Translate

Sunday, February 16, 2014

मेलम्ची

बायाँ फन्को १२५

पहिलपहिले कुनै मान्छेलाई अप्ठ्यारोमा पार्नका लागि एउटा प्रश्न सोधिन्थ्यो, कुखुरा पहिले आयो कि फुल ? वर्षौं देखि यो प्रश्नले हाम्रो मथिंगल फन्फनी घुमाएको छ । हामी सबैले यो कसैलाई न कसैलाई यो प्रश्न सोधेका पनि छौं र कसै न कसैबाट यो प्रश्न सुनेका पनि छौं । अब यो प्रश्न यति पट्यारलाग्दो भैसक्यो, सुन्दा पनि कन्सिरीका रौंहरु ठाडा हुन्छन् । आजकल प्रविधि, सफ्टवेयर, ग्याजेट र एप्सको संसारमा नयाँनयाँ भर्सनहरु फटाफट आइरहेका हुन्छन् । हामी दिनहुँ त्यस्ता कुनै न कुनै नयाँ भर्सनसंग परिचित भैरहेका हुन्छौं । त्यसैले आज मलाई त्यो पुरानो र टिठलाग्दो प्रश्नको परिस्कृत रुप यहाँ लेख्न मन लागेको छ । त्यस्तै जटिल प्रश्न तर नयाँ भर्सनमा । 

सम्विधान पहिले आउँछ कि मेलम्चीको पानी ?

प्रयतन गरेर हेर्नुस् त, तपाई मध्ये कसैले यसको निश्चित उत्तर दिन सक्छ कि सक्दैन । सम्विधानका बारे कुरा गर्दा राजनीतिका कुराहरु गर्नु पर्ने हुन्छ जुन सकेसम्म बायाँ फन्कोमा नगर्ने भन्ने ध्येय हो । त्यसैले आज पानीको कुरा गरौं । हुन पनि हो, यो काकाकुल राजधानीको लागि मेलम्चीको सपना लौ त भनौं भने कुनै ठूलो मृगतृष्णा बनेको छ । देखेको धेरै भैसक्यो तर अप्राप्य । मेलम्ची भौगोलिक दूरीका हिसाबले त्यति टाढा त कहाँ हो र, तर प्राप्तिको दृष्टिकोणले हेर्ने हो भने यो हाम्रा लागि आकाश जस्तै भएको छ । आँखाले देख्ने तर भेट्टाउन खोज्यो भने अथाह र अप्राप्य हुने । कति टाढा भनेर भन्ने नसकिने । मेलम्चीको नाममा आकाश अँगाल्ने रहर पालेर लामो समय देखि तिर्खाएर बसेको छ यो सहर । थाहा छैन यो तिर्खा कहिले मेटिने हो । मेटिने पनि हो कि होइन । मेलम्चीको पानी ल्याएर काठमाण्डौंका सडक पखाल्न पुग्ने बनाइदिन्छु भनेर भन्ने नेताहरु मरेर कहाँ पुगिसके तर मेलम्ची अझै त्यति नै टाढा छ । अब त मेलम्ची एउटा चुट्किलाका रुपमा समेत लिन थालेछन् मानिसहरुले । यो कुरा केही दिन अघि ७१ सालदेखि धारामा मेलम्चीको पानी आउने भन्ने समाचार आए पश्चात देखियो । सामाजिक संजालमा त्यसको उल्लीबिल्ली गरेका धेरै कुराहरु पढ्न पाइयो । कसैलाई यो कुरामा विश्वास लागे जस्तो देखिएन । 

पानीकै कुरा गरौं । विगत केही वर्षहरुमा काठमाण्डौंको सहरीकरण र जनसंख्या चिताउनै नसक्ने गरी बढेको छ । त्यसैसंगै बढेको छ दैनिक पानीको आपूर्तिको माग पनि । अधिंकाश स्थानहरुमा पानी दुर्लभ कुरा भैसकेको छ । पानीको समस्या नभोगेका मानिसहरु पाउन गाह्रो छ । यो क्रम झनै बढ्दो छ । पानीकै कारण भएको घरबार अर्को ठाउँमा सर्नसम्म परेको छ मानिसहरुलाई । डेरा खोज्नेले पानी आउने ठाउँमा डेरा पायो भने आफूलाई भाग्यमानी ठान्न थालेका छन् । कसैको घरमा पानी आउँछ भन्यो भने भर्खरै कुनै विश्वसुन्दरीसंग बिहे भएको मान्छेलाई हेरे जसरी अरुले त्यसलाई ईष्र्याले हेर्छन् । नयाँ बस्तीहरु तीब्र गतिले बसेका ठाउँहरुमा धारा पुगेको छैन । पुगेको र भएको ठाउँमा पानी हुँदैन ।  

आवश्यकता पूर्तिका लागि हरेक मानिसले इनार खनेका छन् । पूर्वजन्ममा पुण्य गरेकाहरुको इनारमा पुण्यको मात्रा अनुसार धेरैथोरै पानी आउँछ पनि । पूर्वजन्ममा पाप गरेकाहरुले त जति गहिरो दाल्डो खने पनि पानी आउँदैन । ५ हजार लिटरको ट्याँकरलाई १५ सय वा दुइ हजारसम्म तिरेर आफ्नो जोहो टार्नेसम्मको अवस्था मानिसहरुलाई आइपरेको छ । सक्नेले त त्यो पनि गर्ने उपाय छ, नसक्नेले के गर्ने ? बाँच्नका लागि अति आधारभूत पानी जस्तो कुराको यो विकराल समस्या भोलि के होला भन्ने कुरामा पनि आमी कति ढुक्क छौं । व्यक्तिगत रुपमा मात्र हैन, व्यावसायिक रुपमा पनि ठूला होटल, उद्योग, कलकारखाना, गगनचुम्बी अपार्टमेण्ट र विकराल हाउजिंगहरुले समेत न्वारान देखिको बल निकालेर जमीनमुनिका पानी तानिरहेका छन् । त्यसको फलस्वरुप काठमाण्डौ सहरको जमिन मुनि पानीको सतह थुप्रै मिटर कम भैसकको तथ्याँक पनि सार्वजनिक भएको थियो । त्यसको दूरगामी भौगोलिक प्रभाव के र कस्तो हसन सक्छ भन्ने कुरा कसैले एक छिन पनि सोचेको छैन । हामी त एउटा बालकले सुत्केरीमा स्याहार नपुगेकी कुनै स्वास्नीमान्छेको अज्ञानी शिशुले उसका सुकेका स्तनका लाम्टाहरु लुछे जसरी हामी काठमाण्डौको पानी तान्नैमा मात्र मस्त छौं । आजको गर्जो टरेसम् मभोलिका लागि सोच्ने हामीसंग समय पनि छैन, फुर्सद पनि छैन । अरु सबै कुराहरुमा पनि हामी लघुकालीन समाधान मात्रै हेर्ने र सोच्ने भैसकेका छौं । भोलिको कुरा भोलि हेरौंला । पशुपतिनाथले आजसम्म हाम्रो रक्षा गरेकै छन्, भोलि पनि त्यो टण्टा उनैको हो । 

तै पनि एउटा कुरामा हामीले आफ्नै ढाड थप्थप्याएर आफैलाई स्याब्बासी दिए फरक पर्दैन ।  हामी जति आशावादी मानिसहरु शायद संसारमै कहीं भेटिंदैनन् होला । आशावादी हुनु हाम्रा लागि वाध्यता बनिसकेको छ, हाम्रो नियति बनिसकेको छ सपनामा रमाउनु । मेलम्चीको पानीमात्र हैन सम्विधान, स्थायित्व र विकासका कुरामा पनि हामी पहिले सिनेमास्कोप र इष्टम्यान कलरमा सपनाहरु देखेर हुक्र्यौं, आजकल प्रविधिको विकास भएकोले हाइ डेफिनेसनमा तिनै र त्यस्तै सपनाहरु देख्न पल्केका छौं । फरक त्यतिमात्रै हो । 

आशा गरौं मेलम्चीको पानी सपनामा साँच्चै नै चाँडै आइदेओस् ।

प्रतिक्रिया:

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment