Monday, October 28, 2013

दिल्ली डायरी

पशुपतिको जात्रा सिद्राको व्यापार

यसपटकको दशैं दिल्लीमा बित्यो । गएको अक्टोवर ६ देखि १५ सम्म म भारतको राजधानी नयाँ दिल्लीमा थिएँ । म राजनीतिसंग गोरु बेचेको नाता पनि नभएको मान्छे भएर मात्र हो, नत्र चुनावको हल्लाको बेला दिल्ली भ्रमणको अर्कै अर्थ लाग्थ्यो होला । म त उपचारको लागि गएको थिएँ । हुन त राजनैतिक तीर्थयात्रा, दर्शन र आशीर्वादका लागि जाने हाम्रा नेताहरु पनि भन्नेबेला त उपचारै भनेर जाने गर्छन् क्यारे । तर म भने रहरले भन्दा पनि बढी बाध्यताले उता हान्निएको थिएँ । पछिल्लो नौ महीनादेखि कहिले अलि कम र कहिले बढी दुखेर मलाई सताइरहेको घुँडाको उपचारका लागि । 


अक्टोबर ६, २०१३

त्रिभुवन विमानस्थलमा दिल्ली जानका लागि हवाइजहाज चढ्न कुर्नेहरुमा अधिकांश नेपालीहरु देखिए । तिनमा पनि अधिकांश स्वास्थ्य उपचारका लागि नै जानेहरु हुँदा रहेछन् । दुई नेपाली परिवारको बीचमा बडो रमाइलो सम्वाद सुन्न पाइयो,

दिल्ली ?

हजूर ।

ए... कुन अस्पताल ?

मानौं उपचारका लागि नै दिल्ली जाने हो भन्ने कुरा स्थापित सत्य हो । अकिकति जटिल समस्या हुनासाथै हामी दिल्ली नै जानु पर्ने हाम्रो नियति देखेर नरमाइलो लाग्यो । म जस्तै ती अरु मानिसहरु पनि रहरले नभै वाध्यताले दिल्ली जान लागेका थिए होलान् ।

मैले काठमाण्डौबाट नै अपोलो र मेदान्तमा इमेल गरेको थिएँ । आफ्नो समस्या, नाम, उमेर, लिंग सबै कुरा खुलाएर । अनि यहाँका रिपोर्टहरुले भनेका कुराहरु पनि टाँसिदिएको थिएँ । दुबै ठाउँबाट त्यसको जवाफ आएको थियो । मेदान्तका मानिसले मलाई डियर म्याडम भनेर सम्वोधन गरेका थिए । अनि बाह्र वर्ष रामायण पढायो, सीता कसकी जोई भने झैं तपाईंको समस्या विस्तृत रुपमा लेखेर पठाउनुहोला भन्ने अनुरोध पनि थियो । त्यसैले मैले मेदान्तको नाम हटाइदिएँ । जहाँका मानिसले मेरो सबै वर्णन भएको इमेल हेरेर मलाई म्याडम भन्छन्, अनि समस्या के हो भनेर सोध्छन्, तिनकहाँ उपचार गराउन मलाई ईच्छा नै लागेन ।

तसर्थ मेरो गन्तव्य सरिता बिहार स्थित इन्द्रप्रस्थ अपोलो थियो । त्यहाँकी रेखा नायर नामक सम्पर्क अधिकृतसंग फोनमा पनि कुराकानी भैसकेको थियो । उनले त्यसै दिनका लागि अर्थोपेडिक डाक्टरसंग समय मिलाइदिएको र बस्नका लागि पनि अस्पतालको ठ्याक्कै अगाडि सेवा सदन भन्ने ठाउँमा बन्दोवस्त भएको बताएकी थिइन् । नभन्दै इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानघाटमा अपोलो अस्पतालका मान्छे हामीलाई लिन आएका थिए । उनी नेपाली नै रहेछन् । तर अचम्मको कुरा के भने आफूलाई पोखराको भन्ने तिनलाई नेपाली भाषामा चाहिँ कुरा गर्न चैं आउँदैन रे । उनका साथमा अरु दुइ जना गैर नेपालीहरु पनि थिए । उनले हामीलाई निकै बेर कुराएपछि मैले रेखा नायरसंग कुरा गर्न चाहें । उनले आफ्नो मोबाइलमा सम्पर्क गराए । लौ जा, अब रेखा नायरले डाक्टरसंग भोलिपल्ट मात्र समय भएकोले त्यस दिन होटलमा जान भनिन् । ती नेपाली कर्मचारीले सेवासदनमा कोठा नभएकोले अर्कै कुनै होटलमा लैजान भनेर बल्लबल्ल एउटा भाडाको गाडी मिलाएर हामीलाई चढाए । अनि आफू पछि उतै आउँछु भनेर आफ्ना साथीहरुसंग अर्को गाडी चढे । मसंग मेरा दुइ छोरीहरु पनि थिए । सिआइडी र क्राइम पेट्रोल हेरेर तर्सिएको दिमाग न पर्‍यो, मैले ड्राइभरलाई सेवा सदन नै लैजान भनें ।

सेवा सदन अधिकांश उपचारार्थ आउने नेपालीहरुले नै भरिएको हुँदोरहेछ । सफा, सुग्घर र सस्तो हुनाले कोठा पाउन चाहिँ गाह्रो । नाम लेखायो भने पनि दुइतीन दिन पछि पालो आउन सक्ने । उपचारका लागि अपोलो आएका बाहेक अरुलाई चाहिँ बस्न दिंदैनरहेछन् त्यहाँ । जाँडरक्सी वा मापसे त पूर्ण रुपले वर्जित । हामीले साँच्चै त्यहाँ त्यसदिन बास पाएनौं । रेखाले खै किन हो त्यहाँ केही भनेकी नै थिइन रहेछ । वेटिंग लिष्टमा नाम लेखाएर उनीहरुले नै सुझाएको अर्को होटल तिर लाग्यौं । त्यो चाहिँ अपोलोबाट २ किमी जति टाढा रहेछ । सेवा सदनमै गाडी लिएर लिन आए । होटलबाट अस्पताल पनि बिहान उनीहरुले नै पुर्‍याइदिने रे । शुल्क चाहिँ सेवा सदन भन्दा निकै बढी । यस्तो बेलाका लागि उनीहरुकै भाषामा एउटा भनाइ छ नि,

मरता क्या न करता ?

काम केही नभएकोले साँझ इण्डिया गेट तिर बरालिएपछि मैले दिल्लीमा बस्ने मेरी मित्र पमी सिंहलाई फोन गरें । कलेजमा संगै पढेका हामी लामो अवधिपछि फेसबुकले भेटाएर नजीक भएका थियौं । बेलुका उनले बोलाएको होटल ताजमहलमा हामी भेट्यौं । खानपीन पछि उनको घरमा बस्न जाने आग्रहलाई विनम्रतापूर्वक अस्वीकारेर हामी छुट्टियौं । उनैले हामीलाई हाम्रो गुँडसम्म पुर्‍याइदिइन् ।

अक्टोबर ७, २०१३

“बेटा, ये कहाँ से लिया तुम नें ?”

अनुहारभरी हजारौं चाउरीका मुजाहरु थिए ती बृद्ध महिलाका । सिन्का जस्ती थिइन् उनी । पहिले त मैले उनले के भनेकी हुन् भनेर बुझिनं तर उनका उदास आँखाहरु मैले टेकेका बैशाखीहरुमा गडेका देखे पछि उनले तिनै बैशाखीका बारेमा सोधेकी हुन् भनेर बुझें ।

बिहान पाँच बजे उठ्नासाथै चिया खानु पर्ने बानीको तलतलले म चायवाला ठेला खोज्न निस्केको थिएँ । उताबाट आइरहेकी ती बृद्धा भेटिएकी थिइन् ।

मैले उनलाई त्यो बैशाखी नेपालबाटै लिएर आएको कुरा बताएँ । उनले लामो सास फेरेरे भनिन्,

“मेरो छोरोको दुर्घटनामा परेर खुट्टा नराम्ररी भाँचिएको छ । उसलाई पनि यस्तै चाहिन्छ भनेका छन् । धेरै महँगो हुँदो रहेछ । मेरो औकातले किन्न भ्याउँदैन ।”

मेरो मन अमीलो भयो । तर मैले सहानुभूति भन्दा बढी उनलाई केही दिन सकिनं ।

“कोइ बात नहीं बेटा ।”

उनी आफ्नो बाटो लागिन् । त्यतिबेला मलाई भोलिपल्ट डाक्टर जँचाएर दुइ चक्की ओखती खानासाथ मेरो नौ महीनाको दुखाई चटक गरे जसरी बिसेक हुन्छ भन्ने कुरा के थाहा । त्यसको अलिकति पनि पूर्वानुमान भएको भए म त्यो बैशाखी उनलाई दिएर पठाउँथे ।

त्यस दिन बिहान नौ बजे फोन गर्दा छिनछिनमा फरकफरक कुरा गर्ने रेखा नायरको चालादेखि वाक्क भइयो । अब आफ्नै सुरमा लाग्नु पर्ला भनेर अस्पताल गयौं । अपोलोमा विदेशी विरामीहरु पनि निकै नै आएका हुँदा रहेछन् । विशेष गरी नाइजेरियाका विरामीहरु । कतिसम्म त भने उनीहरुले एउटा नाइजेरियनलाई त जागीरै दिएर राखेका रहेछन् ।

म खुरुक्क नाम दर्ता गरेर डाक्टर भेट्न गएँ । डाक्टर टण्डन भन्ने वरिष्ठ हाडजोर्नी विशेषज्ञ मेरो भागमा परेका थिए । वा उनको भागमा म परेको थिएँ । अपेक्षित नै थियो, उनले सबै कुरा सुनेर एमआरआइ, पिसाब र रगतका टेष्टहरु गरेर भेट्न आउन भने । अनि तीन दिनका लागि भनेर बिहानबेलुका खान एउटा ओखति लेखिदिए । मैले उनलाई के त्यो एण्टी इन्फ्लेमेटरी ओखती हो भनेर सोधें । उनले समर्थन जनाए पछि मैले भनें, “मैले काठमाण्डौमा थुप्रै त्यस्ता ओखति खाइसकें र केही पनि फरक पर्दैन त्यसले ।”

उनले मुसुमुसु हाँस्दै भने, “एकपटक यो पनि खाएर हेर्नुस् न । थोरै मात्राको लेख्द्या छु ।”

एमआरआइको लागि त्यस दिन समय मिलेन । कि त कोही समय लिएर आएनन् भने घुसौंला भनेर कुरेर बस्नुपर्ने भो, कि अर्को दिन । हामी नकुर्ने भयौं । डाक्टर टण्डनले दिएको ओखति भने मैले किनेर खाएँ । त्यसको एक घण्टामै चमत्कार गरे सरह मेरो घुँडो दुख्न छोड्यो । म नौ महीनामा पहिलोपटक बिना पीडा आरामले हिंड्न थालेको थिएँ । कस्तो अचम्म । अनि हामीले आगरा र जयपुर बरालिने निर्णय ग¥यौं । कनट सर्कलमा एउटा पहिले चिनेको ट्राभल एजेन्सी खोज्न हिंडेको, मरे भेटिएन । पन्ध्र वर्ष अघिको कुरा थियो, के थाहा बन्द नै भैसकेको पो हो कि ? एउटा अर्को एजेन्सीसंग कुरा मिलाइयो । उसले एउटा गाडी र त्यहाँ लोकल गाइडहरु पनि उपलव्ध गराउने भयो । ड्राइभरलाई फर्केपछि स्वेच्छाले दिने टिप र खानपीन बाहेक अरु सबै खर्चको एकमुष्ट हिसाब भयो । आगरा र जयपुरमा एकएक रात चार देखि पाँच तारे होटलमा राख्ने बन्दोवस्त पनि त्यसमा थियो । उसले गाडी पनि देखायो, राम्रो थियो । भोलिपल्ट हामीलाई टिप्ने ठाउँ बताएर हामी फेरि होटल फक्र्यौं ।

अक्टोबर ८, २०१३

बिहान भनेको समय भन्दा ढीला गरेर गाडी आयो । उही कम्पनीको उही मोडल भए पनि देखाएको भन्दा अलि थोत्रो थियो त्यो गाडी । यस्ता सानातिना कुराहरुमा चाहिँ तलमाथि गर्ने उताकाहरुको पुरानै बानी हुन्छ । हुन त पाएसम्म उताकाहरुलाई पनि यता आएको बेला लटरपटर पार्ने त दुइ देशको गौरवशाली परम्परा नै हो । डाक्टर टण्डनलाई पनि नेपनल आएको बेला मनकामना घुमाउने बेला यहाँको कुनै एजेन्सीले राम्रैसंग ‘चुना’ लगाएको थियो रे भन्दैथे ।

नयाँ बनेको यमुना एक्सप्रेस हाइवेबाट गएको भए १६५ किलोमिटरको बाटो दुइ तीन घण्टामा पुगिने आगरा हामीलाई मथुरा र कृष्ण भगवान जन्मेको स्थान देखाउने भन्दै पुरानो बाटोबाट लगेका कारण पाँच घण्टा बढी लाग्यो । शशि पाल नाम गरेको ड्राइभर चाहिँ ज्ञानी मान्छे थियो । म उससंग कुराकानी गर्दै बाटो कटाउन थालें । आगरामा हामीलाई गाइड कुरिरहेको थियो । टेप रेकर्डर चलेको जसरी घोकेका कुराहरु सुनाउँदै उसले हामीलाई पहिले लालकिला घुमायो । हामी थाकेका थियौं । ताजमहल जानु अघि होटलमा गएर नुहाइधुवाइ गर्न भ्याइन्छ कि भन्ने जिज्ञासामा उसले ढुक्क हुँदै भन्यो, “साढे ६ बजेसम्म ताजमहलको ढोका खुल्छ । चिन्ता नै नगर्नुस् ।”

तर जब हामी त्यहाँ ६ बजे पुग्यौं, थाहा भयो, टिकट बिक्री साढे ५ बजे नै बन्द हुने रहेछ । गाइडले घैंटे हान्यो, “टिकट बिक्रीको समय दिनदिनै फरक हुन्छ । हिजोसम्म साढे ६ थियो ।”

मैले उसको हूर्मत लिएँ, “हामीलाई घाँस खाने भन्ठान्या ? थाहा थिएन, झुक्किएँ भने भै हाल्यो नि । किन गफ लगाउनू ?”

उसले ङिच्च हाँस्दै खीस निपोर्‍यो । उनीहरुको भाषामा त्यसलाई खीसें निपोरना भन्छन् ।

अक्टोबर ९, २०१३

भोलिपल्ट बिहान सखारै हामी ताज महल पुग्यौं । थोत्रो टेपरेकर्डर फेरि चल्न थाल्यो । मुमताज महलको बारेमा उसले भन्यो, “ह्वेन शी वाज डाइड, शी क्लोज्ड हर आइज फाँर एभर एण्ड शी वाज वान्ली थर्टी टू ।”

एक हिसाबले राम्रै भयो । ताजमहल कि त बिहान सूर्योदयमा कि सूर्यास्तमा हेर्नु सबैभन्दा राम्रो मानिन्छ । धेरै वर्ष पहिले ताजमहल मध्यान्हमा हेरिएको थियो । यसपटक बिहानीका किरणहरुले ताजमहल चुमेको दृश्य हेर्दा साँच्चै अनुपम नै पो हुँदोरहेछ । त्यसपछि ताजमहल र आगरासंग विदा माग्दै जयपुर तिर लागियो । हामी हिंड्ने बेला गाइड कानदेखि कानसम्म ङिच्च हाँस्दै कपाल कन्याउन थाल्यो, “सर आइ एक्सपैक्ट साँम टिप ।”

मेरा त कन्सिरीका रौं ठाडा भए । यति तोर्पे थियो त्यो गाइड, जसलाई ताजमहलको ढोका कतिबजे बन्द हुन्छ भन्नेसम्म थाहा थिएन । मैले उसको सबै कुरा ट्राभल एजेन्सीसंगै मिलाइसकेको छ भनेर कन्चीदाम झारिनं । टिप भनेको उसको कामबाट सन्तुष्ट भए पो दिने कुरा हो ।

त्यहाँबाट हिंडेपछि हाम्रो ड्राइभर त चुइँक्क बोल्नै छाड्यो । कालो मुख लगाएर गाडी हाँकिरह्यो । मैले कुरो बुझिहालें । दिल्लीको गाइडलाई सुक्को नझारेको हुनाले उ निराश भएको हुनुपर्छ । कस्तो मख्खीचूसको फेला परियो भनेर उसको मूड खराब भएको हुनुपर्छ । उसको टिप बाहेक अरु सबै कुरा एजेन्सीलाई दिएको छ भन्ने कुरा मैले उसलाई सुनाएँ । अचानक उसको अनुहार फेरि उज्यालो भयो र बाटोभरी उसले ट्राभल एजेन्सीको मालिकको कुरा काट्यो । कसरी थोरै पैसामा धेरै दलाउँछ भनेर मनभरीका भडास निकाल्यो उसले ।

“मेरो टिप पनि उसैले हिसाबमा नहालेको राम्रो भयो । नत्र उसले तपाईंसंग लिएकोमध्ये आधाको आधा पनि मलाई दिन्न्थ्यो । के गर्नुू, ड्राइभरहरुको कम्पिटिसन छ, मैले केही भने कि अर्को मान्छे पाइहाल्छ । तपाईं आफै विचार गर्नुस् यो महँगो सहरमा तीन हजारको तलबले म कसरी बाँच्छु होला ।”

उसले मलाई चनाको झ्याङमा चढाउन खोज्दै सोध्यो, “तपाईंको आफ्नो सहरमा त बिएमडब्ल्यू गाडी छ होला हगि सर ?”

म केही बोलिनं, नसुनेझैं गरेर टारें ।

जयपुरको गाइड चाहिँ अलि गतिलो थियो । इतिहासमा एमएसम्म पढेको जेके सिंह नामक त्यो गाइडले हामीलाई त्यस साँझ निकै रमाइलोसंग त्यहाँको प्रख्यात हवा महल, मानसिंह सवाइले बनाएको अमेर किल्ला र जलमहल आदि घुमायो । जयपुरको सुन्दरता र भव्यताले वास्तवमै मन्त्रमुग्ध बनायो । अमेर किल्ला भएको पहाडको वरिपरि मानसिंहले आफ्नो सुरक्षाका लागि विशाल पर्खाल बनाएका रहेछन् । गाइडले छाति फुलाउँदै भन्यो, “दिस इज द ग्रेट वाल अफ जाप्पुर ।”

त्यहाँका स्थानीयहरु जयपुरलाई जाप्पुर भन्दा रहेछन् ।

साँझ उसैको सल्लाहमा राजस्थानी लोकगीतका साथ स्थानीय खाना खाने एउटा रेष्टूराँमा गएर खाइयो । गायक स्थानीय गीतहरु गाउँदै थिए । मैले केसरिया बालम भन्ने राजस्थानको लोकगीत फर्माइस गरें, जसलाई उनले बडो मीठोसंग सुनाए । त्यहाँको प्रख्यात लोकगीत त्यहींको वातावरणमा सुन्नुको आनन्द नै अर्कै थियो । हाम्रो गाइडलाई बरु केसरिया बालमको कथा थाहा रहेनछ । मैले अलिअलि सम्झेको भरमा र अलिअलि फुलबुट्टा भरेर उसलाई त्यो सुनाइदिएँ ।

बाल्यकालमा आगोले पोलेर अनुहारको एउटा भाग बिग्रेकी गरीव परिवारकी रुक्मी अत्यन्तै सुन्दर युवती हुन्छे । तर ऊ आफ्नो अनुहारको जलेको भाग सँधै घुम्टो भित्र लुकाउँछे । सम्पन्न परिवारको एउटा चित्रकार रनवीरले कल्पनाको भरमा बनाएको सुन्दर युवतीको चित्र ठ्याक्कै रुक्मी जस्तो छ । एक दिन उसले रुक्मीलाई देख्छ र अचम्म पर्छ । ऊ रुक्मीलाई मन पराउन थाल्छ र उनीहरुको बिहे हुन्छ । बिहे अघि रुक्मीले आफ्नो वास्तविकता बताएर लेखेको पत्र कसैले रनवीरको हात पर्न दिएको हुन्न । सुहागरातमा उसको जलेको अनुहार देखेपछि रनवीर आफूमाथि धोका भएको ठान्छ । यसैको सेरोफेरोको यो कथा सुनेर गाइड पनि दंग प¥यो ।

त्यहाँबाट होटल फर्कने बेला रात परिसकेको थियो । एउटा चोकमा ट्राफिकले हाम्रो गाडी रोक्यो । ड्राइभरले हाइ बीम बालेको रहेछ । जयपुर सहरमा राती हाइबीम बालेर गाडी चलाउन नपाइने रहेछ । हामीकहाँ त हाइबीमको त कुरै छोडौं, एउटा साइडको बत्ती नबल्ने पनि आरामसंग चलाउन पाइन्छ । उसले ड्राइभरलाई ओराल्यो । उनीहरुको बीचमा लेनदेनको मोलमोलाइ हुन थाल्यो । एकै छिनपछि आएर शशि पालले खुइय गर्दै भन्यो, ”दो सौ रुपये खा गया ।”

उसको गल्तीले त्यो पैसा गयो भन्दा उसलाई नोक्सानी हुन्छ रे । त्यसैले उसले योजना बनायो, “म एजेन्सीको मालिकलाई ड्राइभरको यूनिफर्म र नामपातो नभएको भनेर तिरायो भन्छु । तपाईंलाई सोध्यो भने हो भन्दिनुहोला है सर ?”

मैले हुन्छ भनें । बिचरा होटलको पैसा बचाउनका लागि रातभरि गाडीमै सुत्दोरहेछ भन्ने मैले थाहा पाइसकेको थिएँ । एजेन्सीको मालिक भनाउँदो मानिस चाहिँ बेस्मारी रगत चुसेर पट्ट फुट्न लाग्या लामखुट्टे जस्तो थियो । अनुहारका कणकणमा फट्याँइ प्रष्टै देख्न सकिने ।

अक्टोबर १०, २०१३

बिहानै जयपुरका पूर्वराजाको दरवार घुमेर सकाएपछि हामी दिल्ली फक्र्यौं । हामी काठमाण्डौका एक जना परिचितले सुझाएर पठाएको करोल बागको एउटा होटलमा बास बस्यौं । यत्रो दौडधूप गर्दा पनि मेरो घुँडा पटक्कै दुखेको थिएन । नौ महीनामा बल्ल दुखाइ मुक्त हुनुको आनन्द म बयानै गर्न सक्दिनथें । त्यो दुइ चक्की औषधि र त्यो दिने डाक्टर टण्डनलाई मैले धेरै पटक मनमनै साधुवाद भनें । भोलिपल्ट अपोलो गएर एमआरआइ र अरु टेष्टहरु गर्ने निधो भयो ।

अक्टोबर ११, २०१३

बिहानै देखि घनघोर मेघ गर्जनका साथ ठूलो पानी पर्‍यो । आफ्नो पुरानो बानी अनुसार बिहान झिसमिसेमा म फेरि त्यहाँको चोकमा चायवाला ठेला खोज्न निस्कें । होटलबाट अलि पर मूल सडकमा एउटा बूढा मान्छे तात्तातो चिया बनाइरहेको थियो । दिल्ली पुलीसको एउटा जीप रोकिएको थियो र एक जना भूँडे मोटे सब इन्सपेक्टर चिया खाँदै थियो । मैले पनि चिया मागें । सब इन्सपेक्टरले आफूले चिया खाइसकेर जीपमा भएको केतलीमा पनि चार पाँच कप चिया भर्न लगायो र गयो । भनिरहनु नपर्ला, न बूढाले पैसा माग्यो, न उसले नै दियो ।

मैले चिया खाइसकेर खल्तीमा हात घुसारें । लौ जा, मसंग त भारु रहेनछ । अब के गर्नु ? मैले अप्ठ्यारो मानेर उसलाई त्यो कुरा भनें । नजीकैको आफू बसेको होटलको नाम पनि लिएँ । उसले निस्फिक्री भएर भन्यो, “कोइ बात नहीं साहब । बाद में आ कर दे देना ।”

म उधारो चिया खाएर होटल फर्कें । पानी झन्झन् दर्कन थाल्यो, बेस्मारी मेघ गर्जिरहेको थियो । त्यस दिनका लागि सब काम थाँती राखेर दिन होटलमै बिताइयो । बंगालको खाडी माथि झण्डै आधा भारतको आकारको आँधीका कारण मौसम अप्रत्यासित रुपमा खराब भएको हुनाले दिल्लीमा बेमौसमी पानी पर्न थालेको थियो । त्यही आँधी सरेर नेपाल तिर छिरेका कारण यहाँ हिले दशैं भएको थियो । त्यस दिन साँझ पमीले आफ्नो घरमा खाना खान बोलाएकी थिइन् । हामी करोलवागबाट मेट्रो चढेर कनटप्लेसको राजीव चोकमा र त्यहाँबाट फेरि सेक्रेटरियाटमा स्टेसन बदल्दै जंगपूरा अवस्थित उनको घर गयौं ।

दिल्लीको मेट्रो मैले कल्पना गरेको भन्दा राम्रो थियो । अरु कुरामा जे भए पनि त्यसलाई चाहिँ अहिलेसम्म चिटिक्कै पारेर राखेका रहेछन् । चढ्ने ओर्लने ठाममा घच्चमघच्चा गर्ने बानी छोड्न नसके पनि अरु कुरामा भने मेट्रो राम्रो थियो । त्यसमा र त्यसको स्टेसनमा थुक्नेहरुलाई सीधै २०० रुप्याँ जरिवाना हुने कारणले होला, भारत भ्रमणमा  जतात्यतै देखिने पानका थुकहरु देखिएनन् मेट्रोमा । हामीले यहाँ पनि जथाभावी थुक्नेहरुलाई जरिवाना गर्ने हो भने त थुप्रै रावश्व उठ्छ होला ।  मेट्रोमा जति नै भीड र धक्कामुक्की भए पनि मेरो बैसाखी देख्नासाथ मानिसहरू सीट खालि गराएर बस्न दिइहाल्थे । यो कुरामा उनीहरू सभ्य र सुसंस्कृत रहेछन् । आरामले बस्न पाउँदा रमाइलो लागे पनि सिटमा 'केवल विकलाङ्गों के लिये' लेखेको देख्दा नरमाइलो लाग्थ्यो । एउटै कुराले पनि रमाइलो र नरमाइलो दुबै हुन सक्दोरहेछ कहिलेकहीं ।

पमीका पति इन्दरजीत सिंह, छोरी गुञ्जन र छोरा अभिराजले हामीलाई प्रदान गरेको आत्मीयताको बयान गर्ने कुनै शव्द नै छैन । हुँदाहुँदा पढ्नका लागि लण्डनमा बसेकी उनकी अर्की छोरी तेजल पनि स्काइपमा हामीसंग अत्यन्त नजीक हुन पुगिन्, एकदमै छोटो समयमा । उनीहरुको आतिथ्यले गर्दा विरानो सहर पनि अचानक आफ्नै घर जस्तो पो लाग्न थाल्यो ।

हामीलाई पनि त्यहीं राख्न कर गरिरहेका थिए उनीहरु । तर मेरो अस्पतालका कागजहरु सबै होटलमा भएका कारण हामी होटल जानै पथ्र्यो । भोलिपल्ट अस्पतालमा दिन बित्ने हुनाले पमीले हाम्रा छोरीहरुलाई भने उनकै घरमा राखिन् ।

“यिनीहरुको जिम्मा मेरो ।”

पमी र इन्दरजीत आधा रातमा हामीलाई होटल पुर्‍याउन आए । त्यतिमात्र हैन पमीले भोलिपल्ट अस्पतालबाट फर्केर होटल जान नपाइने र उनकै घरमा बस्नु पर्ने उर्दी पनि बडो स्नेहका साथ सुनाइन् । त्यति धेरै आत्मीयतालाई नकार्न सकिने सम्भावना नै रहेन । पैसा जसले पनि कमाउन सक्छ, तर धनी त्यो हो जसले सम्वन्धहरु कमाएको हुन्छ भन्ने मेरो मान्यता अझै बलियो भयो । अचम्मको कुरा त के भने, इन्दरजीत बच्चुकैलाशका फ्यान रहेछन् । गीतसङ्गीतका पारखी र शौखिन पनि । बच्चुकैलाशको टाढाटाढा जानु छ साथी भन्ने गीत त आफ्नो गाडीमा हरदम बजाउने गर्दा रहेछन् । उनी भन्दै थिए,

“मैले यति ओजपूर्ण, मीठो र सधिएको स्वर कि मन्ना डेको सुन्या छु कि बच्चुकैलाशको ।”

बच्चुकैलाशले गाउन छोडेको धेरै भयो भन्ने कुरा मैले सुनाएँ । खिन्न भएर उनले भने,

“तपाईंले उनलाई भेट्नु भो भने त्यसो नगर्न भन्नुहोला । बच्चुकैलाशले यदि एउटा मात्र हिन्दी गीत गाए भने पनि पूरै भारत पिटेर खान्छन् । उनी चाहन्छन् भने म उनको हिन्दी गीत रेकर्डिंगको सम्पूणै जिम्मेवारी लिन तयार छु ।”

त्यसो भयो भने क्या रमाइलो होला भन्ने सोच्दासोच्दै मैले सम्झें, बच्चुकैलाश कति जिद्दी छन् । उनले अब आएर, त्यो पनि हिन्दी गीत त गाएको गायै भयो ।

मैले आफूसंग भएका बच्चुकैलाशका सबै गीतहरु उनलाई पठाइदिने वाचा गरें । उनको आँखामा मन पर्ने खेलौना पाइने कुरा सुनेर आउने जस्तो वालसुलभ चमक आयो ।

अक्टोबर १२, २०१३

बिहानै मेट्रो चढेर अपोलो गइयो । चार घण्टा कुरेर एमआरआइ र ब्लड टेष्टको लागि दिएर हामी फक्यौं । रिपोर्ट भोलिपल्ट मात्र पाइने भयो ।

अक्टोबर १३, २०१३

दिन पमीको परिवारले लगाएको तिर्नै नसक्ने गुनहरुका साथ बिते । स्कूलमा संगै पढेका साथी इरफान खान पनि नयाँ दिल्लीमा नै बस्छन् भन्ने थाहा थियो । म त्यता जाने कुरा थाहा पाएर उनले मलाई फेसबुकमा आफ्नो नम्बर दिएका थिए । हाम्रो सम्पर्क भयो । उनी पनि जंगपुरा नै आए मलाई भेट्न । त्यसदिन पमीको परिवारसंगै हामी कुतुब मीनार हेर्न गयौं । इरफानले हँसाए, “एउटा कुरा थाहा छ ? म दिल्ली बसेको २५ वर्ष भैसक्यो । आज म पहिलो पटक कुतुब मीनार देख्दैछु ।”

