पुस्तक किन्नेहरुमा पनि एउटा रमाइलो गुटवन्दी छ । एकथरि गुटकाहरुले अर्को गुटका लेखकहरुका कृतिहरु पढ्दैनन् । अधिकांश अवस्थामा आफ्नो समूहका लेखकहरुको आफ्नै समूहमा वाहवाह गर्छन् र आफैआफै रमाउँछन् । कुनैकुनै अति नै चर्चित भएको अवस्थामा मात्र अरु समूहको पुस्तक किनेर, मागेर वा कुरेर पढ्ने प्रवृत्ति हामी माझमा छ । स्वीकार गर्नु नगर्नु आफ्नो ठाममा छ तर यो हाम्रो प्रवुद्ध वर्गहरुको संस्कार हो । घरमा हरेक दिन आउने पत्रपत्रिकाहरु पनि हदभन्दा हद भए दुइचारवटा हेडलाइनमा मात्र आँखा कुदाएर पन्छाइदिने थुप्रै मानिसहरु हाम्रै माझ छन् । आफूलाई लेखक, समालोचक र अध्ययनशील भनेर दावी गर्ने एक जना धुरन्धर र मूर्धन्य व्यक्तित्वले मलाई बायाँ फन्को लेख्न थालेको नै पनि दोश्रो वर्ष भैसकेपछि अचम्म पर्दै भनेका थिए, “ओहो, तपाईं पनि लेख्नुहुँदो रहेछ हगि ?”
केही समय अघि एक जना मित्रसंग मैले शंकर लामिछानेको एब्स्ट्रयाक्ट चिन्तन प्याज सापटी लिएको थिएँ । अहिले फर्काउने बेला घरभरि धुइंधुइंती खोज्दा पनि त्यो पाइएन । विचार ठूलो भए पनि आकार सानो भएको र थोरै पृष्ठहरु भएको त्यो पुस्तक कुन कुनामा लुकेर बसेको हो भन्ने थाहा भएन । मित्रलाई नयाँ पुस्तक किनेर फर्काउँछु भनेर म त्यसको खोजीमा हिंडे । प्रदर्शनी मार्ग अवस्थित साझाको विक्री कक्षसम्म पुगेपछि अरु पनि केही किनांैला भन्ने विचार थियो । त्यही मौकामा जमलतिर गएर अरविन्द अडिगाको नयाँ पुस्तक लास्ट म्यान इन टावर पनि किन्नुपर्ला भन्ने मनाशय बनाएर म निस्केको थिएँ । उनले आफ्नो पहिलो पुस्तक ह्वाइट टाइगरका लागि बुकर्स पुरस्कार जितेका थिए र मलाई उनको लेखनशैली मन परेको थियो । दुःखको कुरो, मैले साझाको विक्री भण्डारमा लामिछानेको पुस्तक पाइनं । उनीहरुका लागि अलि बढी एब्स्ट्रयाक्ट भएको हुनाले हो कि, भृकुटीमण्डपका कतिपय पुस्तक पसलेहरुले त त्यसको नाम पनि सुनेका थिएनन् । अन्ततोगत्वा भोटाहिटीको कुनै पसलमा मैले अरु मोटा पुस्तकहरुका बीचमा च्यापिएर निस्सासिरहेका शंकर लामिछानेलाई भेटें । जम्मा पैंतीस रुपैंयामा उपलव्ध रहेछ उनको त्यो कृति । त्यही बेलामा मैले अरु केही वरिष्ठ साहित्यकारहरुका त्यस्तै बहुचर्चित र कालजयी पुस्तकहरु किनें । ती सबै पैंतीस रुपयाँदेखि नब्बेका हाराहारीमा उपलव्ध भए । थोरै पैसामा धेरै पुस्तकहरु किन्न पाउँदा एकातिर खुसी नलागेको त हैन, तर हाम्रा आफ्ना साहित्यकारका कृतिहरु त्यति सस्तोमा उपलव्ध भएकोमा एक प्रकारले मन खिन्न पनि भयो । पैंतीस रुप्याँमा त वेदप्रकाश शर्मा, जेम्स हेडली चेज र सुरेन्द्रमोहन पाठकजन्य लेखकका (यदि ती लेखक हुन् भने) बगम्फुसे उपन्यास पनि पाइँदैनन् । अलि गतिला र नाम चलेका विदेशी लेखकका पुस्तक किन्नेहरुले त त्यो भन्दा निकै नै महँगोमा किन्छन् । तर नेपाली पुस्तकहरु भने त्यति सुलभ दरमा उपलव्ध हुँदा पनि किन कम किन्छौं ? अहिले नेपाली पुस्तकका पाठकहरु बढेको अवस्थामा पनि पाँच वा दश हजार बिक्ने पुस्तक सर्वाधिक विक्री हुनेमा गनिन्छन् भने हामीले एकपटक गम्भीर भएर सोच्नुपर्छ । महँगो भनिएका नेपाली पुस्तकहरु पनि साधारणतया दुइ देखि चार सयका दरमा उपलव्ध हुन्छन् । तै पनि छातीमा हात राखेर सोचौं त हामी आफ्नो आवश्यक अनावश्यक खर्चको बजेटमा पुस्तकका लागि कति छुट्याउँछौं ? कुनै एक मित्रले धोबीचौरमा क्या गज्जवको हाँसको छोयला पाइँदो रहेछ भन्यो भने कहिले गएर त्यो चपाऊँ भन्ने हुटहुटी चल्न थाल्छ । त्यहाँ पुगेर दुइ सय रुप्याँ प्लेट पर्ने अतिप्रचारित त्यो छ्वेला नचप्काउन्जेल त्यो हुटहुटी शान्त हुँदैन । तर कसैले आफूले हालसालै पढेको कुनै पुस्तक साह्रै राम्रो रहेछ भन्यो भने त्यस्तो हुटहुटी किन हुँदैन ? हामी साहित्य र पुस्तकमा रुचि राख्ने रहेछौं भने त्यो मान्छेले त्यो पुस्तक कहिले पढिसक्छ र आफूलाई दिन्छ भनेर सम्म हामी साहित्य प्रति सदाशयता देखाउँछौं । कुनै लोकार्पणमा गएको बेला करबलले कुनै पुस्तक किन्नु पर्दा पनि साथीभाइसंग खाजा खाने जति पैसा खर्च भयो भने करंगको हाडसम्म चसक्क किन खोच्छ हामीलाई ? मानौं नेपाली साहित्य र पुस्तकहरु पढिदिएर हामी लेखक साहित्यकारहरुमाथि कुनै कृपा गरिदिन्छौं ।
मथिंगलमा यिनै कुराहरु खेलाउँदै म जमलको पुस्तक पसलमा पुगेको थिएँ । अरविन्द अडिगाको पुस्तकको मोल नेपाली एघार सय पर्दो रहेछ । मैले मनमनै सोचें, 
“यत्रै सित्ती, यति महँगोमा म यो पुस्तक किन्दिनं । यो नपढेर म अज्ञानी हुन्छु भने, त्यही नै सही ।”

जुम्मा चुम्मा दे दे...

मंसिर २ , २०७४ - मलाई पान खान कहिले पनि मन लाग्दैनथ्यो , अझै पनि लाग्दैन । तर त्यस दिन म नयाँ दिल्लीको रिगल भन्ने सिनेम...