Friday, January 31, 2014

अज्ञात स्रष्टाहरू

आमधारणा के छ भने स्रष्टा भनेका अर्कै प्रजातिका हुन्छन्, उनीहरूमा खास कुनै प्रकारको 'चिप्स' जडान भएको हुन्छ। त्यसैले उनीहरूको सिर्जनशीलता, कल्पनाशक्ति र अभिव्यक्ति कला अरूको भन्दा पृथक् हुन्छ। जीवन, समाज, घटना र वरपिरिका वातावरणलाई उनीहरू अर्कै आँखाले हेर्छन्। त्यो आँखाले अरू आँखाले देखिनेभन्दा भिन्न तस्बिर देखाउँछ। सम्भवतः छिद्रान्वेषी हुन्छ, उनीहरूको हेराइ, त्यसले गर्दा अरूका आँखामा सामान्य लाग्ने कुरा उनीहरूका लागि विशिष्ट बन्न पुग्छन्।


यो त भयो परम्परागत रूपमा लेखक वा सर्जकको मान्य व्याख्या। कतिपय भन्ने गर्छन्, मलाई लेख्न आउँदैन र मात्र हो, आफ्नै जीवनको कथामा उपन्यास लेख्ने हो भने आजसम्मको कुनै पनि उपन्यासभन्दा कम हुँदैन। हारुकी मुराकामीले पनि मानिसहरूले आफूलाई त्यसो भन्ने गरेको कुरा बारम्बार व्यक्त गरेका छन्। उपन्यास मात्र होइन, मानिसहरूलाई आफ्नो अनुभव, आफूले भोगेको जिन्दगी र देखेको समाजलाई पुस्तकाकार दिन सक्ने हो भने जीवनी, निबन्ध, दर्शन, कविता, अनुभूति वा अरू कुनै पनि विधाको उत्कृष्ट रचना बन्न सक्थ्यो भन्ने लाग्छ।

हरेक मानिसका आ-आफ्नै भोगाइ हुन्छन्। हरेक जीवन उस्तै भए पनि फरक कथाहरूले बुनिएको हुन्छ। यसमा दुई मत हुनै सक्दैन। तर, मानिसले आफूले लेख्न नसक्ने भनेर ती कथाहरूलाई आफैँभित्र थुनेर राख्छन्। के सबै मानिसले लेख्न सक्दैनन् र? के सिर्जनशीलता वा कल्पनाशीलता भन्ने कुरा लेखन व्यवसायका मानिसमा मात्र हुने हो र? के ती कुरा बढी भएका मानिस मात्रै लेखक वा साहित्यकार हुने हुन् र? कल्पनाशीलता र सिर्जनाशीलता त हरेक मान्छेमा हुन्छ। त्यसको प्रयोग गर्ने प्रयास नगरेका मात्र हुन्। सिर्जनात्मक गुण नै एउटा यस्तो कुरा हो, जसले मानिस र अरू जनावरलाई अलग बनाउँछ।

केही दिनअघि एउटा सामान्य लाग्ने कुराले मलाई यस विषयमा सोच्न बाध्य बनायो। सधैँजस्तै बाटोमा भटभटे गुडाउँदै थिएँ। मेरो अघिल्तिर एउटा मिनी बस थियो। त्यसको पुछारमा एउटा मुक्तक पोतिएको थियो ः

'सेतो टोपी सेतै क्याप

फिर्र सिटी लाइसेन्स झ्याप।'

यो कुनै उच्च कोटिको कविता नहोला तर त्यसमा एउटा सिर्जनशीलता अवश्य थियो। हुन त हाम्रा सवारीचालक नियम-कानुन नमान्नेमा महारथी छन्। तिनका लागि ट्राफिक प्रहरीहरू हुनुपर्नेजति कडा छन् कि छैनन् भन्ने पनि विवादकै विषय हो। तर, ट्राफिक प्रहरी र काठमाडौँका सार्वजनिक सवारी चालकबीचको पौँठेजोरीको पीडाको वर्णन छ त्यसमा। जेहोस्, अहिलेको समयको एउटा पाटोको वर्णन त्यसमा अवश्य पनि छ।

हुन त ट्रक-बसहरूमा अधिकांश गाईजात्रे कुरा लेखिएका हुन्छन्। त्यो क्रममा तिनको मूल रूप पनि परिमार्जन हुँदै जान्छ। अर्कोले त्यसलाई आफ्नो हिसाबले व्याख्या गरसिकेको हुन्छ। कुनै अलि विशेष ध्यान तान्ने परे भने रातारात अरू सवारी साधनमा तिनीहरू 'भाइरल' हुन्छन्। जस्तो, अचेल 'रामले हँसायो, सीताले रुवायो' भन्ने एउटा अचम्मको उक्ति देख्न पाइन्छ। त्यसलाई अर्कोले 'रामले सतायो, सीताले रुवायो' बनाउन भ्याइसकेको छ।

रोयल भन्ने शब्दसँग पनि सार्वजनिक सवारी चालकलाई विशेष मोह हुन्छ। त्यसैले अधिकांश ठाउँका नाम अघि रोयल जोडेर गाडीको नामकरण गरएिको देखिन्छ। असफल प्रेमका त बग्रेल्ती गुनासा अचम्म अचम्मसँग अभिव्यक्त भएका हुन्छन्, बस र ट्रकमा। 'विपनीमा आउन नसक्नेले सपनीमा पनि आउने काम नगर' भन्ने अभिव्यक्ति सवारी साधनका पछाडि देखिन्छन्। कुनै यस्ता उद्गार यस्ता आक्रामक पनि हुन्छन्, 'अरिंगालबाट चुसिइसकेको फूल हौ तिमी, मन्दिरमा सजाइने सपना नदेख।' फूलको रस मौरीले चुस्छ भन्ने स्वीकार्य विम्बभन्दा अलग भएर यसको स्रष्टा अरिंगालमा पुगेको छ। यो पनि त आफ्नै किसिमको सिर्जनात्मकता हो।

बेलाबेला नपत्याउँदा अनि उदेकलाग्दा कविता र मुक्तक पनि सवारी साधनहरूमा देख्न पाइन्छ। एकपटक त्यस्तै एउटा ट्रकमा लेखिएको थियो ः

'ईश्वर मलाई मेरा मित्रहरूबाट बचाऊ

मेरा शत्रुहरूसँग त म आफैँ लड्न सक्छु।'

यी लेखोटमा बेलाबेला जीवन, दर्शन, आक्रोश, असन्तुष्टि, हास्यव्यंग्य र राजनीति पनि पाइन्छ। 'बुद्ध जन्मेको देशमा बुद्धिको अनिकाल छ' भन्ने किसिमका चोटिला कुरा पनि यही वर्गको सिर्जनाबाट जन्मेको छ। अधिकांशको सार गतिलो नभए पनि सिर्जनात्मकताका आधारमा मात्र हेर्ने हो भने तिनका स्रष्टाहरूमा गुणै नभएको कहाँ भन्न सकिन्छ र? तिनले प्रयोग गर्ने विम्बहरू, अनुप्रास मिलाउनका लागि बेग्लै परश्रिम छ। तर, उनीहरूको पहिचान हुँदैन। उनीहरूको सिर्जनाको कपीराइट पनि हुँदैन। यी स्रष्टाहरूको नाम हुँदैन।

बेलाबेला यी अज्ञात स्रष्टा को होलान् र कस्ता हुन्छन् भन्ने कुराको मलाई जिज्ञासा हुने गर्दछ ।

जुम्मा चुम्मा दे दे...

मंसिर २ , २०७४ - मलाई पान खान कहिले पनि मन लाग्दैनथ्यो , अझै पनि लाग्दैन । तर त्यस दिन म नयाँ दिल्लीको रिगल भन्ने सिनेम...