अक्टोबर १४, २०१३

एमआरआइ र टेष्टका अरु परिणामहरु आएपछि डाक्टर टण्डनले भने,

“मेरो विचारमा अब हामीले फेरि भेट्नु पर्ने आवश्यकता छैन ।”

मलाई दुख्न छोडेको केही दिन भैसकेको थियो । तर मलाई अझै अचम्म लागिरहेको थियो । नौ महीनाको मेरो यो किचकिचे पीडा के जम्मा ६५ रुप्याँको ओखतिको भरमा नै ठीक हुने रहेछ ? म अझै पनि यसलाई कुन रुपमा व्याख्या गर्ने भन्न सक्दिनं ।

अक्टोबर १५, २०१३

काठमाण्डौ फर्कने दिन । पमीले एयरपोर्टसम्म पु¥याउने बन्दोवस्त गरिन् । हामीले १००० र ५०० का भारु बिर्सेका थियौं । नेपालमा ती नोटहरु प्रतिवन्धित छन् । जम्माजम्मी दश हजार जतिका ती नोट बाँकी रहेका थिए । त्यहाँका एयरलाइन्सका मानिसहरुले त्यो थाहा पाउनासाथ भित्र सुरक्षा जाँचसम्म त्यसको सुइँको दिने चलन हुँदो रहेछ । अनि त्यहाँका कुनै बैंकका काउण्टरले पनि ती नोटहरु नसाटिदिंदा रहेछन् । यो मिलीमतोको दह्रो नेटवर्क रहेछ । मैले पमीलाई फोन गरें । नेरु साट्न नमिलेको कुरा बाताएर ड्राइभर बाटैमा छ भने फर्काउन अनुरोध गरें । बरु म ती नोटहरु उसकहाँ फर्काउँछु, विमानस्थलका कर्मचारीहरुलाई किन खुवाउनु । तर हामी भित्र छिर्ने बेलासम्म पनि उनको ड्राइभर आउन भ्याएनन् । पमीलाई फोन गरेर बेकारमा दुख धयो, भैगो अब म भित्र जानु पर्ने भयो भनेर जानकारी गराएँ । दिमागमा एउटा आइडिया फु¥यो । कुनै पसलमा गएर चीसो, कुनैमा स्याण्डवीच, कुनैमा कफी, कुनैमा पुस्तकहरु किन्दै हजारका नोटहरुको खुद्रा गर्न थाल्यौं ।

सुरक्षा जाँच काटेर हवाइजहाज भित्र बसेर सीट बेल्ट बाँधिसकेको थिएँ, एक जना कर्मचारी मेरो नाम लिंदै मलाई खोज्न आए ।

“तपाईं एकपटक प्लेनको ढोकासम्म आउनुस् न ।”

म जिल्ल पर्दै उसको साथ लागेर गएँ । एयरपोर्ट सुरक्षाका एक जान मान्छे त्यहाँ एउटा खाम लिएर उभिएका थिए,

“मिसेज सिहंले पठाउनुभएको, तपाईंलाई दिनु भनेर ।”

आएर खोलेर हेर्छु त खाममा त सोह्र हजार नेरु पो छ । फोनमा पमीले कुरा राम्ररी बुझिनछिन् । उनले भन्ठानिछन्, मलाई दश हजार भारु को नेपाली रुपियाँको आवश्यकता परेको हो । त्यति कम समयमा नेरु खोजेर कसकसलाई सोर्स लगाएर उड्ने बेला हुन लागेको हवाइजहाजसम्मै उनले त्यो पु¥याइछिन् । पछि मैले भनें, “कसो प्लेन उड्न भ्याएको रहेनछ । तत्र तिमीले त्यसलाई फेरि फर्काएर ओराल्ने रहिछौ ।”

हामी हाँस्यौं ।

काठमाण्डौ आइपुग्दा पनि एउटै कुराले मन अलि खिन्न भैरहेको थियो । मलाई तिनै बूढी आमाको झझल्को आइरहेको थियो । मलाई अब आवश्यक नभएको त्यो बैशाखी उनको छोराका लागि दिन पाएको भए कति जाति हुन्थ्यो । 

एकै टेकमा तीन अन्तरा

कान्तिपुर कोसेलीमा प्रकाशित बम्बै, २०...... गति रोधक पुढे आहे सडकको किनारामा ट्राफिकको सूचना गाडिएको बोर्डमा मराठीमा लेखिएको थियो, अगा...