Translate

Sunday, October 6, 2013

कुरा त सानै हो

११७ 

यो संसारमा साधारणतया दुई थरिका मानिसहरु हुन्छन् । एक, अरुको खुसीमा पनि रमाउन सक्ने । अर्को अरुको दुखमा रमाउन चाहने । पहिलो किसिमका मानिसहरु अरुका उपलव्धिमा पनि गर्व गर्छन् । उनीहरु त्यसबाट अभिप्रेरित हुन्छन् र आफू पनि त्यस्तै वा त्यो भन्दा बढी सफल हुन वा अझै बढी उपलव्धिमूलक काम गर्नका लागि कम्मर कस्छन् । दोश्रो वर्गकाहरु चाहिँ अरुको उपलव्धिमा कहाँ खोट लगाउन सकिन्छ भनेर घोत्लिन्छन्, दुःखी हुन्छन् र आफ्नो वरिपरिका अरु सबैलाई दिक्क लगाउँछन् । पहिलो वर्गका मानिसहरु अरुभन्दा आफू माथि उठ्ने प्रयत्नमा हुन्छन् भने दोश्रो थरिकाहरु जहिले पनि अरुलाई आफूभन्दा तल कसरी खँगार्ने भन्नेमा मात्र केन्द्रित हुन्छन् । यस्ता मानसिकता हुनेहरु गाईले गोबर दिन्छ भन्ने सोच्छन्, दूध हैन । समग्रमा भन्ने हो भने मान्छेका सकारात्मक र नकारात्मक दुई वर्ग हुन्छन् ।
  
अरुलाई होच्याउनुमा आफ्नो विशिष्टता देख्नेहरुको कमी कहाँ छ र समाजमा ? त्यस्ता मानिसहरु अरुका सिर्जनात्मक आलोचना भन्दा बढी व्यक्तिगत गालीगलौजमा रमाउने गर्छन् । आफूलाई अतिमूल्याङ्कन गर्नेहरु साधारणतया भित्र हीनभावनाले ग्रस्त मानसिक विकारका सिकार हुने गर्छन् । आफ्नो त्यो हीनता लुकाउनका लागि अरुलाई न्यून मूल्याङ्कन गरेर रमाउने व्थर्थको प्रयत्न गर्छन् । त्यस्ता मानिसहरु राजनीति, साहित्य, कला, पत्रकारिता, प्रहरी, प्रशासन, टोल छिमेक र परिवार जतात्यतै भेटिन्छन् । आफ्नो विचारभन्दा फरक विचार राख्नेहरु र आफ्नो रुचिभन्दा पृथक रुचि राख्नेहरुलाई मूर्ख भन्नु भन्दा ठूलो मूर्खता अरु केही हुन सक्दैन । अरुको आफ्नोपनलाई सम्मान गर्न नसकुन्जेल मानिस कहिले पनि सही अर्थमा मानिस हुन सक्दैन । 

मानिस जीवनमा सँधै, सबै कुरामा कहाँ सफल हुन सक्छ र ? हरेक मानिस बेलाबेला आफ्नो उद्देश्यमा कहीं न कहीं चिप्लिरहेको हुन्छ । यो साधारण कुरा हो । पहिलो खालका मानिस त्यस्तो बेलामा आफू कहाँ चुकेको रहेछु भनेर आत्ममूल्याङ्कन गर्न थाल्छ भने दोश्रो खालकोले चाहिँ आफ्ना असफलताहरुको दोष अरुको थाप्लोमा हाल्छ । ऊ सँधै फलानोले फलान्थोक नगरेको हुनाले आफूले कुनै काम गर्न नसकेको भन्दै उम्किन खोज्छ । 

एउटा चिकित्सक कुनै विरामीको रोगको निदान गर्न नसक्दा त्यसबाट कति बिथोलिनु पर्छ होला ? रोग, चाहे सानो होस् वा ठूलो, त्यो कुनै न कुनै रुपमा कष्टकर हुन्छ । कान दुख्नेलाई घाँटी दुख्नेको पीडा कम लाग्न सक्छ, खुट्टा नचल्दा बरु हात नचले कमसे कम हिंड्न त पाउनेथिएँ भन्ने लाग्छ होला । तर हरेक रोगका आफ्नै पीडा हुन्छन् । के चिकित्सकले त्यो अनूभूत गर्न सक्छ ? सक्नुपर्छ कि पर्दैन होला ? एउटा वकीलले आफूले हातमा लिएको मुद्दा हार्नुलाई पेशागत उथुलपुथुल मात्रै मानेर पन्छिन मिल्छ कि मिल्दैन ? उसको लागि मात्र एउटा मुद्दा अरुका लागि सम्पूर्ण जीवनलाई असर गर्ने कुरा हुन सक्छ । आफूले पढाएका विद्यार्थी परीक्षामा अनुत्तीर्ण हुँदा आफ्नो पढाउने शैलीमा कुनै कमजोरी त छैन भनेर कति शिक्षक घोत्लिन्छन् होला ? एउटा प्रेम वा मित्रतामा कटुता आउँदा त्यसमा मेरो कति दोष थियो भनेर कति प्रेमी र मित्र चिन्तामग्न हुन्छन् होला ? एउटा पारपाचुके हुँदा त्यसका लागि आफू कति जिम्मेवार थिएँ भनेर कति पति वा पत्नीले आत्ममूल्याङ्कन गर्छन् होला ? घर छोडेर हिंड्ने छोरा वा उसलाई घरबाट निष्कासन गर्ने बाबु दुबै मध्ये कतिले आफ्ना गल्ती केलाउँछन् होला ?

कुनै पनि वर्ग, समुदाय, समाज, सहर वा राष्ट्रको समग्र उन्नति वा अवन्नति त्यहाँ कुन खालका मानिसहरु बढी छन् भन्ने कुरामा भर पर्छ । हामीले आफ्नो वरिपरि नियालेर हेर्ने हो भने कसको बाहुल्य भएको पाउँछौं त ? विगतको एउटा लामो पाटो हाम्रा राजनीतिज्ञहरुले खेर फालेका छन् । के त्यसको नैतिक जिम्मेवारी कसैले स्वीकार गरेको छ ? हरेकले अर्कोलाई वा परिस्थितिलाई दोष दिएर आफू चोखिन खोजेका बाहेक हामीले अरु केही सुनेका छैनौं । हो, परिस्थिति असामान्य हो, ठूलो परिवर्तनको संघारमा उभिएको राज्यका आफ्नै जटिलताहरु हुन्छन् । त्यही जटिलताबाट समाजलाई मुक्त गराउन र सही बाटोमा हिंडाउनका लागि नै त सरकार चाहिएको हो, राज्य संयन्त्र चाहिएको हो, सम्विधानसभा चाहिएको हो, मन्त्रीमण्डल चाहिएको हो र तिनका लागि योग्य मान्छे चाहिएका हुन् । उनीहरुको कामै त्यही हो । नत्र हरेक नागरिक आफैमा नीतिनियम, आफैमा कानून, आफैमा सरकार भए भै हाल्यो नि । जिम्मेवारी वहन गर्न नसक्नेले, अरुको आशामा खरो उभिन नसक्नेले असफलता स्वीकार्न सकेन भने कहिले पनि कमजोरी मुक्त हुन सक्दैन, आफूलाई परिमार्जित गर्न सक्दैन । 

अरुको मात्र कुरा नगरौं, त्यो त सजिलो हुन्छ । आफैले आफै भित्र पनि चिहाएर हेर्न पो गाह्रो त । आफू भित्र हेर्ने हो भने हामी त्यहाँ कुन मान्छे बसेको देख्छौं त ? आफूले आफूलाई नै देख्न सजिलो छ ? देख्नु र चिन्नु फेरि अलग कुरा हो । त्यसैले देखे पनि आफैले आफैलाई चिन्न सकिन्छ ? चिने पनि के आफूले आफ्नो मूल्याङ्कन गर्न सकिन्छ ? सकिएछ भने त्यसलाई स्वीकार्न कति सम्भव होला ? नस्वीकारिकन त आफूलाई परिमार्जन गर्ने कुनै सम्भावना नै हुँदैन नि हैन र ? त्यसो भएन भने मानिसले आफैमाथि अन्याय गरिरहेको हुन्छ । आफैमाथि न्याय गर्न नसक्नेले अरुको के भलो गर्न सक्छ ?

मान्छे नकारात्मक मात्र नभैदिने हो भने यो संसारका सानातिना देखि लिएर ठूलाठूला समस्याहरु सुल्झिने थिए । ईतिहासमा कलंक बनेर रहेका कतिपय दुर्घटनाहरु घट्दै घट्दैनथिए होला । तर दुःखको कुरो त के भने आफूलाई सबैथोक थाहा भएको दम्भ गर्ने मानिसहरु यति साधारण कुरामा चाहिँ आँखा चिम्लेर बाँच्छन् । किन होला कुन्नि ?

प्रतिक्रिया:

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment